Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवैदेशिक रोजगारीमा जान साढे दुई लाख युवाले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा जान साढे दुई लाख युवाले लिए श्रम स्वीकृति


काठमाडौं, माघ १२
खाडी देशदेखि अफ्रिकासम्म रोजगारीमा जाने भन्दै देशका साढे दुई लाख युवाहरुले श्रम स्वीकृति लिएका छन् । पुस महिनामा मात्र छ जना युवाहरुले अफ्रिकी मुलुक नाइजेरिया जान श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार विश्वका ९१ मुलुकमा काम गर्न जाने भन्दै साढे दुई लाखभन्दा बढी युवाहरुले श्रम स्वीकृतिका लागि आवेदन दिएको जनाएको छ ।

विभागका अनुसार चालू आर्थिक वर्ष (२०७६/०७७) को छ महिनामा विदेश जाने भन्दै दुई लाख ५० हजार एक सय ९२ जना युवाहरुले श्रम स्वीकृति लिएका छन् । दुई लाख ५० हजार एक सय ९२ जना युवाहरुमध्ये ८५ प्रतिशतभन्दा बढी युवाहरु खाडी मुलुकमा जाने भन्दै श्रम स्वीकृति लिएका छन् भने बाँकी युवाहरुले अमेरिका, युरोपदेखि लिएर अफ्रिकी मुलुकमा कामका लागि जाने भन्दै श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

विशेषगरी नेपाली युवाहरु खाडी मुलुक तथा मलेसिया कामका लागि जाने गरेको पाइन्छ भने युरोप तथा एसियाका विकसित मुलुकमा समेत कामका लागि जाने गरेका छन् । विभागका सूचना–प्रविधि अधिकृत राजु श्रेष्ठका अनुसार व्यक्तिगत प्रयासमा आफैँ विदेश गएका, पहिले श्रम नलिई विदेश गएका र पछि श्रम लिएका, विदामा आएर गएका र नयाँ श्रम स्वीकृति लिने गरी छ महिनाको अवधिमा सो संख्याका युवाहरुले श्रम स्वीकृति लिएका हुन् । पछिल्लो छ महिनाका अवधिमा सबैभन्दा बढी मंसिर महिनामा करिब ५७ हजार र सबैभन्दा कम असोज महिनामा करिब १९ हजार जना युवाहरुले विदेश जाने भन्दै श्रम स्वीकृति लिएका छन् ।

चालू आवको पुस महिनामा मात्र विभिन्न क्षेत्रमा रहेका श्रम कार्यालयमार्फत ५२ हजार दुई सय २५ जना युवाहरुले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । जसमा पुरुष ४८ हजार आठ सय ५८ जना र महिला तीन हजार तीन सय ६७ जना रहेका छन् । मंसिर महिनामा मात्र ५३ हजार दुई सय १५ जना पुरुष र तीन हजार पाँच सय ९५ जना महिला गरी कुल ५६ हजार आठ सय १० जना युवा तथाा कात्तिकमा ५१ हजार दुई सय ७४ जना (पुरुष ४७ हजार एक सय १६ जना र महिला चार हजार एक सय ५८ जना)ले श्रम स्वीकृति लिएका छन् ।

यस्तै असोजमा १८ हजार सात सय ७१ जना र भदौमा ३८ हजार सात सय चार जना गरी कुल ५७ हजार चार सय ७५ जना युवाहरुले विदेश जानका लागि भन्दै श्रम स्वीकृति लिएका छन् । असोज र भदौमा श्रम स्वीकृति लिने पुरुष र महिलाको संख्या क्रमशः १७ हजार छ सय सात जना र ३५ हजार पाँच सय ७६ जना तथा एक हजार एक सय ६४ जना र तीन हजार एक सय २८ जना छन् । यस्तै साउनमा २८ हजार नौ सय ५८ जना पुरुष र तीन हजार चार सय ५० जना महिला गरी कुल ३२ हजार चार सय आठ जना युवाहरुले श्रम स्वीकृति लिएका छन् ।

यस्तै कोरिया जाने युवाहरुको संख्या भने चालू आवको साउनमा ३२ हजार पाँच सय ७७ जना, भदौमा एक हजार एक सय ४३ जना र असोजमा सात सय ११ जना रहेको छ । कात्तिकमा दुई सय २६ जना पुरुष र तीन जना महिला गरी कुल दुई सय २३ जना तथा मंसिरमा चार सय ४३ जना पुरुष र ४४ जना महिला गरी चार सय ८७ जना युवाहरुले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनको लागि युवाहरुले काठमाडौंका साथै झापा, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट समेत लिनसक्ने भए पनि त्यो प्रभावकारी रुपमा अघि बढ्नसकेको छैन ।

नेपालले हालसम्म सातवटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको भए पनि युवाहरु कामको खोजीमा सयभन्दा मुलुकमा जाने गरेका छन् । नेपालले जापान, इजरायल, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन, जोर्डन, दक्षिण कोरिया र कतार गरी सातवटा मुलुकसँग मात्र श्रम सम्झौता गरेको छ तर युवाहरु कामको खोजीमा युरोपदेखि अफ्रिकासम्म पुग्ने गरेका छन् । यस्तै श्रम स्वीकृति लिने युवाहरुमध्ये उच्च सीपयुक्त युवाहरुको संख्या भने अत्यन्त न्यून रहने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x