दोलखा । दोलखाको सदरमुकाम नजिकै रहेको गौरीशंकर बालगृह भवन जीर्ण अवस्थामा पुगेको छ । अनाथ बालबालिका बस्ने बालगृहको भवन तथा व्यवस्थापन लथालिङ्ग अवस्थामा पुग्दा यहाँ आश्रित बालबालिकाहरू समस्यामा परेका छन् ।
भूकम्पले चारैतिर चिरा पारेको भवनमा जोखिम मोलेर उनीहरू दिनरात बिताउन बाध्य छन् । स्थानीय सरकार तथा सम्बन्धित निकायले भवन निर्माण तथा मर्मतमा चासो नदेखाउँदा भूकम्प गएको वर्षौँ बितिसक्दा पनि बालगृहमा रहेका बालबालिका भत्केको भवनमा बस्न बाध्य भएका हुन् । भूकम्पले बालगृहका सबै भवन चर्काएर क्षतिग्रस्त बनाएको थियो । बाल संगठनको माताहतमा रहेको उक्त बालगृहको भवन निर्माणको लागि केन्द्रीय बाल संगठन तथा अन्य सरकारी निकायबाट पहल हुन नसक्दा यहाँ आश्रित बालकहरू जोखिममा रहेको नेपाल बाल संगठन दोलखाका सभापति रामप्रसाद सापकोटाले जानकारी दिए ।
आफू बाल संगठनको जिल्ला सभापति भएपछि भवन निर्माणको लागि पुनर्निर्माण प्राधिकरण तथा संघीय सरकार तथा प्रदेश सरकारका विभिन्न निकायहरूमा पत्राचार गरिरहेको तर कतैबाट पनि भवन सहयोग नभएको उनले बताए । स्थानीयहरूको पहलमा करिब ९० रोपनी जग्गाको व्यवस्थापन गरी २०५३ सालमा नेपाल बाल संगठनले सञ्चालन गर्नेगरी आधुनिक भवनहरूसहित गौरीशंकर बालगृहको स्थापना गरिएको थियो ।
बालगृहको भवनहरू जीर्ण बनेर ढलान तथा भित्ताहरू चर्किएपछि ठूलो पानी पर्दा तथा भूकम्पको सानो धक्का जाँदा पनि आफूहरूको सातो जानेगरेको बालगृहमा आश्रित रितिक सुनुवारले बताए । खान तथा अन्य सुविधा राम्रै भए पनि आफूहरू जीर्ण भवनको कारण त्रासमा बाँचिरहेको उनको दुःखेसो छ । ‘जिल्लाका जीर्ण सरकारी भवनहरूको पुनर्निर्माण भइरहेका छन् तर अनाथ बस्ने भवनतर्फ हेर्ने कसैलाई फुर्सद छैन’, स्थानीय छविन्द्र चौंलागाईले भने, ‘अनाथको संरक्षणमा राज्य यस्तो उदाशीन किन भएको होला ? हामी सर्वसाधारणलाई बुझ्न गाह्रो भो ।’ केन्द्रीय बाल संगठनअन्तर्गतको बालगृह भएकोले यसको भवन निर्माण गर्ने मुख्य दायित्व संघीय सरकारको भएको भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत केसीले बताए । नगरपालिकाले बालगृहको हल तथा भन्साघरको रेक्ट्रोफिटिङ गरिदिएको उनको भनाइ छ ।
घरको मात्र होइन बालगृह व्यवस्थापनको पाटो पनि लथालिंग रहेको छ । यहाँ आश्रित बालकहरूलाई निजी विद्यालयमा भर्ना गरी पढाइएकोमा लामो समयसम्म ती विद्यालयको शुल्क नतिरिएको अवस्था पाइएको बाल संगठनका सभापति सापकोटाले बताए । यस्तै लामो समयदेखि बालगृहमा कार्यरत कर्मचारीहरूले तलब समेत पाउन सकेका छैनन् । खाद्यान्न, स्टेसनरी, खेलकुदका सामग्रीहरू समय समयमा केही व्यक्ति तथा संस्थाहरूले बालगृहलाई सहयोग गर्नेगरेका छन् । बालगृहमा विभिन्न ८ जिल्लाका ३० जना बालबालिका आश्रित छन् भने तीन जना कर्मचारीहरू कार्यरत रहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया