एक वर्षमा १५ खर्ब ३९ अर्बको वस्तु आयात, एक खर्ब ४१ अर्बको मात्र निर्यात
काठमाडौं । नेपालले एक वर्षमा १५ खर्बभन्दा बढीको वस्तु तथा सेवा आयात गरेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/०७८ नेपालको कुल वस्तु आयात २८ दशमलव सात प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ८४ करोड पुगेको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो आयात १५ दशमलव छ प्रतिशतले घटेको थियो ।
आव २०७७/०७८ मा कुल वस्तु निर्यात ४४ दशमलव चार प्रतिशतले बढेर एक खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ पुुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष यस्तो निर्यात शून्य दशमलव छ प्रतिशतले बढेको थियो । सोही आधारमा आव २०७७/०७८ कुल वस्तु व्यापारघाटा २७ दशमलव तीन प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । ‘अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव आठ प्रतिशतले घटेको थियो’, राष्ट्र बैंकले भनेको छ । समीक्षा वर्षमा भने यस्तो निर्यात आयात अनुपात नौ दशमलव दुुई प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात आठ दशमलव दुई प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ५१ दशमलव सात प्रतिशत र २७ दशमलव सात प्रतिशतले बढेको भएपनि चीनतर्फको निर्यातमा भने १४ दशमलव सात प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैँचालगायतका वस्तुको निर्यात बढेकोमा पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैंकले भनेको छ ।
वस्तु आयात गरिने मुलुकका आधारमा भने भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दशमलव एक प्रतिशत, २८ दशमलव छ प्रतिशत र १९ दशमलव छ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, सुनलगायतका वस्तुको आयात बढेकोमा हवाइजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड सिट इन्क्वाइल, सुपारीलगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
विदेशी मुद्रा सञ्चिति घट्यो : विदेशी मुद्र्राको सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति शून्य दशमलव दुई प्रतिशतले घटेर २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड रुपैयाँमा सीमित हुनपुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ असार मसान्तमा शून्य दशमलव नौ प्रतिशतले वृद्धि भई ११ अर्ब ७५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ असार मसान्तमा एक दशमलव पाँच प्रतिशतले वृद्धि भई १२ खर्ब ४४ अर्ब ६३ करोड रुपैयाँमा सीमित हुनपुगेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा एक खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७८ असार मसान्तमा १२ दशमलव एक प्रतिशतले कमी आई एक खर्ब ५४ अर्ब ३९ करोड कायम भएको छ । २०७८ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
रेमिट्यान्स १० प्रतिशतले बढ्यो एक वर्षमा नौ खर्ब ६१ अर्ब भित्रियो
वैदेशिक रोजगारीबाट प्राप्त आय विप्रेषण रकम अर्थात् रेमिट्यान्स बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा विप्रेषण आप्रवाह नौ दशमलव आठ प्रतिशतले बढेर नौ खर्ब ६१ अर्ब पाँच करोड रुपैयाँ पुुगेको छ ।अघिल्लो वर्ष विप्रेषण आप्रवाह शून्य दशमलव पाँच प्रतिशतले घटेकोे थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह आठ दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह तीन दशमलव तीन प्रतिशतले घटेकोे थियोे ।
आर्थिक वर्ष २०७७/०७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२ दशमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २० दशमलव पाँच प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६ दशमलव आठ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो संख्या ३४ दशमलव सात प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७७–०७८ मा खुद ट्रान्सफर नौ दशमलव एक प्रतिशतले वृद्धि भई १० खर्ब ७१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर एक दशमलव पाँच प्रतिशतले घटेकोे राष्ट्र बैंकले जनाएको छ ।
चालू खाता तीन खर्ब ३३ अर्ब रुपैयाँले घाटामा : चालू खाता एवम् शोधनान्तर स्थिति घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा चालू खाता तीन खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा देखिएको हो ।
अघिल्लो वर्ष चालू खाता ३३ अर्ब ७६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालू खाता समीक्षा वर्षमा दुई अर्ब ८४ करोडले घाटामा रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा पुँजीगत ट्रान्सफर सात दशमलव चार प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी शून्य दशमलव दुई प्रतिशतले वृद्धि भई १९ अर्ब ५१ करोड कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १४ अर्ब २१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १९ अर्ब ४८ करोड रहेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा शोधनान्तर स्थिति एक अर्ब २३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ८२ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया