दोलखा ।जिल्लाको बैतेश्वर गाउँपालिकामा रहेको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाले रैथाने बालीअन्तर्गतको फापरको दुई नयाँ जात विकास गरेको छ । कार्यालयले हालचालै तिते फापर–१ र तिते फापर–२ को नयाँ जात विकास गरी खेती गर्न सिफारिस गरेको छ । रैथाने बालीको खेती वृद्धि गर्न पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाले रैथाने जातको बाली र बीउको अनुसन्धान गर्दै आएको छ । फापरको माग नेपालमा अत्यधिक रहेकाले नयाँ जातको बीउ विकास गरेर उत्पादन वृद्धि गर्न बाली अनुसन्धान कार्यक्रम काब्रे लागिपरेको छ । रैथाने अन्न बालीअन्तर्गत पर्ने फापरको खेती नेपालमा कमै मात्रामा हुनेगरेको छ । नेपालमा मीठे र तिते फापरको खेती हुनेगरेको भए पनि अहिलेको उत्पादनले धन्न नसकेकाले थप उत्पादन वृद्धि गर्नलाई फापरको नयाँ जात तिते फापर १ र २ ले सहयोग पुग्ने पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे दोलखाका वरिष्ठ वैज्ञानिक एवं कार्यक्रम संयोजक डाक्टर सुवास सुवेदीले बताए ।
रैथाने बाली छाडेर उन्नत जाततर्फ किसान लाग्दा फापरलगायतका रैथाने बालीको खेती घट्दै गएकोले रैथाने बालीका जातलाई विकास गर्नुपर्ने उनले बताए । उनका अनुसार नेपालका इलामदेखि जुम्लासम्म यसको खेती गर्दै आएको भए पनि किसानले खेत बारीमा कमै मात्रा लगाउने गर्छन् । पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रे आफूले उत्पादन गरेको रैथाने फापरलगायतको बीउ वितरण गर्दै आएको छ । पछिल्लो समय कार्यालयमा फापरको बीउ खोज्ने किसान बढेको छ । किसानले चाहेजतिको बीउ दिन नसके पनि बीउ उत्पादनको दर हेरेर वितरण गर्ने गरेको डा. सुवेदीले बताए । सुवेदीका अनुसार झ्याकु र विगुबाट स्थानीय जातको फापरको बीउ जम्मा गरेर जातीय सुधार गरी उक्त जातको फापरको बीउ विकास गरिएको हो । पहाडी बाली अनुसन्धानले नयाँ जात विकास गरी नेपाल कृषि अनुसन्धानमा परिषद्मा सिफारिस गरेको सुवेदीले जानकारी दिए ।
फापर उच्च पहाडी भेगको एक प्रमुख खाद्यान्न बाली भएकाले यसको जातीय विकास र सरक्षण गर्न आवश्यक रहेको सुवेदी बताउँछन् । उनका अनुसार नेपालमा फापरलाई भौगोलिक स्थानअनुसार ग्रीष्म, हिउँद, शरद र वसन्त बालीको रूपमा खेती गरिँदै आएको छ । फापर मौरीको लागि उत्तम चरन बालीको रूपमा लोकप्रिय रहेको छ । त्यसैगरी फापरमा रुटिन पदार्थ हुनु यसको मुख्य विशेषता हो । तिते फापरमा रुटिन पदार्थ बढी पाइन्छ । रुटिन पदार्थले मानव शरीरको रक्त कोशीका मजबुत गर्ने र रगत जम्नको लागि ठुलो भूमिका खेल्ने गर्दछ । त्यस्तै औषधिका हिसाबले फापरलाई रुघा, खोकी, टाउको दुख्दा र ज्वरोमा यसको पेस्टलाई प्रयोग गर्न सकिने डाक्टर सुवेदी बताउँछन् । साथै ग्यास्त्राइटिस, पखाला साथै पेट दुखेमा फापर खाँदा निको हुनेगर्छ । औषधि र विशेष परिकारको रूपमा नेपालका होटल, रेस्टुरेन्टमा समेत यसको माग हुनेगर्छ । खेतीका हिसाबले पछाडि परेको यस बालीको खेती गर्न अन्य बालीभन्दा धेरै सजिलो रहेको डाक्टर सुवेदी बताउँछन् ।
मीठे फापर मध्य पहाडी जिल्लामा समुद्री सतहको नौ सय मिटरदेखि १७ सय मिटरको उचाइसम्म लगाउन सकिनेछ । त्यसैगरी बाली अनुसन्धान कार्यक्रमले विकास गरेको नयाँ जातको तितेफापर १ र २ लाई समुद्री सतहको ६ सयदेखि ३५ सय मिटरसम्मको उचाइमा खेती गर्न सकिनेछ । मुख्यगरी फापरलाई नेपालका उच्च पहाडी क्षेत्रमा वैशाखदेखि जेठमा, पहाडी क्षेत्रमा भदौ र असोज, मध्य पहाडी क्षेत्रमा माघ र फागुन र तराई र भित्री मधेसमा कात्तिकमा लगाउन सकिने नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको पहाडी बाली अनुसन्धान कार्यक्रम काब्रेले जनाएको छ ।सुवास बस्नेत
क्याटेगोरी : समाचार
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया