Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकर्म ठूलो कि धर्म ठूलो हो आमा !

कर्म ठूलो कि धर्म ठूलो हो आमा !


काठमाडौँ ।कोटेश्वरको जामले गर्दा दिक्क लाग्छ जहिल्यै । आज आकाश पनि अलिक कालो थियो । छाता लान बिर्सिएछु । भोक पनि लागेको थियो । एकदिन जानुपर्छ भन्नेचैँ मनमा लागेकै हो । ‘तिमी कहिले आउँछौ छिटो आऊन भनेर बेला–बेलामा फोन आउने गथ्र्यो । मैले भने खासै मतलब राख्दैनथे । आमाको सौता भएर आउने महिलामाथि मैले खासै त्यस्तो कुनै सहानुभूति राखेको थिइन । र माया पनि लागेन कहिले पनि । मेरी सीताजस्ती आमाको सौता हुन आएकी हुन् तिनी । खैर, जे होस् अबत न आमा न बाबा । सबै मायाको इन्द्रेणी हराइसकेको छ जिन्दगीको आकाशबाट । आमा हुँदा र नहुँदा कति फरक पर्छ जिन्दगी त्यो भोगियो र बाबा नहुँदा कति असहज हुँदोरहेछ बाँच्न त्यो पनि अनुभूति भयो ।

जिन्दगी भनेकै अनुभूति हो जो भोग्दै र भिज्दै गएपछि यसको मादकताले छुँदोरहेछ । ती सौतेनी आमा भक्तपुरतिर बस्छिन् भन्नेसम्मचैँ थाहा थियो । तिनी कस्की छोरी हुन्, के जातपातकी हुन्, कसरी बसेकी छिन्, कसरी जीवन निर्वाह गरेकी छिन् हामी कसैलाई केही थाहा थिएन । बेला–बेलामा ठूली दिदीचैँ जानुहुन्थ्यो । आमा ज्युँदो हुँदा तिनलाई बाबाले घरमा ल्याउने साहस कहिले गर्न सकेनन् । आमा बितेपछि बाबालाई पनि अप्ठ्यारो महसुस भयो होला । घरमा ल्याउँछु भनेर कहिले भन्न सक्नुभएन हामीसँग । र उनले पनि घरमा आउने साहस कहिले गरिनन् । टुहुरो भएपछि मात्रै सौतेनी आमाको याद आयो मलाई । कस्तो अचम्म छ मान्छेको जात । आफ्नी आमा हुँदासम्म सौतेनी आमा फूलमाथिकी काँडा बनिन् । आज आफ्नी आमा छैनन् फेरि तिनै सौतेनी आमा काँडाले सुरक्षा दिएको फूल बनिन् । अँध्यारोमा घामको महत्व भएजस्तै आमा नभएपछि सौतेनी आमाको महत्व गज्जब छु म । गज्जब छ मलाई हुर्काउने दुनियाँ । म जे हुँ यो दुनियाँको कारण हु । म जे हुँ दुनियाँ मेरै कारण हो ।

कसैले पनि यहाँ अजम्बरी चोला लिएर आको हुँदैन । जब हामी बाँचिरहेको पृथ्वीमाताको त निश्चित आयु छ भने हामी मनुष्य जावोको त के कुरा । बाबा आमा हजुरआमा हजुरबाउ सबैलाई अघि लाइसकियो । अब बाँकी त आफैँ हो । पालो त आइहाल्छ एकदिन । फेरि यो रिसारिस केका लागि कसका लागि र किन?बाबालाई पशुपतिमा बिसर्जन गरेर आएपछि मनमा केवल यस्तै यस्तै गम्भीर भावनाको ज्वारभाटा उर्लिरहन्थ्यो । बिचरी ती सौतेनी आमाको पो के दोष । मेरा बाबाले ल्याएर पो आइन् । आउनेको के दोष ल्याउने पो दोषी । ल्याउँदा सबै कुरा ढाँटे होलान् बाबाले ।

जवानी स्त्री देखेपछि पुरुष मन कति छिटो घायल हुन्छ । तिनलाई फकाउन बाबाले आफूलाई राम्रो भने होलान् । आफूलाई धनी भने होलान् । आफूलाई खान्दानी भने होलान् । आफूलाई अविवाहित पनि सके भन्न भ्याए होलान् । पहिलाको प्रधानपञ्च पनि भने होलान् । यति मुरी धानको बीउ लाग्ने खेत पनि छ भने होलान् । कान्तिपुर सहरमा घर पनि छ भने होलान् । भन्ने जति राम्रा कुरा केही बाकी नराखी सबै सबै भने होलान् । अनि भन्नुपर्ने मुख्य कुरो नौजना छोराछोरीको बाउ हुँ भनेनन् होला । जेठी छोरीको बच्चाको हजुरबाउ हुँ पक्कै भनेनन् होला । गाउँको दुःख र वेदना भनेनन् होला । जुवातास खेल्छु त्यो पनि भनेनन् होला । कान्तिपुरमा घर त होइन डेरा छ पक्कै भनेनन् होला । दाजुभाइबीच अंशबन्डा हुँदा एउटा सिलाबरको डिक्ची र कोदोको रोटी पकाउने तयो अनि ढिँडो ओडाल्ने फलामे खिया परेको ताप्के मात्रै आएको पक्कै भनेनन् होला । हामी छोराछोरीलाई पढाउँदा लागेको तिरी साध्य नलाग्ने ऋण पनि छ भनेनन् होला । भन्नुपर्ने कुरा भनेनन् अनि नभन्नुपर्ने कुराचाहिँ भने होलान् पक्कै यसैका कारण हो तिनी जवानी बिसाउन र मिसाउन आएकी मेरा बाबासँग । तिनीलाई मेलाबाट भगाएर ल्याउनुभएको रे मेरा बाबाले । दुई÷चार दिन हराए त्यो बेला । जता जान्छु भनेर निस्केका थिए त्यता नगएर बाबा अन्तै पो हान्निएछन । ती आमालाई हाम्रा बाबाले ल्याउँदा खै के भने के भनेनन् होला त्यो कुरा छोडौँ अब । वैशाखमा त सुकेको रुख पनि हरियो देखिन्छ भन्छन् त्यस्तै भो होला । ल भो जे भोभो । घाउ जति कोट्यायो त्यति दुख्छ ।

म पहिलो चोटी सौतेनी आमाको डेरामा पुगे । बाटोमा पानी प¥यो ।
म भिजे । बल्लतल्ल डेरा पत्ता लगाए । लुगा पनि निथ्रुक्क भको थियो । केही दिन अगाडि खबर गरेको थिए कि म सोमबार आउँछु भनेर । कति बजे आउँछु त्योचाहिँ भनेको थिइनँ । आँगन त खाली छ । उनीतिरबाट जयजन्म भने भएन किनकि त्यतिबेलासम्म मेरा बाउले परिवारनियोजन गरिसकेको कुरा मलाई थाहा छ । ती आमा एक्लै छिन् । तिनका माइती असाध्य धनी छन् भन्नेसम्म सुनेको हुँ । कहिलेकाहीँ बाबाले मँसग भन्नुहुन्थ्यो ‘तेरी कान्छी आमा खान्दानी खरेलकी छोरी हुँ भनेर धक्कु लगाउँछे’ बाबालाई कहिलेकाहीँ लुकिछिपी बरु म नै सौतेनी आमाकोमा जानू भनेर पठाउँथे त्यो पनि मेरी आमा मामाघर गएको बेलामा ।

कोठाबाहिर पुगेपछि ढोका ढकढक्याए । भित्रबाट चुकुल खोलेको आवाजसहित एउटी अवयव पार गरेकी महिला उज्यालो मुहार लिएर ढोकाको आधा खब्लेटोसँगै देखिइन् ।
‘बाबू मनु ! तिमी आयौ मेरो छोरा’
यो प्रिय शब्द अनायास गुन्जियो कानमा । भित्र लिएर गइन् । खाटमा राखिन् । लुगा भिजेको थियो । भिजेको लुगा फुकाल भनिन् । म निःशब्द छु । अघिको त्यो प्रिय सम्बोधनले नै मलाई घायल बनाएको थियो । आखिर आमा त आमा नै थिइन् जो मेरी आमा आजभन्दा सात वर्ष अगाडि मलाई टुहुरो पारेर गएकी थिइन् । यी आमा फेरि मेरो अगाडि स्नेहको संसार लिएर उभिएकी छिन् । काटीकुटी स्वर्ग गएकी मेरी आमाजस्तै पो लाग्यो । म रन्थनिएँ केहीबेर ।

केहीबेर आकुल भएँ । सर्ट भिजेको थियो । फुकालेँ । तिनले बाउले लाउने गरेको एउटा पुरानो कुर्था ल्याएर दिँदै भनिन्मनु यो लगाऊ तिम्रो बाबाको कुर्थाबाउले सधैँजसो घरमा लाउने कुर्था देखेर झल्यास्स भए । ती आमाले कोल्टे फर्किएर आँसु पुछेको देखेँ । कुर्था कतै–कतै हल्का च्यातिएको थियो । कुर्था हातमा थमाउँदै तिनी भान्सामा गइन् । कुर्थामा बाबाको उपस्तिथि थियो । एकछिन् त आफैँ रन्थनिएँ बाबाले लगाएको एउटा पुरानो कुर्थाले एक्कासि बाबाको याद आयो ।

कुर्था लगाएँ । अलिकति बाबाको पसिनाको हरक कतै अल्झिएजस्तो लाग्यो काखितिर । त्यो हरकमा बाबा नै सिंगो अगाडि उभिएको अनुभूति भयो । भित्रबाट ती आमाले प्रिय सम्बोधनले बोलाइन्मनु माम खान आऊउहिले आमा हुँदा भान्साबाट यसैगरी स्नेहको जुनेली शब्द विस्फारित हुन्थ्यो मतिर । मनुष्यले आर्जन गरेको भौतिक प्रपञ्च अन्ततः खरानी हुन्छ तर उसले भोगेको र बाँचेको प्रिय पल भने अजम्बरी बनेर छातिमा बाँचिरहँदोरहेछ । ‘जीवनको वृद्ध अवश्थामा नोटको बिटा सिरानीमा राखेर सुते पनि त्यो सिरानीमुनिको धनले भन्दा मीठो अतितको यादगारले धेरै आनन्द दिँदोरहे छ’ बुबाले अस्पतालको श्यामा भनेको कुरा सम्झिएँ ।

भान्सामा पसे । एउटा सानो पित्तले कसौँडीमा भात भर्सिरहेको थियो । भान्सा सानो भए पनि सामानहरू कस्तो चटक्क पारेर मिलाएर राखेकी थिइनँ तिनले । छेउमा प्लास्टिकको झोलामा अलिकति चामल थियो । केलाएर बाँकी भएको अलिकति फर्सिको मुन्टा थियो । थोरै धनियाँ, डल्ले खुर्सानी लसुनको पोटी अनि एउटा सानो हरियो काँक्रोले भन्दै थियोे कि भान्सामा सबै कुरा छन् ।

आमा सिलौटामा अचार पिन्न थालिन् । म आमाको त्यो गरिबी र अभावका बारेमा घोत्लिन थालेँ । कठैवर जीवनभर एक्लै बसेर कति अभाव झेलेर यिनी मेरो बाबाको सतित्व नडगमगाई बाँचिन् होला । एक पटक अचार बनाउँदा गोलभेँडा सक्किए । चामल अब एक छाकलाई मात्रै बाँकी होला । त्यहाँ धेरै भनेको नुन मात्रै थियो । यति अभावमा विवशताको आँसु पिएर कसरी यत्रो उमेर बसिन् यहाँ अचम्म लाग्यो । यी आमाको यस्तो कन्तबिजोक देखेर स्वर्ग पुगिसकेका बाबालाई धिक्कार्न मन लाग्यो । के गल्ती थियो र यी अन्जान स्त्रीको जो तपाईंले ल्याउनु भो आइन् । तपाईंको मायामा हिउँझैँ पग्लिएर आइन् यिनी । तपाईंको भर र विश्वासमा त आइन् यिनी । तपाईंको दन्ते मोहनी र बैंशको धुपमा रन्थनिएर आइन् यिनी । यी अदना अनपढ सोझीलाई विधवा बनाएर तपाईं त स्वर्ग त जानू भो तर यिनको दिन दिनैको मरण कसले हेर्नी बाबा ?
पस्किएर दिएको भातको थालमा आँसुको ढिक्का चुहियो मेरो । आमा उता कोल्टे फर्किएर रुन थालिन् । एउटा बिरानोजस्तो लाग्ने शून्यता भान्साभरि दौडिएजस्तो लाग्यो ।

दशौँ वर्षसम्म एक्लै यसरी नै बाँचिन् यिनी । बाबा बितेको खबर पनि समयमा पाइनन् यिनले । मेरी आफ्नै आमाले विधवा जीवन भोग्न परेन । उनी त रातो सिउँदोमै सजिएर गइन् परलोक । तर यिनी विधाताको आगनमा विधवा बाँच्न विवश भइन् । कठैवर के गल्ती थियो र यिनको जो आजीवन बाबाको एउटा भुलको कारण सजाएको भागिदार बनिन् । न मेरी आमाले यिनीलाई घरमा ल्याउने अनुमति दिइन् । न बाबाले परिवारमा सँगै मिलाएर राख्न नै सके । न यिनी आफ्नो कानुनी हक खोज्दै पतिको घरमा आउनै सकिन् । सबैभन्दा ठूलो त्याग त यिनैले गरिन् जो परिवारमा विरोध र बिग्रह आउला भनेर आफू एक्लै बसिन् । कहिले त्यो परिवारमा मिसिन गइनन् । त्यहाँ आफू मिसिन गएपछि शान्त गतिमा बगिरहेको एउटा पारिवारिक डुंगा डगमगाउन सक्छ भन्ने पिरले यिन्ले आँसु पिएर भए पनि एक्लै बसिन् । कसैलाई दुःख दिइनन् । कसैलाई पिर पार्न गैनन् त्यो घरमा ।ओछ्यानमा हालेको झुल पनि ठाँउ–ठाँउमा प्वाल परेको थियो ।

यो दृश्यले मन झन् गल्यो । एउटी नारीमा कति सहन सक्ने अद्भूत शक्ति हुँदोरहेछ मैले अनुमान गरे । आखिर हामीलाई त खान लाउन मनग्गे जोडिदिएका थिए बाबाले । यता भने किन यस्तो कन्तबिजोक छोडेर गए । हुनसक्छ बाबालाई मेरी आमाको डर थियो । आखिर पुरुष त पुरुष हो नि युद्धमा बन्दुक बोकेर भीडन्त गर्न जाने सामथ्र्य भएको जात । तर दुईवटा श्रीमतीलाई किन बराबर गरेर राख्न भने असफल हुन्छ ?

कोठाको भित्ताहरू ओसले भिजेका थिए । खाने सामल सक्किसकेको थियो । झुल च्यातिएर लामखुट्टेले टोक्ता आमाका निधारभरि भमौराजस्ता फोका उठेका थिए । हात, कान, निधार, नाक सबै बुच्चा थिए । मानौ यिनी यहाँ श्राप भोग्नका लागि बसिरहेकी छिन् वर्षौँदेखि एक्लै । खाना खाएर एकछिन् खाटमा आराम गर भनिन् । परेली मेरा पनि भिजेका छन् । परेली उनका पनि रुझेका छन् । के भन्ने के नभन्ने म अलमल्लमा छु । के बोल्ने के नबोल्ने आमा पनि अल्मलमा छिन् । नबोले पनि त्यहाँ एकप्रकारको वाकयुद्ध भएको जस्तो प्रतीत भइरहेछ । म यो कारुणिक दृश्यले भक्कानिएको छु । झ्यालबाट बग्दै आउने हावामा पनि कतै बाबाले लामो श्वास फेरेको हो कि जस्तो लाग्छ ।

यता आउँदा तिम्रो बाबाले जहिले पनि तिम्रो कुरा गर्नुहुन्थ्यो’
‘के भन्हुहुन्थ्यो आमा बाबाले मेरो बारेमा ?’
‘त्यो असाध्य पढ्छ लेख्छ दयालु छ’
‘यति मात्रै’

‘कि तिम्रो कुरा गर्नुहुन्थ्यो कि दुःख पाएकी माइली छोरीको’
‘आमा ! तपाईं किन हाम्रो घरमा नगएको आजसम्म’
‘तिम्रो बाबाले त हिँड भनेकै हुन तिम्रो आमादेखि डर लाग्थ्यो’
‘आखिर महिलाको शत्रु त महिला नै हुँदारहेछन् नि है आमा’

आमा फिस्स हाँस्दै भाडा माझ्न थाल्नुभो । उता फर्किँदा आमाका कुर्कुचा फाटेको देखेँ । हातका औँला र खुट्टाका औँलाका काप बेस्सरी सुन्निएको देखे । खाटमा आराम गर्न यसो पल्टन मात्रै के लागेको थिए । बाहिरबाट कसैले ढोका घचघच्यायो । उठेर गएँ । ढोका खोलेँ । बाहिर एउटी भर्खरैकी छोरी मान्छे हातमा पैसा लिएर उभिँदै ‘आमा हुनुहुन्छ’ भन्दै आइन् र मलाई दिइन् । ‘केको पैसा हो’ मैले सोधे ।’ सात दिन बालुवा चालेको पैतीस सय छ यो ज्याला आमालाई दिनु है म हतारमा छु’ भन्दै उनी फुत्त गइन् ।

आमा कसरी बाँचेकी रहिछन् मलाई थाहा भो अब । बालुवा चालेर भए पनि मेरो घरको इज्जतमा कुनै धब्बा नलगाई एकान्त बाँचेकी यी आमालाई सोध्न मन लाग्यो कि आमा ! ‘बुढ्यौलीले मक्किसकेका यी हातहरू त अब ईश्वरको आरतीमा चल्नुपथ्र्यो तर आज आफ्नो भोक शान्त पार्न बालुवा चाल्दै हुनुहुन्छ आखिर कर्म ठूलो हो कि धर्म ठूलो हो त आमा ?’ तिमी नै भनिदेऊ ।

आमाका हातमा पैसा थमाउँदै भने ‘आमा भो अब धेरै दुःख नगर्नु घर हिँड्नु । म पाल्छु । बाबाको वर्षदिनको काम पनि आउन लाग्यो । अब उतै बस्ने । छोडेर हिँड्नु यो एकान्तलाई । बिर्सिनु अब हिजोलाई जे जे भो । म आमा र बाबाको तर्फबाट माफी माग्छु । अलिकति गल्ती तपाईंको । धेरै गल्ती मेरा बाबाको । अनि ठूलो गल्ती मेरी आमाको जसले तपाईंलाई घरमा प्रवेश गर्न रोक लगाइन् । अब पनि तपाईंलाई यहाँ एक्लै छोडेर गए भने सबैभन्दा ठूलो गल्ती मेरै हुनेछ ।’

बिसौँ वर्षसम्म पनि आफ्नो पतिको घर कस्तो छ भनेर नेदेख्ने स्त्रीहरू पनि छन् यहाँ । यो विवशताको जडता अन्त्य हुनुपर्छ । आमा आखिर आमा हुन् । चाहे आफ्नी आमा हुन् । चाहे सौतेनी आमा हुन् । चाहे धरती आमा हुन् । आफ्नै देशको माटो टेकेर हिँड्ने कुनै पनि छोरा कहिले टुहुरा हुनेछैन् ।

घरमा ल्याएर आमालाई सबैको अगाडि परिचय गराएँ कि यी हाम्री आमा हुन् । यिनको स्थान हाम्रो शिरमा हो ।
‘कस्तो लाग्यो त आमा तपाईंको घर’
‘रमाइलो छ मनु तिमीहरूकै काखमा मर्न पाऊँ बस यति भए
पुग्यो अब ।’


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x