Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमौद्रिक नीति र बिग मर्जरको कार्यान्वयन

मौद्रिक नीति र बिग मर्जरको कार्यान्वयन


काठमाडौं । मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको संवर्द्धन गर्दै वित्तीय क्षेत्रको पुँजीगत आधार सुदृढ तुल्याउने अभीष्टका साथ नेपाल राष्ट्र बैंकले केही वर्षयता मर्जर र एक्विजिसनको नीति कार्यान्वयनमा ल्याइरहेको छ । पछिल्ला वर्षहरुमा बैंक तथा वित्तिय संस्थाहरु एकआपसमा मर्ज हुने र एक्विजिसनको लहर पनि बाक्लै चलिरहेको छ । यसबीचमा केही समयअघि सार्वजनिक भएको चालू आर्थिक वर्षको मौद्रिक नीतिले मर्जरमा जान चाहने वाणिज्य बैंकहरुलाई भारी सुविधाको घोषणासहित बिग मर्जरलाई प्रोत्साहित गरेसँगै यतिबेला यो विषय चर्चामा रहेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको पुँजीको आधार दरिलो बनाई जोखिम वहन गर्ने क्षमता सुदृढ तुल्याउन बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा स्वस्फूर्त रुपमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी हुन विगतका सुविधाहरुका अतिरिक्त थप प्रोत्साहित गरिने उल्लेख छ । मौद्रिक नीतिले आर्थिक वर्ष २०७८/७९ भित्र वाणिज्य बैंकहरु एकआपसमा मर्जर र एक्विजिसनको प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान व्यवस्थामा भइरहेका छुटका अतिरिक्त २०८० साल असार मसान्तसम्म लागू हुनेगरी अन्य भारी छुट र सुविधाहरुको घोषणा गरेको छ । जसअनुसार, वाणिज्य बैंकहरुका लागि तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा शून्य दशमलव ५ प्रतिशतले तथा वैधानिक तरलता अनुपातमा १ प्रतिशतले छुट प्रदान गरिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।

यसैगरी, नेपाल राष्ट्र बैंकद्वारा तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा पाँच प्रतिशत थप गरिने र नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा एक प्रतिशत छुट दिइने व्यवस्था समेत मौद्रिक नीतिमार्फत अघि सारिएको छ । सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारीको छ महिनाको कुलिङ पिरियडलाई पनि हाल सार्वजनिक भएको मौद्रिक नीतिले खारेज गरेको छ । सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतित नभई अन्य संस्थामा आबद्ध हुन नपाइने विद्यमान प्रावधानमा छुट दिने मौद्रिक नीतिको प्रावधानसँगै कुलिङ पिरियड हटेको हो ।

वाणिज्य बैंकहरुले मर्जरपश्चात् एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको समय प्रदान गर्ने र एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरभित्रका शाखा कार्यालयहरुमध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न नेपाल राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था मिलाइने पनि हालै सार्वजनिक भएको मौद्रिक नीतिमा उल्लेख छ । यसका अतिरिक्त, वाणिज्य बैंकको शून्य दशमलव एक प्रतिशत वा सोभन्दा कम शेयर धारण गरेका संस्थापक समूहको सेयर धनीहरुले यस्तो सेयर बिक्री गर्दा फिट एन्ड प्रपर टेस्ट अनिवार्य नहुने व्यवस्था गरिने समेत मौद्रिक नीतिमा उल्लेख छ ।

यसैगरी, मर्जर वा प्राप्तिपश्चात् संस्थापक र सर्वसाधारण सेयर धारण गर्ने सेयरधनीले रोजेको एक समूहबाट मात्र सञ्चालकमा उम्मेदवारी दिन पाइने व्यवस्था गरिने भएको छ । मौद्रिक नीतिमार्फत अघि सारिएका यसप्रकारका छुट र सुविधाहरु नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा गरिएका विकास बैंक र वित्त कम्पनीलाई बैंक तथा वित्तीय संस्थाले एक्विजिसन गरेमा समेत उपलब्ध गराइने उद्घोष समेत चालू आर्थिक वर्षको मौद्रिक नीतिले गरेको छ । यसरी हेर्दा, वाणिज्य बैंकहरुलाई केन्द्रित गरी आकर्षक छुट र सुविधाहरुसहित बिग मर्जरलाई उच्च प्राथमिकता दिनेतर्फ चालू आर्थिक वर्षको मौद्रिक नीति परिलक्षित रहेको देखिन्छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बिग मर्जरलाई प्रोत्साहित गरिएको भए पनि नेपालमा बैंक तथा वित्तिय संस्था मर्जरको सुरुवात भएको भने दुई दशक पुग्नलागेको छ । अर्थतन्त्रमा वित्तीय क्षेत्रको योगदान वृद्धि गर्दै वित्तिय प्रणालीमा देखिएका चुनौतीहरुलाई सामना गर्ने प्रभावकारी औजारका रुपमा रहेको मर्जर नीतिले पछिल्ला वर्षहरुमा नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा निकै हलचल ल्याएको देखिन्छ । विशेषगरी निजी क्षेत्रका धेरैजसो बैंकहरुले मर्जरलाई नै पुँजी वृद्धिको गतिलो विकल्पका रुपमा लिएको देखिन्छ । २०६१ सालमा लक्ष्मी बैंक र हाइसेफ फाइनान्स गाभिएर लक्ष्मी बैंकको नाममा एकीकृत कारोबारको सुरुवात भएसँगै नेपालमा मर्जरको सुरुवात भएको हो ।

यद्यपि, २०६८ सालमा नेपाल राष्ट्र बैंकले विनियमावली जारी गरेपश्चात् यसले प्रस्ट कानुनी आधारसहित तीव्रता पाएको देखिन्छ । गत असार मसान्तसम्म आइपुग्दा कुल दुई सय २९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर र प्राप्ति प्रक्रियामा सहभागी भएका र यसमध्ये एक सय ७१ वटा संस्थाहरुको इजाजत खारेज भई ५८ वटा संस्था कायम रहेका नेपाल राष्ट्र बैंकको तथ्यांक छ । पछिल्लो समयमा पनि केही बैंक तथा वित्तिय संस्थाहरु मर्जर र प्राप्तिको प्रक्रियामा रहेका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत अघि सारिएको बिग मर्जर नीतिको कार्यान्वयन हुनसकेमा यसका थुप्रै सकारात्मक पाटाहरु रहेका छन् । नेपालको सन्दर्भमा २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् सरकारले खुला तथा उदार आर्थिक नीतिको अवलम्बन गरेसँगै बैंक तथा वित्तिय संस्थाहरुको स्थापना र सञ्चालन गर्ने लहरले तीव्रता पाएको देखिन्छ । हालसम्म आइपुग्दा नेपालमा २७ वटा वाणिज्य बैंकहरुले आम नागरिकलाई सेवाप्रवाह गरिरहेका छन् । तथापि, वाणिज्य बैंकहरुको संख्यात्मक वृद्धिसँगै यिनीहरुको गुणात्मक पक्ष पनि मुलुकी अर्थतन्त्रका लागि महत्वपूर्ण हुन आउँछ । स्वस्थ वित्तीय प्रणालीका लागि बैंकहरुको सेवामा स्तरीयता र विविधता कायम गरिनुपर्ने हुन्छ ।

साथै, प्रतिस्पर्धी वित्तीय बजारमा पुँजीको आकार सानो भएका बैंकहरुलाई टिक्न गाह्रो पर्ने भएकोले पुँजी आधार बलियो बनाउन पनि उत्तिकै आवश्यक रहन्छ । यो आवश्यकतालाई सम्बोधन गर्ने क्रममा हाल अपनाइएको नीतिको सफल कार्यान्वयनबाट वित्तीय स्थायित्व सुदृढीकरण गर्ने दिशामा सकारात्मक प्रभाव पर्नसक्ने देखिन्छ । यसका साथै, बिग मर्जरको कार्यान्वयनबाट बैंकहरुको चुक्ता पुँजीमा उल्लेख्य वृद्धि भई जोखिम वहन गर्ने क्षमता अभिवृद्धि हुने, मर्जरपश्चात् शाखाहरुको संख्या र कर्मचारी कटौतीका कारण व्यवस्थापकीय खर्चमा कमी आई नाफा वृद्धि हुने, बैंकहरुको कर्जा लगानी गर्ने क्षमता बढ्ने तथा संख्यात्मक रुपमा बैंकहरुको संख्या कम भएसँगै सुपरीवेक्षण एवं नियमनमा चुस्तता आई वित्तीय सुशासनमा टेवा पुग्नेलगायतका सकारात्मक प्रभावहरु देखिने अवस्था रहन्छ ।

अर्कोतर्फ, सरकारले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुलाई बिग मर्जरतर्फ आकर्षित गर्न थुप्रै सुविधा र सहुलियतहरु अघिसारेको भए पनि यसको कार्यान्वयन भने निकै चुनौतीपूर्ण रहन सक्ने देखिन्छ । मर्जरका क्रममा बैंकहरुले झेल्नुपर्ने मुख्य चुनौतीका रुपमा कर्मचारी व्यवस्थापन रहेको छ । धेरै संख्यामा शाखाहरु र शाखाअनुरुप नै कर्मचारीहरु रहेका वाणिज्य बैंकहरु एकआपसमा गाभिँदा प्रमुख कार्यकारी अधिकृतदेखि ठूलो संख्यामा रहेका अन्य कर्मचारीहरुको व्यवस्थापन गर्ने कार्य आफैँमा चुनौतीपूर्ण रहेको मर्जरका पछिल्ला उदाहरणहरुले पनि देखाएका छन् ।

यसैगरी, वाणिज्य बैंकहरुमा ठूलो संख्यामा रहने लगानीकर्ताहरुको लगानीलाई सहीरुपमा व्यवस्थापन गर्ने, बैंकहरु बीचमा रहने कार्यशैलीको भिन्नतालाई एकत्रित रुपमा व्यवस्थापन गर्ने, बैंकहरुले प्रचलनमा ल्याईरहेका सफ्टवेयरलगायतका प्रविधिमा रहेको पृथकपनालाई सम्बोधन गर्नेलगायतका विषयहरु मर्जरका क्रममा निकै चुनौतीपूर्ण बन्नसक्ने अवस्था रहन्छ । धेरैजसो वाणिज्य बैंकहरुले आफ्नै लगानीमा जग्गा खरिद गरी भवनहरु निर्माण गर्नेलगायत करोडौं लगानी गरेर सम्पत्ति जोडेका पाइन्छन् । मर्जरको प्रक्रियामा सहभागी भइरहँदा वाणिज्य बैंकहरु बीचमा सम्पति मूल्यांकन गर्ने तथा सम्पतिको व्यवस्थापन गर्ने विषय पनि निकै पेचिलो बन्नसक्छ । यसबाहेक, मर्जरपछि बैंकको नामाकरण गर्ने, पदको बाँडफाँट गर्ने, पदहरु मिलान गर्ने, सेयर स्वाप रेसियो मिलाउनेजस्ता विषयहरुले पनि मर्जरमा जान चाहने वाणिज्य बैंकहरु बीचमा चुनौती खडा गर्नसक्ने विगतका अभ्यासहरुले देखाएका छन् ।

मुलुक विशेषको अर्थतन्त्र र वित्तीय प्रणालीमा बैंक तथा वित्तीय संस्थाहरु यति नै संख्यामा आवश्यक रहनुपर्ने भन्ने शास्वत आधार रहेको पाइँदैन । तर, पुँजी आधार बलियो भएका, प्रतिस्पर्धी र गुणात्मक संस्थाहरुको उपस्थिति भने स्वस्थ अर्थतन्त्र एवं वित्तीय प्रणालीका अपरिहार्य आधार हुन् । यही कारण, विश्वका धेरै देशहरुले मुलुकी अर्थतन्त्रमा यस किसिमका बैंक तथा वित्तीय संस्थाहरु कायम गर्नका लागि विभिन्न खालका नीतिको प्रयोग गर्नेगरेका छन् ।

नेपालको सन्दर्भमा पनि पुँजी संरचनामा साना आकारका धेरै वटा वाणिज्य बैंकभन्दा बलियो पुँजी आधार भएका ठीक्क संख्याका बैंकहरु भएमा देशको अर्थतन्त्रले लाभ हासिल गर्नसक्ने अवस्था रहन्छ । यस दिशामा सरकारले मौद्रिक नीतिमार्फत अघि सारेको बिग मर्जरको नीति आफैँमा स्वागतयोग्य रहेको छ । अतः मौद्रिक नीतिले अघि सारेको भारी छुट र सुविधाको उपभोग गर्दै नीतिलाई सफल बनाउनतर्फ सम्पूर्ण वाणिज्य बैंकहरुको समयमै ध्यान पुग्नुपर्ने देखिन्छ । अर्कोतर्फ, सरकार र केन्द्रिय बैंकले बिगतमा मर्जर नीतिको कार्यान्वयनबाट अपेक्षित लक्ष्य प्राप्त भए, नभएको सूक्ष्मरुपमा समीक्षा एवं विश्लेषण गरी मर्जरको क्रममा आउनसक्ने कठिनाइहरुको सहजीकरणका लागि तम्तयार रहन पनि उत्तिकै आवश्यक देखिन्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x