फोहोरमैला व्यवस्थापनमा स्रोत परिचलन : आजको आवश्यकता
काठमाडौं । काठमाडौँलगायत विभिन्न सहरका फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेला–बेलामा बन्द वा समस्या आउँदा पनि सम्बन्धित निकायले समस्या निराकरण गर्न नसकी फोहोरमैला व्यवस्थापन राष्ट्रिय समस्याको रूपमा खडा भएको छ । साँच्चै भन्नु नै पर्दा छवटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका, दुई सय ७६ नगरपालिका र चार सय ६० गाउँपालिकाका सहरहरूमा फोहोरमैला व्यवस्थापन भोग्नेलाई भोगी नसक्नु, बुझ्नेलाई बुझी नसक्नु छ । बेलाबखत विभिन्न प्रकारका निहँु तथा कारणले गर्दा सहरहरूको फोहोरमैला उठ्न नसकी सहर दुर्गन्धित बन्दै आइरहेको छ । सो कारणबाट काठमाडौँ उपत्यकालगायत अन्य सहरी क्षेत्र दूषित भई सहरभरि सडक, गल्ली र चोकमा थुप्रिएको फोहोरमैला नउठी, उच्च तापक्रम र अविरल वर्षाको समयमा सहरी क्षेत्रमा दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर परी हजारौँ व्यक्ति झाडापखाला, विषम ज्वरो, हैजा, उच्च रक्तचाप आदिबाट ग्रसित भई अस्पताल भर्ना हुने अवस्था बेलामौकामा सिर्जना भएको नौलो भने होइन ।
प्रकृतिले सिर्जना गरेको हावा, पानी, पहाड, नदीनाला, वन जंगल आदि सहरीकरणको तीव्रचापले गर्दा ह्रास भएको छ । जसको फलस्वरूप आदिम कालदेखि मानवसहित पर्यावरण सम्पूर्ण सजीव तथा निर्जीव वस्तुहरूको सन्तुलन विनाश भएको छ । सो विनाशको फलस्वरूप लाखौँ नागरिक आकस्मिक समस्या भोग्न बाध्य भएका हुन् । मुख्य समस्याका रूपमा श्वास प्रश्वास, प्रदूषण, सार्वजनिक स्थल विनाश, शारीरिक यातना एवं मृत्यु समेत छन् । नेपालको प्रमुख सहर काठमाडौँको सन्दर्भमा वातावरणको मुख्य समस्याको रूपमा छ । काठमाडौँमा वायु प्रदूषणको मुख्य कारकको रूपमा भन्नुपर्दा सवारीसाधनको बढ्दो चाप, जनसंख्या वृद्धि, प्राकृतिक स्रोतको दोहन, समन्वयको अभाव, आधुनिक प्रविधिको जथाभावि प्रयोग, वनजंगल विनास, अव्यवस्थित सहरीकरण, औद्योगीकरण, फोहरमैलाको अव्यवस्थित, अनुगमनको अभाव, ऐन कानुनको कार्यान्वयन नहुनु, जनचेतनाको कमी, अवैज्ञानिक सडक विस्तार, भूकम्पबाट विनास भएका भौतिक संरचनाहरूको निर्माण तथा मर्मतले गर्दा काठमाडौँलगायत देशको अन्य सहरी क्षेत्रमा फोहोरमैलाको समस्या तथा धुलो र धुवाँकोे प्रदूषण उच्च बिन्दुमा छ ।
फोहोरमैला पारिवारिक तथा आर्थिक क्रियाकलापको उपज हो । काठमाडौँ महानगरपालिका, ललितपुर, भक्तपुर, बनेपा, विराटनगर, धनगडी, सुर्खेत, वीरगञ्ज र पोखरा, भरतपुरलगायत देशका विभिन्न सहरहरूमा फोहोरमैलाको व्यवस्थापन समस्याको रूपमा रहेको छ । काठमाडौँ उपत्यकाको हाल दैनिक निष्काशन हुने करिब १२ सय मे.टन फोहोरमैला व्यवस्थापन प्रमुख समस्या भएको देखिन्छ । विभिन्न वाहनामा फोहरमैला डम्पिङ गर्न नपाई काठमाडौँलगायत अन्य सहरमा जताततै फोहोरमैलाले वातावरण प्रदूषण भई जनस्वास्थमा तीव्र असर पारेको हुन्छ । साथै ट्राफिकमा समेत अस्तव्यस्त तुल्याएको पाइछ ।
फोहोरमैला व्यवस्थापनको विवेचना गर्दा राजधानी काठमाडौँँको गर्नु उपयुक्त होला । काठमाडौँ उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोरमैला निष्कासन गर्न थालेको करिब १६ वर्ष पुगिसक्यो । दुइ–तीन वर्षको लागि मात्र तयार गरिएको सो डम्पिङ साइट २०६२ जेठ २२ देखि प्रयोगमा आएको हो । काठमाडौँ, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाएको सो डम्पिङ साइटमा हाल १८ ओटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्ड फिल्ड साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा स्यानिटरी ल्यान्ड फिल्ड साइट निर्माणकार्य सम्पन्न हुँदै छ । दुई वर्षको लागि भनेर बनाएको डम्पिङ साइटमा करिब १६ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्दले स्थानीयवासी आक्रान्त हुनु स्वभाविक नै हो । फोहोर कुहिई बगेको अर्धठोसको कारण प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ, गाइवस्तु एवं कृषि उपज, जलथल, वातावरणमा नै नकरात्मक असर परेको गुनासो छ । सो ल्यान्डफिल्ड साइटको क्षमता सकिएकोले बन्चरे डाँडा ल्यान्डफिल्ड साइट बनाउने निर्णय भएको थियो । बन्चरे डाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्टयाएर मात्र राख्ने स्यानिटरी ल्यान्डफिल्ड साइट हुने कुरा प्रकाशमा आएको छ । सो पनि ढिलाइ भइरहेको छ ।
यसै सिलसिलामा सिसडोल ल्यान्डफिल्ड साइट २०७८ श्रावणको पहिलो हप्ता पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ठूलो चुनौती आएको छ । यसै सिलसिलामा केही किलोमिटर सडक फोहोर पुरी बनाएकोले फोहोर बोक्ने गाडी चिप्लेर सो उचाइ चढ्न नसकी फोहोरमैला व्यवस्थापनमा समस्या भई सो प्रभावले जनस्वास्थ्यमा असर परेको छ । बन्चरेडाँडामा तुरुतै फोहोर व्यवस्थापन हुन नसक्ने सम्बन्धित पक्षले जनाएको छ । सो सिलसिलामा ल्यान्ड फिल्ड साइटको फोहोर कुहिएर बगेको लेदोले फोहोर बोक्ने गाडी ल्यान्ड फिल्ड साइटमा पुग्न समेत मौसमी समयमा कठिनाइ छ । दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको सिसडोल ल्यान्ड फिल्ड साइटमाथि भनेजस्तै पूर्णरूपमा भरिई समस्याग्रस्त भई हाल थोरै मात्र फोहोरमैला व्यवस्थापन भएको छ । पूर्ण समाधानको लागि अविलम्ब फोहोरलाई स्रोतमा नै परिचालन गर्ने र बन्चरे डाँडाको ल्यान्डफिल्ड साइट निर्माणसम्पन्न गरी प्रयोग गर्नु आजको आवश्यकता हो । साथै पालिकाका बासिन्दालाई फोहोर कम निकाल्न अनुरोध गरी कुहिने फोहोर र नकुहिने फोहोर स्रोतबाटै व्यवस्थापन गर्न आवश्यक छ ।
बन्चरे डाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तर–पश्चिममा पर्छ । स्यानिटरी ल्यान्डफिल्ड साइटले बाहिरी क्षेत्रसहित १७ सय रोपनी जग्गा ओगटेको जानकारीमा आएको छ । स्यानिटरी ल्यान्डफिल्ड साइट फोहोरमैलाको वैज्ञानिक आधारित सेमिएरोबिक विधिअनुसार निर्माण गरिएको जानकारीमा आएको छ । यस ल्यान्डफिल्ड साइटले हाल सिसडोलमा फालिँदै आएको फोहोर २० वर्षसम्म धान्ने प्राविधिकहरूले बताएका छन् । फोहोरलाई स्रोतमै छुट्टयाएर अधिकतम पुनः प्रयोग तथा स्रोत परिचालन गरी बाँकी फोहोर मात्र ल्याएमा यो ल्यान्डफिल्ड साइट एक वर्ष फोहोर व्यवस्थापन गर्न सकिने सम्बन्धित पक्षको भनाइ छ । आशा गरौँ, बन्चरे डाँडा ल्यान्डफिल्ड साइटबाट स्थानीय जनतालाई वातावरण प्रदूषण हुने कार्य नभई वातावरणमैत्री हुने कुरा प्रकाशमा आए पनि उचित प्रयोगको आधारमा कतिसम्म टिक्ने हो, अहिले किटान गर्नचाहिँ नसकिएला कि ? जे होस् सोचचैँ सकारात्मक नै राखौँ ।
फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तत्वहरू निम्न छन्ः
फोहोरलाई स्रोत परिचालन गर्न नसक्नु नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो, आफ्नो जिम्मेवारी नसम्झिने, कम्पोष्ट मल बनाउन तथा ग्यास उत्पादन गर्न नसक्नु, कानुनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावको समस्या, फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि सोअनुसार कार्यान्वयन गर्न नसक्नु, फाहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव, फोहोरमैला व्यवस्थापनसम्बन्धी आवश्यक भौतिक पुर्वाधारहरूजस्तै स्रोत परिचालन तथा उचित, ल्याण्डफिल साइटको अभाव, फोहोरमैला व्यवस्थापनमा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारीरूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापन तथा स्रोत परिचलनसम्बन्धी आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्बन्धी तथ्यांक र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्यांकनको अभाव, फोहोरमैला व्यवस्थापनमा निहित स्वार्थ, फोहोरमैला व्यवस्थापनमा राजनीतिक खिचातानी, फोहोरमैला व्यवस्थापनमा देशमा चलेको अशान्ति र द्वन्द्व तथा माहामारीको प्रभाव, फोहोरमैला व्यवसथापनमा अन्तरनगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन गर्न नसक्नु, संस्थागत रूपले तालिम तथा विकास हुन नसकेको, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, कमजोर संस्थागत अभ्यास, माथि उल्लेख भएजस्तै फोहोरमैलालाई स्रोतको रूपमा परिचालन गर्ने दृष्टिकोण तयार नभइसकेको । यी माथिका कारणबाट काठमाडौँ उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा फोहोरमैलाको व्यवस्थान चुनौतीपूर्ण बनेको छ ।
फोहोरमैलाको समाधानको सबैभन्दा उत्तम उपाय नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी सोसम्बन्धी दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्यांकलाई वैज्ञानिक ढंगले अध्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनको लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्ने, नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्ययोजना बनाई अगाडि ल्याउन आवश्यक छ यस्तो कार्ययोजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवा सुविधा स्पष्टरूपमा उल्लेख हुनु पर्दछ, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने सोबाट ठूलो धनराशीको बचत हुने, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिका उपयुक्त प्रविधि भित्राई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सहीरूपले कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्याण्डफिल्ड साइडको व्यवस्था गर्ने, पब्लिक—प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकूल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकोले कतै निकायगत जिम्मेवारीमा दोहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुदाँ फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यमान कानुहरूलाई परिमार्जन गर्नुपर्ने भए गर्ने, माथि भनेजस्तै फोहोरमैलालाई स्रोत परिचालन गरी प्रांगारिक मलको कारखाना खोल्ने । आशा छ, बन्चरे डाँडाको ल्यान्डफिल्ड साइट वातावरणमैत्री हुनेछ । यी माथिका कुराहरू कार्यान्वयन भएमा पक्कै पनि काठमाडौँँ उपत्यका र देशका अन्य सहरको फोहोरमैला व्यवस्थापन प्रभावकारी भई नेपाली जनताको स्वास्थ्य गुणस्तरीय हुनेछ । लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया