Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभरतपुरमा खुल्यो १२ करोड लगानीमा रिसोर्ट

भरतपुरमा खुल्यो १२ करोड लगानीमा रिसोर्ट


चितवन । चितवनको भरतपुरमा करिब १२ करोडको लगानीमा सामुदायिक रिसोर्ट सञ्चालनमा आएको छ । चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल रोडमा तारापुञ्ज बचत तथा ऋण सहकारी संस्थमा आबद्ध करिब सात सय जना सेयर सदस्यहरुको सामूहिक लगानीमा एक बिघा एक कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको तारापुञ्ज रिसोर्ट सञ्चालनमा आएको हो ।

सहकारीमा आबद्ध रहेका सदस्यहरुले सेयर सदस्यहरुको आर्थिक स्तर सबल बनाउनका साथै सामुदायिकतामा सञ्चालन गरिने व्यवसायले समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याएको जनाइएको छ । रिसोर्टमा साना, मझौला तथा ठूला गरी पाँचवटा हलहरु रहेका छन्, जसमा विवाहलगायतका सामाजिक तथा धार्मिक कार्यहरु, सेमिनार, गोष्ठी, विभिन्न संघ/संस्थामा साधारणसभा, सम्मेलनलगायत एकै पटक करिब एक हजार पाँच सय व्यक्तिहरुलाई सेवा दिन सकिने रिसोर्टका प्रबन्धनिर्देशक श्रीराम देवकोटाले बताए ।

रिसोर्टमा आन्तरिक तथा बाह्य आगन्तुकलाई व्यवस्थित र सहज हुने गरी पूर्वाधार निर्माण गरिएको छ । रिसोर्ट हाताभित्र अत्याधुनिक रेष्टुरेन्ट तथा पार्किङ र गार्डेनको निर्माणले बजार क्षेत्रबाट नजिक रहेकाले आगन्तुकहरुलाई घरायसी वातावरणमा सेवा दिन सकिने जनाइएको छ । सम्भवतः नेपालमै पहिलोपटक यति धेरैको संख्यामा युवाहरुको सामूहिक लगानीमा सामुदायिक रिसोर्ट सञ्चालन भएको र पछिल्लो समय पर्यटनको हब बन्दै गएको चितवनलाई यो रिसोर्टले थप टेवा दिने तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था तथा तारापुञ्ज रिसोर्टका अध्यक्ष सुदीप रेग्मीले बताए ।

सामुदायिकताको माध्यमबाट पर्यटन र खासगरी सेयर सदस्यहरुलाई व्यावसायिक माध्यमबाट उनीहरुको आर्थिकस्तर उकास्न तथा सामूहिक भावनालाई एकत्रित गर्दै अगाडि बढ्न रिसोर्ट सफल रहने उनको भनाइ छ । रिसोर्ट सामुदायिक परियोजनाअन्तर्गत रहेकाले अब केही समयभित्र नै आवासको व्यवस्था समेत हुने जनाइएको छ । खासगरी सहकारी संस्था र विभिन्न सामाजिक संस्थाहरुको अवलोकन भ्रमणमा आउने आगन्तुकहरुलाई एकै पटकमा सुलभ र व्यवस्थित तरिकाले बास बसाउन सकिने भएको हो । पहिलो चरणमा भ्रमणमा आउनेहरुका लागि ६० जना क्षमताको १० कोठाको आवास भवन निर्माणको काम अन्तिम चरणमा पुगेकोले सञ्चालनको तयारीमा रहेको र केही समयभित्रै आवासीय प्रयोजनका अन्य आवासीय भिल्लालगायतको संरचनाको तयारी गरिएको रिसोर्टका व्यवस्थापन प्रमुख लक्ष्मण गौतमले बताए ।

विश्वमा पछिल्लो समय देखा परेको कोभिड १९ का कारण निर्माणको काममा केही ढिलाइ भएको भएपछि पछिल्लो समय कामलाई निरन्तता दिँदै रिसोर्टको विभिन्न हलहरुलगायत खाजा, खानालगायतको लागि आधुनिक रेष्टुरेण्ट सञ्चालनमा आएको छ । रेष्टुरेण्टमा विभिन्न प्रकारका परिकारहरु घरायसी पारिवारिक वातावरणमा खान पाइने तथा होम डेलिभरीको व्यवस्थापन गरिएको जनाइएको छ । रिसोर्टमा सहकारीमा आबद्ध सदस्यहरुले आफैँले उत्पादन गरेका तरकारी, फलफूल, माछा, मासुलगायतको स्वस्थकर अर्गानिक खाद्यान्न प्रयोगमा ल्याइएको जनाइएको छ । यद्यपि रिसोर्टको विधिवत् उद्घाटन गर्न भने केही समय लाग्ने व्यवस्थापन पक्षले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x