त्यो शिक्षा र यो शिक्षा
काठमाडौं । भाद्र २३ लाई हामीले साक्षरता दिवसको रूपमा हेर्ने गरेका छौँ । हामीकहाँ शिक्षा र साक्षरता दिवस पनि राजनीतिक नाराजस्तै भएको छ । राजनीतिक नारा अधिकांश अधुरा छन्, शिक्षाको विषय पनि त्यस्तै छ । यहाँका शिक्षितहरू युरोप, अमेरिकामा पेट्रोल पम्पमा काम गर्न रुचाउँछन्, या त कोही खाडीमा भाँडा माझ्न । देशमा गरिवीको अन्त्य भन्दै गर्दा जसरी यसको संख्या बढ्दैछ, शिक्षाले दिने मानव विकास घट्दै छ ।
व्यक्तिले आफूसँग जे छ अरुलाई दिने त्यही हो, ज्ञानीले ज्ञान दिने हो, दुःखीले दुःख, भयभीतले भय, क्रोधीले क्रोध, जुन संस्कारबाट आयो मान्छे उसले समाजलाई दिने त्यही हो र समाजमा हत्या, लुटपाट, हिंसा, तनाव, बलात्कार, चोरी, विखण्डन, अनैतिकता, भ्रष्टाचार कुप्रवृत्ति त्यसै बढेको होइन, इमान्दारिता र नैतिकता अनि विश्वासको अभाव भएपछि घर, भवनमा पर्खाल, साँचो, ताल्चा, भोटे कुकुर त्यसले पनि काम नगरेपछि सीसी क्यामेरा आवश्यक पर्ने हो । अमेरिका, युरोपतिर पकम्पाउण्ड वाल हुन्छ, तर खुलै । जापानमा वालमा ढोकालाई पनि नजिकै कि बक्समा साँचो राखिएको हुन्छ ।
यही देश हो नेपालमा राजा जनकका पालामा सुनका भाँडाकुँडा रातभरि बाहिरै रहन्थ्यो, अहिले पनि कतिपय देशमा सडकमा हराएको पैसाको थैली पाउनेले कोठामै पु-याउन ल्याउने प्रणाली पनि छ । खेतबारीमा अनाज रोपिएन भने झारले सताउँछ त्यस्तै मानिसको दिमागलाई बोधो राखिए यो बिग्रन्छ, शरिर पूरै अस्वस्थ मात्रै होइन सखापै हुन्छ, दुःखलाई पचाउन नसके निराशा बढ्छ, निन्दालाई पचाउन नसके दुश्मनी बढ्छ, भोजनलाई पचाउन नसके रोग बढ्छ, प्रशंसालाई पचाउन नसके अहंकार बढ्छ । शिक्षित वा साक्षर हुँदैमा समाज रूपान्तरण हुने होइन, जसले राम्रो बुझेका छन् उनै धेरै फोहोरी भएका त हामीले सबैतिर देखेकै हौँ । नयाँ पुस्तामा काँधमा जिम्मेवारीको अभाव छ, मस्तिष्कमा समझदारीको अभाव देखिँदै छ, मिहिनेत नगरीकनै ठूलो बन्ने, धनी हुने सोख छ अहिले सबैतिर । राजनीतिक दलहरूले आ–आफ्ना भ्रातृ संस्थाहरू खोल्दै नयाँ पुस्तालाई आफैँजस्तो हुन प्रशिक्षण गर्दै छन् ।
विद्या ददाति विनयं विनयात् याति पात्रताम्, पात्रतात् धन माप्नोति धनात् धर्म ततः सुखम् अर्थात् विद्याले नम्रता दिन्छ, नम्रताले असल पात्र बनाउँछ, असल पात्रबाट धनार्जन हुन्छ, त्यस्तो सत् आर्जित धनले धर्म भई जीवनभरि सुख र त्यसपछि शान्ति मिल्छ । त्यसैले नीतिले नै भनेको छ विद्या धनं सर्व धनं प्रधानम् अर्थात् सबै धनभन्दा विद्यारूपी धन नै ठूलो धन हो । ठीक उल्टो आजको शिक्षाले ढुंगा हान्न सिकाएको, श्रम, सीपको अभाव भई मौलिकता गुमाएको पराधीन भई झन्झन् बेरोजगार भई आमा बाबुको घर, खेत बिक्री गर्दै खाडीमा जान प्रेरित गरेको, युरोप, अमेरिकाको सपनामा अभिभावकबाट टाढा भएको बाबुआमा एक्लै भएका र मृत्यु र त्यसपछि पनि सन्तानको अभाव भएको महसुस भएको छ ।
आजको नयाँ पुस्ताले न घर, परिवार, समाज वा देश बोक्न सकेको छ, न आफू स्वावलम्बी भई स्वआर्जन गर्न सकेको छ । साँचो विद्या त्यस्तो विद्या हो जसले जीवनलाई जीवन्त बनाउँछ । अक्षर भन्नु क्षर अर्थात् खेर नजानु हो, नष्ट, भ्रष्ट नहुनु हो, नाश नहुनु हो, अझ अक्षर भन्नु त परब्रह्म प्राप्ति हो, मुक्ति पनि हो, उन्मुक्ति हो, अक्षरसहित आफूलाई स्थापित गर्नु साक्षर हुनु हो, कखरा सिक्नु वा ए, बी, सी पढ्दै साक्षर हुने होइन, ठूला डिग्री बोक्दैमा मानिस ठीक हुन्छ भन्ने होइन, अक्षरै नचिनेकाले पनि घर, परिवार, जीवन गतिलो ढंगले हाँकेका कैयन उदाहरण छन् । हो, ज्ञान प्राप्त गरेपछि विज्ञानको दुरूपयोग गर्नुहुन्न, बन्दुकको बलभन्दा कलमको बल बढी त हुन्छ नै ।
त्यो बेला बिहानभरि मेला भ्याएर चार गाँस टिपी कुदेर स्कुल जानुपर्ने त्यो पनि खालि खुट्टा, आउँदा जाँदा खोला बाढीको पीर त छँदै थियो । स्कुलमा ढिलो हुन नहुने, गुरुलाई मुखाग्री पाठ बुझाउनुपर्ने, लेखेर सबै देखाउनुपर्ने, भन्न सकिएन वा गल्ती भयो वा गृहकार्य गरिएको छैन भने लठ्ठी खानुपर्ने त्यो पनि हातै रातो हुनुपर्ने गरी । हाफ टाइमको समय आधा घण्टा रल्लिँदा पाँच, दश पैसाको चना, केराउ टोक्दै पन्ध्र बीस मिनेटको खालि समय कि त साइकल खेल्ने भाडामा साइकल लिएर वा स्कुल नजिकै बजारमा सुनिने रेडियोको समाचारले दिनभरिका राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाबारे जानकारी लिनुपर्ने, छुट्टी भएपछि सुरुवालको इनारले कम्मरमा किताबहरू अड्काएर या त घर फर्कँदा खेत बारीको मलको डोको वा पतकर, घाँस, दाउरा वा बजारका कुनै किनमेल वा फर्कँदा खेतमा धानमा पानी लाउने, बाउसे गर्ने वा खेत गोड्ने वा गहुँ चुट्ने, काट्ने, गाईवस्तु कता छन् खोज्दै गोठसम्म ल्याउनुपर्ने अवस्था हुन्थ्यो । जसोतसो घरभित्र पुगेपछि टुकी बत्तीमा भात, भान्छा, रसेटो, गाई दुहुनु, खानी कुरो हाल्ने, किताब समाउने फुुर्सदै कहाँ पाउने र ? जसोतसो घरधन्दा छिनेर ओछ्यान पुगी भोलि गुरुलाई पाठ बुझाउनुपर्ने तयारी कण्ठ पारेर हो वा लेखेर, गृहकार्य पूरा गर्दा मध्यरात बितिसक्थ्यो । प्रोज, पोयट्री कण्ठ, भाषा उल्था, अल्जेब्राका थेरमहरू कण्ठ, भाषा, व्याकरण सूत्रसहित कण्ठ, निबन्ध, चिठी लेखन, राष्ट्रिय, अन्तर्राष्ट्रिय सामान्य ज्ञान संसारभरिको सबै जान्नुपर्ने, शुक्रबार हाफ छुट्टी भएपछि खेती काम परिवारको अरुको भारो पर्म मेलाको पालो दिनुपर्ने, सप्ताहान्त बिदाको दिन मन्दिरका गुरुहरूसँग विशेष जीवन दर्शन, पुराण, धर्म कर्मकाबारे विवेचना, व्याख्या, मीन पचासको या दशैँ तिहारको लामो विदामा गुरुकुल, खेत बारीका सबै काम, भारो पर्म, अलि ठूलो हुना साथ स्कुल बिदा मिलाई कथा प्रवचन, सत्संगमा सामेल, ज्योतिष, चिनामा दक्षता हासिल गर्नुपर्ने स्कुल, कलेजका अतिरिक्त घरधन्धादेखि ईष्टमित्रकहाँ आउजाउ जीवनको रहस्यबारे सिकाइ, भोगाइ, हल्का फुर्सद मिल्ना साथ विश्वविद्यालयका पुस्तकालयमा अतिरिक्त ज्ञानका लागि दौडधुप, कीर्तिपुरदेखि हरेक कलेजका पुस्तकालय पिच्छेको सदस्य बनेर भनौँ अहोरात्र खटेर, चौबीस घन्टामा ४ घण्टा आराम बाँकी जीवन कलेज, पुराण, ट्युसन, नोकरी, घर, जग्गाको थप जोहो, कमाइ, बचत, औषधिमूलो, कपडा धुनेदेखि यावत् समस्या एक्लै झेलेर जीवनलाई खार्नुपर्ने अवस्था थियो र पनि जसोतसो सेकेन्ड डिभिजन प्रमाणपत्र हात पर्ने गर्थ्यो ।
समयले कोल्टो फे-यो । नयाँ पुस्ता अहिले ठसठसी कन्दै आठ बजेसम्म ओछ्यान छोड्दैन । सोफावरिपरि पुस्तक छरिएका छन्, मिलाउँदैनन्, बेड टी समयमै चाहिन्छ, दाँत माझ्न शनिबार कुर्नुपर्छ । स्मार्ट फोन, पंखामुनि सजिएको कोठा, टेवुल, कुर्सी, ल्यापटप, अनलाइनमा नेटको फि, बाउ, बाजेको घरमा हुने महिनाको खर्चबारे जानकारी छैन, एक्लै नुहाउन सक्दैन, नुहाइहाल्यो भने भित्री कपडा, मोजा समेत शौचालयमै छोड्छ, बट्टा बन्दी खाना त्यो पनि भनेकै बेला, स्कुलले तोकेकै ड्रेसमा आफ्नो कोठामा खाना चम्चाले खाँदै पढेजस्तो त्यो पनि सँगै अर्को अभिभावक, जान्ने मान्छे बसिदिनु पर्ने नेपाली अक्षर राम्रो लेख्न सक्दैनन्, स्कुलको फि, स्टेसनरीको खात, व्याग, टाई, सुट, बी एफ र जी एफको भीड, बाआमा भन्न नजान्ने, परदेशी गाना कण्ठ हुने, स्वदेशी भूगोल र स्वदेशी, विदेशी समान्यज्ञानको अत्तोपत्तो नभएको, घरको काम, भात, भान्छामा सिन्को नभाँच्ने, कोठालाई होटल सम्झने, इष्टमित्र, खेत, बारी, चाडपर्व केही नजान्ने, मोही, मकै, भटमास, कोदो, फापर, धान, गहुँको बोट नचिन्ने, चाउमिन र चाउचाउको भोको, अण्डा, मासु नभई गाँस नहाल्ने, विहानको तरकारी अर्को छाक दोहोरिन नहुने, शनिबार आउना साथ २, ४ हजारले बाहिर घुम्नुपर्ने, १२ वर्षदेखि नै फिजियोथेरापीको डाक्टरकहाँ छ भन्दै खोज्ने, घरको सरसफाइमा वास्तै नगर्ने, अनलाइनबाहेक अरु मामलामा अत्तोपत्तो केही नभएकाले ए प्लस् जीपीए ल्याएको भन्दै लड्डु र पेडा अनि केक र हेप्पी वर्थ डे गरिदिनु पर्ने त्यो पनि तिथि मिति पूर्वीय धर्म संस्कृतिविपरीत तारेखमा ।
आजको शिक्षाको चमत्कार अचम्मको छ, देखासिकी, विदेशीको नक्कल, उम्रदै तीन पाते, अभिभावक ऋणमा छ कि धनमा छ थाहा छैन, दिनमा फुटकर खर्चै हजार, हे दशा पराधीन, परनिर्भरता, एक पेज लेख्न राम्ररी सक्दैन, कुनै प्रतीस्पर्धी परीक्षामा सामेल हुनु परे हालत के होला ? बल्ल तल्ल परीक्षा नै नदिई एसईईको एप्लस पायो अनि सबैभन्दा महँगो कलेज कुन छ भन्दै चाहार्ने, अनि खाल थापेर व्यापारिक शैलीमा बसेका कलेजले जाल हाल्ने, छात्रवृत्तिको नामो निशान छैन, अभिभावले पूरै छात्रवृत्तिमा सरकारी स्कुल, कलेजहरूमा पढे त्यो पनि आफैँ कमाइ गरेर, अब कलेज एक त खुल्दैन, पैसा पनि अनलाइनमै पठाउनुपर्ने, स्कुल कलेज गइहाले, त्यहीँको गाडी या आफ्नै निजी चाहिने, सार्वजनिक बसमा नजाने, अचम्मको जीपीए ‘ए प्लस’ छ अहिले ।
कोही अभिभावक सामान्य पेन्सनमा होलान्, कोही बुढेसकालमा पनि मजदूरी गर्दै होलान्, कोही नाग्लै भए पनि पसलबाट २, ४ सय जोहो गर्लान्, कोही ढुंगा, गिट्टी कुटेर, भाडामा बसेर केटाकेटीको भविष्य हेर्लान् जसोतसो खर्च धानिदेलान्, सरकारले शिक्षा निःशुल्क भनेको छ, कहाँ कसले पाउने थाहा छैन, डोकाभरि पैसा नतिरी कुनै स्कुल कलेजले भर्ना लिँदैनन् । पहिले त सरकारी स्कुल कलेज भनेपछि साना नानीहरू नै ओठ लेप्य्राउँछन्, शिक्षकहरू आफैँ निजीतिर पठाउँछन्, गुणस्तरमा विश्वास नभएरै त होला । निजी संस्थाहरू पनि धेरै चलाख छन् पढे पनि नपढे पनि जीपीए ‘ए प्लस’ हालिदिन्छन्, पैसाको खोलाबाढी देखेर । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
- ‘के पप टुर इन नेपाल’ कन्सर्ट हुने
- निजगढमा सामुदायिक आँखा अस्पताल सेवा सञ्चालनमा
- जापानको आर्थिक वृद्धिदर सुस्त
- युक्रेनमा शान्ति स्थापनाका लागि रूस बाधक : जी–७
- लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
- गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
- खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गर्न मन्त्री यादवको निर्देशन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया