पुज्यो भने ढुंगा पनि देउता बन्छ
काठमाडौं । तिमीले छोयौ । मैले पनि छोएँ । ढुंगा । केवल एउटा ढुंगा । फूल त थिएन नि त्यो है ! तर तिमीले छोइदिएपछि त्यो फूल भयो । या देउता भयो रहस्य लागिरहेछ । उकालीमा सँगै थियौँ हामी । निधारमा पसिना थियो । सजल तिम्रो मुहारमा हेरेथेँ बग्दै थियो एक तापिय गुलाबी गुल्जार । हाम्रो गन्तव्य थियो झर्नाको आदिम लय सुन्ने । मलाई त्यतै डोहो-यायो आज । तिमी पनि त प्रकृति त हौ नि । म खिचिएँ तिमीले अघिअघि लगाउँदै देखाएको स्वर्ण स्वतन्त्रताको बाटोमा निस्फिक्री हिँड्न् । तिमीसँगै चालेका गोडामा तिम्रो पैँतालाको अर्को अनौठो तर मीठो रिदम मभित्र प्रध्वनित भयो र त सजिलोसँग उक्लिएँ त्यो उकाली ।
धराको त्यो अभिनव शीतलताले म कसरी निसृत भएँ यतिबेला झंकृत भैरहेछ त्यो दिव्य सुखानुभूतिको कलकल कोमलता आफैँभित्र । यस्तो अनौठो अलौकिक अनुभूति कहिले भएको थिएन । बित्यो है त्यो सुनौलो दिन ! कसरी बित्यो केही याद छ तिमीलाई ? । एक अजम्बरी भेट हाम्रो । एक अभिनव मिलन । जस्तो मिलन आकाश र धराको । मिलेजस्तो पनि नमिलेजस्तो पनि । छोइएजस्तो पनि नछोइएजस्तो पनि । क्षितिजमुनि हेरे छोइएजस्तो । क्षितिजमाथि हेरे नछोइएजस्तो तर अर्कै आनन्द । अर्कै खुसी । अर्कै अनौठो दिव्यतानुभूति । अर्कै आभाष । एउटा अर्कै खुसीको इन्द्रेणी । एक अथाह अतीत मिसिएको एउटा अनौठो वर्तमान देखेँ मैले तिम्रो आँखामा । कस्तो अपरिसिम है ! । एकै पल त रहेँ म तिमीसँग । अब म पर्वतको मध्य भागमा अवस्थित त्यही तिमीले छोएर देउता बनाइदिएकी ढुंगालाई सोध्नेछु, कि त्यो गोँधुली स्पर्श कस्तो लाग्यो तलाई भनेर । तिमीले छुँदा आफैँमा कोमलानुभूति ग¥यौ । मैले पढिरहेँ तिम्रो जुनेली मुहार । एउटा खुसी अनायास बिस्फारित भयो । तिम्रो ओठबाट झ¥यो चाँदनी उज्यालो । धपक्कै बल्यो । कति भाग्यमानी त्यो पथ्थर । पथ्थर पर्मेश्वर बन्यो है ! बनाइदियौ तिमीले । बिन्ती मलाई पनि छोइदिए हुन्थ्यो नि ! त्यसरी नै जसै छोएर अनमोल बनाइदियौ त्यो ढुंगालाई ।
ढुंगा जस्ले, तिम्रो कोमल स्पर्श पायो कस्तो भाग्यमानी त्यो ढुंगा ! जब तिमीले त्यो पथ्थरलाई छोयौँ त्यही बेला तिम्रो अनौठो अनुकृति पढेथे तिम्रो मुहारमा । त्यो तिम्रो चमत्कृत आभा मन्डलमा त्यस्तो खुसीको उभार कहिले पलाएको थियो त यसअघिको अतीतमा ? नढाँटी भनन ! तिमीले ढुंगालाई देउता बनाइदिने उद्देश्यले छोइदिएकी हौँ त ? सजीवले मात्रै होइन निर्जीव वस्तुले पनि हाम्रो स्पर्शको अपेक्षा राख्छन् है ! । तिम्रो छुवाइले यो कुराको अभिबोध भयो मलाई । तिमीसँग छुटिएपछि आज हरेक रुखलाई हरेक पातलाई हरेक बाटोलाई हरेक ढुंगालाई छुन मन लाग्छ । तर त्यहाँ तिम्रो अभावको कारण उति रमाइलो महसुस गर्दिनँ । तिमी नभएको स्थान रमाइलो लाग्दैन । घाम नभए पनि घामको न्यानो खोज भन्छ तिम्रो दर्शनले तर म मान्दिनँ । मलाई त तिम्रो अनुपस्थितिको चिसो लागिरहेछ । दर्शन एकातिर छ । सुदूर सभ्यता एकातिर छ । आदर्शवाद एकातिर छ तर म त्यही यात्रामा बाँच्न चाहन्छु । एउटा नांगो यात्रा । एउटा यथार्थ यात्रा । एउटा त्यस्तै यात्राजस्तो हौँ हामी त्यस्तै यात्रा । छलकपटविहीन यात्रा । आदर्श र सभ्यताको बोक्राले नछोपिएको यात्रा । निर्भीक यात्रा । खुला यात्रा । जे माग्छ मनले त्यही गर्दै हिँड्ने यात्रा । तिमीसँगैको त्यो परम यात्रा । एउटा अतिव प्रिय यात्रा प्रकृति ! रुन मन लाग्यो भने रुने । हाँस्न मन लाग्यो भने हास्ने । ध्यानस्त हुन मन लाग्यो भने आफैँभित्र हराउने तर तिम्रो स्नेहको जरा समाएर ।
तिम्ले त मलाई पुजारी बनाइदियौ तिमी आफैँको प्रकृति ! । तिम्रो अनुहारको कान्ति पढेपछि मैले पनि हठात छोइदिए त्यो ढुंगालाई अपलक । तर खै किन पो हो घोच्यो मलाई त्यस्को यायावरले । तिम्ले जुन भागमा छोएकी थियौ नि, मैले पनि त्यही भागमा हात राखेको थिए । अलिकति मधुर तातो थियो त्यहाँ तिम्रो हत्केलाको । अलिकति सुगन्ध थियो तिम्रो आभाको । अलिकति पुलकता थियो तिम्रो सजिवताको । अलिकति आनन्द मिसिएको उभार थियो तिम्रो दिलको । मेरो हात पवित्र भयो । तिम्रो हात नछोए पनि तिम्रो हातले छोएको पत्थरलाई छोए नि मैले नुबी ! सबैसबै भन्न सक्तिनँ । बयान नै गर्न सक्तिनँ । हामी यही सपनाको बर्तुल इन्द्रेणीमा स्वप्निल हुन्छौँँ । शब्दहरू आफैँ हराउँदै जाँदारहेछन् । यो हो कि सत्य, त्यो हो कि सत्य, तिमी नै पो हौ कि सत्य या हामीसँगै हिँडेको त्यो गोरेटो पो हो कि सत्य । के सत्य पनि सापेक्ष हुन्छ र प्रकृति ! भनन ।
कस्तो रुमानी पल हो त्यो । तिर्खा थिएन मनमा कतै पनि । घामको रापले अलमस्त थियो धरा । जुन ढुंगालाई तिमीले छोयौ त्यो ढुंगा यतिबेला एकान्तिक बर्बरताले रुँदै होला । जस्तो म यतिबेला तिमीसँगको बिछोडबाट अनुभूत गर्दै छु । हरेक कुरामा सजीवताको कलिलो घाम खोज्ने तिम्रो यत्नलाई मेरो अभिवादन छ प्रकृति ! कणकणमा कला खोज्ने तिमीभित्रको कालिगडलाई मेरो सदैव सम्मान । यतिबेला तिमीले छोएको ढुंगामा हिरा बल्दै होला । म आफ्नो हातको भाग्य रेखा हेर्दै छु । भाग्य रेखा त सिधै सलल बगेकै हो सुन्दरीजलको पानीजस्तै तर किन तल अलिक तल वाग्मती नपुग्दै यो धमिलिन्छ । सोधिरहेछु म आफ्नै हत्केलाबाट चिरा पर्दै उठेका रेखाहरूलाई । मैले सोध्न बिर्सिएछु तिमीले अँगालो हालेको त्यो ढुंगालाई । कि निर्जीव र सजिवबीचमा पनि प्रेमको टुसा उम्रन्छ र ? हे ढुंगा त त्यही उकालोमै त छस । कतै नजा है फेरि कुनै दिन हाम्रो भेट जु-यो भने सोधुँला त्यो सलिल स्पर्शबोधीताको बारेमा । तैले सत्य बोल्छस् मलाई थाहा छ । यहाँ ढुंगाले मात्रै हो सत्य बोल्छ भन्ने कुरा । हामी जीवनधारीहरू सापेक्ष सत्य बोल्छौँ ! हामी तल तल बग्दै गएका थियौँ सुन्दरीजलजस्तै ।
झर्नाको छेवैमा बस्यौँ हामी । उनी मेरो आकृतिलाई क्यामरामा कैद गर्दै थिइन् । त्यो भूगोल । त्यो सारा इन्द्रेणी । त्यो पवित्र नदीको उदगम धारा । चराहरूसँगको सम्लाप । निर्मल आकाशको गोँधुली छानो । अनि सबैभन्दा मन परेको उनको निश्चिन्त मुस्कानबाट बग्दै–बग्दै आएको एक धर्सो हेराइ जो मैतिर बिस्फारित भैरहेको थियो । अनि झर्नाबाट उछिटिएर उत्फुल्ल हुँदै गालामा छुन आएका पानीका सुनौला कणहरू । यस्तो लाग्यो कि ती थोपा थोपाबाट एउटा आदिम गीत गुञ्जिरहेको छ । प्रेमको । शान्तिको । खुसीको । चिसो तर सजल ! त्यो शारदीय शान्ति अहो ! उन्लाई हातको इसाराले बोलाए । हेरे उन्को त्यो रुमानी खुसी उत्फुल्ल आँखामा तरेली परी भिज्दै आएको मखमली माया ।
उनी मसँगै ढुंगामा बस्न आइन् । हामी दुवै एउटा अर्कै आनन्दको संसारमा पुग्यौँ । प्यारो त्यो शीतल शान्तिको हिर्दस्थलबाट एउटा अर्कै ॐकार गुञ्जिउजस्तो अनुभूति भो । मैले भनेँ, ‘हामी ध्यान गरौँ ।’ उनी खुसीले अलमस्त थिइन् । म प्रसुन थिएँ । मदहोस त्यो रुमानी पल आफैँमा गदगद थियो । ध्यानस्त भयौ झर्नाको अगाडि । नजिक थियौँ एकआपसमा । एकले अर्काको श्वासको साउती पनि सुनिने । कस्तो अचम्म है ! मैले उनको मुटुको धुकधुकी सुने झर्नाको सुसेलीमा पनि । झर्नाबाट उछिटिँदै आएको पानीले उनको आँखाको परेली भिजाएको थियो । एकाएक हामी ध्यानको गहिराइमा गयौँ । शून्यमा हरायौँ कतिबेर । त्यो अलौकिक आनन्दको बयान गर्ने सामर्थ्य मसँग छैन अहिले ।
जब ध्यानबाट हामी बाहिर आयौँ । उनले मलाई सोधिन्, ‘के पाउनु भो ?’ ध्यानको अतल गहिराइमा पुगिसकेपछि । मैले भनेँ, ‘निराकार देखे शून्य देखेँ शान्ति देखेँ ।’ केहिबेर देखेँ उज्यालो ज्योति स्वरूप उन्लाई सोधिनँ मैले तिम्ले के देख्यौ भनेर । तर पनि उन्ले भनिन् ‘केही छ त्यो पर पर एउटा आशाको किरण निसर्त देखिने तर ध्यान गहिरो हुनुपर्छ ।’ हामीले जतिबेलासम्म ध्यान ग-यौँ । हामी हामीमै थिएनौं । न उनी त्यहाँ थिइन् । न म नै त्यहाँ थिएँ । हाम्रो भौतिक शरीर त्यही थियो तर हामीचै कहाँ गयौँ थाहा थिएन । हामी कुन दिशाबाट आएका थियौँ त्यो पनि थाहा थिएन । केही केही थाहा थिएन । मैले जब आँखा खोलेसँगै पाएँ उनीलाई । उन्को मुहारमा एउटा अलग उज्यालो थियो । एउटा अर्कै शान्ति थियो । मैले हेरे त्यो चपल आँखाको भृकुटीमा । त्यो आँखाको डिलमा छुन मन लागेको थियो । किनकि त्यहाँ पानीको सुनौलो थोपा थियो । पुछ्न मन लागेको थियो ती सुनौला कणलाई हातले । तर सकिन छुन । पानीका बुद र ध्यानको गहिराइले छोइएकी उनी यति कोमल र पवित्र लाग्यो कि छोइदिनु पनि फूलमाथि चम्केको शीत झारिदिनुजस्तो लाग्यो ।
व्युँझिसकेपछि फेरि हामी यही भौतिक भुगोलको सन्सारमा फर्कियो । माया लाग्यो वरिपरिको फेरि । उनलाई हेरेँ अलिकति हाँसेँ म । उनी अलिक लजाइन् । त्यो लाजमा पनि एउटा अर्कै सघनता थियो । अर्कै सुखानुभूति र तृप्ती थियो । ढुंगाबाट तल झर्नाको पानी जमेर सानो तलाउ परेको थियो । मैले सोधेँ मलाई त्यहाँ गएर त्यो पानी छुन मन लाग्यो । ‘जानुन’ भनिन् उन्ले । म तल गए । पानी छोए । तल अलिक गहिरो नै थियो । तल पुगेपछि मैले हेरेँ उनलाई । यस्तो लाग्यो मैले आकाशमा जुन हेरिरहेछु । म तल गएको । पानी छोएको । अनि ढुंगा समाउँदै माथि आएको सबै तस्बिरहरू आफ्नो मोबाइलमा कैद गरिसकिछन् । जीवनमा पहिलोचोटि प्रकृतिसँग यसैगरी पुलकित भएको म पहिलोचोटि हो । हे शून्य ! तलाई कस्तो लागिरहेछ मेरो बयान ? सुन्दै जाऔँ है ! कति कति भन्नुछ तलाई हाम्रा कुरा ।
ढुंगा त ढुंगा नै हो तर ढुंगा पुजियो भने ईश्वर बन्दोरहेछ । यही कुरा प्रमाणित गरिदिइन् आज उन्ले । कस्तो मीठो थियो त्यो मैले बयान गरेको हाम्रो हिजोको आज । “मसँग कुरा गर्दा वा मसँग रहदा पुरुष र प्रकृतिभन्दा माथि उठेर व्यवहार गर्नुहोला है !“ उनको यो भनाइमा एउटा बिहंगम व्याख्या लुकेको थियो । प्रकृति र पुरुषभन्दा माथि के छ त्यो सबैले देख्दैनन् । देख्नेले देख्छन् । अनुभूत गर्नेले गर्छन् । “एउटा पुरुषसँग छु भन्ने कुरा मैले यतिबेला बिर्सेको छु“ उनको यो वाक्य बोलेपछि म एकछिन् सोचमग्न भए । हो वास्तवमा कति सजल कुरा थियो त्यो । एउटी नारी कुनै पुरुषसँग हुँदा पुरुषसँग बसेको अनुभूति नगर्नु भनेको त्यहाँ कुनै दूरी र संकोचको पर्वाह नगर्नु पनि हो । एकै आँखाले हेर्नु हो यो चराचर जगतलाई । लाज, संकोच, क्षोभ, भय, चिटचिटापन, उन्माद, यौन, वासना, आलिंगन, आतुरता, रञ्जकता, यी सबै सबै कुराहरूबाट मुक्तिको कुरा थियो उनको ।
हामीले हिँडेको त्यो बाटोमा हाम्रो पैतालाको डोब पानीले पखाल्यो होला है ! किनकि त्यो दिन प्रकृतिले पनि आफ्नो काख धोएकी थिइन् हामीलाई अशेष माया दिन । तिमी अलिकति भिज्यौ । म अलिकति भिजे । हाम्रो भिजाइमा पनि माया भिजेको थियौ है ! म पुरुष नै त थिएँ नि ! तिमी प्रकृति नै त थियौ । र पनि म आकाश थिए । तिमी धरा थियौ । कहाँ थियो र खै त्यस्को मिलन ? मिलेजस्तो त त्यतिबेला देखिन्छ जतिबेला इन्द्रधनुको सात रंग बिलिन्छ कुनै बैँशालु पोखरीमा । अनि माया र म्वाइको मधुधारा उदभासित हुन्छ । तरंग उठ्छ । प्रश्वास बढ्छ । मादको बिलिनता पछि एउटा अर्कै रंग देखिन्छ आकाशमा । सबै सबै ओठमा वैजनी रंग भरेर धरतीबाट जब उठाउछ पानी इन्द्रेणीले । त्यही हो मायाको व्याख्या पनि । माया त आकाश हो । माया त धरा हो । अलिकति छोइदा पनि कोमलानुभूति हुने त्यो इन्द्रेणी तीर्खा मलाई पनि लाग्छ नि बुझ्यौ ! । मेरो मुस्कानको दिप्तीमा तिमी जलेको हेर्ने रहर मलाई पनि छ नि । के तिमी जल्ने हो त ?
पर्वतबाट बहँदै आएको बतासले छोयो तिमीलाई । तिम्रो कपालबाट एकप्रकारको अत्तर उडिरहेको थियो । त्यो अत्तरमा तिमी नै तिमी बास मगमगाइरहेको थियो । अलिकति तिमी अगाडि थियौँ । आधा जुनेली मुहार मात्रै देख्दै थिए म । तिम्रो सुगन्धको महकतालाई छोएँ मैले । तिम्रो छाया अलिक अगाडि नसर्दै तिम्रो आधा मुहार हेरेँ मैले । खोइ के भएको हो मलाई । तिमीसँगै छँदाछँदै पनि मलाई किन तिम्रो न्यास्रो लागेको होला ! अचम्म लाग्यो । जब तिमी मेरो सानिध्यमै थियौ । एउटा पातलो रेखा थियो तिम्रो र मेरोबीचमा । एक धर्सो मात्रै । केवल एक धर्सोले मात्रै हामी अलग थियौँ । तर छुवाइको अनुभूति यति सघन थियो कि गुलाफको गालामा बतासले छोएर भागेजस्तै ।
ध्यान सकेर जब त्यो आनन्द लोकबाट बाहिर निस्कियौँ, हामी खोइ किन पो हो सबै सबै चिजहरू कोमल लाग्न थाल्यो मलाई । बिरुवा, पात, नदी, ढुंगा, पहरा, माटो, मन्दिर, घर, वन सबैसबै कोमल । तल नदी बगेको हेर्न मलाई साथै लिएर गयौ । म पछि लागेँ । छेउ पुगेर तिमी रोकियौ । म पनि रोकिएँ । हामीले हेरिरह्यौँ नदीलाई । नदी पनि हतारमा थिइन् । सायद मानिसलाई मात्रै होइन यहाँ प्रकृतिलाई पनि हतार छ । कहीँ पुग्नुछ उसलाई । महासमुन्द्रमा मिसिनु छ र शान्तिले त्यहीँ बस्नुछ । एक तमासले पानीको बहावलाई हेरिरह्यौ तिमीले । मैले जाऔँ भनेँ । तिमी मोडियौ म भएतिर । हे¥यौ मलाई एक पलक । तिम्रो आँखामा अडिएँ म । एकछिन् सन्नाटा छायो ।
जवानी घामले सिंगो आकाश ओगटेजस्तो लाग्यो । गर्मी भयो । रुखको छायामा हिँड्दै थियौँ हामी । रुखका पातहरूलाई छुँदैछुँदै हिँडिरहेको बतासका कारण हामी फेरि शान्त भयौँ । तिम्रो ओठ र मुहार कस्तो उज्यालो देखेँ मैले । हावाले फेरिफेरि छोइरह्यो भने मयल पो लाग्ने होकि जस्तो । पसिनाले पखालेको उन्को मुहारमा नारी सोह्र शृंगार केही पनि बाँकी थिएन । अलिकति गाजल लगाएकी भए कस्तो सुहाउँथ्यो होला । ओठमा पनि लाली थिएन । ओहो ! मैले त ख्याल गरेको रहेनछु । कस्तो हुन्थ्यो होला त्यो ओठ यदि गुलाफी लाली लगाएकी भए । गाजल बग्थ्यो होला आँखाको दुई धर्साबाट । आँखामा तिम्रो अलिकति गाजल होस् । ओठमा तिम्रो अलिकति गुलाबी रंग होस । कपालको चुल्ठोमा वनफूल सिउरी दिन पाए कस्तो सुहाउँथ्यो होला नि । यस्तैयस्तै के सोच्दै थिए तिमीसँग हिँंड्दा ओरालीमा । तिमी अनायास करायौ । म तिम्लाई के भो भनेर अत्तालिएँ । तल खुट्टाको छेवैनिरबाट एउटा सुनौलो सर्पको बच्चा तिमीलाई छोएर तल जंगलतिर ओर्लियो ।
यात्रापछि छुट्टीएको एउटा अर्को यात्रा सम्झनाको आकाशमा उडिरहेछ । खोइ आज कस्तो याद आयो र सम्झिरहेछु आँखाभरि । समय कति छिटो बित्छ है ! मलाई त यस्तो लागिरहेछ कि तिमी र म चराचुरुंगीको एक जोडी अनि एकै हागामा बसेर वार्ता गरेजस्तो । तिमी भर्खरै पंख फिँजाई मेरो दुनियाँबाट उडेर एउटा अर्कै जगतमा गएजस्तो । अनि म तिम्रो आगमनमा प्रतीक्षा गरी हाँगामा घोत्लिएर बसेजस्तो । खै के भएको यस्तो ! आज चरा भएर यो खुला आकाशको तारा गन्न मन लाग्यो । सिंगो आकाशमा कति तारा छन् भन्न मन लाग्यो । तिमीसँगै भए त गन्नेथिएँ नि । आजकल अँध्यारोको अध्याय सुरु भएको छ जिन्दगीको बाटोमा । तिमीसँगै हुँदा म कति खुसी थिएँ । तिमी नभएको पल खोइ किन पो हो बिरही लाग्छ दुनियाँ । एउटा हागामा सँगै बसेको हामी । तिमी उडेर गयौ । कसरी तितरबितर भयौँ है हामी ! भरे यही गुडमा सायद बास होला कि नहोला । कस्तो भरोसा नहुने है जिन्दगीको ! तिमीले छोडेर गएको यो हागालाई छोइरहेछु आफ्नै चुच्चोले ! यो हाँगोमा म एक्लै छु नि ! कति नमीठो भएर बितिरहेछ यो पल । सुन्दर लाग्ने ममाथिको आकाश किन यति शून्य लागेको छ ।
वैशाख किन वैशाखजस्तो छैन । किन जीवनको हरियाली खोसिएको जस्तो भो । तिमी कुन दूर देशमा छौँ । मलाई जस्तै तिमीलाई पनि यतिकै शून्य लागेको छ त ? म यो विशाल जीवनको जंगलमा भौतारिरहेको छु । तिम्रो उडानमा के मेरो गति कम्जोर हुन्थ्यो र ? म पनि तिमीसँगै पहाडै पहाड खोलैखोला जंगलै जंगल अनन्त आकाशमा उड्थेँ नि । किन मलाई तिम्रो उडानमा सामेल गराइनौ । अशक्त त थिए तर मेरो पँखेटा नै चुँडिएको त थिएन नि । मेरो उडान आवेग त्यति कम्जोर छैन जति तिमीले यो विराट अन्धकारमा छोडेर गयौ । कति बेगवान तिम्रो पंख । म त तिमी उडेपछिको यही हाँगामा झोक्राएर बसिरहेको छु ।
तिम्रो महकता किन सुवास आउँछ मलाई ! तिम्रो झझल्कोको नदी बगिरहेछ आँखाबाट । एउटा कुरा भन त के यो संसार यस्तै यस्तै दुःखले भरिएको आँसुको पोखरी हो त ! होइन भने तिमीले बिर्सेर जानु मैले के गल्ती गरेको थिएँ र ? यी पोथ्रा पातहरूमा झ्याँउकिरीको आवाज आज कत्ति पनि मीठो लागिरहेको छैन मलाई । झ्याँउकिरी एकोहोरो कराएको हिजो एकै हाँगामा एकै कानले सुनेको है ! कस्तो प्रीतिकर थियो त्यो धुन । तिमीले मलाई साउती गरेर भन्यौ, ‘त्यस्ले पोथीलाई बोलाएको रे !’ त्यसोभन्दा मेरो ओठ तिम्रो हृदय नजिक थियो । हामी दुवै मख्ख परेर त्यो झ्याँउकिरीको आवाज सुनिरहेका थियौँ । आज तिमी छैनौ । नदीको कलकल आवाज पनि मलाई बिरक्त लाग्दो छ । तिमी गुडमा आउँछौ नि है ? । म आशाले पर्खिरहेको छु । लुकेको छु हाँगामा । कतै उड्ने जागर पनि चलेको छैन । लोलाएका छन् मेरा आँखा जो बिरानीमा तिमीले नै पुछ्ने गर्थ्यौ । मलाई पनि कस्तो तिमीसँगै आकाश चुम्ने रहर छ अनि धराको त्यो चन्चलता, माटोको सुवास सुङ्ने रहर छ ।
देख्दैछु अलिकति तिम्रो स्नेहको उज्यालो त्यो पातले बोकेको जस्तो । तिमीले यतैकतै पंख फर्फाराएजस्तो । मलाई बोलाएजस्तो । के यो मेरो भ्रम हो त होइन कतै ! सुदूर आकाशको यो विराट स्वरूप खालीखाली देख्छु । फेरि निहाल्छु तिम्रो मधुर आकृति परैबाट उडेर आएजस्तो । सन्ध्याकालीन बतासको उछ्वासले कति पनि छोएको छैन मलाई । पारी मन्दिरबाट आरतीको शंखध्वनि सुन्दै छु । यो शैलको सजल उज्यालो बालेर तिमी आउने एउटा सत्यको गीत खै किन पो हो गुञ्जिँदै छ । यतिबेला फर्किँदै छन् अरु बासमा । हेरिरहेको छु तिनको उत्सुकता अनि मिलनको आतुरतालाई । तिमी कुन पहाडको माथि आइपुग्यौँ भन त । म लिन आउँछु नि । अलिकति आवाज त देऊ । अलिकति पंखको ध्वनि त देऊ । अलिकति छायांको अनुभूति पाए म तिमी भएतिरै उडेर आउँथे नि । तिमी नभए यो विराट आकाश केका लागि यो त केवल खालीखाली रित्तो देख्छु म । अस्तु !! (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया