Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–५

नेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–५


ब्राह्मण तथा क्षेत्री जाति : यी जाति नेपालका मूल प्रवाहको संस्कृतिमा आबद्ध भएका जाति हुनाले अन्य जातिसरह भिन्दै र मौलिक संस्कृति यी जातिहरुमा देखिँदैन । हिन्दू संहिता, हिन्दू आदर्श र हिन्दू शास्त्रीय मान्यताअनुसार यी जातिका चालचलन, संस्कृति र संस्कारहरु रहने गरेका छन् भने ती चालचलन र संस्कृतिहरुलाई विशेष तह ब्राह्मण र क्षेत्री, दमाई, कामी, सार्की, संन्यासी जातिले विधिपूर्वक मान्दै आइरहेका छन् ।

परम्परागत शास्त्रीय मान्यताहरुमा तलमाथि नभई पालना गर्दै आईरहेका नेपालका ब्राह्मण वा बाहुन जातिहरुले हिजो आज भने समयानुकूल परिवर्तन गरिसकेका मात्र होइन जीवनशैली नयाँ र काल परिस्थितिअनुरूप चल्न थालिसकेका देखिन्छन् । नयाँ संस्कृतिको सेरोफेरोमा नै यी जातिले व्यक्तित्व एवं समाजको विकास गर्न समर्थ भएका छन् ।

नेपालका बाहुन क्षेत्रीहरुलाई आज आएर खस–आर्य वर्गमा सूचीकृत गरिएको छ । मुख्यतया खस (ककेसियन) र आर्य (इन्डो इरानियन आर्य) रहेका यी जातिमा अनेकौँ भारतीय प्रायद्वीपका आदिवासी जातिको समेत सम्मिश्रण भइसकेको कुरा वा नृवंश शास्त्रीहरुको मानयता रहँदै आएको छ । नेपालमा केवल बाहुन (ब्राह्मण) जातिले मात्र कुल जनसंख्याको १२.७४ प्रतिशत अर्थात् २८९६४७७ को संख्या ओगटेका छन् ।

ब्राह्मण जाति हिन्दू धर्म र नेपालका सन्दर्भमा राष्ट्रिय संस्कृतिको मूल प्रवाहमा हिन्दू संहिताअनुरुप आज पर्यन्त चलिरहेकाले अन्य जनजातिहरुझैं मौलिक र फरक चलन एवं संस्कृति यिनमा रहेका छैनन् । हिन्दू धर्म र व्यवस्थामा वर्णित आदि अनादिकालदेखि चल्दै आएका चाल चलनहरु नै अन्य जाति एवं र जनजातिले झैं ब्राह्मण (बाहुन) तथा क्षेत्रीय (क्षेत्री) हरुले मान्दै एवं पालन गर्दै आइरहेका छन् । ती चालचलनहरुका प्रमुख संवाहकका रुपमा भने ब्राह्मण जाति नै रहँदै आइरहेका छन् ।

ब्राह्मणहरुका १६ वटा संस्कार हुने गरेकामा अहिले आएर मुख्यतया १० वटा संस्कारहरुको मात्र पालना गरी ब्राह्मण तथा क्षेत्रीको मुख्य संस्कारहरुका रुपमा गणना एवं वर्णन गरिएको छ । त्यसमा पनि संस्कृतिमा आएको परिवर्तन र संस्कृतिमा आएको खुकुलोपनका कारण धेरैले सबै संस्कार मान्ने चलनहरु बिर्सिँदै गइसकेका छन् । बाहुन क्षेत्रीका मुख्य अनिवार्य संस्कारहरुमा न्वारान, व्रतबन्ध, विवाह, दानतीर्थ, व्रत र अन्त्येष्टि रहेका छन् ।

हिन्दू धर्मशास्त्रहरुमा गर्भधारण गरेदेखि नै संस्कारहरु सुरु हुनेमा अचेल पाँच÷छ महिनाको गर्भ रहेपश्चात् वा भ्रूणमा शिशुले श्वास लिइसकेको विश्वास गरेपश्चात् मात्र विशेष गरी पितृकार्यहरुमा गर्भवती महिलालाई सहभागी गराइँदैन । दोजिया वा दुई जिउकी आइमाईहरुबाट पकाइएको खाना समेत नखाने चलन रहँदै आएकामा हिजो आजको व्यस्त जीवनशैलीमा सो कुराहरु मान्न सम्भव नहुँदै आएकाले धेरै ठाउँमा अपनाइँदैन ।

परम्परागत रुपमा बाहुनजातिको पहिरन धोती लबेदा वा लबेदा सुरुवाल, दौरा रहँदै आएकामा हिजोआज विशेषतः धार्मिक कर्मकाण्डका बखत मात्र सो पहिरिने गरिन्छ भने महिलाहरुका परम्परागत गुन्यू चोलो, साडी ब्लाउजमा पनि समयानुकूल परिवर्तन आइसकेको छ ।

नेपालका ब्राह्मणहरु मुख्यतया पूर्वीया र कुमाउ गरी दुई प्रकारका रहेका छन् । यसैगरी यीभन्दा बेग्लै जैसी बाहुन पनि हुने गर्छन् । पूर्वीया बाहुन आफूहरुलाई पछि आएका कुमाउ वा कुमाइ बाहुनभन्दा ठूलो मान्ने गर्छन् भने जैसीलाई उपाध्याय बाहुनबाट तल झरेको बाहुन मान्ने गर्छन् ।

पहिलाको समयमा उपाध्याय ब्राह्मणको कुमाइ र जैसी ब्राह्मणसँग बिहेवारी वर्जित थियो भने हिजोआज सबैथरिका बाहुनहरुको एक आपसमा बिहेवारी चल्छ । पहिलाको मुलुकी ऐनले जैसी ब्राह्मणलाई असल, मध्यम र निम्न वा भाट जैसी भनी विभिन्न किसिममा वर्गीकृत गरियो ।

विधिपूर्वक विवाह नगरी ल्याइएको ब्राह्मण कन्या मात्र होइन विधवा ब्राह्मण कन्याले अन्य ब्राह्मण पुरुषसँग विवाह गरी जन्मिएका सन्तान जैसी बाहुन कहलिए । केहीको धारणामा जोशी अर्थात् ज्योतिषीबाट जैसी भनिन थालियो भने पनि रहेको छ । उपाध्याय ब्राह्मणबाट च्यूत भई कर्मकाण्ड आदि गर्न वञ्चित भएपश्चात् जैसी ब्राह्मणहरुले ज्योतिष विद्यालाई जीविकोपार्जनको माध्यम बनाई ज्योतिष जोशीबाट जैसी कहलिन थाले । केही विद्वान्का मान्यताअनुसार प्रारम्भ अर्थात् खस साम्राज्य छँदैदेखि ज्योतिष विधा अंगालेकाले राजाबाट बिर्ता पाउने तिनै जोशी वा जैसीहरु नै धेरै हुने गर्थे र पूजाबाट गराउन उपाध्याय र जैसी कुनै भेदभाव थिएन ।

भाट जैसी : उपाध्याय ब्राह्मणीले तीनवटा विवाह गरेकी कन्या, विधवा उपाध्याय कन्या विवाह गरी ल्याएमा तिनका सन्तान सबैभन्दा निम्नस्तरका जैसी अर्थात् भाट जैसी हुन्थे । यसैगरी असल जैसी भनी भाट जैसीभन्दा माथि मध्यम जैसीमा उपाध्याय पुरुषले जैसीकी विधवा विवाह गरी ल्याएमा तिनका सन्तान मध्यम जैसी कहलिन्थे ।

खस भाषा : यसलाई खस कुरा पनि भन्थे भने अन्य पहाडी सम्प्रदायले पर्वते भाषा भनेर पनि भन्ने गर्थे । नेपाली भाषा कुमाउ र गढवाली भाषासँगसँगै विकसित हुँदै गएर आजको अवस्थामा आइपुगेको हो । त्यसैले भारोपेली भाषाहरुमध्ये नेपाली भाषाको सबैभन्दा निकट सम्बन्ध कुमाउ र गढवालीलगायत त्यस भेगका अन्य भाषाहरुसँग रहेको छ । यी भाषाहरु संस्कृत भाषाबाटै देश, काल, परिस्थिति र समय काल, अन्तरालमा आजको स्वरुपमा आइपुगेका हुन् । नेपाली भाषाको विकास करिब ८/९ सय वर्षअघि भएको मान्यता रहँदै आएको छ ।

ब्राह्मण क्षेत्री संस्कार : ब्राह्मण वा बाहुनका हरेक संस्कार पुरोहित, गुरु वा पण्डितबाट हुने गर्छ । ब्राह्मणको मुख्य कार्यमध्ये पुरोहित्याइँ पनि एक हो । परम्परागत रुपमा कर्मकाण्ड पुरोहित्याइँ, शिक्षादीक्षा दिनु नै ब्राह्मणहरुका पूर्वजहरुले गरिआएको कर्म हो । बाहुनले स्वयं बाहुन पुजारी वा पुरोहित राख्दा भने सगोत्री पण्डित राख्ने गरिँदैन । हरेक कर्मकाण्डमा पुरोहित नै चाहिन्छ । जैसी ब्राह्मणलाई पुरोहित्याइँ गर्न वञ्चित भए पनि पश्चिम नेपाललगायत ठाउँहरुमा जैसीका पुरोहित जैसी ब्राह्मण नै हुने गर्छन् र पुराणहरु समेत वाचन गर्छन् । ब्राह्मणका संस्कारहरुमा १६ संस्कार हुनेमा हिजोआज मुख्यतया पाँच संस्कारलाई अनिवार्य मान्ने गरिन्छ ।

ब्राह्मण वा बाहुनका समाजमा हरेक विधि परम्परा मान्यता र संस्कारहरुलाई आफूले भ्याएसम्म र सकेसम्म मान्नुपर्ने नियम छ । केही काल अघिसम्म वा भनौँ १०० वर्ष अघिसम्म ब्राह्मण वा बाहुनले सम्पूर्ण विधिविधान मान्ने प्रचलन थियो । बाहुनजातिले मर्यादामा बस्नुपर्ने, अनिवार्य जनैधारण गर्नुपर्ने रक्सी, मदिरा सेवन गर्न नहुने नैतिक आचरण, खाना खानुअघि नुहाउने वा सकेसम्म हात मुख धोएर धोती फेरीकन मात्र खाना खानुपर्ने, धार्मिक कृत्य वा धार्मिक आचरणको हुनुपर्ने जस्ता कुराहरु बाहुन वा बाह्मण समाजमा सामान्य कुरो मानिन्थ्यो । आजभोलि व्यस्त जीवनशैलीका कारण धेरै कुराहरुमा समयानुकूल परिवर्तन आइसकेका छन् । क्रमशः . . . (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x