Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमूलकोटमा दिगोको चार्जिङ स्टेसन

मूलकोटमा दिगोको चार्जिङ स्टेसन


काठमाडौं । दिगो ग्रुप अफ कम्पनिजले सुनकोशी गाउँपालिकाको मूलकोटमा सफलतापूर्वक चार्जिङ स्टेसन उद्घाटन गरेको छ । दिगोले आफ्नो चार्जिङ स्टेसनलाई ‘दिगो चार्ज प्वाइन्ट’ ब्रान्ड नाम दिएको छ । अहिले मुलकोटमा ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जर जडान गरिएको छ । यो चार्जरले बीपी राजमार्गमा चल्ने विद्युतीय सवारीसाधनलाई सेवा दिनेछ ।

उक्त रुटमा विद्युतीय सवारीसाधनको चाप बढेपछि चार्जरको क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपाने तथा नेपाल विद्युत् प्राधिकरण खुर्कोट शाखा प्रमुख संगीता थापा मगरले उपस्थिति जनाएका थिए । साथै कार्यक्रममा रोयल विजया किल्ला समिति र कुशेश्वर यातायात समितिका पदाधिकारीहरु, सो क्षेत्रका समाजसेवी तथा यातायात व्यवसायीहरुको पनि उपस्थिति थियो ।

दिगो ग्रुपअन्तर्गतको एनईभी नेपालका सीईओ दिपक थापा र प्राधिकरण शाखा प्रमुख एवम प्रमुख प्रशासकीय अधिकृत, समितिका अध्यक्ष एवं व्यवसायी तथा होटेल सञ्चालक रामहरि पौडेलले संयुक्त रूपमा सो चार्जिङ स्टेसनको उद्घाटन गरेका थिए । अहिले काठमाडौं–सिन्धुली रुटमा दिगोबाट बिक्री गरिएका विद्युतीय माइक्रोबसहरु सञ्चालनमा रहेका छन् । डीफएसके ब्रान्डको सो विद्युतीय सवारीसाधन २५० किलोमिटर रेन्ज भएको ११ सिटको माइक्रो बस हो ।

मुलकोटको फास्ट चार्जर पर्याप्त पार्किङ सुविधा भएको होटलपरिसरमा जडान गरिएको छ । यात्रुहरुले होटलमा खाना/खाजा खाँदै गर्दा सवारीसाधन चार्ज गर्न सकिनेछ । फास्ट चार्जरले विद्युतीय माइक्रोबसहरुलाई बीच बाटोमै चार्ज गर्ने सुविधा दिएर एकै दिनमा धेरै खेप यात्रु ओसार्ने अवसर प्रदान गर्नेछ ।

दिगोले यस्ता चार्जरहरु मुलुकका विभिन्न स्थानमा जडान गर्ने योजना बनाएको छ । निकट भविष्यमै पृथ्वी राजमार्गको कुरिनटारमा चार्जिङ स्टेसन जडान गर्ने कम्पनीको योजना छ । दिगो चार्ज प्वाइन्ट निजी क्षेत्रबाट भएको महत्वपूर्ण पहल हो, जसले विद्युतीय सवारीसाधनलाई मुलुकका विभिन्न भागको यात्रा गर्नसक्ने बनाउँछ भने यात्रुले वातावरणमैत्री विद्युतीय सवारीसाधनको रेन्जबारे चिन्ता लिनुपर्ने अवस्थाको अन्त्य गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x