Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारश्री लालीगुराँस सहकारीको भवन नै मापदण्डविपरीत

श्री लालीगुराँस सहकारीको भवन नै मापदण्डविपरीत


ललितपुर । पुल्चोकमा रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीको भवन नै स्वीकृत नक्साविपरीत रहेको पाइएको छ । महानगरपालिकाबाट स्वीकृत भएको नक्सामा भवनको ढोका, सटरलगायतको संरचना दक्षिणतर्फ हुनुपर्ने उल्लेख छ । तर, सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले महानगरपालिकाबाट स्वीकृत भएको नक्साविपरीत संरचना बनाएका हुन् ।

नक्साअनुसार सहकारीले सडकपट्टि फर्काएर कुनै पनि संरचना निर्माण गर्न नपाउने भए पनि भण्डारीले सहकारी भवनबाट सडकतर्फ फर्काएर लालीगुराँस डेरी, होम प्रो फर्निसिङलगायत विभिन्न धन्दा चलाउँदै आएका छन् । सहकारीले घर जग्गा किन्दा पूर्वतिर कित्ता नम्बर ३२७ मा समय् फल्चा छ भन्ने जान्दाजान्दै विभिन्न अवैध संरचना निर्माण गरेको थियो । महानगरपालिकाले दुई सय छ वर्ष पुरानो समय् फल्चा निर्माण थालेपछि सहकारीको भवन नै मापदण्डविपरीत रहेको खुलेको हो ।

सहकारीले फल्चा रोक्न जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा मुद्दा दायर गरे पनि सबै अदालतमा पराजित भएको थियो । पराजित भएको नजिरलाई लुकाएर फेरि जिल्ला अदालत र उच्च अदालतमा शृंखलाबद्ध रुपमा मुद्दा दायर गरिएको थियो । ती मुद्दामा समेत अदालतले यसअघि नै फैसला भइसकेकाले फल्चा निर्माण गर्न आदेश दिइसकेको छ । आदेशअनुसार महानगरपालिकाले फल्चा निर्माण थालेको छ । फल्चा पुनर्निर्माण उपभोक्ता समितिले सहकारीले पूर्वतर्फको बाटो समेत प्रयोग गर्न नपाउने भन्दै बार लगाएर अवरोध गरेको थियो । तर, भण्डारी सीडीओ घनश्याम उपाध्यायसमक्ष रोइकराइ गरेपछि सामान्य बाटो सात दिन अवधिका लागि दिइएको छ ।

सहकारीले तत्कालीन महानगरपालिकाबाट लिएको स्वीकृत नक्सामा पूर्वतर्फ कुनै बाटो र सटर समेत बनाउन नपाउने देखिन्छ । तर, भण्डारीले मनोमानी रुपमा पूर्वतर्फ नै सटर र ढोका राखेर भवन बनाएका छन् । सहकारीका कार्यकारी निर्देशक भण्डारीले अमृतराज भण्डारीसँग घर जग्गा खरिद गर्दा अगाडि पाटी छ भन्दै एक करोड २५ लाख रुपैयाँ मूल्य घटाएर किनेका थिए । ‘जनताको निक्षेप संकलन गरेर चल्नुपर्ने लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था चलाउने व्यक्तिले कित्ता नम्बर ३२७ मा रहेको समय् फल्चा क्वाप्पै खान खोजेका थिए’, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन भन्छन्, ‘यो कामले सहकारीले आफ्नो साख गिराउने काम मात्रै भयो ।’

स्थानीयका अनुसार सहकारीले नक्साअनुसार पूर्वतर्फ झ्याल समेत राख्न मिल्दैन । यसअघिका मेयरले त नक्साअनुसार भवन नभएको भन्दै भवन नै भत्काएको नजिर रहेको स्थानीयबासी बताउँछन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x