Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपर्यटनमा गण्डकी प्रदेशको प्रयास

पर्यटनमा गण्डकी प्रदेशको प्रयास


काठमाडौं । कोरोना थिएन भने यो पटकको विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रमहरूमा नेपालमा एक करोडको संख्यामा पर्यटक आगमन भएको भनी गौरवका साथ विवरण सुनाइन्थ्यो होला । कोराना प्रवेश भएको वर्ष वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य थियो नेपालको । त्यो लक्ष्यको घोषणा गर्दै १६ पुस २०७६ मा नेपाल भ्रमण वर्ष २०२० को भव्यतासाथ उद्घाटन भएको थियो । त्यसमा लगानी पनि व्यापक तहको थियो । सरकारी, निजी र विदेशी गरी एक खर्बभन्दा बढी नै लगानी भएको थियो । यी लगानी आतिथि उद्योगका थिए जो स्वाभाविक पनि हो । यति ठूलो संख्याको पर्यटक आउँछन् भने लगानीको पनि उत्साह हुने भयो नै । तर कोरोनाले नेपाललाई पनि छाडेन । यसको तेस्रो महिना त लकडाउन नै घोषणा भयो । त्यसपछि थला परेको पर्यटन क्षेत्रलाई उकास्न गण्डकी प्रदेशले थालेको प्रयास त्यस कारण पनि सराहनीय छ ।

महामारीका बीच पर्यटन व्यवसायीले ४२औँ विश्व पर्यटन दिवस मनाइरहेका बेला त्यसैलाई लक्ष्य गरेर गण्डकी प्रदेश सरकारले पर्यटक व्यवसायी समेतको संलग्नतामा अतिथिका लागि नेपालमा रहेका कूटनीतिक नियोगका प्रमुखहरूलाई पोखरा भ्रमणमा निम्त्यायो । यसको उद्देश्य नेपाल अब गन्तव्यका लागि सुरक्षित छ भन्ने नै हो । निम्ता पाएका नियोग प्रतिनिधि राजदूतहरूले संकोच नमानी भ्रमण पनि गरे । यो बेला पोखराको मौसम पनि अुनकूल रह्यो, हिमाल दर्शनदेखि पर्यटकीय स्थलको अवलोकनका लागि ।

पोखरा नेपालको पर्यटनका लागि एउटा प्रमुख गन्तव्य हो भन्ने संसारभरि नै परिचित छ । यो ठाउँ वास्तवमा नै सुरक्षित छ भन्ने सन्देश दिन सकियो भने त्यसले समग्र पर्यटनलाई उकास्ने काम गर्न सक्छ । पर्यटनमा आधारित अर्थतन्त्र रहेका मुलुकले पर्यटन दिवसलाई उत्सवका रूपमा मनाउँछन् । त्यसमध्येको एउटा कार्यक्रम हुनुपर्छ पोखरा भ्रमण । तर यसको पक्ष राजदूतहरूले घुमेर मात्र पुग्ने होइन । उनीहरूले आफ्नो देशमा कस्तो सन्देश पे्रषण गर्न सक्छन् भन्ने महत्वको कुरा हुन्छ । त्यसमा नेपाली राजदूतावास रहेका देशमा नेपालले पनि थप सहयोग गर्न सक्छ । तर पछिल्लो समय नेपाली दूतावासहरू खाली नै छन् । पहिलेकालाई फिर्ता बोलाइएको छ र नयाँ सिफारिस भएकै छैनन् ।

पर्यटन दिवसको अवसरमा मनाइने कार्यक्रमको एउटा अर्थ हुन्छ । संसारभरिका देशहरूले यो दिनलाई आफ्नो मुलुकमा घुमफिरका लागि प्रस्ताव गर्छन् नै । त्यसमा सबैभन्दा बढी प्रभावित पार्ने कुरा हो कोरोना । त्यो खोपले हो कि अरु उपायहरू अपनाएर हुन्छ त्यसबाट सुरक्षित रहन सकिन्छ भन्ने सन्देश दिन सकियो भने नेपालका लागि यो ठूलो उपलब्धि हुन सक्छ । पर्यटकले आफू सुरक्षित रहन सक्ने वा भएको ठान्ने आधारहरू थुप्रै हुन्छन् । त्यसमा सतर्कताको कुरा, कोरोना लागिहाले उपचारको अवस्था आदि पनि पर्छन् । यसको संक्रमण दर उच्च रहेकै बेला सगरमाथा आरोहरण पनि भएका छन् ठूला–ठूला टोलीबाट । तर त्यसको जति प्रचार हुनुपर्ने थियो संसारभरि नै त्यो हुन सकेन ।

गण्डकी प्रदेशले आफ्नो क्षेत्रलाई केन्द्र बनाएजस्तो सगरमाथाको पनि त कुनै प्रदेश होला । त्यसो भएन भने केन्द्रीय सरकारले त यस्ता दुर्लभ अवसरहरूबाट लाभ लिन सक्नुपर्छ । औपचारिक रूपमा दिवस मनाएर मात्र नेपाल सुरक्षित छ भन्ने पर्याप्त सन्देश हुँदैन । यसका लागि विशेष कार्यक्रम नै अगाडि सार्न जरुरी छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x