Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपाली राजनीतिमा प्रगतिवाद र राजा महेन्द्र

नेपाली राजनीतिमा प्रगतिवाद र राजा महेन्द्र


काठमाडौं । ’प्रगति’को सामान्य अर्थ ’अगाडि बढ्नु’ र ’वाद’को अर्थ ’सिद्धान्त’ हो । यसप्रकार प्रगतिवादको सरल अर्थ ’प्रगतिको सिद्धान्त’ हो । तर प्रगतिवादको अगाडि बढ्ने एक विशेष तरिका छ, एक विशेष दिशा छ जसले यसलार्ई एक विशिष्ट परिभाषा दिन्छ । यस अर्थमा ’प्राचीनदेखि नयाँ’, ’आदर्शबाट वास्तविकता’, ’पुँजीवादबाट समाजवाद’, ’रूढीवादबाट मुक्त जीवन’, ’उच्च वर्गदेखि तल्लो वर्ग’ र ’शान्तिबाट क्रान्ति’ प्रगतिवाद प्रगति हो । तर नेपाली राजनीतिमा, प्रगतिवाद एक विशेष अर्थमा संलग्न भएको छ ।

नेपाली बामपन्थी राजनीतिक व्यक्तिहरूले प्रगतिवादलार्ई मार्क्सको एक महान् दर्शनको रूपमा मान्दै आए । प्रगतिशीलता वा प्रगतिवाद विचार वा सिद्धान्तको त्यो रूपललार्ई भनियो जसमा उन्नति नै यसको एक मात्र आधार बन्यो । राजनीतिमा कम्युनिज्म, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद, जुन साहित्यमा प्रगतिवाद छ, त्यही विचारधारा नै प्रगतिवाद हो । यो प्रगतिवाद जसललार्ई ’समाजवादी यथार्थवाद’ पनि भनिन्छ ।

तात्कालीक समयमा राजा महेन्द्रले अपनाएको त्यो आफ्नै महेन्द्रीयवाद पनि प्रगतिवाद नै थियो किनकि महेन्द्रकै पालामा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त ग-यो । चीनलगायत त्यो बेलामा सोभियत संघ, पूर्वेली युरोपेली मुलुकहरू, बर्मा, इन्डोनेसिया, पाकिस्तान, इजरायलसँग नेपालको दौत्य सम्बन्ध स्थापना भयो  । शीतयुद्ध चर्किएको बेलामा नेपाल असंलग्न आन्दोलनको सक्रिय सदस्य भयो  । नेपाल राष्ट्र बैंकको स्थापना, देशभरि नेपाली मुद्राको प्रचलन, योजनाबद्ध विकास प्रक्रियाको थालनी, पूर्व–पश्चिम राजमार्गको अवधारणा र काम सञ्चालन, जलविद्युत् तथा सिँचाइ आयोजनाको निरन्तर विकास विस्तार, भूमिसुधार लागू गराई आधुनिक कृषि पद्धतिको सुरुवात, प्रशासन, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार तथा विस्तार, देशभरि शिक्षाको माध्यमबाट नेपाली भाषा निर्धारण, नयाँ मुलकी ऐन निर्माण, राष्ट्रिय चिह्न तथा राष्ट्रिय विभूति घोषणाजस्ता सयौँ त्यस्ता काम भए जसका कारण नेपाल आधुनिक युगमा प्रवेश ग-यो ।

राजा महेन्द्रले आफ्नो छोटो जिन्दगीमा राष्ट्रको लागि जति गरे त्यही प्रगतिको जगमा उभिएर अहिलेका प्रगतिवादीहरू आफूलाई प्रगतिवादका कट्टर हिमायती भन्छन् । राजा महेन्द्रको गुणका बारेमा योगदानका बारेमा चर्चा गर्नेलाई अहिले पश्चगामी भन्छन् । गाँस बास र कपासविनाको शब्दको प्रगतिशीलता मात्रै के काम ? शब्दको प्रगतिशीलताले हावामा उचालिएको छ नेपाली बामपन्थीहरूको राजनीति । समाजवादी चिन्तन त त्यो हो जो जनताको जीवन रक्षा र जनताको प्रगतिका लागि काम गर्छ । कुरा प्रगतिशीलताको गर्ने कामचाहिँ भ्रष्टाचार गर्ने नेपाली राजनीतिज्ञहरूको विचार साँच्चै नराम्रो छ । राजनीतिको सौन्दर्य भनेको इमान्दारिता र जनप्रगति हो । नेपाली राजनीतिमा महेन्द्रवाद कार्लमाक्र्सको वैज्ञानिक समाजवादभन्दा कम थिएन र कम छैन । समाज र व्यक्तिको चिन्तन कहिले पनि पश्चगामी हुँदैन किनभने हरेक व्यक्ति त्यही प्रगतिशील समाजको एक अभिन्न अंग हो ।

प्रगतिशीलता जीवनको एक संकेत हो र जडता मृत्युको एक संकेत हो । राष्ट्र र समाज जो प्रगतिको पक्षमा छन् र आफ्नो नैतिकतामा यसलार्ई लागू गर्दछन्, उनीहरू संसारको अग्रणीमा रहन्छन् । अन्य समाज र राष्ट्रहरूमा उनीहरूको प्रभाव रहन्छ । यस्ता प्रभावशाली राष्ट्रहरू र समाजहरूबाट मानिसहरू संसारको हरेक कुनामा सम्मानित छन् । प्रगतिशील राष्ट्रहरूको सभ्यता–संस्कृति मात्र संसारमा फैलिन्छ र इतिहासका अक्षरहरूबाट पृथ्वीको छातीसम्म पुग्छ, प्रगतिशील राष्ट्रहरू र समाज चिरञ्जीवी बनेर अनन्तकालसम्मका लागि अमिट रहन्छन् । युरोपेली अमेरिकि पुर्वेली देशहरू माझ नेपाल र नेपालीलार्ई चिनाउने कामको श्रेय राजा महेन्द्रलार्ई नै जान्छ । अर्थतन्त्रको सुधार, राजमार्ग तथा सडक निर्माण, कुटनीतिक अभियान, राष्ट्रवादको संवर्द्धन, सामाजिक सुधार, नयाँ मुलुकी ऐन, भूमि सुधार कार्यक्रम, नेपाल भूमिबाट भारतीय सेना फिर्ताजस्ता महत्वपूर्ण सुधार गर्ने व्यक्तिलार्ई निरंकुश राजा भन्छन् अहिलेका प्रगतिशील नेताहरू ।

५९ अरबमा अमेरिकलार्ई एमसीसीका नाउँमा देशको सार्वभौमिता नै बन्धकी राख्ने नेताहरू प्रगतिवादी कि नेपालबाट भारतीय सैन्य शक्ति खेद्ने राजा प्रगतिवादी ? पूर्व–पश्चिम राजमार्ग निर्माण गर्ने व्यक्ति प्रगतिशील कि त्यही राजमार्गमा देशलार्ई ऋणमा डुबाएर प्राडो चढेर हिँड्ने प्रगतिशील ? २०२८ सालमा नेपाल तिब्बत सिमानामा भारतीय सरकारले आफ्नो देशको सुरक्षाको लागि भारतीय सैनिक राखेको थियो । महेन्द्रले च्यालेन्ज दिए कि यो मुद्दालार्ई म अन्तर्राष्ट्रियकरण गर्छु भनेपछि भारतीय तात्कालिक शासक डराए र नेपालबाट सधैँका निम्ति उनीहरू हटे । अहिले अमेरिकी सरकारसँग घुस खाएर एमसीसी पास गराउन लागि परेका छन् नेपालका प्रगतिशील राष्ट्रघाती नेपाली नेताहरू । को हो प्रगतिशील ? के यो उदाहरणले स्पष्ट पारेन र ? त्यतिबेलाको नेपाल त्यतिबेलाको विकास र प्रगति जतिबेला विश्व नै विकासको चरणमा क्रमशः अगाडि बढिरहेको थियो । विवश्व अहिलेको जस्तो अत्याधुनिक थिएन । सञ्चार थिएन । शिक्षा र विज्ञानले उन्नति नगरेको बेलामा नेपाली जनतालार्ई आधुनिक युगमा लैजाने व्यक्ति राजा महेन्द्र कति प्रगतिशील थिए हामी आफैँ विचार गरु ।

Open Photo

संसारमा सायद कुनै राष्ट्र र समाज छ, जो अनन्त जीवन र त्यस भूमिमा आफ्नो सभ्यता र संस्कृतिको प्रसार चाहँदैनन् । हामी नेपाली भाग्यमानी हौँ जहाँ युद्धको छिटा कहिले परेन । पहिलो र दोस्रो विश्वयुद्धको बाछिटोले संसारको सबै राष्ट्र अक्रान्त भए पनि हामी त्यस्ता प्रलयकारी युद्धमा होमिन परेन र कसैको पनि साम्राज्यवादको थुक नेपालमा परेन । हामी अनन्त कालदेखि पवित्र रहँदै आयौँ र यो भाग्य कसैले पाउँदैनन् । जो यो सौभाग्य पाउँछन्, यो नेपाल भूमि उही समाज र राष्ट्र हो, हामी हिजोदेखि नै प्रगतिशील छौँ । अनि अहिलेचैँ विदेशीसँग भिखको कचौरी थाप्ने अनि त्यही भिखमा पनि कमिसन खाने नेताहरू कसरी प्रगतिशील भए ? आधुनिकताको नाउँमा नांगिनु प्रगतिशीलता होइन, समृद्धि र सम्झौताको नाउँमा विदेशीको तलुवा चाट्नु प्रगतिशीलता होइन । सत्ताको नाउँमा सधैँ पार्टी झगडा र लुटको राजनीति गर्नु प्रगतिशीलता होइन । राज्यसत्ता, पद, कुर्सी, पावर र पार्टी निर्माणका नाउँमा १७ हजार नेपाली मार्नु प्रगतिशीलता थिएन र होइन । यो कुकृत्य कार्यलार्ई कहिले पनि इतिहासले राम्रो भन्ने छैन । त्यसपछिको राज्यले प्रगतिको छलाङ मारेको भए पनि केही चित्त बुझाउने बाटो हुनेथियो । हामी झनै पतनोन्मुख भयौँ । एकजुट हुनु सकेनौँ । विचारमा मात्रै लोकतान्त्रिक, प्रगतिशीलता र आधुनिक भएर के हुन्छ खै ?

महिन्द्रीय विचारलाई, महेन्द्रीय विकासलार्ई सडेगलेको पुरानो परम्पराको दर्शन भन्नेहरूले नै आज नेपाललार्ई बन्धक बनाउँदै छन् । हाम्रो स्वाभिमानको दियो निभाउने प्रयास गर्दै छन् । हामीले देखेको हामीले भोगेको हामीले महसुस गरेको हिजोको नेपाल आज छैन । मानिस जति बुढो हुन्छ उसको शरीर र मस्तिष्क गल्छ कमजोर हुन्छ तर देश जति पुरानो हुँदै जान्छ त्यति नै नयाँ शरीरमा परिवर्तन हुँदै जान्छ । देशलार्ई यो ढंगले सम्पोषण गर्ने काम नै प्रगतिशीलता हो । व्यवस्थित ढंगले देशलार्ई अगाडि लैजाने परिपक्व चेतना अहिलेको प्रगतिशील नेतामा पाइँदैन ।

हामी अरुको प्रभावबाट मुक्त हुनुपर्छ, आफैँमा वृद्धि र विकासको लागि परिस्थितिहरू बनाउनुपर्छ जन्माउनुपर्छ र यस्तो आदर्श जीवन बिताउनुपर्छ, जो आउने पुस्ताले हामीलार्ई सम्झिरहून् । महेन्द्रपथ खराब थियो भने के हामी आज यो धरातलमा उभिएर आत्मसम्मानका साथ बाँच्न सक्थ्यौँ त ? जबसम्म यो जडता नेपाली समाजमा रहन्छ, यो कुनै पनि क्षेत्रमा प्रगति गर्न सक्षम हुने छैन । हामी स्वतन्त्र छौँ भलै हामीलार्ई छिटो जादुगरी प्रगति चाहिँदैन तर देश अरुको गुलामी भएर बाँच्नु प-यो भने हाम्रो अस्तित्वको लडाइँ समाप्त हुन्छ, नेपालीको सम्मानको दियो निभ्छ । विदेशीको कुटिलता हामीले देखेका छौँ । हामीलार्ई कसैको दयामायामा बाँच्नु परेको छैन । राजनीतिक स्वतन्त्रता प्राप्त गरेर मात्र समाज र राष्ट्रको प्रगति हुन सक्दैन । राजनीतिक स्वतन्त्रता मात्र प्रगति र विकासको एउटा अवसर हो, जसको उपयोग गरी नेपाली समाजको प्रगति आफ्नै प्रयासको बलमा गरिनुपर्छ ।

नेपाली समाज आज विश्वको पिछडिएको समाजहरूमा गनिन्छ र यो इमानदारीको कुरा हो कि हाम्रो समाज वास्तवमा एक पिछडिएको समाज हो हामीले अरुको बुइ चढेर मात्रै प्रगति गर्न सक्तैनौँ । नेपालीहरूको मुख्य कर्तव्य हो कि उनीहरूको सामाजिक र राष्ट्रिय जीवनबाट यो गरिबीको कलंक धुनु छ । संसारको प्रगतिशील राष्ट्रहरूसँग बराबर हुनु छ । यो हुनका लागि विदेशीसँग सहयोगको भिक्षा मागेर होइन । हामी आफैँ उत्पादनमुखी हुनुपर्छ । आयात घटाउँदै जानुपर्छ निर्यात बढाउँदै जानुपर्छ ।

महेन्द्रीयवादमा किसान र कृषि, उद्योगी र उद्योग, शिक्षा र शिक्षक, साहित्य, कला, संस्कृति र नेपाली सभ्यताको पुनरुत्थान भएको थियो यो हो प्रगतिशीलता । संसारको प्रगतिशील राष्ट्रहरूसँग बराबर हुनको लागि, उनीहरूबाट समान व्यवहार पाउन र हाम्रो राष्ट्रिय स्वाभिमान सुरक्षित गर्नको लागि, यो जरूरी छ कि हामी हाम्रो व्यक्तिगत र सामाजिक कमजोरीहरूलार्ई हटाउन र आफैँमा वास्तविक प्रगतिको गुणस्तरको विकास गर्नको लागि हामी आफैँ जागृत हुनुपर्छ ।

प्रगति आफैँमा स्वतन्त्र सोचको विकासविना हासिल गर्न सकिँदैन, परम्पराहरू, रीतिरिवाजहरूलार्ई छोडेर र पुरानो रीतिरिवाजहरू, नीतिहरू र राम्रा परम्पराहरूबाट प्रेरित भएर हामी अझै नयाँ युगको त्यो इन्द्रेणीसम्म पुग्न सक्छौँ । कुनै पनि विधि नीतिको स्वतन्त्र सोचसँग आफूलाई खोजौँ अनि त्यहीबाट नै सम्भावनाको नयाँ आकाश पनि खुल्छ । पुरानोको नाउँमा आफैँलाई जन्माउने बाबुआमा पनि त बुढा हुन्छन् के तिनलाई बुढो भए भन्दै फ्ँयाक्ने हो र ? हामीले जुन धरातललार्ई आफ्नो जीवनको आदि भूमि बनायौँ यसको सुरक्षा र पक्षपोषण नै हाम्रो प्रगतिशीलता हो । त्यो नै प्रगतिशीलता हो जस्ले हाम्रो जीवन बाँच्नका लागि सहजीकरणको भूमिका निर्वाह गर्छ । प्रगतिशीलता यो हो कि हामीले कुनै परम्परा वा नीति पुरातनता वा पुरातनताको आधारमा अपनाउँनु हुँदैन, तर यसको उपयोगिताको आधारमा ।

आज यदि नेपाली समाजलार्ई प्रगति गर्नु छ, एक बलियो र समृद्ध राष्ट्र बन्नु छ, अरुको प्रभाव र निर्भरताबाट मुक्त हुनु छ भने, आफ्नो स्वतन्त्र अस्तित्व प्राप्त गर्नको लागि, विश्वको अन्य उन्नत राष्ट्रहरूसँग बराबरमा आफ्नो सम्मानजनक स्थान बनाउनको लागि, आत्मनिर्भरता अपनाई परनिर्भरतालाई बाल्नुपर्छ । ती दुष्टहरू जो बाटोमा चट्टान हुन् त्याग्नु पर्छ । सहयोगका नाउँमा राजनीतिक हस्तक्षेप हामीलार्ई कहिल्यै मान्य हुने छैन । हामी दुई विशाल देशको चेपुवामा छौँ । चाइना र अमेरिकाबीच युद्धबराबरको स्थिति छ । खास गरेर हाम्रो भूमिलाई अमेरिकाले आफ्नो स्वार्थमा उपयोग गर्न योजना बुन्दै छ । नेपालीको छातीमा बन्दुक राखेर चाइनालार्ई निशाना बनाउँदै छ अमेरिकाले । त्यसैले पनि एमसीसी हामीले कुनै पनि हालतमा स्वीकार गर्नु हुन्न । हाम्रो निम्ति होइन यो सहयोग । यो त नेपाललार्ई रणभूमि बनाउने योजनाको एउटा प्रयत्न मात्रै हो ।

हामीले हाम्रो देशको आदिम अतीतको यात्रा पनि गर्नुपर्छ र हाम्रो समाजको नयाँ निर्माणको लागि, हामी ती वैदिक युग परम्परा र रीतिरिवाज नीतिहरूलार्ई ल्याउनुपर्छ, जुन आजको समयको आवश्यकता पूरा गर्न र एक उज्यालो सिर्जना गर्नको लागि सामाजिक भविष्यको लागि पनि उपयोगी हुन सक्छ । यो अतीतको समयको लागि हाम्रा पुर्खाले लडेर जितेका हाम्रा भूमिको रक्षाका लागि फेरि पनि हामी होमिन पर्ने दिन आउन सक्छ । त्यसका लागि तयारीमा बसौँ । राजनीतिक स्वतन्त्रता पाउँदैमा राज्यले प्रगति गर्ने होइन । त्यो त अधिकारको सुनिश्चितता मात्रै हो । कार्यविनाको अधिकार पाएर मात्रै के हुन्छ ? कसैलार्ई राजा हुने अधिकार त दिइयो तर भूमि नभएको खण्डमा त्यो अधिकारको के काम ? स्वतन्त्रता र समृद्धि एक–अर्काको परिपुरक हुन सकेको खण्डमा मात्रै देशको अस्मिता जीवित रहन सक्छ ।

प्रगतिशील बन्नको लागि, यो पनि यसको सही अर्थ बुझ्न आवश्यक छ । किनकि आज धेरै दुष्ट प्रवृत्तिहरूलार्ई यसको नाम मा आश्रय दिइन्छ । आज मानिसहरू आदर्शवाद छोडेर गुप्तवाद र सरलीकृत कोमलता त्यागेर प्रदर्शनवादलार्ई प्रगतिशील मान्न थालेका छन् । मनमनै जीवन बिताउनु र कुनै साझा सामाजिक अनुशासनको पालना नगर्नुलार्ई पनि प्रगतिको संकेत मानिन्छ । जबकि यो प्रगतिशीलता हैन, वास्तविक प्रगति यसलार्ई भनिन्छ कि सक्रिय विवेक बुद्धि, जसले मानिसलार्ई प्रेरणा र शक्ति अगाडि हेर्न र प्रगतिको सही बाटोमा अगाडि बढ्न सक्छ । मानिसहरू जो आफ्नो हरेक व्यवहारको राम्रो र नराम्रो नतिजाहरूलार्ई ध्यानमा राख्छन्, जो उनीहरू के गर्न चाहन्छन्, उनीहरू के गर्दै छन्, उनीहरू के गरिरहेका छन् र उनीहरूका फाइदाहरू के हुन् मानिसको मुहारमा खुसी थपिदिने मानिस मात्रै प्रगतिशील हुन । भ्रष्ट राजनीति गरेर देशका नाउँमा परिवार धनी बनाउने नकचरा नेताहरू कसरी प्रगतिशील हुन् ? (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x