ज्येष्ठ नागरिकको आवश्यक लालनपालनको महत्व
काठमाडौं । हाम्रो देशको कुल जनसंख्यामध्ये ज्येष्ठ नागरिकहरूको (६० वर्ष र माथि) कुल जनसंख्याको ९ प्रतिशत अर्थात् २५ लाखभन्दा माथि रहेको तथ्यांक छ । नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ रहेको अवस्थामा ६० वर्षभन्दा माथिको वृद्धिदर भने यसको दोब्बरभन्दा बढी छ । आगामी दशकभित्र यो ३५ लाखभन्दा बढी हुने अनुमान गरिएको छ । ज्येष्ठ नागरिकहहरूमध्ये ६०–७० उमेर समूह अझै पनि जुझारु किसिमले बौद्धिक एवं श्रममूलक कार्यमा संलग्न भएको प्रशस्तै पाइन्छ । विभिन्न उत्पादनमूलक कार्यसंलग्नताका हकमा निजहरूको स्वास्थ्य स्थिति, आर्थिक अवस्था र कामको प्रकृति भने फरक–फरक रहेको छ ।
हाम्रो मुलुकमा नागरिकहरूको अपेक्षित आयु हाल सन् २०२१ को तथ्यांकअनुसार ७० दशमलव १७ वर्ष रहेको पाइन्छ । हिमाल पहाडमा बसोबास गर्नेको अपेक्षित आयु बढी छ भने मधेशमा बसोबास गर्ने मानिसलगायतका जातजातिको अपेक्षित आयु हिमाल तथा पहाडको भन्दा कम रहेको अनुसन्धानले देखाएको छ । यसरी मानिसको आयुलाई हावापानी, रहनसहन, आर्थिक स्थिति, उपलब्ध स्वास्थ्य सेवा आदिले असर पारेको हुन्छ । सन् १९९० डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको माहासभाले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने प्रस्तावपछि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउँदै आइएको छ । सन् २०२१ को ज्येष्ठ नागरिक दिवसको नारा ‘डिजिटल इक्यूलिटी फर अल एजेज’ राखिएको छ । यो दिन ज्येष्ठ नागरिकले परिवार, समाज र राष्ट्रलाई दिएको योगदान, अनुभव, क्षमताको कदर तथा सम्मान गर्दै सहज जिवनका लागि प्रतिबद्धता जनाउने दिन हो । संयुक्त राष्ट्रसंघका अनुसार हाल अति कम विकसित मुलुकमा तीन करोड ७० लाख ज्येष्ठ नागरिक रहेकोमा आगामी तीन दशकमा १२ करोड पुग्नेछ ।
संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रत्याभूत गरेको छ । दिगो विकास लक्ष्यमा ज्येष्ठ नागरिकको लागि सामाजिक सुरक्षालगायत सुरक्षित, समावेशी र पहुँचयोग्य हरित तथा सार्वजानिक खुला ठाउँहरूमा पहुँच सर्वसुलभ गर्ने विषय समावेश भएको छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण, स्याहारसुसार र सुरक्षा गर्नको लागि वृद्धाश्रम र दिवा सेवा केन्द्रहरू सञ्चालन, यातायालमा विशेष सहुलियत, औषधोपचार, सामाजिक सुरक्षा भत्तालगायतका सेवा सुविधा पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । यसै सन्दर्भमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । सो लिन पनि धेरै कष्ट भएको सर्वसाधारणको गुनासो छ ।
पहिले–पहिले वृद्ध बा–आमा, हजुरबा, हजुरआमालाई माया, मानसम्मानका साथ आफ्नै घरमा पालनपोषण तथा हेरचाह गरिन्थ्यो तर आधुनिक जीवनशैलीले एकल परिवारको चाहना, स्वार्थीपना, रोजगारको व्यस्तता, विदेशी संस्कारको प्रभाव बसाइँसराइ, कमजोर आर्थिक अवस्था, जनचेतनाको कमी, फिक्का नैतिक शिक्षा, राज्यको कमजोर कानुनी प्रक्रिया आदिले ज्येष्ठ नागरिक एक्लिँदै गएका छन् । समयको फेरबदलको कारण देखाई आफूलाई जन्म दिई लालनपालन गर्ने आमाबाबुलाई आफ्नो परिवार तथा इष्टमित्रबाट बेवास्ता गरी केहीलाई खाना, लाउन, बस्न समेत नदिई घरैबाट निकालिएको अवस्था छ । साथै राज्यले पनि ज्येष्ठ नागरिकलाई उचित किसिमको आवश्यक व्यवस्था नमिलाई राजनीतिक दलहरू निहित स्वार्थमा लागि सो समस्या हल गर्न ठूलो चुनौती भएको छ । आमाबाबुलाई हेला गर्ने, वृद्धाश्रम पु-याउने, खान, लगाउन नदिने, औषधोपचारबाट टाढै राख्ने प्रवृत्तिले नेपाली समाजलाई मानवताशून्य बनाएको छ ।
सम्पत्ति भएका वा नभएका दुवैखाले ज्येष्ठ नागरिक ढल्कँदो उमेरमा केवल पीडाका पात्र बनेको पाइन्छ । सम्पत्ति हुने बाबुआमालाई करकाप गर्ने, छलछाम गर्ने, तर्साउने र जालझेल गरी स्वार्थसिद्ध गर्ने छोराछोरी एकातिर निन्दनीय छन् भने सम्पत्ति नभएका बाबुआमाप्रति रत्ति दयाभाव नराख्ने, दुव्र्यवहार गर्ने सन्तान घोर कलंकका पात्र बनेका छन् । ज्येष्ठ नागरिक दुर्व्यवहारबाट पीडित छन् । यसलाई न्यूनीकरण गर्ने हिसाबले २००६ देखि अमेरिकास्थित अन्तर्राष्ट्रिय इन्पिया नामक संस्थाले हरेक वर्ष जुन १५ लाई ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहारविरुद्ध विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस मनाउन थालेको पाइन्छ भने संयुक्त राष्ट्रसंघले सन् २०१२ देखि यसलाई मान्यता दिएको थियो, यसै सिलसिलामा सो दिवस २०१२ देखि नै नेपालले पनि मनाउन सुरु ग-यो ।
नेपालको संविधान धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था गरिएको साथै संवन्धित ऐन २०६३ मा पनि ज्येष्ठ नागरिकलाई सबैले श्रद्धा गर्नुपर्ने लेखिएको छ । तैपनि ज्येष्ठ नागरिकलाई मुख्यतः निम्नलिखित दुर्व्यवहार गरेको पाइन्छ । जस्तैः आर्थिक, शारीरिक हेला, भावनात्मक/मानसिक, यौन आदि दुर्व्यवहार गरिन्छ । डब्लूएचओको अनुसार ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार विश्वको तथ्यांक हेर्दा प्रत्येक दिन एक घटना मात्र बाहिरिन्छ भने वास्तवमा हजारौँ घटना दबाइन्छ ।
उदाहरणको रूपमा हाम्रो देशमा कानुनबमोजिम ज्येष्ठ नागरिकलाई हरेक सार्वजानिक यातायातमा दुई सिट आरक्षण गरिएको हुन्छ साथै भाडादरमा ५० प्रतिशत छुटको व्यवस्था छ । सो निहुँमा पनि सम्बन्धित पक्षले दुव्र्यवहार गरेको तपाईँहाम्रो आँखाअगाडि ताजै छ । यो त एक दुर्व्यवहारको प्रतिनिधि पात्र मात्र हो । संयुक्त राष्ट्र संघले सन १९९१ मा वृद्धवृद्धाहरूका स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादालाई प्राथमिकता दिएर प्रस्ताव नै पास गरेको थियो । नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको मौलिक हकको सुनिश्चित गरेको छ । चालू पन्ध्रौँ योजनाले ज्येष्ठ नागरिकहरूको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रले समृद्धिको लागि उपयोग गर्ने लक्ष्य लिएको छ । हरेक आर्थिक वर्षमा बजेटमार्फत ज्येष्ठ नागरिकको उल्लिखित अनुभवलाई स्थानीय सरकारसँगको सहकार्यमा ज्ञानकेन्द्र, ध्यानकेन्द्र र आरामकेन्द्र स्थापना गर्दै पुस्तान्तरण गर्दै जाने अवधारणा ल्याएको पाइन्छ ।
मातृदेवो भवः, पितृदेवो भवः जस्ता आदर्श बोकेको समाज ज्येष्ठ नागरिकप्रति यतिबिघ्न निर्दयी हुनु निश्चय नै सामाजिक पतनको दृष्टान्त हो । केवल भौतिकवादी सोच र लालसाले गर्दा आजको समाज भावनारहित हुँदै गएको छ । समयमै बुद्धि नपु-याउने हो भने मानव समाज झन्झन् कठोर, निष्ठुर हुँदै जाने सम्भावना छ । यही यथार्थलाई ध्यानमा राखेर हुनसक्छ, विकसित देशका अगुवा वर्गले ज्येष्ठ नागरिकको सम्मान र सुविधाका निम्ति मनग्ये क्रियाशीलता बढाएका छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि संविधान तथा कानुनमा ज्येष्ठ नागरिकका हक, हितबारे प्रत्याभूति नरहेको होइन तर व्यवहारमा सो अनुसार लागू भएको छैन ।
ज्येष्ठ नागरिकहरूका लागि परिवार, समुदाय र राज्यले दुर्व्यवहार रोकी निम्नलिखित कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । घर परिवारका सदस्यले यथोचित माया ममता, प्रेम र समय दिनु पर्ने, साथै आफ्ना अग्रजहरूलाई सदैव मातृ देवो भवः पितृ देवो भवः जस्ता आदर्श वाक्यको पालना गर्नुपर्ने, सरकारले समयमै वृद्ध भत्ता निकासा गरी उचित र सहज तरिकाबाट वितरण गर्नुपर्ने, स्वास्थ्य सेवामा विशेष सहुलियत दिनु पर्ने, वृद्ध भत्तामा वृद्धि गरिनु पर्ने, बेसहारा र असक्त ज्येष्ठ नागरिकलाई विशेष भत्ता वा लालनपालनको व्यवस्था सरकारबाट हुनुपर्ने, यातायात, स्वास्थ्य सेवाजस्ता सुविधा निःशुल्क उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, घरपरिवारका सदस्यले खान, लाउन, स्वास्थ्योपचारमा ध्यान दिनुपर्ने, सरकारले उपलब्ध गराउने सुविधाबिना भेदभाव सहज र सरल तरिकाबाट प्राप्त गर्नसक्ने व्यवस्था हुनुपर्ने, सकेसम्म घरमै वृद्धभत्ता उपलब्ध गराउने व्यवस्था हुनुपर्ने, परिवारलाई वृद्ध, ज्येष्ठजनहरूको उचित रेखदेख, स्याहार, सामान्य स्वास्थ्य उपचारजन्य विषयमा अनुशिक्षण वा प्रशिक्षणको व्यवस्था, लोकप्रिय सञ्चार माध्यमबाट रेखदेख, स्याहार उपचारबारे जनचेतना कार्यक्रम, घरेलु एवं परम्परागत स्याहार र उपचार पद्धतिको उपयोग, अस्पताल, स्वास्थ्य संस्थाहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्याहार र उपचारबारे अनुशिक्षण, सुरक्षात्मक प्रबन्धका लागि घरवरपरको भौतिक वातावरण, व्यवहार वृद्धमैत्री तुल्याउने, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, वृद्धाश्रम, हेरचाह केन्द्र आदि संस्थामा कार्यरत जनशक्तिलाई परम्परागत एवं आधुनिक रेखदेख, स्याहार र चिकित्सा पद्धतिबारे प्रशिक्षित गर्ने, स्थानीयस्तरमा कार्यरत गैरसरकारी संस्थाहरूलाई ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, स्याहा, स्वास्थ्य सेवाका विषय समावेश गर्न प्रोत्साहित गर्ने, मानसिक स्वास्थ्य सबलताका लागि ध्यान, सत्सङ आदिजस्ता आध्यात्मिक क्रियाकलापमा संलग्न गराउने, स्वास्थ्य स्थिति सवलताका लागि रुचि र क्षमताअनुसार सामान्य योग, अभ्यासका विधिहरू अपनाउने, निरन्तर शारीरिक सुसंगठनका लागि सक्रिय रहन रुचि र क्षमताअनुसारका कार्यहरूमा क्रियाशील रहने बानीको विकास गराउने, महिला ज्येष्ठ नागरिक एवं एकल महिलाहरूका लागि विशेष स्वास्थ्य सेवा एवं परामर्श सेवा सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्नको लागि नीति निर्माणमा सहभागिता र स्रोतमा पहुँच सुनिश्चित गर्नेजस्ता कुरामा विशेष ध्यान दिई ज्येष्ठ नागरिको उचित हेरचाह गर्नु आजको आवश्यकता हो । तब मात्र हरेक वर्ष अक्टोवर १ मा मनाइने विश्व ज्येष्ठ नागरिक दिवसले साथर्कता पाउनेछ । (लेखकः नेपालमा गुणस्तरी जीवन विषयमा विद्यावारिधि एवं लामो समय अध्ययन अनुसन्धान)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया