दिगो विकासको आधार : साक्षरताको वृद्धि र विस्तार
काठमाडौं । शिक्षित नागरिकको प्रतिशत र देश विकासको गति समानुपातिक हुने सर्वमान्य मान्यता हो । दिगो विकासको आधार सुनिश्चितताको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनको निमित्त कम्तीमा साक्षरताको वृद्धि र विस्तार पहिलो सर्त हो । साक्षर औपचारिक र अनौपचारिक पद्धतिबाट बनाइन्छ । औपचारिक शिक्षा स्वभावैले स्थायी प्रकृतिका संरचना र साधनस्रोतको व्यवस्थाबाट सञ्चालित हुन्छन् भने अनौपचारिक आवश्यकताअनुसार अल्पकालीन र दीर्घकालीन प्रकृतिका हुन्छन् । बालबालिकाको लागि साक्षर बनाउने काम प्राथमिक तहको विद्यालयमा हुन्छ भने निरक्षर युवा तथा प्रौढका लागि अनौपचारिक शिक्षाले समेटेको छ ।
मानव विकास सूचकांकको आधारमा कुनै पनि देश कति विकासित छ भनी आकलन गर्न सकिन्छ । मानव विकास सूचकांक मापन गर्ने मूल आधारहरू औसत आयु, मातृ मुत्यृदर, बालमृत्युदर, विद्यार्थी भर्ना दर, प्रतिव्यक्ति आय, साक्षरता दर आदि हुन् । यी सूचकांकहरूमा सकरात्मक सुधार ल्याउन शिक्षाको विकास र विस्तार अपरिहार्य छ । निरक्षरताको कारणबाट समाजलाई अन्धविश्वास, गरिबी, पछौटेपन, बेरोजगारीजस्ता नकारात्मक प्रवृतिले गाँजेको हुन्छ । कम्तीमा गाँस, बास, कपासको सुनिश्चित गर्दै सबै खाले पछौटेपनलाई छिमल्न निरक्षरता उन्मूलन पहिलो सर्त हो । तसर्थ सबै देशले आफ्ना जनतालाई जतिसक्दो चाँडो दिगो साक्षर गराउँदै दक्ष जनशक्ति बनाउन विभिन्न नीति एवं रणनीति अवलम्बन गरेको पाइन्छ ।
साक्षरता मानव विकासको पहिलो खुड्किलो हो । साक्षरताले सामन्यतया साधारण लेखपढ गर्नसक्ने भन्न बुझिए पनि कुनै पनि विषयवस्तुसम्बन्धी सामान्य ज्ञान र सीप नभएमा निरक्षर भएको मानिन्छ (दैनिक जीवनमा आइपर्ने र प्रयोग हुने सामग्री कम्प्युटर, मोबाइललगायत कतिपय उपकरणलाई उचित प्रयोग गर्न तत्सम्बन्धमा साक्षर हुनुपर्दछ । अक्षर साक्षरता सबै खाले साक्षरताको प्रस्थान बिन्दु हो । साक्षरता आफ्नो प्रतिभाको उत्खनन् र आविष्कार गरी सक्षमता हासिल गर्ने कुन्जी हो । देश विकासको लागि साक्षर र शिक्षित नागरिकको उच्च प्रतिशतसँग समानुपातिक हुने यथार्थता हो । सदिऔँदेखि समाजमा जरा गाडेर बसेको निरक्षरतालाई लरतरो प्रयासबाट निर्मूल पार्न सकिँदैन किनकि भौतिक परिवर्तन नभएर मानसिक एवं मनोवैज्ञानिक सोचमा परिर्वत ल्याउनुपर्ने हुन्छ । निरक्षरताले निरक्षरलाई मात्र पिरोलेको हुँदैन । समाजको हरेक वर्गलाई यसबाट प्रत्यक्ष अप्रत्यक्ष असर पारिराखेको हुन्छ ।
निरीक्षरहरूको अज्ञानताको कारणले शिक्षितहरूको जीवनमा त्यस्ता कैयौँ घटना घटेका छन् चाहे त्यो फलफूल, तरकारी र अन्नमा किटनाशक औषधिको अज्ञानताको कारणबाट अवैज्ञानिक प्रयोग गरी उत्पादित वस्तुको उपभोक्ता निरक्षर मात्रै हुँदैनन् । ट्राफिक चिह्न र बत्तीको अज्ञानताको कारणबाट शिक्षित र सम्पन्नको मोटरमा निरक्षर ठोकिँदाको परिणाम दुवैले भोग्नु पर्दैन र ? तसर्थ समाजका हरेक तह र तप्काका व्यक्तिलाई प्रत्यक्ष परोक्ष रूपमा ढिलो चाँडो असर निरक्षरताले पारेको हुन्छ । निरक्षरताले निरक्षरलाई मात्र असर पारको हुन्छ भन्ने सोचाइ राखेर साक्षरता अभियानलाई नजरअन्दाज गर्न भनेको अदूरदर्शीताको परिचय दिनु हो । निरक्षरता हरेक व्यक्ति, समाज, समुदाय, देश र अन्ततः समग्र विश्वकै लागि नै अभिशाप हो ।
यसको गहिराइमा अध्ययन र मूल्यांकन गरी आवश्यक कदम चाल्न ढिलो भइसकेको छ । गरिबी, अन्धविश्वासलगायत समाजका पछौटेपनलाई छिमल्न साक्षरता निर्विकल्प अस्त्र हो । साक्षर बनाउने क्रममा बालबालिकालाई औपचारिक शिक्षाअन्तर्गत प्राथमिक विद्यालय र विद्यालय जाने उमेर काटिसकेका १५ देखि ६० वर्षका युवा प्रौढ तथा विभिन्न कारणबाट विद्यालयको पहुँचबाहिर रहेका छदेखि १४ वर्षका बालबालिकालार्ई साक्षर बनाउने अभिभारा अनौपचारिक शिक्षा केन्द्रले लिएको छ । अहिले पनि करिब ६ प्रतिशत बालबालिका विद्यालय प्रवेश गरेका छैनन् । जुन भविष्यका निरक्षर हुन त्यस्तै बीचैमा पढाइ छाडने संख्या पनि उच्च छ । निरक्षर अभिभावकका बालबालिका कित विद्यालय जाँदैनन् । गए पनि उनीहरूको उपलब्धिस्तर न्यून छ । यसरी साक्षरता अभियान औपचारिक शिक्षाको विकृति र विसंगति सम्बोधनका लागि पनि उत्तिकै महत्व राख्दछ ।
नेपालको प्रमुख आयस्रोत वैदेशिक रोजगारबाट प्राप्त रेमिट्यान्सलाई अझ सुदृढ गर्न निरक्षर जनशक्तिलाई साक्षर हुँदै शिक्षित बनाएर सीपमूलक तालिम दिएर पठाउँदा ५ गुणा बढी आयआर्जन बढ्ने अनुभवले पुष्टि गरेको छ ।
नेपाल विश्वको एक सय ७२ देशहरूमध्ये मानव विकास सूचकांकमा एक सय ४२औँ को स्थान पर्छ भने राष्ट्रिय योजना आयोगको हालैको प्रतिवेदनअनुसार गरिबीको रेखामुनि २५ दशमलव ४ प्रतिशत जनसंख्या छ तर अक्सफोर्ड युनिभरसिटीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार ६५ प्रतिशत गरिबीको रेखामुनि भएको दाबी गरेको छ । जसमा निरक्षरहरूको अधिक बाहुल्यता हुनु स्वभाविकै हो । साक्षरता प्रतिशत एकातर्फ समुदाय विशेष पनि फरक हुन्छ । मारवाडी, कायस्थ, थकाली, बाहुन, नेवार, क्षेत्रीको साक्षरता प्रतिशत उच्च हुनुको पछाडी सामाजिक, आर्थिक स्थितिले पनि असर पार्छ भने अर्को तर्फ सुविधासम्पन्न सहर बजारमा भन्दा दुर्गम गाउँहरू जहाँ ९० प्रतिशत जनसंख्या ग्रामीण क्षेत्रमा बस्छन् । त्यहाँ निरक्षरता बढी हुनु स्वभाविकै हो ।
नेपालमा निरक्षरहरूलाई साक्षर बनाउन सदियौँदेखि संस्थागत वा व्यक्तिगत समूहगत गुरुकुल, मदरसा, गुम्बा आदि माध्यमबाट साक्षर गर्ने गराउने परम्परा चल्दै आएको छ । विसं २००४ सालदेखि विभिन्न कालखण्डमा विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको पाइन्छ । अहिले सात दशकभन्दा बढी समय साक्षरता कार्यक्रममा खर्चिदा पनि निरक्षरतामुक्त देश बन्न नसकेको कटु यथार्थता हो ।
विगत दशकौँसम्म निरक्षरलाई साक्षर बनाउने अभियानले जस पाउने उपलब्धि हासिल गर्न नसक्नुका धेरै कारण हुन सक्छन् । निरक्षर कहाँ छन् ? वस्तुपरक तथ्यांक सूचना प्राप्त गर्न नसक्नु, निरक्षरलाई कसरी कक्षामा ल्याउने ? पढ्न आइसकेकालाई तोकिएको अवधिभर पढ्ने जाँगर चलाएर जतनसाथ कसरी टिकाइराख्न सकिएला ? पर्याप्त साधन स्रोत कसरी जुटाएर अधिकतम सार्थक परिचालन गर्न सकिएला ? र साक्षर भएका नवसाक्षरहरूलाई पुनः निरक्षर हुन नदिन वा साक्षरतालाई दिगो बनाउँदै निरन्तर शिक्षा हाँसिल गर्ने अवसर कसरी प्रदान गर्न सकिएला ? यी र यस्तै खाले चुनौतीलाई सम्बोधन गर्न सबैको आ–आफ्नो क्षेत्रबाट जाँगरिलो रचनात्मक सदभाव, सहयोग, सहकार्य, समन्वय सर्मपण, स्वामित्व र समीक्षाको अहम् भूमिका हुन्छ ।
साक्षरता काम हो बखान होइन । दशकौँदेखि समाजमा झाँगिएर बसेको निरक्षरतालाई उखेल्न सरकारी प्रयाशले मात्र असम्भव प्रमाणित भइसकेको छ । त्यसकारण सरकार र सरोकार पक्षको साथै गैरसरकारी संघसंस्थालगायतका प्रयासमा मात्र साक्षरता कार्यक्रमको उपलब्धि उच्च र दिगो हुने वास्तविकतालाई बिर्सिनु हुन्न ।
अर्कोतर्फ साक्षर र शिक्षित जनसमुदायमा मात्र सरकारी र गैरसरकारी निकायहरूको लक्षित उपलब्धि सुगमतापूर्वक हासिल गर्न सकिने यथार्थलाई मध्यनजर राखेर सबैले साक्षरता कार्यक्रमलाई सफल बनाउन प्राथमिकताका साथ लाग्नु बुद्धिमानी ठहर्छ । अन्य देशहरूको अभ्यास र अनुभवले पनि तोकिएको समयावधिभित्र साक्षरता अभियानलाई सफल बनाउन सबैलै सहयोग र सहकार्यबाट मात्र सम्भव भएको उदाहरणबाट पनि हामीले पाठ सिक्न जरुरी छ ।
विश्वका कतिपय देशहरूले निरक्षरता उन्मुलनका लागि साक्षरता अभियान सञ्चालन गरेर उल्लेख्य उपलब्धि पनि हासिल गरेका छन् । युनेस्कोको मापदण्डअनुसार १५ वर्षमाथिका कुल जनसंख्याको ९६ प्रतिशत पढ्न लेख्न बनाउन सके त्यस राष्ट्रलाई निरक्षरमुक्त घोषणा गर्न सकिन्छ । त्यसै मापदण्डअनुसार क्यूवाले सन् १९६१, भेनेजुएलाले सन् २००५ र बोलीभियाले ३० महिनाको प्रयासपछि हालै निरक्षरमुक्त राष्ट्र घोषणा गरेको छ ।
युनेस्कोअनुसार निरक्षरता उन्मूलन गर्न सदस्य राष्ट्रहरूको प्रयासमा सयुक्त राष्ट्रसंघले साक्षरता दशक सन् २००३–२०१२ घोषणा ग¥यो । जसको मूल नारा साक्षरता र सशक्तीकरण थियो । विभिन्न जातजाति धर्म संस्कार मूल्य मान्यतामा विविधता तथा भौगोलिक विकटता भएको देशमा साक्षरता अभियानबाट जनतालाई सशक्तीकरण गर्दै समृद्ध नयाँ नेपालको परिकल्पनालाई साकार पार्न सबै नेपालीहरूको आ–आफ्नो औकातअनुसार जाँगरिलो सद्भाव, सहयोग, सहकार्यको विकल्प छैन ।
साक्षरता अभियान काम हो बखान होइन । सञ्चार क्षेत्रको अग्रणी भूमिका हुन्छ नै त्यसमा पनि प्रिन्ट मिडियाको विद्यमान ३७ प्रतिशत निरक्षर नागरिकलाई साक्षर बनाएर आफ्नो बजार विस्तारको पहुँच सुदृढ गर्ने यो सुनौलो अवसर होइन र ? अरुले के ग¥यो भन्दा पनि मैले के गरी भन्ने कुराले महत्व राख्दछ । साक्षरताका कार्यक्रम स्वभावैले निरक्षरहरूको चाहना, आवश्यकता, पहुँचको सुनिश्चता र मौजुदा साधनस्रोतलाई उच्चतम प्रयोग गर्ने खालको हुनुपर्दछ । उनीहरूको दैनिक जीवनमा तत्काल प्रयोग हुने विषयवस्तु र विधिको चयन गरी निरक्षरमैत्री साक्षरता कक्षा वातावरण बनाउनुपर्दछ । जसले वर्तमानमा देखिएका कक्षामा नआउने, बीचैमा पढाई छोड्नेजस्ता नकारात्मक प्रवृत्तिलाई न्यून गर्न मदत पुग्दछ । उनीहरूले दैनिक जीवनमा भोगेका समस्यालाई साक्षरता अभियानमा सम्बोधन गर्नसकेमा निश्चय नै जाँगरिलो सहभागिता जुटाउन सकिन्छ । तसर्थ साक्षरता अभियानले निरक्षरलाई मात्र लाभ नभई शिक्षित एवं सबै खाले पेसाकर्मी र तिनीहरूको दैनिक जीवनलाई सहज बनाउन आवश्यक अनेक अवसर पछ्याउन र प्राप्त गर्न अत्यावश्यक पँखेटा हो साक्षरता ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया