कम विकसित मुलुकको ट्यागको असर वाणिज्य/व्यापार क्षेत्रमा समेत देख्न पाइन्छ । आयात दर उच्च र निर्यात दर न्यून हुँदा मुलुकको वाणिज्य क्षेत्रमा पनि अन्य मुलुक हावी भएको पाउन सक्छौँ । यसो हुनुमा सरकारले मुलुकको वाणिज्य क्षेत्रलाई लिएर अध्ययन अनुसन्धान नगर्नु, उत्पादनमा ध्यान नदिनु, निर्यात दरमा वृद्धि गर्न नसक्नु वाणिज्य तथा व्यापारमा क्षेत्रमा काम गर्ने जनशक्ति दक्ष नहुनु, महावाणिज्यदूतले आफ्नो भूमिका निर्वाह गर्न नसक्नु लगायतका कारण देखिन्छ ।
नेपालीको दैनिक भान्सामा प्रयोग हुने सामग्रीदेखि लिएर दैनिक आवश्यक फलफूल, सवारीसाधन, लत्ताकपडा तथा विद्युतीय उपकरण, पेट्रोलियम पदार्थलगायतका सामग्रीहरु आयात गर्नुपर्ने बाध्यता छ । सरकारी आधिकारिक तथ्यांक हेर्दा आयातदर हेर्दा अत्यासलाग्दो रहेको पाइन्छ । आयातदरलाई हेर्ने हो भने मुलुकमै केही पनि उत्पादन हुँदैन कि भन्ने ठाउँ समेत रहन्छ । किनकि भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न, तरकारी, तेलजन्य सामग्रीदेखि लिएर मासुजन्य पदार्थ तथा आवश्यक पेट्रोलियम पदार्थ, मेसिनरी उपकरण, सवारीसाधनजस्ता सामग्री आयात भइरहेको पाइन्छ । अर्कोतर्फ निर्यातमा न्यूनदरले गर्दा मुलुकभित्र के उत्पादन हुन्छ भनेर औँलामा गन्न सकिन्ने भान हुन्छ ।
पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा आयात र निर्यातदरमा करिब शतप्रतिशतभन्दा एक प्रतिशत कम देखिन्छ । सरकारी तथ्यांक (भन्सार विभाग) हेर्दा आर्थिक वर्ष २०७७/०७८ मा आयातदर १५ खर्ब ३९ अर्ब ८३ करोड तथा निर्यातदर एक खर्ब ४१ अर्ब १२ करोड रहेको छ । सो वर्ष व्यापारघाटा १३ खर्ब ९८ अर्ब ७१ करोड छ । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा आयातदर ११ खर्ब ९६ अर्ब ७९ करोड तथा निर्यातदर ९७ अर्ब ७० करोड रहेको छ । सो वर्ष मुलुकले १० खर्ब ९९ अर्ब आठ करोड व्यापार घाटा व्यहोरेको छ ।
हरेक वर्ष आयातदर उच्च र निर्यातदर न्यूनले गर्दा सबै तह र तप्काका नेपाली नागरिकलाई मुलुकको व्यापार स्थिति अत्यासलाग्दो देखिन्छ । आर्थिक वर्ष २०७५/०७६ मा आयात १४ खर्ब १८ अर्ब ५३ करोडको आयातदर रहँदा निर्यातदर ९७ अर्ब १० करोड रहेको छ । सो वर्ष मुलुकले १३ खर्ब २१ अर्ब ४२ करोड व्यापारघाटा व्यहोरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा आयातदर १२ खर्ब ४५ अर्ब १० करोड तथा निर्यातदर ८१ अर्ब ३५ करोड रहेको छ । सो वर्ष व्यापारघाटा ११ खर्ब ६३ अर्ब ५० करोड छ । आर्थिक वर्ष २०७३/०७४ मा आयातदर नौ खर्ब ८४ अर्ब ३० करोड तथा निर्यातदर ७३ अर्ब तीन करोड छ । यस्तै सो वर्ष व्यापारघाटा १० खर्ब ५७ अर्ब ३३ करोड छ ।
चालू आर्थिक वर्षको छोटो समयमा समेत आयात उच्च भएको कारण मुलुकले ठूलो व्यापारघाटा व्यहोरेको पाइन्छ। चालू आर्थिक वर्ष २०७८/०७९ को दुई महिना (साउन/भदौ) मा आयातदर तीन खर्ब १४ अर्ब ५१ करोड हुँदा निर्यातदर ४४ अर्ब तीन करोड रहेको छ । सो वर्ष व्यापारघाटा दुई खर्ब ७० अर्ब ४७ करोड व्यहोरेको छ ।
आयात हुने प्रमुख वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र त्यसका उत्पादन, मेसिनरी सामान, यातायातका साधन, अन्न र तेलको कच्चा पदार्थ, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थलगायतका सामग्री छन् । सरकारी तथ्यांकअनुरुप हरेक वर्ष करिब पेट्रोलियम पदार्थ ११ देखि १३.५० प्रतिशत, फलाम तथा स्टिल र त्यसका उत्पादन १० देखि १२ प्रतिशत, मेसिनरी सामग्री ७ देखि ९ प्रतिशत, यातायातका साधन ६ देखि ७.५० प्रतिशत र अन्न ५ देखि ७ प्रतिशत रहेको पाइन्छ ।
निर्यात व्यापारमा पनि नेपालको व्यापार सानो हिस्सामा रहे पनि गुणस्तरीय सामग्रीहरु भने विश्व बजारमा पुगेको छ । सरकारी तथ्यांकअनुरुप निर्यात हुने प्रमुख वस्तुहरुमा भने सोयाबिन तेल, पाम तेल, धागो, उनी गलैँचा, जुट तथा जुटका सामान, अलैँची छन् । सरकारी तथ्यांकअनुरुप हरेक वर्ष करिब सोयाबिन तेल करिब ३६ देखि ३९ प्रतिशत, पाम तेल १७ देखि १९ प्रतिशत, धागो ५ देखि ८ प्रतिशत, ऊनी गलैँचा ५ देखि ७.५० प्रतिशत, जुट तथा जुटका सामान ५ देखि ७ प्रतिशत र अलैँची ५ देखि ७ प्रतिशत निर्यात हुने गरेको छ । सरकार र निजी क्षेत्रले थोरै मात्र अध्ययन, अनुसन्धानमा जोड दिएर उत्पादन वृद्धि गरेमा भने नेपालको निर्यातदर वृद्धि हुनेछ । यसका लागि ठूलो जनघनत्व भएका दुई मुलुक भारत, चीन हामीसँग सीमा जोडेर बसेको पाउन सक्छौँ ।
यस्तै निर्यात हुने प्रमुख देशहरुमा भारत, अमेरिका, जर्मनी, बेलायत, टर्की, फ्रान्स, अष्टेलिया र चीन रहेका छन् भने आयात गरिने प्रमुख देशहरुमा भारत, चीन, अर्जेन्टिना, संयुक्त अरब इमिरेटस (यूएई), अमेरिका, युक्रेन, इन्डोनेसिया र अष्ट्रेलिया रहेका छन् । सरकारले व्यापारी सहजीकरणका लागि तथा निर्यातदर वृद्धि गर्नका लागि गरेको प्रयासहरु विफल हुन पुगेको पाइन्छ । सरकारले विभिन्न मुलुकसँग व्यापार सन्धि, सम्झौता गरेको छ महावाणिज्यदूतहरु स्थापना गरेको छ त्यसले मुलुकको निर्यात व्यापार वृद्धि गर्नका लागि कुनै महत्वपूर्ण भूमिका खेलेको पाउन सक्दैनौँ । त्यस्तै विश्व बजारमा आफ्ना उत्पादनहरुलाई परिचित गराउन समेत नसकेको अवस्था छ जसले गर्दा नेपाली उत्पादनलाई कतिपय विदेशी मुलुकहरुले आफ्नो उत्पादन भनी बजारमा बिक्री समेत गरेको पाइन्छ ।
यस्तै कतिपय मुलुकसँग हुने व्यापार सन्धि तथा सम्झौताका कारणले गर्दा पनि नेपालको निर्यात व्यापारमा बढोत्तरी आउन नसकेको देखिन्छ । निर्यात व्यापारका लागि भारत, चीनलगायतका मुलुकहरु अवरोध रहेको समेत पाइन्छ । भारतले नेपालबाट हुने आयातमा विभिन्न बहाना गरी रोक लगाएको समेत अवस्था देख्न सकिन्छ । अझै नेपालबाट बिजुली निर्यात गर्न त भारतले बखेडा नै झिकेर सन्धि सम्झौताविपरीत गएको पाइन्छ ।
चीनतर्फको नाकामा पनि चिनियाँ अधिकारीहरुको एकछत्र राज छ अर्थात् उनीहरुको निर्देशनअनुरुप नेपालको व्यापार चल्ने गरेको पाइन्छ जुन कोभिडको समयमा त प्रत्यक्ष नै देखियो । नेपाल–चीन नाका चीनले आफूखुसीअनुसार सञ्चालन गर्दा नेपाली व्यापारी समस्यामा परे । एक त भूपरिवेष्ठत मुलुक अर्कोतर्फ सीमा जोडिएका मुलुकहरुबाट सहयोग नहुनुले गर्दा नेपालको व्यापार समस्यामा परेका पाउन सक्छौँ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया