नेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–९
काठमाडौं । ब्राह्मण क्षेत्रीका थरहरुको उत्पत्ति : गाउँठाउँका नामबाट रहन गएको बाहुनको थरहरुमा काफ्ले थर पनि पर्छ । अछाम जिल्लाको काफलखेत भन्ने स्थानमा बसेका ब्राह्मण परिवारहरु काफ्ले भनी कहलाउनथाले । यी काफलमा पनि बासी काफ्ले र साझी काफ्ले गरी दुई प्रकार हुने गर्छन् ।
त्रिपाठी : तीन वेदका ज्ञाता ब्राह्मणहरुलाई त्रिपाठी भनेर भन्नथालियो र त्रिपाठीको संशोधित रुप तिवारी हुन गएको हो । नेपालका त्रिपाठी ब्राह्मणहरु सामवेदी त्रिपाठी हुन् भने यिनका गोत्र गौतम हो । यसैगरी वेदका ज्ञाता ब्राह्मणहरुलाई भारत वर्षभरिका क्षेत्रहरुमा द्विवेदी, त्रिवेदी, चर्तुवेदी आदि भनिन थालिएको हो । नेपालका ब्राह्मणहरुमा भने यी थरहरु भेटिँदैन ।
भट्ट ब्राह्मण : वेदवाचन गर्ने वा वेद पढ्नेहरुलाई प्राचीनकालको समयमा भट्ट भन्ने गरिन्थ्यो जसका कारण भारतवर्षका धेरैथरि ब्राह्मणहरुको थर भट्ट हुन गयो । काम्यकुञ्जबाट पश्चिम नेपाल आएका लगायत ब्राह्मणहरुका पहिलाका थर भट्ट भनी लेख्दथे । पछि ठाउँ कामअनुसार थरहरु बन्दै गएका हुन् । सुदूरपश्चिम नेपालमा अझै पनि भट्ट थर लेख्ने ब्राह्मणहरु ठूलो संख्यामा छन् ।
प. शिखरनाथ सुवेदीका अुनसार भट्टहरु सात किसिमका हुने गर्छन् भनी उल्लेख गरेका छन् । ती सात प्रकारका भट्टहरुमा (१) अनिला भट्ट, (२) दुवाडी भट्ट, (३) दुवाल भट्ट, (४) निरवंशी भट्ट, (५) रयाल भट्ट, (६) रायवा राई भट्ट र (७) लामिछाने भट्ट ।
खस राज्यको राजधानी सिञ्जामा भट्टहरु बसेका भट्टवाज भन्ने ठाउँ अझै पनि छँदै छ । भट्ट ब्राह्मणीले अरु जातका पुरुषबाट जन्माएका सन्तान भाट भनी कहलिए र ती क्षेत्रीय भई क्षेत्रीय जातिमा विलिन हुनपुगे । हिन्दूस्तानमा भाट थरलगायत भाटबाट भाटी भाटिया भन्नथालिएको थरका मानिसहरु समेत भेटिने गर्छन् ।
रोकाया थरको उत्पत्ति : रोकाया खस सिञ्जाली भाषामा महतारा अर्थात् महतका सहयोगीलाई भनिन्थ्यो । महतारा भन्नाले ग्राम वा गाउँका प्रमुख अधिकारप्राप्त व्यक्तिलाई भन्ने गरिन्थ्यो भने महताराको सहयोगी वा सहायकलाई रोकाया भनियो । यस्तै केही सैनिक दर्जाबाट बन्न गएका थरहरुमा राना, बुढा, थापा आदि हुन गए ।
खड्गा : खस मल्ल राज्यका राजाका रक्षक खड्गधारी सैनिकलाई खड्गावा खड्का भन्न थालियो । खड्ग हातमा धारण गरिरहनु र युद्धमा खड्ग प्रयोग गर्नु यिनका पहिचान बन्नपुगेको हो । संस्कृत भाषामा खड्गग्राहा सिञ्जाली भाषामा खड्गाहा हुँदै नेपालीमा खड्गा हुन गएको हो ।
दवाडी : दवाडा भन्ने ठाउँमा बसेकाहरुको थर दवाडी हुन गएको हो । अर्को भनाइअनुसार द्विवेदी हुँदै दुवाडी हुन गएको भन्ने समेत रहेको छ । दवाड भन्ने ठाउँ दैलेख जिल्लामा पर्छ भने दवाडी वा दुवाडीहरुका आत्रेय, अर्चनासन, शरयावाश्य त्रिप्रवर हो ।
कोइराला : कोइरालाहरुको मूलथलो कोइ-याल गाउँ हाल बझाङ जिल्लाको मष्टामाडु भन्ने ठाउँको नजिक रहेको छ । पछिका समयहरुमा यी कोइ-याल गाउँका बासिन्दा पूर्व लागिसकेपश्चात् उनीहरुका थर पनि कोइ-यालबाट कोइराला रहनगएको हो । यिनै कोइ-यालहरु पछि बसेको ठाउँ सन्निधामा भन्ने ठाउँमा कोइ-याली कोट भन्ने स्थान पनि छ ।
कोइराला वंशावलीअनुसार होमनाथ अग्निहोत्री भन्ने कुइँका गाउँमा बसेका हुनाले उनका सन्तान कुइँक्याल कहलिए भने अर्का छोरा दैलेख जिल्ला कोइराली गाउँमै बिर्ता पाई बसेका हुनाले कोइराला नै भएर रहे । होमनाथ अग्निहोत्रीका अर्का एक भाइ छोरा बेलकोट बाजुरामा बिर्ता लिई बसेकाहरुका सन्तान बेलकाटी भन्ने स्थानको नामबाट बेलकाँडी थर हुनगयो । होमनाथ अग्निहोत्रीका कान्छा छोरा प्रभुनाथ भन्ने सिमखाडा गाउँमा बसेकाले सिम्खडा थर बन्न गयो । यो सिम्खडा गाउँ हाल जुम्ला जिल्लामा पर्छ । होमनाथका एक छोरा क्षेत्री मुडुला थुममा बसेका हुनाले मुडुला कार्की भए भने एक छोरा विष्ट (इलाका वा थुमका हाकिमलाई दिइने दर्जा) भई बसेका विष्ट भए । विष्ट थर कुमाइ बाहुन र क्षेत्रीमा समेतमा हुने गर्छ । विष्ट थर परापूर्वकालमा पद वा दर्जाबाट बन्न गएको थर हो । कोइरालाहरुका मौद्गल्य, अंगीरस आदि गोत्र हुने गर्छन् ।
खडायत : बाहुन क्षेत्रीय दुवैमा हुने गरेको यो थर परापूर्वकालमा खड्ग अस्त्र धारण गर्ने वा खड्गद्वारा युद्ध गर्ने गरेकाले रहन गएको हो । यसैगरी खड्ग अस्त्रधारी खड्का हुन गएका हुन् । ती खड्गा वा खड्का पनि पाँच प्रकारका हुने गर्छन् ।
खपतरी खड्का, कालीकोटे खड्का, लकाईं खड्का, पालपाली खड्का र छड्का खड्का । यिनमा खपतडीको कौशिक गोत्र, कालीकोटे र लकाईं खड्काको कौण्डिन्य गोत्र र पालपालीको गर्ग गोत्र रहेका छन् ।
हमाल : ब्राह्मणले क्षेत्रीय राजकुमारी विवाह गरेपश्चात् ती क्षेत्रीय सन्तान हमाल हुनपुगे । हमालहरु दुई प्रकारका हुने गर्छन् । कालीकोटे हमाल र गोरे हमाल ।
मैनाली : मैधाली भन्ने गाउँमा बिर्ता लिई बसेकाहरुलाई मैधालीबाट मैनाली भनेर भन्न थालियो । मैनाली कुमाईं बाहुनमा हुने गर्छन् ।
विष्ट : विष्ट शब्द पहिलाका समयमा आदरार्थ प्रयोग गरिने गरिन्थ्यो । गणनायक, सरदार, मुखिया आदिलाई विष्ट भनिने गरिन्थ्यो । विष्टहरु विशेष शकजाति (खस) जातिमा पाइने गर्छन् । यो शब्द र थरको व्युत्पत्ति गढवालबाट भएको विश्वास गरिन्छ । सेना नायक वा सरदार भएकै कारण मुस्ताङ्गी राजा जिग्मे परवरको थर विष्ट रहन गएको हो ।
नेपालमा क्षेत्रीय र बाहुन दुवैमा विष्ट हुने गर्छन् भने बाहुनमा पनि कुमाइ बाहुनमा विष्ट थर हुने गर्छ । विष्टहरु अनेकानेक प्रकारका हुने गर्छन् । छिमेकी मुलुक भारतको उत्तराञ्चल क्षेत्रको गढवाल र कुमाउमा विष्टहरु विशेष गरी राजपुत तथा क्षेत्रीय हुने गर्छन् । विष्ट धेरै थरी हुने हुनाले गोत्र पनि अनेक प्रकारका रहेका छन् । एकथरि विष्ट क्षेत्रीयहरु कुमाउका पहिला राजा सोमचन्द्रका समयमा राजपुताना क्षेत्रको चितौडबाट आएको बताउँछन् । केही विष्टहरु विष्ट थरमा ठाकुर समेत जोडेर नामको अघि ठाकुर लेखी नामको पछि विष्ट लेख्ने गरेका समेत भेटिन्छन् । यसरी लेख्नेहरु पश्चिम नेपालदेखि कुमाउ गढवालसम्म रहेका छन् ।
चितौडबाट गढवाल आएका विष्टहरु कश्यप, भारद्वाज र उपमन्यु गोत्रका हुने गर्छन् । यी विष्टहरु ईशाको १३औँ शताब्दीमा आएको दाबी गर्छन् भने अर्काथरि विष्ट ईशाको तेह्रौँ शताब्दीमा दिल्ली छेउछाउको हस्तिनापुर क्षेत्रबाट पहाड गढवाल आइपुगेको उल्लेख गर्छन् । यिनै विष्टहरु कुमाउ हुँदै नेपाल आएकाहरुलाई धायरा विष्ट भनेर भन्ने गरिन्छ । यिनै पछि आएर ठाउँका नामबाट धायरा विष्ट भनिए भने यी विष्टहरु चौहाणवंशी हिरानागका सन्ततिहरु भएको कुरा बताउने गर्छन् ।
यसैगरी अर्का विष्टलाई संगोला विष्ट भन्ने गरिन्छ । यी विष्टहरु ईशाको पन्ध्रौँ शताब्दीको सुरुमा गुजरातबाट गढवाल त्यहाँबाट कुमाउ हुँदै नेपाल पसेको दाबी गर्छन् भने यी विष्टहरु गुजराती ब्राह्मण रहेका थिए । तर अन्य विष्टहरुसँगको बिहेवारीले र यी विष्ट युद्ध कौशलमा निपूर्ण भएकाले साथै पहिलाका समयमा सेना नायकलाई दिइने नेगी पद दिएकाले यिनीहरुमध्येका केहीले नेगी विष्ट भनेर समेत आफूहरुलाई चिनाउने गर्छन् । यसैगरी अर्काथरि विष्ट आफूहरुलाई धारा नगरबाट आएको पवार वंशका राजपूत भुलानी विष्ट बताउने गर्छन् ।
कुमाउ गढवाल लगायतका क्षेत्रहरुमा प्रशस्त रहेका भुलानी विष्टहरु नै कत्युरा विष्टहरु हुन् र गढवाल कुमाउ क्षेत्रका कत्युरा वंशको शासन इतिहासमा प्रसिद्ध छ । तिनै कत्युरी वंशका मोहन सिंह रावत भन्ने व्यक्ति नेपालतर्फ बसाइ सर्दै आएर आज तिनका सन्तति भुलानी विष्टका नामले नेपालभरि छरिएर रहेका छन् । यसैगरी एकथरि विष्ट धारा नगरीबाट गढवालको तिला भन्ने ठाउँमा आइबसेकाहरु तिला विष्ट भनेर भनिन्छन् । आफूहरुलाई क्षेत्रीय राजपूतको सन्तति भन्ने तिला विष्टहरु पनि नेपाली विष्ट भएका हुन् । (हेर्नुहोस्ः जनकलाल शर्मा ‘हाम्रो समाज एक अध्ययन’)
यसैगरी अर्का विष्ट इदवाल विष्ट भनिन्छ भने उसैगरी काफल विष्ट र बागदल विष्ट भन्ने पनि हुने गर्छन् भने उनीहरु कहाँबाट गढवाल आई कुमाउ हुँदै नेपाल पसे भन्ने कुरा ज्ञात छैन । यस्तै माथि उल्लिखित विष्टहरुबाहेक पनि नेपालमा अन्य चार प्रकारका विष्टहरु हुने गर्छन् । तिनमा सिजापति विष्ट, पुवार विष्ट, खप्तरी विष्ट, कालिकोटे विष्ट आदि हुन् भने नेपालमा भएका एकथरि विष्ट सिञ्जामा बसी राज्य गरेका विष्ट ब्राह्मणहरुका सन्तति रहेका छन् । यिनैलाई सिजापति भनिन थालियो ।
यस्तै नेपालका विष्टहरुझैं पहाडी क्षेत्रीय विष्ट योगी आदित्यनाथ छिमेकी मुलुक भारतको उत्तर प्रदेशका मुख्यमन्त्री छन् भने विष्ट थरका कुमाइ ब्राह्मण स्व. कीर्तिनिधि विष्ट पटक–पटक नेपालका प्रधानमन्त्री समेत भएका थिए भने आफ्नो नामका अघि ठाकुर लेख्ने विष्टहरु कुनै समय गढवालदेखि नेपालसम्मका स–साना ठकुराईहरुका शासक, प्रशासक आदिका सन्तति भएकाले आफ्नो मान र पहिचानका लागि ठाकुर लेख्ने गरेका हुन् । यी विष्टहरुमध्ये ठाकुर केशर सिंह विष्ट नेपालमा परिचित नाम हो भने अन्य विष्टमा ठाकुर हिकमत सिंह विष्ट साथै अन्य विष्टहरुमध्ये केशर बहादुर विष्ट, दौलतविक्रम विष्ट, ओम विक्रम विष्ट आदि नेपालमा चर्चित नामहरु हुन् । क्रमशः… (आर्थिक दैनिकबाट)
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को धादिङ जिल्ला भेला सम्पन्न
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया