Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअर्थतन्त्रमा पशुपन्छीको योगदान

अर्थतन्त्रमा पशुपन्छीको योगदान


काठमाडौं । नेपाल एक कृषिप्रधान राष्ट्र हो । यहाँ झण्डै ६३ दशमलव ५ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न छन् । देशमा कृषि विकासकोे लागि पशुजन्य र कृषिजन्य उत्पादनमा निर्भर गर्दछ । फलतः देशको अर्थतन्त्रको मेरुदण्डको रूपमा कृषि अर्थ व्यवस्थामा पशुहरूको ठूलो महत्व छ । यसरी कृषि पेसामा लागेका जनताको जीवनस्तर उकास्न पशुपन्छी व्यवसायको आफ्नै किसिमको महत्वपूर्ण स्थान रहेको छ । यसरी प्रोटिनको महत्वपूर्ण स्रोत तथा आधारशीला नै पशुपन्छी हुन् । त्यसकारण पशुपन्छी मानवताको हितको लागि मात्र नभएर उद्योगधन्दाको लागि समेत नभई नहुने कच्चा पदार्थको प्रमुख स्रोतको रूपमा देखा पर्दछ । यसको छाला, ऊन, हाड, सिङ, प्वाँख, जगर आदिले कमसेकम सानातिना उद्योगको लागि चाहिने कच्चा पदार्थ उपलब्ध गराएका छन् ।

गोबरको प्रयोग कृषि उब्जाउनको लागि गरिन्छ भने गोरु, राँगाको प्रयोग कृषि जोत्ने, दाउने, समान ओसारपसार गर्नेजस्ता महत्वपूर्ण कृषि कार्यमा लगाइन्छ ।यसरी साँच्चै नै भन्ने हो भने कृषि कर्मको लागि पशुपालन नभई हुँदैन । यसर्थ कृषिअन्तर्गत पशुपन्छी पालन एक प्रमुख कृषि व्यवसायको रूपमा आउँछ । तसर्थ पशुपन्छीको संरक्षण तथा संवद्र्धनको लागि सम्बन्धित निकायहरूको पशुपन्छीको आँकडालाई तदारुकताका साथ राख्नुपर्ने आवश्यकता देखिन्छ ।

मुलुकको पशुपन्छीको स्थितिलाई अवलोकन गर्ने हो भने आर्थिक आर्थिक वर्ष २०७५/०७६ मा नेपालको पशुपन्छीहरूको तथ्यांक यसप्रकार छ : गाई/गोरुको संख्या करिब ७३ लाख ८५ हजार ३५, भैँसी ५३ लाख आठ हजार छ सय ६४, भेडा सात लाख ९८ हजार आठ सय ८९, बाख्रा एक करोड २२ लाख ८३ हजार सात सय ५२, बंगुर १४ लाख ८८ हजार तीन सय ३८, कुखुरा सात करोड, ५७ लाख नौ हजार तीन सय ३० र हाँस चार लाख १६ हजार चार सय, दुध दिने गाईको संख्या १० लाख ७८ हजार सात सय ७५, दुध दिने भैँसी १५ लाख ६० हजार पाँच सय ८४, फुल पार्ने कुखुरा एक करोड २५ लाख २६ हजार नौ सय ७९ र फुल पार्ने हाँस एक लाख ९० हजार सात सय ४७ रहने अनुमान छ ।

आर्थिक वर्ष २०७६/०७७ मा नेपालको पशुपन्छीहरूको तथ्यांक यसप्रकार छ :
गाईगोरुको संख्या करिब ७४ लाख ५८ हजार आठ सय ८५, भैँसी ५२ लाख ५७ हजार पाँच सय ९१, भेडा आठ लाख छ सय ७९, बाख्रा एक करोड २८ लाख ११ हजार नौ सय ५३, बंगुर १५ लाख १९ हजार पाँच सय ९३, कुखुरा आठ करोड, २५ लाख ९८ हजार आठ सय ७९, हाँस चार लाख २७ हजार दुई सय २६, दुध दिने गाईको संख्या ११ लाख ६६ हजार एक सय ५६, दुध दिने भैँसी १६ लाख ३५ हजार चार सय ९२, फुल पार्ने कुखुरा एक करोड २९ लाख २७ हजार आठ सय ४२ र फुल पार्ने हाँस एक लाख ९१ हजार सात सय एक रहेको अनुमान छ ।

त्यस्तैगरी आर्थिक वर्ष २०७६/०७७ मा नै कुल गाईमध्ये दुध दिने गाईको संख्या ११ लाख ६६ हजार एक सय ५६ रहेको छ । त्यसैगरी दुध दिने भैँसीको संख्या भने १६ लाख ३५ हजार चार सय ९२ रहेको अनुमान गरिएको छ । त्यसैगरी फुल पार्ने कुखुराहरूको संख्या एक करोड २९ लाख २७ हजार आठ सय ४२ रहेको छ ।

त्यसरी नै फुल पार्ने हाँसको संख्यामा भने एक लाख ९१ हजार सात सय एक रहेको छ । मूलतः गाई र भैँसी गरी जम्माजम्मी ३२ लाख २१ हजार चार सय मेट्रिकटन दुध उत्पादन हुने अनुमान गरिएको छ । त्यसै गरी मासु उत्पादनतर्फ अध्ययन गर्दा रांगो/भैँसी एक लाख ८९ हजार ५ सय १७, बोका/खसी/भेडा ७७ हजार सात सय ५८, बंगुर २९ हजार ४ सय ९३, कुखुरा/हाँस गरी जम्मा जम्मी दुई लाख ५५ हजार तीन सय ८८ मेट्रिकटन मासु उत्पादन हुने अनुमान गरिएको छ । त्यसैगरी कुखुरा तथा हाँसको फुल उत्पादनतर्फ हेर्दा कुखुराको फुल एक अर्ब ६० करोड ३८ लाख छ भने हाँसको फुल एक करोड ६२ लाख गरी कुल एक अर्ब ६२ करोड फुल र ऊन पाँच लाख ९२ हजार छ सय ८७ किलो उत्पादन भएको अनुमान गरिएको छ ।

नेपालभरिको पशुपन्छीहरूको तथ्यांकलाई विश्लेषणात्मक रूपमा अध्ययन गर्ने हो भने आर्थिक वर्ष २०७४/०७५ को तुलनामा आर्थिक वर्ष ०७५/७६ मा गाई/गोरुको संख्या, भैँसी, भेडा, बाख्रा, बंगुर, कुखुरा, हाँस, दुध दिने गाई, दुध दिने भैँसी, फुल पार्ने कुखुरा र फुल पार्ने हाँस क्रमशः शून्य दशमलव १२, शन्य दशमलव ५८, माइनस शून्य दशमलव २३, ५ दशमलव ४६, ३ दशमलव ६९, ४ दशमलव ७९, २ दशमलव ९०, ३ दशमलव ७७, १ दशमलव ६०, शन्य दशमव शून्य ८ र २ दशमलव शून्य ५ प्रतिशतले घटीबढी रहेको अनुमान छ । त्यसरी नै आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष ०७६/७७ मा गाई/गोरुको संख्या, भैँसी, भेडा, बाख्रा, बंगुर, कुखुरा, हाँस, दुध दिने गाई, दुध दिने भैँसी, फुल पार्ने कुखुरा र फुल पार्ने हाँस क्रमशः १, माइनस शून्य दशमलव ९६, शून्य दशमलव ९०, ४ दशमलव ३०, २ दशमलव १०, ९ दशमलव १०, २ दशमलव ६०, ८ दशमलव १०, ४ दशमलव ८०, ३ दशमलव २० र शून्य दशमलव ५० प्रतिशतले घटिबढी रहेको अनुमान छ ।

मुलुकमा करिब २७ लाख दुधालु गाई–भैँसीहरू छन्, जसबाट वर्षेनी झण्डै ३२ लाख मेट्रिकटनभन्दा बढी दुध उत्पादन हुने गर्दछ । यसर्थ दुधालु पशुहरूमा गाईको संख्याभन्दा भैँसीको बढी नै रहेको छ र दुध उत्पादनमा पनि बढी नै रहेको छ । कुल उत्पादित दुधको करिब १५ प्रतिशत मात्र बजारीकरणका लागि विभिन्न प्रशोधन कारखानामा पुग्छ, बाँकी गाउँघरमै खपत हुने अनुमान छ  । मूलतः दुधको कारोबार संकलन कृषकहरू प्रत्यक्ष रूपमा करिब पाँच लाख परिवार आबद्ध रहेको अनुमान गरिन्छ  । यो व्यवसाय कृषकहरूको आयआर्जनमा राम्रैसँग सञ्चालन भइरहेको छ ।

हाल आएर मुलुकमा करिब तीन हजार मध्यम तथा ठूला स्तरका व्यावसायिक गाईभैँसी फर्महरू दर्ता भएका छन् । जसमा १० देखि तीन सयसम्म उन्नत जातका करिब ४५ हजार दुधालु गाईभैँसी पालिएका छन् । यस्ता व्यावसायिक फर्महरूमा ९० प्रतिशत जर्सी तथा होल्सटन र बाँकीमा मुर्रा जातका भैँसी छन् । तर, पशु आहारका रूपमा प्रयोग हुने घाँस, स्याउला, दाना तथा अन्य पोषण पदार्थको उचित व्यवस्था तथा आवश्यकताअनुसार आपूर्ति हुन नसकिएकाले पशुपन्छीपालन व्यवसायबाट आशातीत लाभ लिन भने सकिएको छैन ।

समग्रमा भन्नुपर्दा हाम्रो देशमा बढ्दो सहरीकरणको कारणले गर्दा पनि खसीबोकाको मागमा दिनप्रतिदिन बढ्दो रूपमा छ । त्यसैगरी प्रत्येक साल हाम्रा चाडपर्वलाई खसीबोकाहरू विदेशबाट आयात गर्नुपर्ने स्थितिलाई परिपूर्ति गर्न सकेको खण्डमा कृषिको मेरुदण्डकको रूपमा रहेको पशुपन्छी व्यवसायलाई विस्तार एवं विकास गरेको खण्डमा आफ्नो देशको स्रोत तथा साधनले भ्याउनेसम्मको पशु व्यवसाय गर्नुको साथै विदेशी मुलुकलाई तिर्नुपर्ने धनराशि बचत भई आफ्नै देशको पशुपन्छी व्यवसायलाई ठोस तथा आधारभूत आर्थिक लाभ प्राप्त गर्ने आशा राख्न सकिन्छ ।

यसर्थ ग्रामीण क्षेत्रमा आय तथा रोजगार प्रवर्द्धन गरी गरिबी निवारण गर्नमा पशुपन्छी पालन कार्यक्रमको महत्वपूर्ण योगदान रहनेछ । यसरी सहरी क्षेत्रको आय ग्रामीण क्षेत्रमा पु-याउने महत्वपूर्ण व्यवसायमा दुध उत्पादनको प्रमुख स्रोत भएका गाई, भैसी पालन व्यवसाय र मासु तथा फुल उत्पादनको प्रमुख स्रोत मानिने राँगो, बाख्रा, तथा कुखुरापालन व्यवसाय देशव्यापी भएकाले यिनको विकासबाट कृषि आर्थिक वृद्धिमा टेवा पुग्ने हुँदा दीर्घकालीन कृषि योजनाले प्रमुख प्राथमिकता दिई आएको छ । यस कार्यक्रमका लागि आवश्यक पोषणयुक्त घाँस तथा आहारा विकास र पशु स्वस्थ सेवालाई पनि प्राथमिकता कार्यक्रमभित्र लिएकाले यिनै प्राथमिकता कार्यक्रमलाई अघि बढाउन उपलब्ध स्रोत साधनहरू प्राथमिकता साथ परिचालन गर्नु आजको समयको माग हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x