निर्यात व्यापारमा सामान्य सुधार
तीन खर्ब १४ अर्बको आयात हुुँदा ४४ अर्बको मात्र निर्यात
काठमाडौं । कोरोना विश्व महामारीको असर कम हुँदै गएसँगै यसको सकारात्मक असर अर्थतन्त्रमा देखिनथालेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पछिल्लो दुई महिनाको प्रतिवेदनअनुसार यस अवधिमा मुुलुकको निर्यात व्यापारमा सुधार देखिएको छ । प्रतिवेदनअनुसार निर्यातमा सुधार देखिए पनि आयात बढ्दा वैदेशिक व्यापारघाटा पनि बढेर गएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा कुल वस्तु निर्यात एक सय १५ दशमलव चार प्रतिशतले बढेर ४४ अर्ब चार करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ५० दशमलव सात प्रतिशत, २० दशमलव सात प्रतिशत र ३१ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढे पनि चिया, आयुर्वेदिक औषधि, तार, जस्तापाता, अलैँचीलगायतका वस्तुको निर्यात घटेको प्रतिवेदनमा उल्लेख छ ।
चालू आवको पछिल्लो दुई महिनामा कुल वस्तु आयात भने ७५ दशमलव नौ प्रतिशतले बढेर तीन खर्ब १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दशमलव एक प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५६ दशमलव सात प्रतिशत, ७६ दशमलव दुई प्रतिशत र एक सय ४१ दशमलव चार प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुजा, कच्चा सोयाबिन तेल, सुन, चाँदीलगायतका वस्तुको आयात बढेको भए पनि रासायनिक मल, सिमेन्ट, सुर्ती, मोलासिस सुगर, दाललगायतका वस्तुको आयात भने यस अवधिमा घटेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा निर्याततर्फ कञ्चनपुर, कृष्णनगर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात बढेको छ भने आयाततर्फ सबै भन्सार नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको दुई महिनामा कुल वस्तु व्यापारघाटा ७० दशमलव आठ प्रतिशतले बढेर दुई खर्ब ७० अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले घटेको प्रतिवेदन उल्लेख छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव चार प्रतिशत रहेको थियो, राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ३६ अर्ब २७ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा २१ अर्ब ४५ करोडबराबरको यस्तो आयात भएको प्रतिवेदनमा उल्लेख छ ।
दुई महिनामा भित्रियो एक खर्ब ५५ अर्ब रुपैयाँ रेमिटेन्स
मुलुकले वैदेशिक रोजगारीबाट प्राप्त गर्ने आय रेमिट्यान्स अर्थात् विप्रेषण आयमा पछिल्लो समय गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको पछिल्लो दुई महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार यस अवधिमा विप्रेषण आप्रवाह छ दशमलव तीन प्रतिशतले घटेर एक खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँमा सीमित हुुनपुुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह आठ दशमलव एक प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
चालू आवको पछिल्लो दुई महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह पाँच दशमलव आठ प्रतिशतले कमी आई एक अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दशमलव छ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी चालू आवको पछिल्लो दुई महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८ हजार चार सय ९२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९९ दशमलव दुई प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२ हजार नौ सय ७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८६ दशमलव पाँच प्रतिशतले घटेको थियो, राष्ट्र बैंकले भनेको छ ।
समीक्षा अवधिमा खुद ट्रान्सफर छ दशमलव चार प्रतिशतले कमी आई एक खर्ब ७१ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर चार दशमलव चार प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
मुलुकको खुद सेवा क्षेत्र १७ अर्ब ५२ करोड रुपैयाँले घाटामा
मुलुकको सेवा क्षेत्र घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा मुलुकको खुद सेवा आय १७ अर्ब ५२ करोडले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय छ अर्ब ५२ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय ७७ दशमलव दुई प्रतिशतले वृद्धि भई दुई अर्ब ७१ करोड पुगेको छ । ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९७ करोड ६९ लाख रहेको थियो’, प्रतिवेदनमा भनिएको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय दुई सय ४७ दशमलव पाँच प्रतिशतले वृद्धि भई १० अर्ब २८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय छ अर्ब ३७ करोड रहेको छ । ‘अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय दुई अर्ब ९६ करोड रहेकोमा शिक्षातर्फको व्यय दुई अर्ब ५१ करोेड रहेको थियो’, राष्ट्र बैंकले भनेको छ ।
चालू खाता एक खर्ब छ अर्ब रुपैयाँले घाटामा : चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा मुलुुकको चालु खाता घाटामा देखिएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा चालू खाता एक खर्ब छ अर्ब ७५ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २५ अर्ब १६ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २१ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ९० करोड १५ लाखले घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो दुई महिनामा पुँजीगत ट्रान्सफर ३६ दशमलव तीन प्रतिशतले कमी आई एक अर्ब २५ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २४ दशमलव छ प्रतिशतले वृद्धि भई तीन अर्ब चार करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर एक अर्ब ९६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ४४ करोड रहेको थियो । यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको छ ।
विदेशी मुद्रा सञ्चिति घट्यो
वर्तमान सञ्चितिले सात महिना आठ दिनको वस्तु तथा सेवा आयात मात्र धानिने : पछिल्लो समय मुलुकमा विदेशी मुद्राको सञ्चिति घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी दुई महिनाको प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब तीन करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति छ दशमलव छ प्रतिशतले घटेर २०७८ भदौ मसान्तमा १३ खर्ब छ अर्ब ९५ करोड रुपैयाँमा सीमित हुनपुुगेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ भदौ मसान्तमा पाँच दशमलव दुई प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ भदौ मसान्तमा सात दशमलव सात प्रतिशतले कमी आई ११ खर्ब ४८ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाहेकको संस्थाहरुसँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ भदौ मसान्तमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई एक खर्ब ५८ अर्ब २७ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार २०७८ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव दुई प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति आठ महिना छ दिनको वस्तु आयात र सात महिना आठ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३० दशमलव छ प्रतिशत, ६४ दशमलव सात प्रतिशत र २५ दशमलव तीन प्रतिशत रहेका छन् । २०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२ दशमलव आठ प्रतिशत, ८४ दशमलव सात प्रतिशत र २७ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सानीमा बैंकको शाखा काठमाडौंको थलीमा
- मोरङ ट्राफिकको कार्यशैली विवादित
- खल्तीका ग्राहकको गोपनीयतामाथि गम्भीर खेलबाड
- कर्णाली डेभलपमेन्ट बैंकमा समस्या
- यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
- बाँसझ्याङमा सात क्विन्टल लसुन भेटियो
- एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरी पार्टी सदस्यबाट निलम्बित
- अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया