Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसिया बैंकले १५ प्रतिशत लाभांश दिने

एनआईसी एसिया बैंकले १५ प्रतिशत लाभांश दिने


काठमाडौं । एनआईसी एसिया बैंकले १५ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट १५ दशमलव ७८ प्रतिशतका दरले एक अर्ब ८२ करोड ५८ लाख ९५ हजार पाँच सय ८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

घोषित लाभांशमध्येमा १५ प्रतिशत अर्थात् एक अर्ब ७३ करोड ४६ लाख आठ सय पाँच रुपैैयाँबराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत अर्थात् १७ करोड ३४ लाख ६० हजार आठ सय पाँच रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको यही कात्तिक आठ गते सोमबार बसेको बैंठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । बैंकको हाल चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

बैंकले गत आव २०७७/७८ मा प्रतिसेयर आम्दानी २८ रुपैयाँ १८ पैसा आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफा करिब तीन अर्ब २६ करोड आर्जन गर्न सफल भएको छ । बैंकको स्वपुँजीमा प्रतिफल १७ दशमलव नौ प्रतिशत रहेको छ र यस बैंक स्वपुँजी प्रतिफलमा मुलुकका वाणिज्य बैंकहरूमध्ये पहिलो स्थानमा रहन सफल भएको छ । यस बैंकले आव २०७७/७८ मा कर्जातर्फ करिब ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम दुई खर्ब ६५ अर्ब पु-याउन सफल भएको छ, जुन सम्पूर्ण वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब सात खर्ब १९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२ दशमलव ६६ प्रतिशत) बजार हिस्सा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरूमा भएको कुल कर्जा वृद्धिको औसत प्रतिबैंक कर्जा वृद्धि रकम करिब २४ अर्ब १५ करोड रुपैयाँको तुलनामा यस बैंकको वृद्धि करिब तीन दशमलव ७६ गुणा रहेको छ । यसैगरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ८९ अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन करिब दुुई खर्ब ९८ अर्ब पु-याउन बैंक सफल भएको छ, जुन सम्पूर्ण वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै हो । मुलुकका अन्य वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब छ खर्ब ५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३ दशमलव ५८ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरूमा भएको निक्षेप वृद्धिको औसत प्रतिबैंक निक्षेप वृद्धि करिब २१ अर्ब ७३ करोड रुपैयाँको तुलनामा यस बैंकको वृद्धि करिब चार दशमलव नौ गुणा रहेको छ ।

बैंकले आफ्नो रणनीतिअनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यअनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जाजस्ता विभिन्न रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकको प्रमुख १० ग्राहकहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको एक दशमलव आठ प्रतिशतभन्दा कम रहेको छ, जुन समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ ।

साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अंगीकार गरेको फलस्वरुप कोभिड–१९ को विषम परिस्थिति तथा चुनौतीका बाबजुद कर्जा असुलीतर्फ पनि निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई आव २०७६/७७ को अन्त्यमा शून्य दशमलव ७५ प्रतिशत रहेको निष्क्रिय कर्जालाई आव २०७७/७८ को चौथो त्रयमाससम्ममा शून्य दशमलव ५० प्रतिशतमा झार्न बैंक सफल भएको छ । बैंकले निक्षेपतर्फ पनि साना साना निक्षेप एवं व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरी अगाडि बढिरहेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका तीन सय ५६ शाखा कार्यालयहरू, चार सय ७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजारभन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजारभन्दा बढी खाताहरूमार्फत ग्राहकहरू माझ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब दुुई अर्ब ८३ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैटौं ठूलो योगदान रहेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दे आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x