काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भनेका यो देशका लागि राजनीतिक रूपले मात्र होइन खासगरी विकास निर्माणका लागि पनि ऐतिहासिक पात्र थिए । उनीसँग दुई तिहाइ हाराहारीको संख्या थियो संसद्मा । यो भनेको देशको लागि स्थायित्व र विकास निर्माणका लागि त एक प्रकारको स्वर्णकाल नै हो । त्यसमाथि ओलीले निर्वाचनका बेला बोलेका बोलीलाई आम नागरिकले भरोसा गरेका थिए । यस्तो मत कुनै दलसँग निर्वाचनपछि साँठगाँठ गरेर प्राप्त भएको होइन । निर्वाचनमा नै साझा घोषणापत्रमार्फत प्राप्त भएको थियो । यस्तो सरकारले पनि विकास निर्माणमाथि व्यङ्ग्य गरेको घटना प्रकट भए भने योभन्दा दुुर्भाग्य अरु नहोला । यस्तो सरकारले अघिल्लो वर्ष शिलान्यास गरेका कार्यक्रम पछिल्लो वर्ष पनि थालनी समेत नभएको र कतिपय त अभिलेखबाट समेत हराइसकेका अवस्थामा देखिनु सामान्य विषय होइन ।
यो सन्दर्भ हो, निवर्तमान प्रधानमन्त्रीले गएको वर्ष एकैचोटी तीन सय ९६ अस्पतालको शिलान्यास गरेका आयोजनाको वर्तमान अवस्थाको । ती आयोजनाको शिलान्यासको एक वर्ष बित्न लाग्दा अधिकांश ठाउँमा काम नै सुरु नभएका भनी माध्यमहरूमार्फत रिपोर्ट प्रकाशन र प्रसारण भइरहेका छन् । दुई तिहाइ भनी चिनिएका प्रधानमन्त्री ओलीले २०७७ मंसिर १५ मा उल्लिखित संख्या तीन सय ९६ पालिकामा एकैसाथ पाँचदेखि १५ बेडसम्मका अस्पतालको शिलान्यास गरे । त्यो वर्ष कोरोनाको प्रकोप भएको हुँदा त्यसबाट समेत आम नागरिकको ज्यानको सुरक्षा गर्न भनी यी अस्पतालको युद्धस्तरमा निर्माणको काम गर्नेगरी भन्दै जुन–जुन पालिकामा आधारभूत स्वास्थ्य सेवाको पहुँच छैन ती ठाउँमा अस्पताल निर्माण गर्ने घोषणा भयो । घोषणा मात्रै होइन शिलान्यास नै भयो प्रधानमन्त्रीको निवासबाट एउटा बटम दबाएर । शिलान्यास भएको दिनबाट हिसाब गर्ने हो भने यो कात्तिक महिनाको १५ गतेदेखि यो तेह्रौँ महिनामा प्रवेश हुन्छ । तर उता त्यो कामको अवस्था कस्तो भने भने शिलान्यास गरिएका अधिकांश ठाउँ घाँसले पुरिए । कतिपय ठाउँ त अभिलेखबाट पनि हराए । किन यस्तो भयो भन्नेमा पालिकाले जवाफ दिएका छन् संघीय सरकारबाट बजेट नआएकाले प्रक्रिया बढ्न सकेन । यो सरकार २०७८ साल असार मसान्तसम्म । चालू वर्षको बजेट पनि यही सरकारले ल्याएको हो । यसमा अर्को झनै डरलाग्दो अवस्था कस्तो देखियो भने आफूले शिलान्यास गरेका यस्ता आयोजनाको अवस्था कस्तो छ र तिनलाई सम्पन्न गर्न के–कस्ता कठिनाइहरू आइपरेका छन् भन्ने सामान्य बुझबुझ समेत भएन । त्यसै कारण होला त्यही सरकारले ल्याएको पछिल्लो बजेटमा तिनका नाम समेत उल्लेख भएन जब कि यी सानाठूला जे–जस्ता भए पनि केन्द्रीय सरकार मातहतका आयोजना थिए ।
उता प्रचारचाहिँ कस्तो भने गिनिज बुकमा नै लेखिने खालका रे ! ती आयोजना हराउँदै गएका रिपोर्ट सार्वजनिक भइरहेको यो हप्ता नै (कात्तिक ३ आफ्नो दलको समारोह) तिनका शिलान्यासकर्ता उनै निवर्तमान प्रधानमन्त्री ओलीले नै भने –हामीले एकैचोटि तीन सय ९६ वटा अस्पतालको शिलान्यास गरेका छौँ, देशैभर । विश्व रेकर्ड हो यो । गिनिज बुकमा यस्ता त कति लेखे हुन्छ हुन्छ, हामीले त दाबी नगरेर मात्र हो । गिनिज बुक आधा त हामीले गरेका कामले भरिन्छ ।
यता अवस्थाचाहिँ कस्तो भने गिनिज बुकमा लेखियो भने त्यो उल्टो अर्थात् कार्यक्रम घोषणा गर्ने र त्यो पूरा नगर्ने भन्नेमा । यही समयमा १४ सयवटा सडकको पनि निवासबाटै बटम दबाएर शिलान्यास गरिएको थियो । पछि खुल्यो ती कार्यक्रमका कुनै स्रोत नै रहेनछन् । यो सरकार हट्यो र ती कार्यक्रम पनि कागजका पानाबाट हटे । यही हो विकास निर्माणमाथि हदैसम्मको व्यङ्ग्य भनेको ।
क्याटेगोरी : सम्पादकीय
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया