Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारईपीएसअन्तर्गत हालसम्म ६४ हजार युवा दक्षिण कोरिया गए

ईपीएसअन्तर्गत हालसम्म ६४ हजार युवा दक्षिण कोरिया गए


काठमाडौं । दक्षिण कोरियाली रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षामार्फत हालसम्म ६४ हजार युवाहरु दक्षिण कोरिया गएका छन् । हाल भने ३२ हजारभन्दा बढी युवाहरु कोरियामा कार्यरत रहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए ।

सन् २००८ देखि नेपाली युवाहरुका लागि कोरिया खुला गरिएको हो । दुई मुलुकबीचको सरकार–सरकारबीच भएको सम्झौताअनुरुप कोरिया रोजगारी सुचारु गरिएको हो । जसले गर्दा कोरिया रोजगारीमा समस्या देखिँदैन ।

यस्तै कोभिडका कारण करिब २० महिना कोरिया रोजगारी बन्द हुनपुगेको थियो । बिहीबारबाट खुला गरिएको कोरिया रोजगारीमा पहिलो चरणअन्तर्गत ४८ जना युवाहरु त्यसतर्फ गएका हुन् । जानेहरु सबै जना प्रतिबद्ध कामदार रहेका छन् ।

कोरिया रोजगारीमा युवाहरु आकर्षित हुनुमा भने दुई मुलुकले कामदारलाई लिएर गरिएको सम्झौताका कारण रहेको महानिर्देशक काफ्लेले बताए । ‘दुई मुलुकबीचको सरकारबीच कोरियाको रोजगारी सुरक्षित, सहज बनाउन समझादारी भएको छ, जसले गर्दा युवाहरु सुरिक्षत वातावरणमा काम गर्न पाउनेछन्’, उनले भने, ‘सुरक्षित भएकै कारण युवाहरु कोरिया जान चाहन्छन् ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालीहरु जाने मुलुकमा श्रम सम्झौता आवश्यक रहेको बताएको छ । नेपाली युवाहरु जाने मुलुकका सरकार र नेपाल सरकारबीच श्रम सम्झौता भएमा युवाहरुले सुरक्षित वातावरणमा काम गर्न पाउने बताइएको छ । मन्त्रालयका सह–सचिव डण्डुराज घिमिरेले विदेश जाने युवाहरु सहज र सुलभ वातावरणमा विदेशमा कसरी काम गर्न सक्छन् भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । उनले विदेश जाने युवाहरुले पनि नियमसंगत तवरबाट गई दुवै मुलुकलाई आफ्नो लिखित जानकारी गराउनुपर्ने बताए । ‘अवैधानिक तरिकाले अर्थात् भिजिट भिसामा गई काम गर्न नहुने त्यसरी काम गर्दा समस्या आएमा उद्धार तथा राहत गर्न नसकिने हुँदा यस विषयमा युवाहरुले ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्रालयले हरेक वर्ष श्रम बजारमा आउने पाँच लाखभन्दा बढी युवाहरुलाई रोजगारी दिने विषयमा सरकारले सोच्नु आवश्यक रहेको बताएको छ । ‘नेपाली श्रम बजारमा आउने युवाहरुलाई व्यवस्थापनमा सरकारले ध्यान दिनु आवश्यक छ’, उनले भने, ‘युवाहरुलाई विदेश पठाएर सरकराले दिगो विकास लक्ष्य हासिल गर्न सक्छ । अविकसित मुलुकबाट विकासशील राष्ट्र बन्नसक्छ त्यसतर्फ सरकारले ध्यान दिनु आवश्यक छ ।’

मन्त्रालयले चाँडै नेपाल र इजरायलबीच श्रम सम्झौता हुने बताएको छ । नेपाली युवाहरुका लागि आकर्षक गन्तव्य हुन सक्ने इजरायलमा नेपाली युवाहरुको सुरक्षा, सहजता र आप्रवासन श्रमिक अधिकारको लागि दुई पक्षबीच श्रम सम्झौता आवश्यक रहेको छ । कोरियामा प्रतिबद्ध कामदार मात्रै लैजाने निर्णयले भने भाषा परीक्षा पास गरेर बसेका युवाहरु भने अन्यौलमा परेका छन् । यसैबीच विभागले भाषा परीक्षा पास गरेर बसेकालाई समेत लैजाने प्रयास गरिएको जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x