Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभीमदत्त नगरपालिकाले २५ वर्षे ‘गुरुयोजना’ बनाउँदै

भीमदत्त नगरपालिकाले २५ वर्षे ‘गुरुयोजना’ बनाउँदै


धन बहादुर जप्रेल
कञ्चनपुर, माघ १६
कञ्चनपुरको भीमदत्त नगरपालिकाले २५ वर्षे रणनीतिक गुरुयोजना बनाउन लागेको छ । जिल्ला सदरमुकाम समेत रहेको भीमदत्त नगरपालिकाले अहिले रणनीतिक योजना बनाउनका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल गरिरहेको छ । नगरपालिकाले ‘भीमदत्त समृद्धिको आधार पर्यटन, शिक्षा, कृषि र व्यापार’को नीति लिएर गुरुयोजना निर्माणका लागि नगरपालिकाले सरोकारवाला निकायसंग संयुक्तरुपमा छलफल गर्ने काम गरिरहेको छ ।

नगरपालिकामा जम्मा १९ वडा रहेको भीमदत्तमा दुई चरणमा रणनीतिक गुरुयोजनाका लागि छलफल भइरहेको हो । पहिलो चरणमा १ देखि ९ र दोस्रो चरणमा १० देखि १९ वडासम्मका जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, बुद्धिजीवी, किसान, विभिन्न संघ/संस्थाका प्रतिनिधि, विद्यार्थी, महिला, नागरिक समाजका अगुवासँग छलफल गरिनेछ । यसअघि भीमदत्त नगरपालिकाले गुरुयोजना निर्माणका लागि गत साउनमा सरोकारवालापक्षसँग पहिलो चरणको छलफल गरेको थियो । भीमदत्त नगरपालिका जनप्रतिनिधिले समग्र नगरकै दीगो विकास र समृद्धिका लागि २५ वर्षे गुरुयोजना निर्माण गर्नका लागि सरोकारवालासँग गहन छलफल गरेर तीन महिनाभित्र गुरु योजना निर्माण गरिने भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।

मेयर सुरेन्द्र विष्टले समयसापेक्ष जनचाहनाअनुरुप विकासका लागि गुरुयोजना अघि सारिएको बताए । ‘अहिले बनेका संरचना योजना अनुसार बनेनन्’, मेयर विष्टले भने, ‘अब बन्ने संरचना योजनानुरुप हुनेछन् ।’ नगरपालिकाले २५ वर्षे परिकल्पना गरेर योजना निर्माण गरेर कार्यान्वयन गरिने मेयर विष्टले बताए । ‘यो कार्यमा नगरपालिकाको व्यवस्थापकिय पक्ष हुनेछ’, मेयर विष्टले भने, ‘यसमा सबै नगरबासीको भूमिका रहन्छ ।’ भीमदत्त नगरका समाजिक विकास अधिकृत गोमा अवस्थीले दुई चरणमा हुने गोष्ठीमा विभिन्न समूहले भीमदत्त नगरको विकासबारे प्रस्तुत गरिने मोडेलको पछि एकीकृत रुप दिइने बताइन् । ‘सबै वडाबाट गुरुयोजना निर्माणका लागि खाका र प्रस्ताव आइरहेको छ, ‘समाजिक विकास अधिकृत अवस्थीले भनिन्, ‘सबै क्षेत्रबाट आएका सुझावको एकीकृत रुप दिइनेछ ।’

नयाँ सहरको मोडेल, भू–उपयोग, बजेट वितरण, विकास, स्रोत साधन वितरण, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चार, सामाजिक विकास, भौतिक पूर्वाधार, पर्यटन, सांस्कृतिक, ऐतिहासिक क्षेत्र, कृषि, ढल निकास, बजार व्यवस्थापन, पर्यावरण फोहोर व्यवस्थापनलगायतका विषयमा गुरुयोजना निर्माण हुनेछ । ‘भौतिक पुर्वाधारको विकासले मात्रै विकास मानिँदैन’, उनले भनिन्, ‘नागरिकको पनि त्यहीअनुरुप सामाजिक चेतनाको विकास हुनुपर्छ ।’ बुधबार १ देखि ९ नम्बर वडाका वडाध्यक्ष, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, नागरिक अगुवा लगायतले आ–आफ्नो धारणा, प्रतिवेदन प्रस्तुत गरेका थिए । भीमदत्त नगरपालिका ४ का वडाध्यक्ष लक्ष्मीदत्त बोहराले नगरलाई कसरी समृद्धि बनाउन सकिन्छ भन्ने विषयमा संयुक्त छलफल सुरु गरिएको बताए । उनले राष्ट्रिय, प्रादेशिक, जिल्ला, नगर र वडा स्तरका योजनाको पहिचान गरेर अघि बढाईने उदेश्यले गुरु योजना अघि बनाईने बताए ।

यस्तै भीदमदत्त नगरपालिका ९ का वडाध्यक्ष राम नाथले महाकाली नदीको बहुपयोग, धार्मिक पर्यटनमा जोड दिए । उनले आफ्नो वडामा अथाह प्राकृतिक, धार्मिक ऐतिहासिक सम्भावना भएको बताए । भीमदत्त नगरका शिक्षक बुद्धिजीवी उत्तम विष्टले नगरपालिकाले अघि सारेको गुरुयोजनाले सबै क्षेत्रको विकासमा एक रुपता ल्याईने बताए । कुनै पनि विकास योजनाको परिकल्पनामा आधारित हुने बताएले भविष्यको विकासलाई अंगिकार गर्दै भीमदत्त अघि सारेको योजनाले समृद्धि ल्याउने आँलकन गरे । उनले आफ्नै स्रोत साधन प्रयोग गरेर बन्ने योजना दिगो हुने बताए । एक लाख ५४ हजार जनसंख्या रहेको भीमदत्त नगरपालिकाका २८ हजार घरधूरी रहेका छन् । भीमदत्त नगरपालिकाले बनाउन लागेको गुरुयोजना थप गहन अध्ययन, अनुसन्धान एव भविष्यको आवश्यकता केलाएर अघि बढाइनुपर्ने स्थानीयको सुझाव छ । आफ्नो नगरपालिका गुरुयोजना बनाउन थालेपछि नगरबासी विकासका लागि आशावादी रहेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x