Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगतीन जिल्लाको संगमस्थलमा टेलिकमको सेवा

तीन जिल्लाको संगमस्थलमा टेलिकमको सेवा


बागलुङ । बागलुङ, पूर्वी रुकुम र रोल्पाको सङ्गमस्थल तिलाचन धूरीमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । पाती हाल्नेसमेत भनेर चिनिने त्यस उच्च पहाडी भेगमा टेलिकमको मोबाइल र इन्टरनेट सेवा पुगेको हो । यहाँको निसीखोला गाउँपालिका–६ मा २५ मिटर अग्लो बीटीएस टावर निर्माण गरी सेवा सञ्चालनमा ल्याइएको टेलिकम बागलुङ कार्यालयका प्रमुख एवं वरिष्ठ इञ्जिनियर केशव शर्माले जानकारी दिए ।

टेलिकमले सेवा विस्तार गरेसँगै त्यस क्षेत्रका सर्वसाधारणले मोबाइल र उच्च गतिको फोरजी इन्टरनेट प्रयोग गर्न पाएका छन् । यसअघि त्यहाँ कुनै पनि दूरसञ्चार सेवा पुग्नसकेको थिएन । मध्यपहाडी पुष्पलाल लोकमार्ग भएर पाती हाल्ने हुँदै बागलुङ–रुकुम आउजाउ गर्ने यात्रुसमेत सञ्चारबाट वञ्चित हुनुपर्ने स्थिति थियो । लोकमार्गले छिचोलेपछि तिलाचन धूरी र त्यस आसपासमा बढ्दो पर्यटकीय गतिविधि तथा यात्रुको सुविधालाई हेरेर सेवा विस्तार गरिएको प्रमुख शर्माले बताए । त्यहाँ बस्ती भने कम छ । तल्लो भेगका किसान मौसमी रुपमा पशुचौपाया लिएर तिलाचन लेक जाने गर्छन् ।

पहिले पहिले तीनै जिल्लाका गोठालाको बसोबास क्षेत्रका रुपमा पनि त्यो ठाउँलाई चिनिन्थ्यो । ‘मुख्य गरी राजमार्ग र पर्यटकीय क्षेत्रलाई लक्षित गरी तिलाचन धूरीमा टेलिकमको सेवा विस्तार गरिएको हो, त्यसबाट स्थानीयवासीलाई पनि लाभ मिलेको छ’, प्रमुख शर्माले भने । उनले जिल्लाका कुनाकाप्चासम्म टेलिकमको गुणस्तरीय सेवा पु¥याउने अभियानमा आफूहरु लागिपरेको बताए । पहिलो पटक टेलिकमको सेवा पुगेपछि तिलाचन धूरीको नजिक बसोबास गरिरहेका तीनै जिल्लाका सर्वसाधारण खुसी छन् । भौगोलिक विकटता भए पनि सञ्चार सुविधाले गाउँलेको दैनिकी सहज बनेको छ ।

लोकमार्गदेखि खच्चरमा उपकरण र सामग्री बोकाएर टेलिकमले तीन हजार चार सय मिटर उचाइको धूरीमा टावरको संरचना खडा गरेको थियो । अहिले दिइएको सेवालाई थप गुणस्तरीय बनाउनपछि उपकरण र प्रविधि थपिने टेलिकमले जनाएको छ । विद्युत् सेवा नपुगेकाले सौर्य ऊर्जामार्फत टावर सञ्चालनमा ल्याइएको छ । मोबाइल र इन्टरनेट सुविधाले पर्यटकलाई थप आकर्षित गर्न सकिने पातीहाल्नेका होटल व्यवसायी किस्मत मगरले बताए । उनले पछिल्लो समय त्यस ठाउँमा घुमफिर, वनभोजलगायत मनोरञ्जनका लागि आउनेको सङ्ख्या बढ्दो छ । त्यहाँ रहेका रिगा र तिलाचन तालले पनि पर्यटकीय आकर्षण थपेको छ । मनोरम भू–बनोट, गाउँले जनजीवन, प्राकृतिक सुन्दरता र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ । लोकमार्ग कालोपत्र भएपछि पर्यटकको आउजाउसमेत सहज बनेको छ । बागलुङ सदरमुकामदेखि एक सय ४२ किमिमा पातीहाल्ने पर्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x