Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयराज्यमाथि विश्वास गुम्ने कुरा नहोस्

राज्यमाथि विश्वास गुम्ने कुरा नहोस्


काठमाडौं । २० दिनको पैदलयात्रा र १२ दिनको आमरण अनशनपछि सरकारले सुनेको एउटा अन्यायको विषयमा त्यसको समुचित सम्बोधन गर्न नसक्दा वा नजान्दा तथा जानीजानी हेपाहा प्रवृत्ति प्रकट हुँदा पीडितहरूले न्यायको महसुस गर्न पाएनन् । त्यसै कारण यो कठोर प्रकारको न्यायिक यात्रामा सरिक भएकाहरूले राजधानीबाट फर्किएर घर पुग्दा पनि यात्रा टुंग्याउन पाएनन् । सरकारको रवैयाका कारण व्यापक शंकाको घेरामा उनीहरूले पत्रकार सम्मेलन गरेर घोषणा गरे, यो मुद्दाको मुख्य अभियुक्त पक्राउ नपरेसम्म हाम्रो आन्दोलन रोकिन्न । उनीहरूको यस्तो घोषणा जायज पनि थियो । सरकारले नै २० दिनअघि कात्तिक २ गते नकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ताबारे छानबिन गर्न गठन गरेको समितिले जे ठहर गरको थियो र जे सुझाव दिएको थियो, सोअनुसार कारबाही नभएको भन्ने यो पक्षको भनाइ रह्यो । यो भनेको चित्त बुझ्ने गरी न्याय नपाएको भन्ने साधारण नागरिकको अनुभूति हो ।

यो ठाउँमा ध्यान जाओस् बाँकेकी नकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्याय पाइएन भनी पीडित समूह मोफसलबाट केन्द्रीय राजधानी आएका थिए पैदल नै हिँडेर । त्यसपछि १२ दिन अनशन बसेर सरकारको ध्यानाकर्षण गरिएको र देशको न्याय प्रणालीलाई नै दस्तक दिएको मानिएको घटनामा फेरि पनि पीडकलाई नै जोगाउन पहिलेकै जस्तो जालझेल गर्न लागिएको भन्ने पीडितले अनुभव गर्नु वास्तवमा नै दुःखद कुरा हो ।

धोबीको मृत्यु र कुर्मी बेपत्ता प्रकरणमा बाँके प्रहरीले सात जनालाई पक्राउ गरेको जनायो तर त्यसमा मुख्य अभियुक्त भने परेनन् । सरकारकै आयोगले जसलाई मुख्य अभियुक्त करार गरेको थियो ती व्यक्ति खुलारूपले घुमिरहेका हुँदा पीडितहरूले आफू अन्यायमा परेको भन्ने ठान्ने भए नै । प्रहरीले भने ती अभियोगी धरौटीमा छुटेका भनेको छ । जब मुख्य अभियोगी नै धरौटीमा छुट्छन् भने पीडितलाई शंका हुने भयो नै । खासगरी कुर्मीका सन्दर्भमा उनको जायजेथा हडप्नका लागि उनलाई बेपत्ता पारिएको भन्ने राज्यको केन्द्रीय तहसम्म नै कुरो पुगिसकेको अवस्था छ ।

गृह मन्त्रालयले गठन गरको समितिले दिएको प्रतिवेदनमा जे लेखिएको छ त्यो पीडितहरूले लगाएको आरोपसँग मिल्दोजुल्दो छ । त्यसकारण सरकारले मुख्य अभियुक्त पक्राउ नगरेर संरक्षण दिएको भन्ने आरोप लाग्न गयो । यो एक प्रकारले स्वाभाविक पनि हो । यो अन्यायप्रति सरकारको ध्यानाकर्षण गर्न जे गर्न परेको थियो त्यो निकै नै कष्टदायक थियो । सत्याग्रहमा बसेकी एक जना अधिकारकर्मीका अनुसार त्यो घटनाका मुख्य अभियुक्त पक्राउ नपरेसम्म नकुन्नी र निर्मलाले पूर्ण न्याय पाउँदिनन्, प्रहरीले ज–जसलाई पक्राउ गरेको छ, उनीहरू घटनाका मुख्य अभियुक्तका इसारामा चल्ने मान्छे मात्र हुन्, अझै पनि उनले निर्मलाको जग्गामा एकाधिकार जमाउने र भाडामा दिने गर्दै आएका छन् ।

यो घटना बेपत्ता पारिएकी निर्मलाको जग्गा हडप्ने नियतबाट जालझेल गरेर अपहरण गरी उनलाई बन्धक बनाएपछि उनको हत्या भएको छ भन्ने आरोपको प्रमुख विषय हो । यसलाई सरकारी टोलीले पनि पुष्टि गरेको छ । यो ठाउँमा ध्यान दिनुपर्छ । बाँकेमा घरेलु हिंसाबाट मारिएका नकुन्नी र निर्मलाको न्यायका लागि यो टोली नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौँको माइतीघरमा धर्ना दिन आए । तर सरकारले वास्ता नगरेपछि एक जनाबाट आमरण अनशन सुरु भयो जो १२ दिन चले पनि यी दुवै घटनामा छानबिन हुने सरकारको प्रतिबद्धता आयो । तर त्यो प्रतिबद्धतामाथि पनि खेलवाड हुन थालेपछि शंका बढ्ने भयो नै । यस्ता कुराले राज्यप्रतिको आमविश्वास गुमाउँछ । ध्यान जाओस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x