Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्त्री आगो हुन्, जल्नु छ भने मात्रै छुनू

स्त्री आगो हुन्, जल्नु छ भने मात्रै छुनू


काठमाडौं । निलो रङ्गको सुजुकी कार मेरो अगाडि आएर ब्रेक लाग्छ । ३४/३५ वर्षकी मस्त यौवना नारी कारबाट ओर्लिन्छिन् र नजिकै रहेको वाइन दोकानतिर जान्छिन् । माइक्रो बस स्टेसनबाट छुट्ने समय अझै भएको थिएन । त्यो बस यहाँ आइपुग्दा करिब ६ बज्छ होला भन्ने मेरो अनुमान । अफिस छुटेपछिको माइक्रोमा जानेको भिड र खचाखच झन् थामी नसक्नु हुन्छ । हिँडेर जाऊँ चाबहिलसम्म त्यति टाढा । माइक्रोमा पनि सबैले मास्क लगाउँदैनन् । उपाय थिएन जसरी नि जानु छ घर । मेरै छेउमा आएर त्यो कार रोक्नुपर्ने कारणचैँ के थियो कुन्नि ? मैले चिनेको पनि छैन । कि उनले पो मलाई चिनेकी थिइन् कि ? खै के हो कुरा बुझिनँ ।

म मूर्तिवत् त्यही कारको छेउमा उभिरहेँ । कारभित्र एउटा लेडिजब्याग थियो । स्त्रीका भित्री पोसाक थिए । श्रृृंगारका सामान पनि थिए । कारको ढोका पनि लक भएको थिएन । कारको सिसा पूरै माथिसम्म लागेको थिएन । अनि त्यहीँबाट मीठो अत्तरको बासना आइरहेको थियो । कारको क्याबिनभित्रको सजावट हेर्दा ठूूलै घरानियाकी छोरीजस्तो लाग्यो । म उभिरहेको थिएँ । केहीबेरमै ट्राफिक प्रहरी आयो र ह्वील लक ग-यो । म कारछेउमै भएर पनि केही सोधपुछ गरिनँ । ह्वील लक गरेर ऊ सरासर जाँदै थियो । वाइनसपबाट ती केटी दौडेर आइन् । उनी हस्याङफस्याङ गर्दै कारतिर आएको ट्राफिक प्रहरीले देख्यो र ऊ पनि हातमा बिलप्याड लिएर कारनजिक आयो । ट्राफिक र ती केटीबीच जम्काभेट भयो ।

ट्राफिकले लाइसेन्स माग्यो अरु केही बोलेन र मात्रै एक हजारको बिल तेस्र्यायो । अगाडि चालक हुँदाहुँदै तपाईंले मेरो कारमा किन ह्वील लक गरेको भनेर ट्राफिकलाई हकारिन् । ट्राफिक अक्क प-यो र सोध्यो, ‘को हो चालक ?’ ती केटीले मलाई देखाइन् । म पनि अक्क न बक्क परेँ । ‘तपाईं चालक हो ?’ प्रहरीले मलाई सोध्यो । मैले केही जवाफ दिन सकिनँ । केटीले पहिल्यै मलाई आँखा झिम्क्याइसकेकी थिई । मैले कुरा बुझिसकेको थिएँ । ट्राफिकले लाइसेन्स फिर्ता गर्न मानेन । बिल काटिसकेपछि नो स्क्युज भन्यो । बेलुकी ६ बजे तपाईंको चालकसहित बग्गिखाना आउनू भन्दै ऊ निस्कियो ।

गाडी चलाउन नआए पनि म चालक बनेँ । साँझको ५ः३० बजिसकेको थियो । मेरो अगाडि ल्याएर गाडी पार्क गर्दैमा म कसरी तपाईंको चालक बनेँ ? उनको आँखामा आँखा जुधाएर मैले सिधै प्रश्न राखेँ । उनी नाजवाफ भइन् । उत्तर नदिईकन धरै भएन उन्लाई र बोलिन्, ‘गाडीको ह्वील लक गरेको देखेर अलिक डर लाग्यो अनि तपाईंको भर लाग्यो र भनेँ । तपाईंको चित्त दुखेको भए माफी चाहेँ । मैले जवाफ केही फर्काइनँ । गाडीमा बसौँ भनिन् । म पछाडि सिटमा बस्न खोज्दा उनले अगाडि बसौँ भनिन् । अगाडि बसेँ । कार सिंहदरबारअगाडिको बग्गीखानामा हुइँकियो । बाटोमा हामीबीच परिचय भयो । गाडी भद्रकालीलाई दायाँ पारेर जानुपर्ने हो तर गाडी त्रिपुरेश्वर हुँदै जाने भनेर उनले निधो गरिन् र भद्रकाली मन्दिरलाई बायाँ बनाइन् ।

दुई बोतल वाइन मेरो सिटको अगाडि खुट्टा राख्ने ठाउँमा थियो ।
मलाई एक प्रकारले रिस उठिरहेको थियो । घर जान भनेर हिँडेको मान्छे यो के समस्यामा फसेँ भनेर । सामान्य परिचय भयो । मेरो नाम सोधिन् । दिपेश क्षेत्री भनेँ । उनको नाम अनुजा रहेछ । म नेपाल ल क्याम्पसमा प्रपोजल बुझाएर आएको थिएँ । कस्तो अचम्म उनी पनि एलएलबी तेस्रो वर्षकै विद्यार्थी रहिछन् । उनी पनि आज प्रपोजल बुझाउने अन्तिम दिन भनेर बुझाएर आएकी रहिछन् । यो संयोग अचम्मको प-यो । गाडी त्रिपुरेश्वरको जाममा फस्यो । अनुजा चन्द ठकुरी । घर बैतडी । उनको परिचय । मेरो परिचय पाएपछि उनी असाध्य खुसी भइन् । उनी खान्दानी घरानीयाँ परिवारकी छोरी । मेरो त खासै परिचय दिन लायकको केही कुरै थिएन । उनी एउटा एनजीओ चलाउँदिरहिछन्– ग्रामीण समुदाय उथ्थान तथा महिला उद्यमशील परियोजना । आफू त यो उमेरसम्म बेरोजगारी परियो । आजसम्मको पढाइ खर्च बाउआमाले धानेका छन्, यति भनेँ ।
माइतीघर पुगेपछि उनले एउटा रहस्य खोलिन्

दोस्रो वर्षको परीक्षामा उनी र म एकै हलमा बसेर परीक्षा दिएको ।
हरेक दिन उनले मेरो सबै एक्टिभिटी निहालेकी रहेछिन् । एक दिन एकै बेन्चमा बसेर परीक्षा दिएको रे । मैले केही थाहा नपाएको आफैंलाई अचम्म लाग्यो । अन्तिम दिनको परीक्षा विषय लैंगिक र समावेशी न्याय थियो । परीक्षाहलबाट बाहिर निस्किएपछि मलाई बोलाऊँजस्तो पनि लागेको थियो रे तर साहस गर्न सकिनन् रे । एकै बेन्चमा बसेर पनि तपाईंले केही वास्ता गर्नुभएन अनि मैले सोधेको कुरा पनि भन्नुभएन । तपाईं घोप्टो परेर लेखेको लेख्यै हुनुभो । मलाई त तपाईं कस्तो निष्ठुरीजस्तो लाग्यो । रिसले आँखा देखेको थिइनँ । यसरी कुरा नसक्किँदै गाडी बग्गिखानाभित्र गएर रोकियो । पार्किङमा राखेर भित्र मात्रै के छिरेका थियौँ । त्यहाँ एक जना सहीसाहेब उभिरहनुभएको रहेछ ।

अफिसभित्र गयौँ । पुलिस इन्स्पेक्टरले मेरो चालक अनुमतिपत्र माग्नुभो । म त चालक नै होइन अनि कसरी लाइसेन्स हुनु मसँग ? एकछिन् अलमल परेँ । ‘विनालाइसेन्स गाडी चलाएको अपराधमा उहाँलाई कष्टडिमा राख्नू’ डीएसपीको ठाडो आदेशमा म थुनिएँ । कुनै अपराध नगर्दा पनि अनाहकमा फसेँ । म उनको चालक भएँ । बाटोमा गाडीसँगै उभिएको भन्दैमा म चालक भएँ । यहाँ सोझो हुनु पनि केही रहेनछ । कस्तो आँट भएकी केटी हो, अपरिचितलाई फसाएर । सत्यतथ्य कुरा भनौँ भने पनि फेरि यही केटी फस्छे । म रुमभित्र छु, बाहिरबाट चुकुल हालिएको छ ।

‘केहीबेर केरकार गरेर छोडिन्छ’ भन्दै त्यो असई बाहिर निस्कियो । आज खाजा, खान पनि भ्याएको थिइनँ । भोक बेस्सरी लागेको छ । दशैँ नजिक आएको थियो । किनबेल गर्ने पैसाको जुहाट गर्न सकेको छैन । कहाँ पुग्छु भनेर सोचेको कहाँ आइपुगेँ छि ! बाहिर मुसलधारे पानी प-यो । विनाकारण अदालतको आदेश र थुनुवापुर्जी नभई कसैलाई थुन्न पाइँदैन । म कानुनको विद्यार्थी । के गर्नु कानुन पढेको भनेर । कानुन एकातिर व्यवहार अर्कोतिर । अफिसमा गएर मैले कानुन जानेको छु, मलाई अनाहकमा किन थुनेको भनौँ भने फेरि त्यो केटीले के भन्ली वा फेरि उसको हालत के हुने हो थाहा छैन । हाम्रो देशमा कानुन छ र छैनको अवस्था छ । कानुन छ भनौं भने सिंगो गरिबी समाज न्यायविहीन अवस्थामा छ । न्याय सिर्फ धनीलाई मात्रै मिल्छ ।

ह्या ! यतिबेला मेरो तर्क वितर्कले कुनै महत्व राख्दैन । बरु सहिदिन्छु । एकछिन् सहिदिँदा वा हो मैले गल्ती स्वीकार गर्दा त्यो केटीको बचाउ हुन्छ भने बरु भैगो म चुपचापले बस्छु । पानी झन् पर्न थाल्यो । अँध्यारो भो । सडकमा गाडीको आवाज पनि क्रमशः कम हुँदै गो । अघिसम्म त त्यो केटीको आवाज सुनिएको थियो । अहिले सुनिन्न । उसलाई पनि त लागेको होला कि मैले एउटा अन्जान सोझो केटोलाई अनाहकमा फसाएँ भनेर । तर के थाहा उसलाई यस्तो महसुस भएको छ कि छैन । यस्तो दया हुनेले झुटो बोलेर मलाई किन फसाउँथी । केटी मान्छेलाई बुझ्न सकिन्न । ऊ त घर गैहोली मलाई फसाएर । दुई–दुई बोतल वाइन किनेकी छे । यतिबेलासम्म त उसको घरमा वाइनपार्टी चलिरहेको होला । म निर्दोष छु भनेर मेरो लागि साक्षी बस्ने को छ अब ? ऊ आफू निर्दोष देखाउनलाई त गाडीमा राखेर मलाई यहाँसम्म ल्याएकी ।

भोक निद्रा र प्यासले मुख सुकिसकेको थियो । कोठामा मेरो सानो भाइ थियो ९ वर्षको । दशैँमा घर जानी भनेर टिकट काटिसकेको थिए । दशैँ किनमेल गर्न पैसाको जोहो गर्नु थियो । यतिबेला भो भाइ एक्लै आत्तियो होला । उसले खाना बनाउन पनि सक्तैन । अझ हिजोदेखि त्यो पूरै फ्ल्याट खाली भइसकेको थियो । सबै दशैँलाई घर गइसकेका थिए, मात्रै हामी थियौँ । ऊ जेठदेखि मात्रै हो यहाँ बसेको । वरिपरि कसैलाई चिन्दैन । दाइ छिटो आउनु है मलाई डर लाग्छ भन्दै थियो । म छिटो आउँछु भनेर निस्केको आजै अबेर भो । उफ ! कति आत्तियो कति रोयो होला भाइ । न ऊसँग मोबाइल छ । न उसलाई कसैले चिन्छन् । बिहान खाना पनि छिटो खाको । त्यसलाई कति भोक लागेको होला । छिटो फर्किहाल्छु भनेर पैसा पनि छोडिनँ, त्यसको खल्तीमा १५–२० रुपैयाँभन्दा थिएन । फोन गरौँ भने पनि ओल्लोपल्लो कोठाका सबै घर गइसके । चिन्ता र भोकले सक्कियो होला त्यो हरे शिव !

रातको १२ बजे एक जना प्रहरी चुकुल खोलेर भित्र पसे । ‘सरी है तपाईंलाई ढिला भो । तपाईंको केस अलिक जटिल भएर गयो । हामीले चाहेर पनि तपाईँलाई छोड्न नमिल्ने भो’, उनले भने । म उनको भनाइ सुनेर आत्तिएँ । उसै त भोकप्यास र भाइको चिन्ताले सताएको बेला एक्कासि आएको यो भनाइले मलाई रिँगाटा लाग्यो । शरीर काम्यो । मुटुको चाल एक्कासि बढ्यो । फ्यात्त भुइँमा ढल्छु कि क्या हो जस्तो भो । सारा शरीरको बल निकालेँ । आक्रोशित भएँ र बोलेँ, ‘किन र सर के भो ? मेरो के गल्ती थियो र ?’
‘तपाईंको नाउँमा उजुरी परेको छ ।’
‘कस्तो उजुरी ? लाइसेन्स नभएको भन्ने होला होइन ?’
‘होइन, तपाईंले महिलामाथि हातपात गरेको उजुरी परेको छ ।’
‘मैले कसलाई हातपात गरेँ र ?’
‘जसले तपाईंलाई बग्गीखाना ल्याइन् । तिनै महिलाले तपाईंले उहाँमाथि यौनहिंसा गरेको आरोपसहित उजुरी परेको छ ।’
‘हे ईश्वर ! यो के सुन्नु प-यो ?’
‘तपाईंले कतै गल्ति त गर्नुभा होइन नि ?’
‘कसरी गर्न सक्छु जब कि मैले उनलाई राम्रोसँग चिनेको त छैन ।’
‘केटीले चाहिन् भने एकै श्वासमा फसाउँछिन् चिन्न नै किन प-यो ?’
‘तिनी कहाँ छिन् अहिले ?’
‘तिनी त उजुरी गरेर ७ बजे नै गैसकिन् ।’
‘उजुरी लिँदा मलाई सोधपुछ गर्न पर्दैन ?’
‘महिला सेल टेकुमा गएको छ तपाईंविरुद्धको उजुरीको फाइल । तपाईंलाई हामीले यहाँ राख्न पनि मिल्दैन अदालतको आदेश चाहिन्छ । भोलि केटीलाई पनि बोलाइन्छ । तपाईंलाई अब आधा घन्टापछि हामी टेकु लैजान्छौँ ।’

अर्धबेहोसजस्तै भएँ । बोल्ने वाक्य नै अड्कियो गलामा । सायद मुर्दा हुनु भनेको पनि यस्तै त होला । दुई/तीन घन्टाको बीचमा म के थिएँ के भएँ ? यो के हो ? एक्कासि यति ठूलो भुइँचालो कसरी आयो जिन्दगीमा ? हवल्दार निस्किए । फेरि बाहिरबाट चुकुल हालियो । म भित्रै थुनिएँ । रातको ११ बज्यो । भाइ कति रोयो होला । भन्नु न आमा म के गरुँ ? कसलाई फोन गरुँ ? उफ ! मोबाइलमा ब्यालेन्स पनि छैन । एकदम मन आत्तियो । भाइको एकदम ख्याल गर है बाबु ! भनेर आमाले हिँड्ने बेलामा भन्नुभएको कुरा यतिबेला पो याद आयो । झल्यास्स भएँ । न भाइलाई कसैले कोठाबाट अपहरण गरेर पो लगे । रुँदै भित्रबाट ढोका घचेटनु थालेँ । हवल्दार आइपुगे । ढोका खोले । किन के भो किन रुनुभएको भनेर सोधे । मैले भाइ सानो छ, एक्लै छ कोठामा, कति आत्तियो होला भनेर चिन्ता लाग्यो सर भनेँ । उनले टेकुमा हाजिर नभई तपाईं जान मिल्दैन भने ।

कस्तो मुटु नै नभएको हवल्दार रेछ त्यो । उसले मेरो कुरा ध्यान दिएर सुनेन । सुन्नै चाहेन । एउटा कानले सुनेजस्तो ग-यो तर उसको ध्यान अघि मादकपदार्थ खाएर कार चलाउने व्यापारीसँग पैसा सेटिङ र बार्गेनिङ गर्नुमा थियो । ऊ फुत्त निस्कियो व्यापारीलाई सम्झाउन थाल्यो, ‘तपाईंको पनि यत्रो सामाजिक प्रतिष्ठाको कुरा छ । रातिराति परस्त्री केटीलाई गाडीमा हालेर आफैँ फिटु भएर केटीलाई पनि छाद्ने गरी ख्वाएर गाडी दुर्घटना पार्नुभो धन्न केही भएन । भैगो पचास हजार दिनुस् हामी केस उठाउँदैनौँ ।’ नभन्दै व्यापारीले ब्यागबाट पैसाको बिटो निकालेर गन्यो, दियो । तर ऊ गाडी चलाउन सक्ने अवस्थामा थिएन । त्यसको गर्लफ्रेन्डले अफिसमै छादी । एक जना प्रहरी आयो । व्यापारीले त्यो प्रहरीलाई गाडीको चाबी दियो । प्रहरीले गाडी चलायो उनीहरू बाहिर निस्किए । यो दृश्यलाई मेरो आँखाको क्यामराले भिडियो खिचिरहेको थियो कहिले पनि नसक्किने मेमोरिकार्डमा ।

केही बोल्न सक्ने अवस्था नै छैन यहाँ । बरु मौन बस्यो भने आफैँलाई शान्ति मिल्छ । बोल्न मन लागेन । कसरी चलेको छ प्रहरी प्रशासन यो देशमा भन्ने बुझेँ । त्यो केटीले फसाएको भन्दा पनि म भाइकै चिन्ताले मर्छु कि क्या हो । त्यो हवल्दार पैसाको भागबन्डा लाएर मतिर खोक्दै आयो । मैले पनि आफूलाई केही थाहा नभएको जस्तो गरेर अभिनय गरेँ । चिन्तामा परेको मान्छेलाई कसैले राम्रै कुरा गर्दा पनि रिस उठेर आउने रहेछ । जस्तो शासन त्यस्तै प्रशासन । यिनकै गृहमन्त्रीले पनि यो कमाइको भाग पाउँछ होला अनि पो मरिहत्ते हाल्छन् गृहमन्त्री हुन । एउटा भ्यान बाहिर प्रांगणमा आइपुग्यो । त्यो केटीलाई पनि भोलि बिहान झिकाउनु भनेर डीएसपीको आदेश पाएर प्रहरी भ्यान सिहदरबार माइतीघर त्रिपुरेश्वरतिर हुइँकियो ।

मान्छे मारेको कैदीलाई जस्तै गरेर मलाई लिएर गए । मैले बाटोमा एकचोटि चाबहिल भएर जाऔँँ न मेरो बालक भाइ एक्लो छ आत्तिएर मर्न लाग्यो होला भनेर बिन्ती बिसाएँ, तर सुनेनन् तिनीहरूले । सयको गतिमा गुडेको गाडी एकैछिनमा टेकु पुग्यो । मलाई खोरभित्र हालिदिए । भोक र प्यासको सीमा थिएन । कैदीबन्दीले सोधपुछ गर्न थाले । किन जेल परेको भनेर । मलाई कसैसँग केही बोल्नु थिएन । रातको १ बजेको थियो । ममा भाइको पिरले ब्यग्रता छाइरहेको थियो । सक्ने भए यो झ्यालबाट हामफालेर भाग्थेँ तर के गरौँ ?

म रोएको देखेर कैदीबन्दी साथीहरूमा करुणा पलाएछ । खास कुरो के किन रोएको भन्न थाले । खासचैँ म भाइको मायाले रोइरहेको थिएँ । चिसो भुइँमा यतिकै निदाएछु । भोलिपल्ट बिहान ९ बजे एकैचोटि इन्भेस्टिकेसन ब्यूरो अफिसरको टेबुलमा पुग्दा झस्किएँ । एकैचोटि प्रश्न ओइरियो । सँगै उभिएको प्रहरी हवल्दारले मलाई पिठ्युँको पातोमा एक मुक्की हान्यो । म घुत्रुक्क भुइँमा बस्न पुगेँ । हे साला ! तैँ होइनस् कारभित्र स्त्रीलाई हातपात गर्ने ? साला काटेर फाल्दिऊँ तेरो त्यो.. । नकच्चरा लफंगा आवारा ! अनुहार हेर्न लाग्यो ऋषिजस्तो बानी व्यहोराचैँ खाएर फ्यालेको रक्सीको सीसीजस्तो’ यति भनेर ऊ मेरो बयान नोट गर्न थाल्यो ।

मैले आफ्नो साबिती बयान गरेपछि ती दुवै झस्किए । र टुंगोमा पुगे, ती केटीले एउटा अन्जान केटालाई फसाइछ भनेर । मेरो ल कलेजमा त्यो नाम गरेको केटी दोस्रो वर्षमा अध्ययन नै गर्दिन भनेर पत्ता लाग्यो । केटीले दिएको मोबाइल नम्बरमा फोन गरेको मोबाइल नै स्विच अफ छ । मोबाइलको ट्र्र्याकिङ गर्दा घर पत्ता लाग्यो । जाउलाखेल एकान्तकुना । दूरसञ्चारसँग अनुमति लिएर मोबाइल इन्फर्मेसन र सोसियल एक्टिभिटी अध्ययन गर्न लगाइयो । केटीको नाउँमा पाँचवटा फेसबुक आईडी, ह्वाट्सप, भाइबर, इमो, टिकटक, मेसेन्जर र टुइटर एकाउन्ट सब पत्ता लाग्यो । टुइटरबाट र मेसेन्जरबाट विदेशीहरूसँग कुरा गरेको, विदेशी केटाहरूसँग बिहे गर्न खोजेको अनि आफ्ना यौनांग समेत देखाई विदेशी केटालाई मायाको प्रपञ्चमा पारी बिहे गरी नेपालबाट जति छिटो भाग्न खोजेको देखियो । र पैसाको कारोबारमा समेत संलग्न रहेको पत्ता लाग्यो ।

उसले चारवटा दूरसञ्चारको सिम र बाँकी दुईटा एनसेलको सिम प्रयोग गरेको पाइयो । नेपाल यातायात व्यावस्था विभागमा सम्पर्क गरी हेर्दा त्यो केटीले चढेको कार समेत उसको आफ्नो नाउँमा नभई एक जना मन्त्रीको पिएको नाउँमा देखियो । ती मन्त्रीको पिएलाई सम्पर्क गरियो । पिएलाई लिन मन्त्रीक्वाटर जाँदा गाडी क्वाटरभित्र फेला प-यो । केटी को हुन् र कहाँ छिन् भनेर प्रहरीले सोधपुछ गर्दा चुपचापले क्वाटरबाट बाहिर निस्किनु नत्र जागिर जाला भन्ने धम्की आएपछि । यो केस यहीँ यत्तिकै टुंगियो ।

दिनभर प्रहरीको भ्यानमा कुदिरहेँ कुदिरहेँ । एउटा टुंगोमा पुगियो ।
प्रहरीको भ्यानसहित चाबहिल कोठामा पुग्दा मेरो भाइ रुँदारुँदै थाकेर अनुहार नै नीलो भइसकेको थियो । उसको बोली समेत हराइसकेको पाएँ । मेरा आसुँका बलिन्द्र धाराले ओछ्यानमा ढलिरहेको भाइको छाती भिज्यो । ऊ बोल्न सकेन । आँखा समेत चिम्लिएको छ । केही धुकधुकी छ कि भनेर आशा लाग्यो । घरमा आमालाई फोन गरेँ । आमा बेस्सरी रुन थाल्नुभो । प्रहरीले सहयोग गरे । हामी ओम हस्पिटल गयौँ । इमेर्जेन्सीमा प्रहरी स्वयंले लिएर गए हामीलाई ।

दुई घन्टा स्ल्यानपानी दिएपछि भाइले आँखा उघा-यो । भाइलाई अँगालो हालेर बेस्सरी रोएँ । आसुँको तातो बाफ अस्पतालको भित्ताभरि उडेर गए । केही भनिनँ आफूलाई । भाइको निर्दोष आँखामा हेरिरहेँ । केही भनिनँ त्यो केटीलाई पनि, जसले मेरो जिन्दगीमा एउटा घनघोर कालो तुफान छोडेर गई । यो जिन्दगीको नियमित आकस्मिकता थियो । भावशून्य भएँ म । साझ झमक्क परिसकेको थियो । भाइलाई डिस्चार्ज गर्ने पैसा थिएन । काउन्टरमा गएँ । आफ्नो अवस्था भने । बेडचार्ज लिइएनन् । केवल दुई बोतल स्ल्यानपानीको बिल मात्रै तिर्नु थियो, पछि आएर तिर्नू भने । भाइलाई लिएर कोठामा गएँ । भात पकाएँ । भाइको मुहारमा खुसीको इन्द्रेणी देखेँ । आमाले पठाइदिनुभएको गुन्द्रुक र भात पेटभरि खायौँ र निदायौँ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x