काठमाडौं । धेरै पुरस्कारले सम्मानित भइसकेका एक अमेरिकी लेखक, उपन्यासकार स्व. अक्टाभिया बटलरको भनाइअनुसार सबै संघर्ष मुख्यतः शक्तिसंघर्ष नै हुन्छन् । कसले राज गर्ने ? कसले नेतृत्व गर्ने ? कसले परिभाषा गर्ने, परिष्कृत गर्ने, सीमित परिधिभित्र राख्ने र रुपरेखा बनाउने ? कसले हैकम चलाउने ? यी शक्तिसंघर्षहरु टाउको जुधाएका दुई भेडाभन्दा बढी बौद्धिक हुँदैन । यो व्याख्याअनुसार अहिलेका नेताहरुले जतिसुकै फुर्तीफार्ती गरे पनि सात सालको परिवर्तनलगायत सयौँ वर्ष पहिलेदेखि २०६२/०६३ सालसम्म भएका सबै राजनीतिक परिवर्तनहरु राज्यमा राज गर्न र राज्यसत्ता आफ्नो कब्जामा लिन गरिएका शक्तिसंघर्षहरु हुन् । आजको दिनसम्म पनि विश्वभर यस्तै खालको शक्ति संघर्ष चलिरहेको हरेक दिन समाचारहरु मिडियामा आइरहेका छन् । नेपाल अपवाद हुन सक्तैन । जनता जतिसुकै वाक्कदिक्क भए पनि राष्ट्रनिर्माणको लागि गरेको भनिएका ‘फोहोरी’ शक्तिसंघर्षलाई सहेर बस्नैपर्ने हुन्छ ।
सन् २०४७ मा जन्मेको लेखक बटलरले उपर्युक्तबमोजिम राजनीतिक संघर्षलाई व्याख्या गरेको छ भने प्राचीनकालको एथेन्स ग्रिसको दार्शनिक प्लेटोको भनाइअनुसार राजनीतिमा भाग लिन नचाहनेहरुको लागि एक सजाय भनेको आफूभन्दा निम्नस्तरको व्यक्तिहरुबाट शासन गराएर बस्नुपर्ने हुन्छ । यस अर्थमा नेपालमा अहिले भइरहेको राजनीति एवं शासनशैलीबारे भव्यरुपमा भइरहेको बहस छलफलमा भाग लिइरहेका बुद्धिजीवीहरुले नै सजाय भोग्नुपरिरहेको अवस्थामा बिचरा ‘असंलग्न’ जनता मूकदर्शक भएर रमिता हेरेर बस्नुबाहेक अरु विकल्प छैन । हो, जनता सडकमा ओर्लेर शक्ति संघर्षमा भाग लिन सक्छ र लोकतन्त्रले यो छुट दिएको छ । तर, विडम्बना के छ भने जोसुकैको पक्षमा जुनसुकै प्रकारको शक्तिसंघर्षमा जनता उत्रे पनि लेखक बटलरले गरेको ‘कसले नेतृत्व गर्ने’ भन्ने प्रश्न तेर्स्याएर आइहाल्छ ।
पछिल्लो निर्वाचनअघि सुरु भएको गत तीन/चार वर्षको अवधिमा भएको शक्तिसंघर्षलाई मात्र निष्पक्ष रुपमा विश्लेषण गरेको खण्डमा यसलाई लेखक बटलरको शब्दमा भेडाको टाउको जुधाइको संज्ञा मज्जासँग दिन मिल्ने प्रशस्त आधारहरु फेला पार्न सकिन्छ । विचार, नीति र सिद्धान्तको झगडा भन्नु बेकारको कुरा हो । एक रोचक पक्ष के छ भने अहिलेको शक्तिसंघर्षमा हिजोसम्म सुस्त रुपमा भाग लिइरहेको राजसंस्थावादी र हिन्दुवादी शक्तिले पाखुरा सुक्र्याएर ‘धमिलो पानी’मा उत्रेका छन् । तर, लोकतान्त्रिक व्यवस्था कायम रहेको हरेक मुलुकमा जस्तै नेपालमा पनि प्रमुख शक्तिहरु राजनीतिक पार्टी र नेताहरु नै भइरहेका छन् । यो बेग्लै कुरा हो कि कुनै पनि मुलुकभित्र हुने अत्यन्त शक्तिशाली अरु दुई शक्ति भनेको सडकमा आउने ‘असंलग्न’ जनता र सैनिक ब्यारेकभित्र बसिरहने सेना नै हो । ज्वलन्त उदाहरण थाइल्यान्ड र म्यान्मारलाई लिन सकिन्छ । दुवै मुलुकमा आजको दिनसम्म सैनिक शक्तिले जितेको छ भने सबै राजनीतिक पार्टीहरु र सडकमा आउने ‘असंलग्न’ जनता शक्तिसंघर्षमा हारेकै अवस्थामा छन् ।
जनताको कुरा गर्दा नेपालमा आधिपत्य जमाइसकेका आधा दर्जन राजनीतिक पार्टीका करिब २५/३० लाख कार्यकर्ताले मुलुकको राजनीतिक शक्ति कब्जा गरिसकेको हुँदा बाँकी ‘असंलग्न’ जनताले ‘सडक शक्ति’ देखाउन असम्भव नभएपनि अति मुस्किल छ । राजनीतिक पार्टीहरुको ती २५/३० लाख कार्यकर्तामा ‘राजा–हिन्दुवादी’हरुको उपस्थिति नगन्य रुपमा भएको कारणले राजा–हिन्दुवादीहरुको समुहले राज्यसत्तामा हाबी हुन खोजेकै हो भने पनि उनीहरुले ‘भेडा जुधाइ’मा जित्ने असम्भव छ । अरु दुई शक्ति– पौने तीन करोड ‘असंलग्न’ जनताको शक्ति र सैनिक शक्ति– दुईमध्ये एक वा दुवैको सक्रिय सहभागिताबाहेक अन्य कुनै उपायबाट उनीहरु सत्तामा आउन सक्तैन । राजा–हिन्दुवादीहरुले कुशासन र भ्रष्टाचारको मुद्दालाई मात्र उचालेर ‘असंलग्न’ जनताको मन जितेर त्यस शक्ति प्रयोग गरेर वर्तमान पार्टी–पार्टी र नेता–नेताबीचको शक्तिसंघर्षभित्र पसेर ‘भेडा जुधाइ’मा जित्न सक्छ भनेर कल्पना नै नगरे हुन्छ ।
मुलुकभित्रको शक्तिहरुबाहेक राजनीतिक परिवर्तनहरुमा बाह्यशक्तिको पनि ठूलो हात हुनसक्ने नेपालको इतिहासले मात्र होइन विश्वको इतिहासले पनि पुष्टि भइसकेको तथ्य हो । नेपालमा पहिले भएका हरेक ‘ऐतिहासिक’ परिवर्तनहरुमा छिमेकी मुलुक भारतको भूमिका भए पनि त्यत्तिको चर्चामा आएको थिएन । तर, बाह्रबुँदे सहमति नेपालभित्रको कुनै सहर वा गाउँमा नगरीकन दिल्लीमा गर्नेजस्तो ‘मुर्ख काम’ नेताहरुले गरेको कारण नेपालभित्रको शक्तिसंघर्षमा भारतलगायतको बाह्य शक्ति पनि सधैँ हाबी हुने गरेको जनताको माझमा छताछुल्ल भइसकेका छन् । नेताहरुले जुनसुकै तर्क लगाएर यो ‘मु्र्ख काम’ गर्नुपरेको स्पष्टीकरण दिए पनि जतिसुकै चिच्च्याए पनि यो छताछुल्ल भइसकेको दुष्कर्म पखाल्न सक्दैन ।
अतः बाह्य शक्तिले पनि नेपालभित्रको शक्तिसंघर्षमा खासै चासो नदेखाएको अहिलेको परिवेशमा र मुलुकभित्रको ‘असंलग्न’ जनता र ब्यारेकभित्रको सेना पनि सत्तासंघर्षमा भाग लिन नचाहेको वर्तमान परिस्थितिमा आधा दर्जनजतिको राजनीतिक पार्टीका नेता र २५/३० लाख कार्यकर्ताबीच मात्र ‘भेडाको टाउको जुधाइ’ भइरहने देखिन्छ र बाँकी पौने तीन करोड ‘असंलग्न’ जनता प्लेटोको कथनअनुसार नागरिक समाजका बुद्धिजीवी र सधैँ मिडियामा देखा परिरहेका विश्लेषकहरु तथा ‘असंलग्न’ जनताको माझमा भएका सक्षम र उत्कृष्ट व्यक्तिहरुभन्दा ‘निम्नस्तरको’ नेताहरुबाट शासित भएर बस्न बाध्य हुने देखिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सूचना आयोगको वार्षिकप्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस
- परराष्ट्रमन्त्री डा. आरजु राणा चीन प्रस्थान
- टीभीएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक
- माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
- एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार दिने
- द क्लिफ बन्यो उत्कृष्ट करदाता
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया