बहुउपयोगी जडीबुटी : तेजपात
काठमाडौं । नेपाल प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरुमध्ये वनजंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीको लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट अद्वितीय उपहार हो ।
अपार सम्भावना बोकेको महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन् । वर्षेनी अर्बौँ धनराशीको विभिन्न गैरकाष्ठ वन पैदावारहरु विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरुको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठवन पैदावारको संकलन तथा बिक्रीवितरणबाट अर्बौँ धनराशी वर्षेनी भित्रिने गरेको छ ।
यार्सागुम्बा लगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्रीवितरणबाट दार्चुला, जुम्ला तथा डोल्पाजस्ता जिल्लाहरुमा करोडौं रुपैयाँ वर्षेनी जिल्ला भित्रिने गर्दछ । यसैगरी मध्यपहाडका विभिन्न जिल्लाहरुबाट पनि लाखौँ, करोडौँ मूल्यबराबरको जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विदेश निकासी भएर गइरहेको पाइन्छ । यसै सिलसिलामा आजभोलि जुनसुकै पत्रिकामा पनि कोरोना महामारी, विपद् र राजनीतिक विकृति आदि आदि आलेख देखिन्छ । अतः यस लेखमा बेग्लै खालको बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार ‘तेजपात’सम्बन्धी चर्चा गर्ने जमर्काे गरिएको छ ।
तेजपातको स्थानीय नाम तेजपात, सिनकौली, सिन्काउली, नेपाली दाल चिनी हो । यसको अंग्रेजी नाम सिनामन र वैज्ञानिक नामसिनामोमस् तमाला हो । लउरेसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पतिको उचाइ औसत १५ मिटरसम्म हुने एक सदावहार झ्याम्म परेको रुख हो । यो रुखको पातलाई तेजपात भनिन्छ र बोक्रालाई दालचिनी भन्ने चलन छ । यसका पात भालाकार १० देखि १४ सेन्टिमिटरसम्म लम्बाइ भएका, रौं नभएका र माथिल्लो सतह चिल्लो, चम्किने र तल्लो सतह फुस्रो हुन्छ । यसको पातमा तलबाट माथिसम्म करिब–करिब समानान्तर रुपमा नसा फैलिएका हुन्छन् ।
सामान्यतया चैत्र–वैशाखमा फुल्ने यस प्रजातिका फूलहरु मसिना करिब ६–७ मिलिलिटर व्यास भएका हल्का पहेँलो रंगका हुन्छन् । यसको फल अण्डाकार, एउटा मात्र बीउ भएको, गाढा बैजनी रंगको १.५ देखि ३ सेन्टिमिटरसम्म लम्बाइ भएको हुन्छ । यो समुद्री सतहबाट ४०० मिटरदेखि २००० मिटरसम्म उचाइमा पाइन्छ । यो पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म पाइने भए पनि पश्चिम नेपालमा बढी मात्रामा पाइन्छ । धेरैजसो यसका पातहरु मसलाको रुपमा सोझै प्रयोग हुन्छ । यसका पातहरुमा सुगन्धित तेल पाइन्छ भने बोक्राहरु नेपाली दालचिनीको रुपमा निकासी हुने गरेको पाइन्छ ।
नेपालको महाभारत पर्वतीय क्षेत्रमा उत्तरी तथा पश्चिम मोहोडा र चिस्यान बढी भएको जंगलमा यो राम्ररी सप्रिन्छ । यो धेरैजसो उपोष्ण हावापानीमा पाइन्छ । साथै तेजपात १५ सय मिटर उचाइसम्म ह्युमसयुक्त कालो माटो भएको ठाउँमा बढी फस्टाउँछ । यो चिलाउने, च्युरी, चुत्रो तथा खोटेसल्लो भएको वनमा मिसिएर रहेको हुन्छ ।
तेजपात मसलाको रुपमा बढ्दो बजारका कारण पहिले–पहिले जंगलबाट संकलन गरेर मात्र पठाउने प्रचलन रहे पनि हाल आएर यसको खेती बढ्दै गएको छ । पाल्पा र उदयपुर लगायत नेपालका अन्य विभिन्न जिल्लाहरुमा समेत व्यावसायिक खेती सुरु भएको पाइन्छ । मकवानपुर, सल्यान, रुकुम, रोल्पा, दैलेख, बैतडी आदि जिल्लाहरुमा निजी तथा सामुदायिक वनहरुमा समेत यसको खेतीगरिएको पाइन्छ ।
तेजपात प्रसारण नर्सरीमा २ प्रकारले गर्न सकिन्छ : बीउबाट र कलमिबाट । तेजपातमा फल र बीउहरु भाद्र–आश्विनमा पाक्ने भएकोले उक्त समयमा राम्रोसँग पाकेको बीउहरु संकलन गरी त्यसको गुदी हटाएर फाल्गुन–चैत्रमा नर्सरी ब्याडमा छरिन्छ । त्यस्तै कलमीको लागि सोझो चिल्लो रुख, झ्वाम्म पातले भरिएको, रोग नलागेको र राम्रो तेल प्रतिशत भएको रुखहरुको हाँगाबाट बिरुवा तयार गरिन्छ । यसरी बीउ तथा कटिङ्गबाट तयार पारिएका बिरुवाहरु १० देखि १२ महिनामा रोप्नलायक हुन्छन् । र यसलाई रोप्दा ५ देखि ५ मिटरसम्मको दूरीमा खाडल खनी त्यसमा मल र माटो मिसाएर बिरुवा रोप्नुपर्दछ ।
बिरुवा रोप्दा वर्षात् तथा आषाढ–श्रावणमा रोप्नु उपयुक्त हुन्छ । यसका पात तथा काण्डहरुमा विभिन्न रोग तथा किराहरु लाग्ने भएकोले आवश्यकताअनुसार यस्ता किरा तथा रोग निवारण गर्नको लागि विभिन्न जैविक किटनाशक औषधि प्रयोग गर्न सकिन्छ । रोगहरुमा, यसको पातमा साना खैरा दाग देखिन्छन् र पछि ती दागहरु क्रमशः बढ्दै गई पूरै पात सुकेर जान्छ । यो सुक्ने रोग काण्डमा पनि फैलिएर जान्छ र फलस्वरुप बिरुवा नै मरेर जानसक्छ । त्यस्तै तेजपातको काण्डमा प्वाल पार्ने किराको प्रकोप पनि बढेको पाइन्छ । यसले काण्डमा प्वाल पार्ने गर्दछ र प्वाल पारेको काण्डको फेदमा रातो रंगको काठको धूलो थुप्रिएको देखिन्छ । यसको रोकथामको लागि काण्डमा जमिनबाट ५ फिटसम्म चुन वा बोर्डक्सको मिक्स्चरले लिप्नुका साथै दुलो परेको काण्डमा मट्टितेल चोबेको कपास घुसाइदिनुपर्दछ ।
कलमीबाट रोपेको बिरुवाहरु ४ देखि ५ वर्षपछि बाली लिन उपयुक्त हुन्छ भने बीउबाट उमारिएको बिरुवाबाट ७ देखि ८ वर्षपछि मात्र बाली लिन सकिन्छ । तेजपातको पातहरुबाट वर्षको एक पटक मात्र बाली संकलन गर्न सकिन्छ । तेजपातको आयु ७० देखि ८० वर्षसम्म हुने भएकोले यसबाट निरन्तर बाली संकलन गर्न सकिन्छ । तेजपातको पात वा यसको बोक्रा संकलन गर्दा सुख्खा महिनाजस्तै आश्विनदेखि वैशाखभित्र गर्दा उपयुक्त हुन्छ । यसको पात संकलन गर्दा रुखका मसिना हाँगाहरु भाँचेर संकलन गरिन्छ । यसको पात संकलन गर्दा पूरै रुख नाङ्गो हुने गरी संकलन गर्नुहुँदैन । संकलन गरिएका मसिना डाँठसहितका पातहरु ३ देखि ४ दिनसम्म घाममा सुकाई साना साना मुठ्ठा बनाई राख्नुपर्दछ । र सुकेपछि जुटका बोरामा हाली ओभानो ठाउँमा भण्डारण गर्नुपर्दछ । तेजपातको ५ देखि १० वर्षका रुखहरुबाट १०० किलोग्रामसम्म, १० देखि १५ वर्षका रुखहरुबाट १०० देखि २०० किलोग्रामसम्म र सोभन्दा माथि उमेरका रुखहरुबाट २०० देखि २५० किलोग्रामसम्म पात प्राप्त हुने गर्दछ । साथै बिरुवा लगाएको ५ देखि ७ वर्षपछि तेजपातबाट बोक्रा संकलन गर्न सकिन्छ । सामान्यतया फाल्गुण–चैत्रमा बोक्रा संकलन गर्नु उपयुुक्त हुन्छ ।
तेजपातमा उपयोग हुने भनेको बोक्रा र पात हो । व्यापारिक प्रयोजनको लागि गैरकाष्ठ वन पैदावारमा तेजपातले एउटा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । यसको पात पेटको दुःखाइ निको पार्ने औषधिको प्रयोग गरिन्छ भने बोक्रा वान्ता रोक्ने, पेटसम्बन्धी रोगको उपचार गर्न, झाडापखाला रोक्न तथा उत्तेजना बढाउनेखालका औषधि बनाउनमा प्रयोग गरिन्छ । त्यस्तै यसको तेल हाडजोर्नी, टाउको तथा दाँत दुःखेको कम गर्न समेत प्रयोग गरिन्छ । व्यापारिक रुपमा नेपालबाट पात र बोक्रा सोझै अन्य देश पठाइने गरिएको छ जसमा ९० प्रतिशतभन्दा बढी भारतमा निकासी हुन्छ ।
निष्कर्षमा नेपाल वन र वनस्पतिको दृष्टिकोणले अत्यन्त महत्वपूर्ण छ । यहाँ पाइने करिब सात सय प्रजातिको गैरकाष्ठ वन पैदावार तथा जडीबुटीबाट पर्याप्त आम्दानी तथा लाभ लिनसक्ने सम्भावनाका बाबजुद राष्ट्र तथा स्थानीय स्तरमा उल्लेखनीय रुपमा यसको लाभ लिनसकेको छैन । उपलब्ध गैरकाष्ठ वन पैदावारहरुलाई वैज्ञानिक अध्ययन, दिगो व्यवस्थापन, व्यावसायिक खेती, मूल्यअभिवृद्धि तथा बजार प्रवर्द्धनद्वारा स्थानीय समुदायको आयस्तामा वृद्धि, रोजगारी सृजना र गरिबी न्यूनीकरणका लागि एउटा भर पर्दाे आधार बनाउन सकिन्छ । यसका लागि सम्बन्धित निकाय सदा क्रियाशील र समर्पित रहनुपर्दछ । अतः तेजपात मसला र विभिन्न आयुर्वेदिक औषधिहरु बनाउन प्रयोग हुने भएकोले यसको माग नेपाल, भारत तथा विश्वभर बढ्दो छ र नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा हाम्रो देशमा तेजपातखेतीको प्रचुर सम्भावना रहेको छ ।
तेजपातखेतीको यस सम्भावनालाई योजनाबद्ध तरिकाबाट तिनै तहको सरकारले व्यावसायिक रुपमा विकास गरी नेपालमा रहेका विभिन्न आयुर्वेदिक औषधालय तथा मसला बनाउने कम्पनीहरुमा यसको मागलाई पूर्ति गर्नसके देशमै रोजगारीको सृजना गरी देश आर्थिक चलायमान बनाउन सकिने थियो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया