Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबाहुन, क्षेत्री खस आर्य–१२

बाहुन, क्षेत्री खस आर्य–१२


काठमाडौं । केही थरहरुको उत्पत्ति थपलिया : थपलिया कुमाई ब्राह्मण हुने गर्छन् । कुमाउँ खण्डमा थापलिया समेत भनिन्छ र थापलयालबाट थापलिया भएको हो । थापलयालहरुको आदि स्थान थापली ग्राम होव र थापलयाल पहिलेका गौड ब्राह्मणका सन्तति हुन् ।

रजौरिया : पश्चिम दाङ जिल्ला भित्री मधेसमा कर्णाली क्षेत्रबाट झरेर आई बसोबास गर्न थालेका खस आर्य बाहुनका थरहरुमा रजौरिया पनि एक हो । दाङ उपत्यकाको रजौरा गाउँका बासिन्दा बाहुन रजैरिया कहलिएका हुन् ।

मझगैँया : माझ गाउँका नामबाट मजगैयाँ थर बन्न गएको हो । यस्तै स्थान वा ग्रामका नामबाट बन्न गएका केही थरहरु :
राँचु गाउँबाट रुचाल बन्न गए भने गेला गाउँका नामबाट गेलाल थर बन्न गएको हो । बन्जाडा गाउँबाट बञ्जाडे थर बन्न गयो यो कालिकोट जिल्लामा पर्छ भने कालिकोट जिल्लाकै भर्ता गाउँका नामबाट भर्ताल थर रहन गएको हो ।

यस्तै दैलेख जिल्लाको गुरगाउँमा बस्ने बाहुन गुरागाईं कहलिए । यस्तै बझाङ जिल्लाको खार भन्ने गाउँका नामबाट खरेल तथा खराल थर रहन गयो । खरेल कुमाई बाहुन हुने गर्छन् । यस्तै दैलेख जिल्लाको बड गाउँबाट बडाल, मोडासैनबाट मरासैनी, दैलेखकै लुयाटी गाउँका नामबाट लुइँटेल, गैह्राका गै¥हे वा गैरे, दैलेख मोडासैनमा घर बनाई बसेका बाहुन मरासैनी कहलिन थाले ।

सैनिक दर्जाबाट बनेका खस आर्य तागाधारी क्षेत्रीहरुका केही थरहरुका उदाहरण :
कार्की : कर अधिकृत राजाका सैनिक अधिकारी
भण्डारी : राज्यकोष वा राज भण्डारका अधिकारी
थापा : सैनिकका उच्च अधिकारी
खड्गा : सैनिक दर्जा
राना : सैनिक दर्जा
बुढा : सैनिक दर्जा
बुढाथोकी : सैनिक दर्जा
महतारा : ग्राम प्रमुख
बाहुन क्षेत्रीहरुझैं खस आर्य वर्गमा दलित जातिहरु पनि पर्छन् । यी दलित वा श्रमजीवी जाति भनी पहिलाका समयहरुमा वर्गीकृत जातिलाई बाहुन तथा क्षेत्रीहरुले सानो जात भनी आफूहरुलाई ठूला जातका भनेर भन्ने गर्थे । ती सिल्पकार, परिश्रमी जातिहरु विना कुनै पनि समाजको निर्माण तथा सामाजिक तथा अन्य कार्य सम्भव नहुँदा नहुँदै पनि हिन्दु वर्ण व्यवस्थामा आबद्ध भएका टाढा बाठा खसहरुले आफ्ना कामहरु गराउन अर्थात् जुत्ता सिलाउन सार्की, खनिज पदार्थ, फलाम, विभिन्न हातहतियार, कैयौँ उपकरण आदिको वैज्ञानिक रुपमा निर्माण गर्न कामी जातिलाई श्रमिक जाति भनी पानि नचल्ने जातिका रुपमा हेर्न थाले ।

यस्तै गरी लुगा, कपडा सिउने जाति दमाई, सुनको कार्य गर्ने सुनार भनि वर्गीकृत गरी हिन्दु वर्ण व्यवस्थाको एउटा ठूलो विकृति जाति प्रथालाई आफ्नो समाजमा लागू गरे । यति भए पनि ती तल्ला जातिका भनी वर्गीकृत जातिभन्दा एक तह माथि जाति अर्थात् ब्राह्मण, क्षेत्रीय, वैश्य, शुद्र चार जातमध्ये वैश्य जातिको अस्तित्व भने विनमय र व्यापारको कमीका कारणले बिस्तारै बिस्तारै समाप्त भएर गयो । मैदानी भू–भागहरुबाट ब्राह्मण क्षेत्रीहरुसँगै आएका वैश्य जातिहरु पनि क्षेत्रीय तथा शुद्र जातिमा मिसिन पुगे । बनियाँको कार्य गर्ने जाति बानियाँ थर लेख्दै अद्यपि क्षेत्री जातिमा रहेका छन् ।

यस्तै हिन्दु वर्ण व्यवस्थामा आबद्ध हुँदै गएका खसहरु तथा मैदानी भू–भागहरुबाट पहाड छिरेका बौद्धिक आर्य ब्राह्मणहरुको धर्मलाई मानेता पनि हिन्दु धर्म संहिताअनुरुप नचलेका अर्थात् वर्तबन्ध, जनै धारण, मांस–मदिरा परित्याग नगरेका वा गर्न नचाहेका खसहरु पावई खस वा मतवाली खस क्षेत्री भनि पश्चिम नेपालका र कर्णाली क्षेत्र तथा सुदूरपश्चिम नेपालका भू–भागहरुमा अझै छँदै छन् ।

यस्तै गरी ठकुरीहरु विशुद्ध खस आर्य क्षेत्री वा क्षत्रीय नभई विभिन्न स–साना राज्यहरुका शासक, राजा, प्रशासक वा उनीहरुका नातागोताका वर्गलाई जनाउँछ । ती शासकहरुमा खस आर्य रगत भए पनि ती जाति नभई खस, आर्य, मगर, गुरुङ, भोटे मध्यहरुबाटका उच्च सामाजिक र राजनीतिक प्रतिष्ठा भएका शासक समूहहरुलाई जनाउँछ । कालान्तरमा ती ठकुरी जातिका रुपमा चिनिन पुगेका मात्र हुन् । यस्तै राणाकालमा राणाहरुले आफूलाई मन परेका मानिस र परिवारहरुलाई बर्तवंद्धादी गराई क्षेत्री, वा पाँडे आदि बनाएको वा भोटीनी, गुरुङनी आदिबाट जन्मेका सन्तान क्षेत्री बनाएको उदाहरणहरु प्रशस्त रहेका छन् ।

पुरानो समयदेखि पश्चिम नेपालमा रहेका ठकुरीहरुको विवाहको रीति खस आर्य बाहुन क्षेत्रीहरुका भन्दा बेग्लै प्रकारको हुनेगर्छ । परापूर्व कालदेखि धामीझाँक्रीमा विश्वास गरी धामीझाँक्री पूजा गर्दै आएका ती हिन्दु संहिताअनुसारकै नियमले बाहुन पुरोहितद्वारा मन्त्र पढेर विवाह गरे पनि तिनमा केही मौलिक चलनहरु भने देखिन्छन् । ती ठकुरीहरुले कुनै आफ्नै जातकी वा अन्य जातकी कन्या विवाह गर्न मन लागेमा वा कन्या मन परेमा केटीका बाबुलाई रुपियाँ पैसा गहना, गाई, भैंसी, घोडा, गोरु केही दिई केटी किनेर विवाह गर्ने चलन रहेको छ । सोही हुनाले मगर जातिमा ठकुरीले छोरी माग्न आएमा निसंकोच छोरी दिने चलन रहेको हामी पाउँछौँ । सुदूरपश्चिम नेपालका केही ठकुरी र क्षेत्रीहरुमा स्वास्नीले पकाएको भात खाने चलन छैन । यसको कारण बुझ्न खोज्दा उपयुक्त जवाफ नभेटिए पनि ती हिन्दु देवीदेवता मान्ने पूजापाठमा विश्वास गर्ने ठकुरीहरुले सुँगुर वा अन्य चिज छोएको जातकी कन्या विवाह गरी ल्याएकाले सो चलन बस्न गएको हो भनी बुझ्न सकिन्छ ।

पश्चिमतिरको केही समाजहरुमा ठकुरीसँग बिहेवारी गर्न भनी छोरी सानै छँदा ठेको खाएर केटालाई छोरी पछि दिने चलन समेत रहेको पाइन्छ । यस्तो गर्दा छोरीले अर्कै केटो मन पराएर घरजम गरी भने ठेकोबापतको रकम ठेको खाएको केटो पक्षलाई फिर्ता गर्ने गरिन्छ ।

नेपालमा दलितहरुले काजकिरिया गर्दा बाहुन पुरोहित चलाउँदैनन् । त्यसको बदलामा ज्वाइँ, छोरी, भान्जाभान्जी आदिलाई शुभ मानी पुज्दछन् । यस कार्यमा मन्त्रोच्चारण नगरी कर्मकाण्डहरुबारे मात्र जे–जे भन्छ सो–सो गर्ने गरिन्छ । यसको कारण शुद्रले मन्त्रोच्चारण गर्नु पाप हो भन्ने ब्राह्मणवादी नियमले गर्दा भएको हो ।

नेपालमा केही दलित जातिहरुबीच पनि विभिन्न उपजाति वा समूहहरु भेटिने गरिन्छ । ठाउँको नामबाट थर बन्न गएकाले घिमिरे, कोइरालाजस्ता थरहरु दलित कामीजातिमा पनि भेटिने गर्छ । विशेषतह कामीहरुमा सिनचोव्रmे, लाङमोटे, लामा कामी, बाँध, घर्ती, गढेल परेट आदिजस्ता उपजातिहरु भेटिने गर्छन् ।

यस्तै खस आर्य वर्गका तर ब्राह्मण क्षेत्रीभन्दा तलका जात भनिँदै सुनार, लुवार, विक, कामी, सार्की आदि हुन् । आजको सुसंस्कृत एवं शिक्षा र चेतनाको धेरै प्रचार भइसकेको युगमा समेत यी जातिहरुलाई इनार वा कुँवा छोएकै निहुँमा निर्घात कुटपिट गरिने, ज्यानसम्मै लिने, गाउँनिकाला गरिनेजस्ता अमानवीय र गैरकानुनी घटनाहरु प्रशस्त सुनिनमा आउँछ ।

विभेदपूर्ण सामाजिक कुसंस्कारका कारणले नेपालका दलित जातिहरु ठाउँ सर्दै गएपश्चात् आफ्ना थर र जात लुकाई बाहुन क्षेत्रीका थर राखी बाहुन क्षेत्री समाजमा समेत यदाकदा मिसिन पुगेका छन् भने तल्लो जातिमा गनिएकै कारण धेरै मानिस धर्म परिवर्तन गरी क्रिश्चियन समेत हुन थालेका छन् ।

सार्की जाति : खस आर्य समूहको भए पनि सार्की बाहुन र क्षेत्रीबाहेकका वा बाहुन क्षेत्रीले तल्लो जाति मानी आएका जाति सार्की जाति हुन् । छालाको विभिन्न कार्य र जुत्ता बनाउने सिउने पुर्ख्यौली पेसा अँगाल्दै आएका सार्की जाति हुम्ला जिल्लाका गाउँ बस्तीहरुमा निकै संख्यामा भेटिने गर्छन् । सहरबजार पसेका सार्कीहरुको जीवनस्तर केही सुदृढ देखिए पनि सुदूरपश्चिम हुम्ला जिल्लाका बस्तीहरुका सार्कीको जीवन दयनीय देखिन्छ । त्यताका सार्कीहरु गाउँठाउँका साहु माहाजन, स्थानीय केही धन सम्पत्ति भएका अन्य जातिहरुमा आश्रित रहेको हामी पाउँछौँ । छालाको काम गरिदिएबापत ‘बयो’ भनेर ज्यालालिने गरेका वा अन्तपात वाअन्य सरसमान लिई जीविकोपार्जन गर्ने गरेका सार्कीहरुले छोएको बाहुन, क्षेत्री, ठकुरी आदि ठूला जात भनिनेहरुले खानेकुरा खाने गर्दैनन् । सदियौँदेखि छुवाछुत वा छोइछिटोको सिकार भई आएका यी जातिले छोएमा पानीको छिटो हालेर समेत खाने चलन रहेका हामी पाउँछौँ। हाल आएर केही शिक्षित र चेतनशील वर्गले भने छोइछिटोको चलनमा बिस्तारै कमी ल्याई नमान्दै आएको हामी पाउँछौँ ।

सार्कीहरुका चाडपर्व बाहुन क्षेत्रीकाझैँ हिन्दु चाडहरुजस्तै दशैँ, तिहार, माघे संक्रान्तिलगायत भूओ भैलो तिहार, पिठालजस्ता चाडबाडहरु धुमधामका साथ मनाउने गर्छन् । सार्कीहरु लामो समय ठकुरीहरुका छेउछाउका बस्तीहरुमा बस्दै आएकाले आफूहरुले मान्ने सबैभन्दा ठूला मान्यजनका रुपमावा कुनै विशिष्ठ समुदायका रुपमा कल्यालवंशी ठकुरीहरुलाई मान्दै आइरहेको हामी पाउँछौँ ।

सार्कीहरुको गोत्र कौशिला गोत्र हो र विहेवारीका सम्बन्धमा अन्य थरका दलित जातिहरुसँग थर गोत्रका आधारमा अर्थात् जाण लुवार, विश्या लुवार, गोठ्या म्याल, कुलस्व, सार्की लावण र दमाई आदिसँग विहेवारी चल्ने गर्छ ।

सार्कीहरुका देवता हिन्दु देवीदेवताहरु नै भए पनि मरट्रा, कुतिल्सा र मैरम भन्ने देवताको समेत पूजाआजा गर्ने गर्छन् । बाहुन क्षेत्रीहरुबाट सार्कीहरुमा छुवाछुत भएझैँ दलित–दलितका बीच पनि छुवाछुतको चलन रहेको हामी पाउँछौँ । दमाई र लावणले छोएको खण्डमा पानीले छिटो हानी छोइछिटो गरी खाने चलन समेत सार्की जातिमा हामी भेट्छौँ । यसैरी अन्य दलित जातिहरुबीच पनि छुवाछुतको प्रथा रहेको देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x