Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘पोखरा–काठमाडौँको सडक यात्रा दुई घण्टाको बनाउने योजना छ’

‘पोखरा–काठमाडौँको सडक यात्रा दुई घण्टाको बनाउने योजना छ’


काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना रहेको बताएका छन् । यसको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

‘पोखरा काठमाडौंलाई दुई घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङमार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘पोखरा–काठमाडौं सडकमार्गलाई अन्तर्राष्ट्रियस्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना छ ।’ त्यस्तै उनले सरकारले सडकको नक्साङ्कन गर्ने कार्यक्रम ल्याएको बताए । उनका अनुसार अन्तर्राष्ट्रियस्तरका सडकहरु बनाउनको लागि नक्साङ्कन गर्ने योजना बनाइएको हो ।

संघीय सरकारले गनुपर्ने, प्रदेश सरकारले गर्नुपर्ने र स्थानीय तहले बनाउनुपर्ने सडकहरुको नक्साङ्कन गर्न लागिएको छ । यसैगरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नेगरी काम अघि बढाइने समेत उनले बताए । पोखराको भौतिक पूर्वाधारको विकासको आवश्यकता, चक्रपथ निर्माणलगायतको विषयमा संघीय सरकार सकारात्मक रहेको उनको भनाइ थियो । यस्तै उनले सार्वजनिक खरिद ऐन संशोधनको तयारी भइरहेको पनि जानकारी दिए । निर्माण कार्यमैत्री वातावरण निर्माण गर्ने गरी ऐन संशोधनको गृहकार्य भइरहेको उनको भनाइ छ ।

कार्यक्रममा उनले हाल दुई हजार मेगावाट मात्र विद्युत् हुँदा पनि पाँच सय मेगावाट खेर जाने अवस्था रहेको बताए । १० हजार मेगावाट विद्युत् नेपालमै खर्च गर्ने योजना चाहिने भन्दै उनले आफूले प्रतिस्थापन विधेयकमार्फत् स्वदेशमै विद्युत् खपत गर्ने उद्योगहरु स्थापना गर्नेगरी नीति ल्याएको समेत बताए । नेपालमा फलाम उद्योगहरु १५–१८ वटा चल्न सक्ने अवस्था रहेको उनको भनाइ थियो । धौवाडीलगायतका फलामखानीहरु सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । देश निर्माणको लागि उत्पादनमूलक अर्थतन्त्र निर्माण गर्न आवश्यक रहेको भन्दै उनले उद्योग खोल्दा उद्योगीहरुलाई दिनुपर्ने सुविधा दिन सरकार तत्पर रहेको समेत बताए । ‘कर छुट, भन्सार छुट, विद्युत्मा छुट आदिको व्यवस्था गर्न सरकार तयार छ’, उनले भने ।

कार्यक्रममा उद्योगी व्यवसायीहरुले कोभिड–१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्नेगरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको ब्याजदर घटाउपनुपर्ने, पोखरा विमानस्थल निर्माणकार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्नेलगायतका मागहरु राखेका थिए । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x