Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुमारी बैंकलाई बैंकिङ कसुरमा कारबाही हुने संकेत

कुमारी बैंकलाई बैंकिङ कसुरमा कारबाही हुने संकेत


काठमाडौँ । गायक योगेश्वर अमात्यको नाउँमा रहेको जग्गाको नक्कली लालपुर्जा बनाएर कुमारी बैंकबाट प्रवाह भएको १९ करोड रुपैयाँ कर्जाको प्रकरणमा लोन सेटल हुुनु र नहुनुले अर्थ नराख्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन् । बैंकिङ कसुरसम्बन्धी मुद्दाको प्रक्रिया लामो हुुने र कुमारी बैंकमा गायक योगेश्वर अमात्यको नाउँमा नक्कली पुर्जा बनाएर प्रवाह भएको कर्जाको हकमा अहिलेसम्म बैंकिङ कसुरसम्बन्धी कुुनै पनि मुद्दा नलागेको पनि प्रवक्ता ढकालले प्रस्ट पारेका छन् ।

‘लिखत कसुरसम्बन्धी मुुद्दामा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेको जानकारी हामीले पाएका छौँ’, उनले भने, ‘बैंकले पनि उक्त लोन सेटल भइसकेको जानकारी हामीलाई दिएको छ, राष्ट्र बैंकले पनि यसको बारेमा आफ्नो किसिमले अनुसन्धान गरिरहेको छ ।’ तर लोन सेटल भएकै आधारमा कुमारी बैंकको उक्त कर्जा प्रकरणमा बैंकिङ कसुर नै नलाग्ने भन्ने नहुने उनले बताए । अनुसन्धान गर्दै जाँदा बैंकिङ कसुर लाग्न पनि सक्ने प्रवक्ता ढकालको भनाइ छ ।

सोही विषयमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले सो प्रकरणमा हालसम्म पक्राउ परेका चार जना प्रतिवादीहरुलाई लिखत कसुरसम्बन्धी मुद्दाअन्तर्गत रहेर अनुसन्धान गरिरहेको बताए । ‘उक्त प्रकरणमा बैंकिङ कसुरसम्बन्धी मुद्दा आकर्षित हुन्छ, हुँुदैन, त्यो अनुसन्धानले नै बताउला ।

तर जहाँ लोन नै सेटल भइसक्यो भन्ने कुरा बैंकबाट आएको छ, यदि त्यो हो भने बैंकिङ कसुरसम्बन्धी मुद्दा आकर्षित नहुन पनि सक्छ’, प्रवक्ता प्रहरी उपरीक्षक महतोले भने । उक्त कर्जा प्रकरणमा पक्राउ परेका सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश चौरसिया, नक्कली जग्गाधनी बन्ने एस.के महर्जन र मुक्तिलाल गौतम अनुसन्धानको क्रममा हिरासतमा छन् । सीआईबीले अनुसन्धानका लागि बैंकका केही कर्मचारीहरुलाई बोलाएर सोध्न सक्ने उनले बताए । ‘सोधेको पनि छ, तर त्यसरी सोध्दैमा उक्त व्यक्ति उक्त कर्जा प्रकरणमा प्रतिवादी नै भइहाल्ने होइन’, प्रवक्ता महतोले भने, ‘बैंकमा कर्जा लिन र दिन लामो प्रक्रिया हुन्छ ।

यसको लागि विभाग नै छुट्टै हुुन्छ । फिल्डमा खटिने व्यक्ति छुट्टै हुन्छ । सबै तहबाट ठीक छ भनेर आएपछि मात्र कर्जाको लागि सीईओले अनुुमति दिने हो, सीईओ आफैँ फिल्ड हेर्न जाने होइन, त्यसकारण कर्जामा सीईओकै बदनियत देखियो, सीईओलाई पनि बयानको लागि बोलाइयो भन्ने भ्रम छ, त्यस्तो होइन ।’

यसअघि झण्डै दुई साताअघि गायक योगेश्वर अमात्यको नाउँको जग्गाको नक्कली लालपुर्जा बनाएर कर्जा लिएको आधारमा सीआईबीले चार जनालाई पक्राउ गरेको थियो । मुक्तिनाथ गौतम र एसकुमार महर्जनको संलग्नता कुमारी बैंकबाट गायक अमात्यको नाउँमा नक्कली जग्गाधनी पुर्जा बनाएर कर्जा प्रवाह भएको पाइएपछि सीआईबीले गौतम र महर्जनसहित चार जनालाई पक्राउ गरेको थियो । बेनियल टे«डिङ कम्पनी कोटेश्वका सञ्चालक समेत रहेका गौतम र महर्जनले गायक अमात्य र उनकी श्रीमतीको नाउँमा बारामा रहेको १२ बिघा जग्गा धितो राखेर कुमारी बैंकको केन्द्रीय कार्यालय, काठमाडौंको न्युरोड शाखा र कुमारी बैंकको पर्सा शाखा समेतको समन्वयमा कुमारी बैंककै न्युरोड शाखाबाट १९ करोड रुपैयाँ कर्जा लिएका थिए ।

यसरी आफ्नो नाउँमा दोस्रो व्यक्तिले नक्कली लालपुर्जा बनाएर कर्जा लिएको जानकारी पाएपछि गायक अमात्यले दोषीलाई पक्राउ गरी आफ्नो सम्पत्ति सुरक्षितरुपमा फिर्ता गरिपाऊँ भन्दै दशैँअघि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी दर्ता गराएका थिए । सोही उजुरीका आधारमा सीआईबीले सरकारी लिखत कीर्तेसम्बन्धी कसुरमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, धितो मूल्यांकनकर्ता राजेश चौरसिया, नक्कली जग्गाधनी बन्ने एस.के महर्जन र मुक्तिलाल गौतमलाई पक्राउ गरेको थियो ।

कुमारी बैंकको उक्त कर्जा प्रकरण अहिले अनुसन्धानकै चरणमा रहेकाले यसमा कसको कसको संलग्नता रहेको छ भन्ने तथ्य खुल्न बाँकी नै रहेको सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिए । अहिलेसम्म अनुसन्धान गर्दा यो प्रकरणमा कुमारी बैंकको पर्सा शाखामा कार्यरत दुई जनाको कर्मचारीहरुको संलग्नता देखिएको र अनुसन्धान चल्दै जाँदा यसमा अन्य व्यक्तिहरुको पनि संलग्नता देखिन सक्ने उनले बताए । यो कर्जाको विषयमा कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले भने यो कर्जा प्रकरण झण्डै पाँच महिनाअघिको भएको र यो कर्जा अहिले मिलिसकेको बताएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x