Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयअदालती भ्रष्टाचारको छानबिन होस्

अदालती भ्रष्टाचारको छानबिन होस्


काठमाडौं । देशको संविधान र नागरिकको मौलिक हकको प्रतिरक्षा गर्ने निकाय अदालत भ्रष्टाचारको अखडा रहेछ भन्ने जानकारी आम तहसम्म नै पुग्यो यो कात्तिक महिनाभरिमा । यसमा अझ आपत्तिको विषय हो त्यसलाई रोक्ने वा त्यस्तो जानकारी दिने ठाउँ र लिने नेतृत्व नै सबैभन्दा बढी भ्रष्टाचारी रहेछन् भन्ने पनि अब कतैबाट लुक्न गएको स्थिति रहेन । आरोप जसले लाओस्, उद्देश्य जे होस् कुराचाहिँ भ्रष्टाचारको हो जो सार्वजनिक भइसकेपछि त्यो त्यसै रहन हुँदैन । सार्वजनिक ठाउँमा जानकारहरूले बोलेका कुरा पनि भ्रष्टाचारका सूचना हुन् । यतिबेला अदालत परिसरबाटै र न्यायाधीश र प्रधानन्यायाधीशले नै न्याय किनबेच गरेको भन्ने आरोप लागिरहेको छ । प्रधानन्यायाधीशलाई त इजलास पनि नतोक्न भनिसकिएको अवस्था छ । वास्तवमा नै प्रधानन्यायाधीशले तोकेको इजलास न्यायाधीशबाटै निरन्तर बहिष्कारमा परिरहेका छन् । प्रधानन्यायाधीश आफ्नो कार्यकक्षमा जान पनि चोरबाटो प्रयोग गर्नु परेको छ । यो अवस्था कुनै पनि प्रकारले सामान्य होइन । यसको कारण अदालतमा रहेको भ्रष्टाचार नै हो ।

त्यसको उदाहरण हेर्न सर्वोच्चको परिसरमा लाग्ने गरेको नारा हेरे पुग्छ । त्यो नारा पनि कुनै एउटा पीडित सर्वसाधारणले नभएर अदालतकै एउटा अंग मानिने सर्वोच्च अदालत बारले सर्वोेच्चकै परिसरमा ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भनेर बितेको एक हप्तादेखि निरन्तर चर्काइरहेको छ । यो बेलासम्म बारको परिसरमा हुनेगरेको धर्ना २५ कात्तिकदेखि सर्वोच्च अदालत परिसरमा पुग्यो । त्यसमा ९५ वर्षीय वरिष्ठ अधिवक्ता समेत साक्षी बसिरहेका छन् । आफनो अनुभवमा सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीशलाई भ्रष्ट भन्दै नारा लगाएको यो पहिलो पटक सुनेको भन्दै उनले बताएका छन् ।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्षले नै न्यायपालिकालाई भ्रष्टाचारीहरूबाट बचाउनुपर्ने भन्दै ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे !’ भन्ने र सहभागीहरूले पनि त्यसलाई दोहो-याउँदै ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे ! राजीनामा दे !!’ भनिरहिएका छन् । त्यसमै जोडिँदै आउने गरको छ अर्को नारा– ‘बिचौलिया नाइके राजीनामा दे’ । सहभागी कानुन व्यवसायीहरूले पनि त्यसलाई दोहो¥याए ‘बिचौलिया नाइके राजीनामा दे ! राजीनामा दे !!’ बिचौलिया पनि अदालतको भ्रष्टाचारको एउटा अंग हो । प्रधानन्याधीशलाई उनकै कार्यकक्षको छेउबाट ‘भ्रष्ट’ ‘बिचौलियाका नाइके’ भनिसकेपछि त्यो न्यायालयमा भ्रष्टाचारको अवस्था कस्तो होला भनिरहनु पर्दैन । यस्तो आरोप पनि अदालतको एउटा अंगबाटै लाग्यो भने त्योजतिको प्रमाणयुक्त उजुरी अरु नहोला ।

सर्वोच्च अदालत भनेको समग्र देशकै न्यायक्षेत्रको प्रधान कार्यालय हो । त्यसको परिसरमा प्रधानन्यायाधीशमाथि नै ‘भ्रष्ट’ भनेर बताइएको अवस्थालाई नजरअन्दाज गरियो । यो एउटा विवरणले नै पनि धेरै कुरा खोल्छ यदि भ्रष्टाचारको छानबिन गर्ने हो भने । यदि यस्तो आरोप गलत साबित भयो भने आरोप लगाउनेहरू पनि दण्डित हुनुपर्छ । कुरा जे होस् यसको छानबिन आवश्यक छ । त्यस्तो भएन भने अदालतमा प्रवेश गरेको यो भ्रष्टाचारले संस्थागत आकार लिनेछ । यो काम राज्यका लागि पनि अपराध नै मानिन्छ । त्यस कारण पनि यसको छानबिन हुनुपर्छ भनिएको हो । छानबिन भयो भने झन् धेरै कुरा आउनेछन् । भ्रष्टाचार प्रकट हुनु पनि ठूलो कुरा हो । यही सर्वोच्चले गरेका कतिपय फैसलाहरूमा पनि भ्रष्टाचार देशका लागि सह्य हुँदैन भनी नजिर कायम भएका होलान् । सर्वोच्चले सुध्रिन पाएन भने त्यसको लहर देशैभरि पुग्छ । र सुध्रियो भने त्यसको पनि सन्देश जानेछ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x