विज्ञान, प्रविधि र पर्यावरण
काठमाडौं । हरेक वर्ष आश्विन महिनाको पहिलो दिन अर्थात् १ गते राष्ट्रिय विज्ञान दिवस विज्ञान प्रविधिसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी सप्ताहव्यापी रूपमै मनाउने गरिन्छ । यस वर्ष नवौँ राष्ट्रिय विज्ञान दिवसको नारा ‘विज्ञान तथा प्रविधिको उन्नत विकासः प्रकोप र महामारीबाट सहज निकास’ भन्ने रहेको छ ।
वास्तवमा पृथ्वीमा अवस्थित घाम, पानी, माटो, वायु, आकाशजस्ता पञ्चतत्वहरूको अन्योन्याश्रित अन्तरसम्बन्धबाट सिर्जित जीवानुकूल परिस्थिति नै प्रकृति हो । प्रकृति शान्त अनि सुरम्य हुन्छ र यो आफ्नो नियमित गतिमा चलिरहेको हुन्छ । प्रकृतिको यस नियमित प्रक्रियाका कारण नै पृथ्वी जीवअनुकूलको ग्रह बन्न पुगेको छ र हामी जीवित प्राणीको रूपमा रहन सकेका छौँ । तर प्रकृतिमा कहिलेकाहीँ विचलन आइदिनाले र कतिपय अवस्थामा मानवीय लापरबाहीकै कारणले गर्दा प्रकृतिले आफ्नो उग्ररूप देखाउन पुग्दछ । जसको प्रत्यक्ष उदाहरण बाढी, पहिरो, भू–क्षय, भूकम्प, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि आदिलाई लिन सकिन्छ । प्रकृतिले देखाउने यस्तो उग्र रूपलाई हामी प्राकृतिक प्रकोप पनि भन्ने गर्दछौं ।
मानिसहरूले प्राकृतिक सम्पदालाई आफ्नो स्वार्थअनुकूल प्रयोग गर्ने, रुख–बिरुवा जथाभाबी काट्ने र समग्र पर्यावरणीय सन्तुलनप्रति हेलचेक्रयाइँ गर्ने प्रवृत्तिले गर्दा विश्वमा अहिले विभिन्न प्राकृतिक प्रकोपसँगै वातावरणीय असन्तुलनको समस्या पनि बढ्दै गइरहेको देखिन्छ । अहिले विश्वमा मानिसको आँखाले देख्नै नसकिने अति नै सूक्ष्म जीवाणु कोरोना भाइरसले जुन महामारी र आतंक फैलाइरहेको छ त्यसको प्रमुख कारण पनि कुनै न कुनै रूपमा मानवीय लापरबाही नै रहेको देखिन्छ ।
नेपाल पनि एउटा प्राकृतिक प्रकोपबाट प्रभावित मुलुक हो । मानिसहरूले प्राकृतिक सम्पदाको ख्यालै नराखी जथाभाबी वन विनाश गरिदिनाले वातावरणीय असन्तुलन बढ्न गई यहाँ बाढी, पहिरो, भू–क्षय आदिजस्ता प्राकृतिक प्रकोपको समस्या देखा पर्नेगरेका छन् । खासगरी वर्षाको मौसम सुरु हुनेबित्तिकै बाढी, पहिरो र भू–क्षयजस्ता प्राकृतिक प्रकोपको समस्याले ताण्डव लिला मच्चाउने र यसबाट जनधनको ठूलो क्षति हुनेगरेको छ । यस वर्ष पनि विशेषगरी सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, लमजुङ अनि तुलनात्मक रूपमा कम वर्षा हुने मनाङ जिल्लामा समेत बाढी पहिरोले जनधनको ठूलो क्षति पु-याएको छ ।
वनजंगलको कुरा गर्दा हाम्रो मुलुकमा कतिपय कार्यहरूमा वन पैदावरकै प्रयोग गर्ने परिपाटी अझै पनि व्यापक रूपमा चलिरहेको छ । विश्व २१औँ शताब्दीमा प्रवेश गरिसक्दा पनि हाम्रो मुलुकमा अझै पनि झण्डै ८० प्रतिशत उर्जा वनजंगलमार्फत प्राप्त हुने काठ–दाउराबाट नै आपूर्ति भइरहेको छ । यसरी तीव्र गतिमा भइरहेको वनजंगल फँडानीकै कारण वातावरणीय असन्तुलन बढ्दै गइरहेको छ भने जुन अनुपातमा वनजंगल मासिंदै गइरहेको छ, सोहीअनुरूप वातावरणीय प्रदूषण पनि बढिरहेको छ । बाढी–पहिरो, भू–क्षय, अनियमित वर्षा र शीतलहरजस्ता प्राकृतिक प्रकोपहरू मूलतः वन फँडानीकै परिणाम हुन् ।
वातावरणविद्हरूका अनुसार कुनै पनि मुलुकमा वातावरणीय सन्तुलन कायम राख्न देशको कुल क्षेत्रफलमध्ये कम्तीमा पनि ४० प्रतिशत वनजंगलले ढाकेको हुनु पर्दछ । तर नेपालमा हाल ३० प्रतिशत जति मात्र वनजंगल बाँकी रहेको र त्यसमा पनि ह्रास आउने क्रम रोकिन सकेको छैन । त्यसमाथि अव्यवस्थित रूपमा भौतिक संरचनाहरू निर्माणका कारण भएका वन क्षेत्रहरू पनि क्रमिक रूपमा अतिक्रमित बन्दै गइरहेका छन् । जसले गर्दा वातावरणीय विनाश तीव्र गतिमा भइरहेको छ । यसरी बढ्दो वातावरणीय असन्तुलनले एकातिर जलवायु परिवर्तनको समस्या सिर्जना गरिरहेको छ भने अर्कोतिर जलवायु परिवर्तनकै कारण नेपालमा यसको प्रतिकूल असर पर्नगई देशको प्रमुख आयस्रोत मानिने कृषि उत्पादनमा समेत ह्रास आइरहेको छ । जसको परिणामस्वरूप केही दशकअघिसम्म खाद्यान्न निर्यात गर्ने मुलुक अहिले आएर खाद्य आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । नेपालले अहिले वर्षेनी ठूलो परिमाणमा मकै, गहुँ, पीठो, चामल आदिजस्ता खाद्य सामग्रीहरू भारतलगायत विभिन्न मुलुकहरूबाट आयात गरिरहेको छ ।
अर्कोतर्फ विश्वमा जनसंख्याको तीव्र वृद्धिका कारण पनि प्राकृतिक स्रोत साधनले थेग्नै नसक्ने गरी तिनको शोषण भइरहेको छ । जनसंख्याको तीव्र वृद्धिकै कारण अव्यवस्थित र द्रुत गतिमा भइरहेको सहरीकरण अनि उद्योगहरूद्वारा प्राकृतिक स्रोतहरूको अन्धाधुन्ध प्रयोगले गर्दा मानव स्वास्थ्य, वन, बालीनाली र पानीको स्रोतमा समेत क्रमिक रूपमा ह्रास आउन थालेको छ । देशकै एक मात्र महानगरपालिकाको रूपमा रहेको संघीय राजधानी काठमाडौं उपत्यकामा समेत अहिले विभिन्न नदीनालाबाट जथाभाबी बालुवा निकाल्ने र खानेपानी आपूर्तिका लागि भनी अनियन्त्रितरूपमा भूमिगत पानी निकाल्ने प्रवृत्तिले गर्दा सिंगो उपत्यका नै भास्सिने खतारा रहेको कुरा भूगर्वविद्हरूले बताइरहेका छन् ।
यसरी जनसंख्याको तीव्र वृद्धिदर एवं वनजंगलको फँडानी र यसबाट उत्पन्न जल प्रदूषण, स्थल प्रदूषण, वायु प्रदूषण, ध्वनि प्रदूषण आदि जुन गतिमा बढ्दै गइराखेको छ त्यसले गर्दा विशेषगरी नेपालजस्तो तेस्रो विश्वका मुलुकहरू वातावरणीय विनाशको समस्याबाट सबैभन्दा बढी ग्रसित हुन पुगेका छन् । त्यसैले वातावरणीय विनाशको यो समस्यालाई अरु जटिल हुन नदिन विभिन्न अल्प र दीर्घकालीन उपायहरूको अवलम्बन गर्नुपर्ने टड्कारो आवाश्यकता देखिएको छ । यसको लागि सर्वप्रथम त जनसंख्याको वृद्धि दरको व्यवस्थापन हुनुप-यो साथसाथै वनविनाशको रोकथाम, बढ्दो धुवायुुक्त सवारीसाधनहरूको नियन्त्रण र सो को ठाउँमा विद्युत् र ब्याट्रीद्वारा सञ्चालित सवारीसाधनहरूको प्रयोग, आधुनिक प्रविधियुक्त ट्राफिक व्यवस्थापन प्रणाली, औाद्योगिक प्रदूषण नियन्त्रण, नियमित एवं प्रभावकारी रूपमा वायुको गुणस्तर परीक्षण एवं वातावरणसम्बन्धी शिक्षा र जनचेतनाको विकासमा जोड दिनुपर्ने खाँचो देखिएको छ ।
समष्टिगत रूपमा भन्नुपर्दा वातावरणीय विनाशको यो संकटमय स्थिति निम्त्याउने कार्यमा हामी मानव जाति पनि बढी जिम्मेवार रहेको देखिन्छ । त्यसैले वातावरणीय विनाशलाई अरु जटिल बन्न नदिने प्रमुख अभिभारा पनि हामी मानवजातिकै हो । यसको लागि पृथ्वीमा विद्यमान प्राकृतिक सम्पदा र वनजंगलको संरक्षण–संवर्द्धन गर्नु हामी मानव जातिकै प्रमुख दायित्व र कर्तव्य हुन आउँछ । निश्चय पनि विज्ञान र प्रविधिको विकासमा यथेष्ट ध्यान पु-याउन सकिएको खण्डमा हाल नेपाललगायत विश्वभरि नै जटिलरूपमा देखा परिरहेको प्राकृतिक प्रकोप न्यूनीकरण र कोरोना महामारीको समस्याबाट सहज रूपमा निकास पाउन सक्ने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया