तीन महिनाको व्यापारघाटा चार खर्ब १३ अर्ब नाघ्यो
काठमाडौं । मुलुकको अर्थतन्त्र थप कमजोर बन्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार आयात र निर्यातबीचको असन्तुलन उच्चरुपमा बढ्दै गएको छ भने वैदेशिक रोजगारीबाट प्राप्त आय रेमिट्यान्स पनि कोभिड १९ कै कारण घट्दै गएको छ । सोही कारण विदेशी मुद्राको सञ्चिति तथा मुलुकको शोधनान्तर स्थिति पनि घटेको छ ।
अर्थतन्त्रका यी प्यारामिटरहरु घट्दै जानुले पनि मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको देखिएको हो । राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कुुल वस्तुु निर्यात एक सय नौ दशमलव पाँच प्रतिशतले बढेर ६५ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिमा १४ दशमलव तीन प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः एक सय ४७ दशमलव एक प्रतिशत, १९ दशमलव चार प्रतिशत र २७ दशमलव दुई प्रतिशतले बढेको थियो । यसरी निर्यात बढे पनि यस अवधिमा कुुल वस्तु आयात भने ६३ दशमलव सात प्रतिशतले बढेर चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १२ दशमलव सात प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४८ दशमलव चार प्रतिशत, ५५ दशमलव दुई प्रतिशत र एक सय २४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।
आयात बढेकै कारण चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा मुलुकको कुल वस्तु व्यापारघाटा ५८ दशमलव तीन प्रतिशतले बढेर चार खर्ब १३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव एक प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैकका अनुसार चालू आवको तीन महिनामा भारतबाट अमेरिकी डलर भुक्तानी गरी ५४ अर्ब १७ करोडबराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३३ अर्ब ९२ करोड रुपैयाँबराबरको भएको थियो ।
विदेशी मुद्राको सञ्चिति पाँच दशमलव सात प्रतिशतले घट्यो
विदेशी मुद्राको सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब दुई करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पाँच दशमलव सात प्रतिशतले घटेर २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा छ दशमलव पाँच प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा आठ प्रतिशतले कमी आई ११ खर्ब ४५ अर्ब २९ करोड कायम भएको छ ।
यस अवधिमा राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा एक खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ असोज मसान्तमा १२ दशमलव सात प्रतिशतले बढेर एक खर्ब ७४ अर्ब तीन करोड पुगेको छ । २०७८ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ दशमलव एक प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैकका अनुसार चालू आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति आठ महिना छ दिनको वस्तु आयात र सात महिना आठ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।
चालू खाता एक खर्ब ५१ अर्ब रुपैयाँले घाटामा
मुुलुकको चालू खाता घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो तीन महिनामा चालू खाता एक खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा एक अर्ब २८ करोडले घाटामा रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४५ दशमलव नौ प्रतिशतले कमी आई एक अर्ब ९२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३ दशमलव पाँच प्रतिशतले वृद्धि भई पाँच अर्ब सात करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर तीन अर्ब ५६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी दुई अर्ब ९२ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा शोधनान्तर स्थिति ७६ अर्ब १४ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब एक अर्ब नौ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ६४ करोड ३१ लाखले घाटामा रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
ओरालो लाग्यो रेमिट्यान्स, तीन महिनामा भित्रियो दुई खर्ब ३९ अर्ब
वैदेशिक रोजगारीबाट प्राप्त आय अर्थात् रेमिट्यान्स रकम ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा रेमिट्यान्स सात दशमलव छ प्रतिशतले घटेर दुई खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँमा खुम्चिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १२ दशमलव सात प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स सात दशमलव सात प्रतिशतले कमी आई दुई अर्ब दुई करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो यस्तो रकम सात दशमलव छ प्रतिशतले बढेकोे थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ६६ हजार तीन सय १६ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६ दशमलव आठ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई ३४ हजार आठ सय २३ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
खुद सेवा आय २३ अर्ब ७९ करोड रुपैयाँले घाटामा
चालू आर्थिक वर्षको तीन महिनामा मुुलकको खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तसम्ममा खुद सेवा आय २३ अर्ब ७९ करोड रुपैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ११ अर्ब ९४ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय एक सय ८३ दशमलव आठ प्रतिशतले वृद्धि भई चार अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक अर्ब ४८ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय एक सय ८७ दशमलव एक प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय आठ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय पाँच अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय चार अर्ब ४३ करोेड रुपैयाँ रहेको राष्ट्र बैंकको भनाइ छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
- ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’
- हनी ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ
- नाष्टको ४८औँ प्राज्ञसभा: १२ विधामा पुरस्कृत गरिने
- २७ सय ४८ बिन्दुमा खुम्चियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया