Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयकाम नसकी उद्घाटन गर्दाकोे हबिगत

काम नसकी उद्घाटन गर्दाकोे हबिगत


काठमाडौं । काम सम्पन्न गर्नुभन्दा काम गरेको जस्तो देखाउने लोभमा पर्दा खासगरी विकास निर्माणमा कस्तो असर पर्दोरहेछ भन्ने एउटा गतिलो उदाहरण धरहरा बनेको छ । गएको वैशाखमा निकै ठूलो तामझामका साथ उद्घाटन भएको पाँच अर्ब ४६ करोड ४३ लाखको लागत अनुमान गरिएको यो परियोजना यही गतिले अगाडि बढे सम्पन्न हुन अब करिब दुई वर्ष लाग्ने अनुमान छ प्राविधिकहरूको । त्यसबेला तत्कालीन प्रधानमन्त्रीले धेरै काम देखाउने होडमा सम्पन्न नभएका आयोजनाको पनि उद्घाटन गर्ने, साधनस्रोतको कतै व्यवस्थापन नभए पनि आयोजनाको शिलान्यास गर्ने आदि एक प्रकारले लहरजस्तै चलेको थियो । त्यही क्रममा १४ सय जति सडकको शिलान्यास भयो । त्यसको करिब दुई महिनामा सरकार परिवर्तन भयो र शिलान्यास भइसकेको ती आयोजना रद्द भए ।

धरहराको निर्माण पनि करिब–करिब त्यस्तै हालतमा पुगेको छ । धरहरा निर्माणको काम ५५ प्रतिशत मात्रै सकिएको अवस्थामा उद्घाटन भएको थियो । उद्घाटन भएपछि ठेकेदारले एक प्रकारले सम्पन्न भएको जस्तो ठानेर त्यसपछि कामको गति नै रोकियो । उद्घाटन गर्दा केही लिपापोतीको काम मात्र बाँकी रहेको बताइएकोमा त्यो पनि गलत साबित भयो । आधारभूत काम बाँकी नै रहेको अवस्थामा उद्घाटन भएको रहेछ भन्ने अहिले सरकारी निकायले नै भन्न थालेका छन् । तीन अर्ब आठ करोड ११ लाख रुपैयाँमा २४ महिनामा काम सकिने गरी २०७५ असोज १४ मा सम्झौता भएकोमा उद्घाटनपछिको आधा काम बितेका पाँच महिनादेखि अघि बढेकै छैन ।

आधा काम नसकिँदै उद्घाटन गरिएको रहेछ भन्ने कुरालाई महालेखाको प्रतिवेदनले पनि उल्लेख गरेको छ । गएको भदौमा सार्वजनिक भएको महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा काम सम्पन्न भएर मात्र उद्घाटन गरिनुपर्नेमा आधा काम पूरा नहुँदै धरहराको उद्घाटन भएको भन्ने विवरण उल्लेख छ । त्यस कारण पनि बाँकी काम समयमा सकिनेमा आशंका व्यक्त भएको छ । प्रतिवेदनमा भनिएको छ– ‘काम सम्पन्न हुनुपर्ने २४ मध्ये २१ महिनामा ५५ प्रतिशत खर्च भयो, निर्माण भएको कामको भौतिक प्रगति ४५ प्रतिशत मात्रै हो, सरकारले आर्थिक वर्ष २०७२–७३ देखि ‘मेरो धरहरा मै बनाउँछु’ अभियान सञ्चालन गरेर कोष खडा गरेको थियो, धरहरा पुनर्निर्माणको कामलाई समयमै सम्पन्न गरी धरहरा पुनर्निर्माण कोषको रकम सदुपयोग हुनुपर्छ, त्यस्तो अवस्था अहिले नदेखिएको महालेखाको ठहर छ ।’ उद्घाटन भएपछि जम्माजम्मी अहिलेसम्म दुई प्रतिशत मात्रै काम भयो । रफ्प्तार पनि धिमा नै छ र ठेकेदारले सम्पर्क समेत गर्न छाडेको बताइएको छ । यी सबैले धरहरा निर्माणको काममा शंका जन्माएको हो ।

धरहराको उद्घाटन २०७८ वैशाख ११ गते भएको थियो । उद्घाटन हुँदाको बेलासम्म आयोजनाबाट एक अर्ब ६४ करोड लिइसकेको अवस्थामा त्यसयताका छ महिनामा करिब १० करोडको हाराहारीमा मात्र रकम खर्च भएको छ । यसको मतलब हो काम ठप्प छ । उद्घाटनसम्म ५४ प्रतिशत रहेको वित्तीय प्रगति अहिले ५६ प्रतिशत मात्रै नाघेको छ । ६ महिनामा कामको प्रगति २ प्रतिशत मात्रै हुनु भनेको कामै नभएको अवस्था हो ।

प्राधिकरणका कर्मचारीअनुसार उद्घाटन भइसकेकाले ठेकदारको हात काम लगाउनेभन्दा माथि परेको छ, त्यसैले हामीले धेरै जोडबल गर्न सकेका पनि छैनौँ । धरहराको निर्माण अवधिको म्याद यही मंसिर महिनामा सकिँदै छ । हतार–हतार लिफ्ट जोडेर उद्घाटन गरिएको धरहराको भ¥याङ नै बनाएर नसकिएको प्राविधिकहरूको भनाइ छ । काम नसकी उद्घाटन हुँदा कुनै पनि परियोजनाको हबिगत कस्तो हुँदोरहेछ भन्ने यस कारण यो उदाहरण मानिएको हो । आइन्दा यस्तो नहोस् ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x