Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबाहुन, क्षेत्री खस आर्य–१३

बाहुन, क्षेत्री खस आर्य–१३


काठमाडौं । बाहुन क्षेत्री खस आर्य : नेपालमा सदियौँदेखि बस्दै आएका हिन्दु जाति बाहुन (ब्राह्मण) र क्षेत्री जाति हुन् । केही काल वा दशकअघिसम्म बाहुनहरुले आफूलाई विशुद्ध वैद्विक आर्यका रुपमा मात्र चिनाउने गरे पनि हाल जातीय पहिचान र भूगोल समेतको कुरा उठ्न थालेपछि खस आर्यका रुपमा बाहुन क्षेत्रीहरुले आफ्नो जातीय पहिचान स्पष्ट पारेका हुन् । वैदिक आर्यहरु दक्षिणबाट तथा पश्चिमबाट नेपाल प्रवेश गरी सदियौँदेखि यहाँ बसोबास गरिरहेका हुन् भने खस जाति पनि सदियौँदेखिका यहाँका बासिन्दा हुन् भन्ने कुरा प्रस्ट हुन आउँछ ।

खस जातिबारे स्पष्ट इतिहास वा खोजी नगरिएकाले यस जातिको प्राचीन उपस्थितिबारे खासै खोज भएको थिएन । केही विद्वान्हरुले सिंजाली इतिहास र यस सम्राज्य र खस साम्राज्यका हालसम्म भेटिने गरेका पुरातात्विक अवशेषहरुको खोजपड्ताल गरी पश्चिम नेपाल दक्षिण–पश्चिम तिब्बत तथा कुर्माञ्चल (कुमाउ) र गहडवालहरुमा यी जातिको शक्तिशाली साम्राज्य थियो भन्ने कुराहरु प्रकाशमा ल्याएका हुन् ।

कर्णाली प्रदेशमा अवस्थित स्तम्भहरु खासगरी विजय स्तम्भ, किर्ती स्तम्भ, धर्म स्तम्भ, वीर स्तम्भलगायत अन्य पुरातात्विक महत्वका मन्दिर, मूर्ति, वास्तुकला, भूमिदान पत्र आदिबाट खस साम्राज्यबारे धेरै कुरा प्रकाशमा आउन पुगेको हो ।

खस भन्ने नाम प्राचीन ‘कस’ शब्दसँग सम्बन्धित रहेको छ । मुख्यतया यी जातिलाई अति प्राचीन ककेसियन जातिसँग नजिक मानिएको छ । नाकचुच्चा अग्ला यी जाति सम्पूर्ण पश्चिम एसिया उत्तर–पश्चिम भारतदेखि दक्षिण पश्चिम मालाबार क्षेत्र हुँदै श्रीलंका सम्म फैलिएको नृवशंशास्त्रीहरुको मान्यता रहेको छ । प्राचीनकालको ककेसस पर्वतबाट दक्षिण लागेका कस वा खससँग सम्बन्धित नामहरु बेबिलोनिया इरान, अफगानिस्तानदेखि कश्मिर र नेपालसम्म भेटिन्छन् । यसैगरी यी जाति युरोपका धेरै भू–भागलगायत हिम युग नसकिँदै दक्षिणतर्फ लागि पश्चिम एसिया एवं उत्तर तथा उत्तर–पूर्वी अफ्रिकासम्म पुगेका हुन् । अग्ला नाकचुच्चा खँदिलो शरीर र साना धसेका आँखा शरीरमा प्रशस्त रौँ युरोपका मानिसभन्दा काला अफ्रिकी मानिसभन्दा गोरा यी जातिहरुका जातीय विशेषता हुन् । केही खैरा र अधिकांश काला कपाल भएका ककेसियन जाति विश्वका प्राय भू–भागलगायत सम्पूर्ण युरोप, पश्चिम तथा मध्य एसिया अफ्रिका भारतदेखि श्रीलंकामा समेतमा भेटिन्छन् ।

नेपालका खस जाति भने मध्य एसियाबाट आएका जाति हुनाले यी जातिमा अन्य केही जाति समेत मिसिएका हुन सक्छन् । नेपाललगायत कश्मिरसम्मको खस जातिहरुमा हावा, पानी, पुर्ख्यौली सम्बन्ध आदिका कारणले केही समानता देखिन्छन् भने भाषा पनि मिल्दोजुल्दो प्रकारको रहेको हामी पाउँछौँ ।
भारत वर्षको तर्फका खसहरुले बोल्ने भाषालाई पहाडी भाषा भनेर सम्बोधन गर्ने गरिन्छ । नेपालमा पहाडी भाषालाई खसकुरा वा नेपाली, कसैले पर्वते, कसैले गोर्खा भाषा भनेर भन्छन् । मध्यकालीन नेपालको खसहरुको राजधानी सिंजाको नामबाट सिँजाली भाषाका रुपमा समेत इतिहासकारहरुले सम्बोधन तथा पहिचान दिइएको पाइन्छ ।

अन्य क्षेत्रका खसहरुका भाषालाई कुमाउमा कुमाउली गढवालमा गढवाली जउन्सार–भावर यस्तै सिमला, कुलु मनाली, सुकेत, चम्बा र पश्चिम कश्मिरमा पहाडी भाषा भनेर सम्बोधन गर्ने गरिन्छ । संस्कृत साहित्यकार भरतमुनिको नाट्यशास्त्रमा खस भाषालाई बाल्हिक भाषा भनेर भनिएको छ । तर आजका पहाडी खसहरुले बोल्ने भाषा संस्कृत भाषाबाट विकसित भएका भाषाहरुलगायत भारत वर्षका अन्य उत्तरी भारतीय भाषाहरु पनि संस्कृतबाट देश, काल, परिश्थितिअनुसार विकसित हुँदै आजको रुपमा आइपुगेका हुन् ।

कुनै बखत खस जातिको आदि स्थल हिन्दुकुश पर्वतीय क्षेत्र कुनार उपत्यका (काशगर) कास्कर, खसिस्तान, पश्चिम कश्मिर, उत्तरी अफगानिस्तान, पाकिस्तान, खसाली, कासत्वार, खसधर अर्थात् हिमाञ्चलको सिमला पर्वतीय क्षेत्र, कुमाउ, गढवाल, पश्चिम नेपाल, कैलाश क्षेत्र, भोटाङलगायत पर्वतीय तथा हिमवत खण्ड रहेका थिए भने आर्यजनसँगको सम्पर्क तथा सम्बन्धपश्चात् पहाडी क्षेत्रभन्दा माथि धेरै चिसा भू–भागहरुसँग यिनीहरुको सम्बन्ध सदालाई छुट्न पुग्यो ।

नेपालमा भेटिने खसहरुमा क्षेत्री बाहुन, दमाई, कामी, सार्की, ठकुरी, सन्यासी, वादी, गाइने, देउकी आदिलाई बुझाउँछ । जो हिन्दु वर्ण व्यवस्थामा आबद्ध छन् भने अझै पूर्ण रुपमा हिन्दु जातीय व्यवस्थाअनुसार जनै धारण नगरी पुरानै रुपमा बस्ने खसहरुलाई पावई खस वा मतवाली खस क्षेत्री भनेर भनिन्छ । पवाई वा मतवाली खस क्षेत्रीहरुको ठूलो संख्या अझै पनि पश्चिम नेपालका भू–भागहरुमा देख्न सकिन्छ । क्षेत्री हिन्दु भने पनि अन्य नेपाली क्षेत्रीयझैँ तगाधारी यी होइनन् ।

पुराना खसहरुको कला संस्कृति वैद्विक आर्यहरुसँग भन्दा भिन्दै भोटाङ (भोट) र उपत्यकाको सम्पर्कपश्चात् काठमाडौँ उपत्यकाको संस्कृतिसँग केही–केही मिल्न जान्छ । उपत्यकावरिपरिका शिष्ट वा (श्रेष्ठ) क्षेत्रका मानिसहरुसँगको सम्पर्कपश्चात् खसहरुले कला, वास्तुकला, शिल्प आदि विकसित गर्दै लगे भने सोभन्दा अघिको समयमा उनीहरुका कलामा हिमाली भेगका जातिहरुको झझल्को दिने खालका मुकुण्डोको प्रयोग, भोटेहरुले झैँ समूहगत गोलो बनाई गरिने नृत्य आदि संस्कृति विकसित गरेका थिए । खसहरुको केही काल सम्पर्क भोटेहरु र दरद (उर्दु भाषामा दरिन्दा) जातिसँग पनि भएको थियो ।

खसहरुको उपत्यका प्रवेश धेरै अघि भइसकेको थियो भन्ने कुरा सबैभन्दा पुरानो अभिलेख चाँगुनारायणको अभिलेखबाट समेत प्रमाणित हुन्छ । हिन्दु धर्ममा आबद्ध आर्य खस ब्राह्मणहरु रिमाल, आचार्य, सुवेदी आदि पुरोहित जनको उल्लेख समेत पाइनाले किराँत संस्कृतिमा कट्टर नेवार जातिमा ती विलीन हुन पुगे भनेर बुझ्न सकिन्छ ।

पछि आएर मल्लकालमा भने मैथली ब्राह्मण, पुरोहित जनलाई उपत्यकाका ठूला मन्दिरहरुमा झिकाउन थालियो र राजाका सल्लाहकारका रुपमा मल्ल राजप्रसादमा ठूलो ओहोदा र सम्मान दिएर राख्न थालिएको हो । त्यसभन्दा अघिका समयहरुमा खस आर्य ब्राह्मणलाई नै मगाइने वा बोलाइने गरिन्थ्यो ।
केही अपवादबाहेक धेरैजसो खसहरु पछिल्लो कालसम्म गण्डकी नदीदेखि पश्चिम मात्र बसोबास गरेको पाइन्छ भने फाट्टफुट्ट पूर्व लाग्न थालेका हुन् भन्ने बुझिन्छ । अधिकांश खस ब्राह्मणहरुको थरहरु सिँजाली खस क्षेत्र कर्णाली, भेरी र सेती अञ्चलका विभिन्न ठाउँहरुका नामबाट रहन गएको कुरा समेत बुझिनमा आउँछ । अति नै प्राचीन ककेसियन जातिको विस्तारबारे माथि उल्लेख गरिसकिएको छ भने कश्मिरलगायत नेपालसम्मका खस जाति मध्य एसियाबाट दक्षिण पश्चिम एसियातर्फ लागेका खसहरुबाट पहाडी भू–भागमा रहेका वा आएका जाति नै हुन् जो पूर्वकालमा मंगोलहरुको शक्ति विस्तारबाट र अन्य कारणहरुले पूर्वतर्फ लाग्दै आए । क्रमशः…

खस जाति सम्बन्धी धेरै अध्ययन अनुसन्धान पहिलाका ईतिहासकारहरुले नगरेकाले आफ्नो छुट्टै नश्लिए पहिचान र गौरबपूर्ण ईतिहास रहँदा रहँदै पनि पौराणिक ग्रन्थहरुमा खस जातिलाई वैद्विक आर्य इतर दरद, कुषाण, यमन, किराँत सरह असभ्य जाति भनि वर्णन गरिएकाले हिन्दु धर्म संस्कृतिमा आबद्ध खस ब्राह्मणहरुलाई खस जातिय पहिचानमा हिनताबोध हुन गयो । खसेर खस भएको भन्ने कपोलकल्पित अनुमानले गर्दा पहिलाका समयका वेद पुराण वाचन गर्ने खस ब्राह्मणहरु खस भन्ने शब्दसँग टाढा हुँदै गएर त्यो शब्द केवल तगाधारी नभएका जात बिहिन जाँड रक्सी खाने मतवाली खसहरुमा मात्र सिमीत हुन गयो ।

आश्चर्यजनक रुपमा पछिल्लो समयका नेपाली बिद्वानहरु खस शब्दसँग नै तर्सने गरेकाले खसहरु बारे उत्ति धेरै अध्ययन र अनुसन्धान भएन । पछि गएर केहि विद्वान, ईतिहासकार अनुसन्धान दाताहरुले सिजाँली ईतिहास, सुदुर पश्चिमका स्तम्भ, शिलालेख मन्दिर, मूर्ति, ताम्रपत्र आदिको खोज र अध्ययन गरेकाले बृहत रुपमा अनेकौं कुराहरु प्रकाशमा आउन पुगेको हो ।

खसहरु मुख्यतया हिन्दु हुन् भने मष्टो तिर्नै खस आर्यका कुलदेवता हुन् । अहिले आएर एउटा अचम्मको कुरो के फैलाईंदै छ भने मष्टोलाई नै भिन्दै धर्म भनेर कस कसका श्वार्थ र अभिष्ट पुरा गर्न इतिहास मै कहिल्यै नभएको धर्मलाई खडा गरि अन्यौल र विभाजनको बिउ रोपिँदै छ । खस आर्यले पूजा गर्ने मष्टोको पूजा विधी उसो भए किन कृश्चियन सँग मिल्दैन वा अन्य धर्म र जनजातिसँग मिल्दैन ? हिन्दु धर्म आचार संहिता अनुसारका कर्म काण्ड मान्ने खस आर्यद्वारा खसान जडान आदि क्षेत्रमा बिकसित कुलदेवताको पूजा वा पूजा विधीलाई बिना प्रमाण भिन्दै धर्म भनिदिनु हावादारी कुरो बाहेक अरु थोक केहि पनि होइन ।

भारत वर्षको वा भनौं हिन्दु आर्यवर्तको उत्तरी सिमाना पहाडी र हिमवत खण्डमा बसोबास गरि आएको हिन्दु धर्मावलम्बी नै खस हुन् । सोही हुनाले कर्मकाण्ड लगायत धार्मिक कार्यहरु समेतमा जम्बुद्विप उतराखण्डे भारत वर्षे भनेर अनिवार्य भन्ने गरिन्छ । पहिलेका समयमा जम्बुद्विप भन्ने बित्तिकै सम्पूर्ण आर्यवर्तलाई बुझिने गरिन्थ्यो । सोही हुनाले पुराण लगायत अनेकौं कर्मकाण्डका पुस्तकहरुमा पुरोहित जनले मन्त्रोच्चारण गर्दा जम्बुद्विपे भनेर धेरै ठाउँमा प्रसंग आउने गरेको हो ।

खस जातिको ईतिहास : नेपालका खस जातिका नजिकैका पूर्वज बाल्हिक प्रदेश अर्थात भारत वर्षको पश्चिमोत्तर प्रदेश हिन्दुकुश पर्वत क्षेत्र (अहिलेको उत्तर पूर्वी अफगानिस्तान, उत्तरी पाकिस्तान र प. कश्मिरका दुर्गम पहाडी भू–भाग) लगायतका क्षेत्र थिए । यो क्षेत्र पौराणिक कालहरुमा उन्नत जातका घोडा र घोड सवारहरुका नाममा समेत प्रसिद्ध रहेको थियो । हिन्दुहरुका पवित्र ग्रन्थ महाभारतको कर्ण पर्वमा पुलिन्द, खस, बाल्हिक आदिका घोडसवार सैनिकहरुलाई पाण्डव पक्षद्वारा घोडा सहित संहार गरिएको उल्लेख छ । तर पौराणिक साहित्यहरुमा खस जातिहरुको उतिसाह्रो उल्लेख गरिएको पाइदैन । सम्भव तह आदि वैद्विक कालमा खस जातिको भारत वर्षका पश्चिमोत्तर भू–भागसम्म पूर्णतया आगमन भई सकेको थिएन । इ.पू. करिब १००० वर्ष अर्थात करिब ३ हजार वर्ष यता लेखिएका वैद्विक साहित्यहरुमा मात्र खस जातिका प्रसंगहरु उल्लेख गरिएको पाईन्छ ।

खसहरुका ईतिहासको सन्दर्भमा खोज्दै जाँदा नेपाल हुँदै कुमाउँ, गढवालका पहाडी भू–भागहरुबाट बाल्हिक प्रदेश (जसलाई बडा खसान समेत भनिने गरिन्थ्यो) । यी लगायत इरान र इराकको सिमामा पर्ने खसिस्तान र इराक अर्थात पहिलेको बेबिलोनियाको कसाइट साम्राज्य सम्मको भू–भागहरुमा खसहरुको उपस्थिती प्रमाणित भएको हामी पाउँछौं ।

वैद्विक आर्य अर्थात मैदानी आर्यका पूर्वजका बन्धु कुनै बखत सयौं हजारौं वर्ष अघिका इरानी आर्यहरु रहेका थिए भने नेपालका खसहरुका पूर्वज तिनै क्षेत्रहरुका खसहरु रहेका थिए । जो ७ औं सदी पश्चात्का समयहरुमा इस्लाम धर्मको बिस्तार र प्रसारले ईस्लाम धर्मावलम्बी बनि ईस्लाम धर्म कबुल गर्न पुगेका थिए । विशेष तह ईरानका आर्य बाहेकका कसाइट्स भनिने खसहरुको सम्बन्ध पुराणहरुमा वर्णन गरिएको असिरीयाका (हाल सिरीया) का असुरहरुसँग समेत रहेको थियो । ति देवाशुर संग्राममा उल्लेखित असुरहरुको कस्साइट्स खस र (इरानी आर्य समेतको) भारत वर्ष शिन्ध प्रवेश गरेका वैद्विक आर्यहरुका पूर्वजहरुसँग लामो काल युद्ध र शत्रुताको सम्बन्ध रहेको थियो । रातीका समयमा झुक्याएर, अनेक रणनीतिहरु बनाएर चलाखी साथ हमला गर्ने गरेकाले नै ति खस तथा असुरहरुलाई पुराणहरुमा मायावि भनेर उल्लेख गरिएको हो । वैद्विक आर्यहरुका ति पूर्वजहरुका कुरा वा ईतिहासका कथाहरु अलिखित रुपमा वाचन गरिने धार्मिक वैद्विक मन्त्र, पुराण्हरुद्वारा पुस्तौ पुस्ता निरन्तरता पाउँदै आएको हो । यस्तै दानव भनेर सम्बोधन गरिएका जातिहरु भने आर्य वर्गले भारत वर्ष प्रवेश गरिसके पश्चात्का भिल्ल निषाध, शम्बर आदि जस्ता अष्ट्रोलोआइड जातिहरु हुन् भन्ने बुझिनमा आउँछ ।

नेपालका बाहुन क्षेत्रीहरु खस आर्य वर्गका भएतापनि केहि कुरा र चलनहरु कुमाउँ तथा पश्चिम नेपालका प्राचीन खस चाल चलनको निरन्तरताका रुपमा अझै बाँकी रहेको देखिन्छ । वैद्विक आर्य समेतले मानेका र भन्ने गरेका मरुत भनिने मष्टो देवताको पूजन केवल कुमाउँ तथा पश्चिम नेपालका खस जातिहरुमा मात्र देख्न सकिन्छ । अन्यत्रका हिन्दु जातिले मरुत वा मष्टो देवताको पूजा गरेको सुनिदैन ।

खस नृवंश जातिको प्राचीन ईतिहासका सन्दर्भमा बेबिलोनियाको प्राचीन इतिहासमा महत्व दिइएको कस्साइटस खस जातिको निकै महत्व रहेको देखिन्छ । हालसम्म अस्तित्वमा रहेका खसहरुसँग सम्बन्धी खसहरुलाई जताउने ठाउँका नामहरु खशिस्तान, वडा खसान, हिन्दुकुश पर्वतका क्षेत्रहरु, कश्मिर, खशाला, खस मण्डल, खशान आदिले खस जातिका पूर्व स्थानहरु र छाड्दै आएका बन्धुहरुलाई जताउँदछ । खसहरु आर्य भएतापनि वैद्विक आर्य वा मैदानी आर्यहरु भने होइनन् । यी ईशा पूर्व प्रथम शताब्दी अर्थात करिब २१ सय वर्ष अघि भारत वर्ष प्रवेश गरि पाचौं शताब्दी तिर प. नेपाल प्रवेश गरेको कुरामा धेरै विद्वानहरुको मान्यता छ ।

खसहरुको आगमन भन्दा पहिलेका समयमा नै गंगाका मैदानी इलाकाहरुबाट थोरै ब्राह्मण क्षेत्रीय लगायत हिन्दु जन पहाडहरुमा आई बसोबास थालि सकेका हुनाले पहाडी सवर्ण समुदायमा वैद्विक आर्य र खस आर्य दुबैको सम्मिश्रण रहेको हो भन्ने स्पष्ट हुन आउँछ । मुसलमान आक्रमणहरु बढ्न थाले पश्चात् मात्र वैद्विक आर्यहरु आउने क्रम केहि बढ्न गएको हो । खसहरु बारे हिन्दु धर्मग्रन्थ पुराण, मनुस्मृतिमा समेत धेरै ठाउँमा उल्लेखहरु गरिएको पाईन्छ ।

ईशा पूर्व दोश्रो शताब्दी तिर रचिएको मानिएको मनु स्मृतिमा झल्ल, मल्ल, लिच्छवी, नट, करण, खश र द्रविणहरुलाई व्रात्य क्षत्रिय भनेर भनिएको छ । व्रात्य अर्थात आर्य क्षेत्रीयहरु अन्य जातिहरुमा मिसिन गए भने तिनीहरुलाई ब्रात्य क्षत्रिय भन्ने गरिन्थ्यो भने ब्रात्य भनेर द्विज, (ब्राह्मण, क्षत्रिय र वैश्य) द्वारा आफू समान वर्णकी स्त्रिमा पैदा भएका व्रतबन्ध संस्कारका लागि अयोग्य तथा गायत्री जप आदि नगर्ने भ्रष्ट पुत्रहरुलाई ‘व्रात्य’ भनिन्छ भनेर मनुस्मृती (१० : ४ र १०) मा उल्लेख वा परिभाषित गरिएको पाईन्छ । तर ऐतिहासिक अध्ययनमा लिच्छवी र मल्लहरुलाई व्रात्य क्षेत्रीय नभनी वैद्विक आर्य क्षेत्रीयहरु मात्र भनिएको पाईन्छ ।
मनु स्मृतिकारले हिन्दु संस्कृति अपनाउन छाडेकाले पौण्ड्रिक, द्रविण, यवन, शक, पारद, पल्हव, चिन, किरात दरद र खस शकहरु आदि क्षेत्रीय जाति बिस्तारै शुद्र भाव प्राप्त भए अथवा वृषल भए भनेर भनिएको छ ।
मनुस्मृति : (१० : ४३ र ४४)
शनकैसतु व्रिmया लोपादिमाः क्षत्रिय जातयः ।
वृषलत्वां गता लोके ब्रह्मण दर्शनेनच ।।
पौण्ड्रकाश्चौड्र द्रविणाः काम्वोजां यवनाः शकाः ।
पारदा पल्हवाश्चिनाः किराता दरदाः खशाः ।।

यसैगरि अन्य पुराण लगायत महाभारतमा समेत खसहरुबारे उल्लेखित विभिन्न प्रसंगहरु पाउन सकिन्छ ।

खसका योद्धाहरुले महाभारतको युद्धमा दुर्योधनको कौरव सेनालाई चारै तर्फबाट रक्षा गर्ने प्रयत्न गरेको भन्ने उल्लेख पाईन्छ । त्यस महाभारत युद्धमा खस योद्धा लडाकाहरुले त्रिशुल, फलामका गोला जस्ता शस्त्रहरुले युक्त भई कवच लगाएर, अश्वरोही अर्थात घोडामा सवार भई युद्धमा संलग्न भएको उल्लेख पाईन्छ । कश्मिरको राजतरंगिणीमा खसहरुलाई लडाकु र बर्बर जाति भनि लेखिएको पाईन्छ भने कल्की पुराणमा खस तथा काम्बोज सैन्यहरुलाई भयङ्कर बलशाली (भिम विक्रम) भनि बताइएको पाईन्छ । त्यसैगरि हरिवंश पुराण र भागवत पुराणमा पनि खसहरुलाई बहादुर लडाका योद्धाका रुपमा प्रशंसा गरिएको पाईन्छ । (भागवत पुराण ९ : २० : ३०)

यसैगरि अन्य धार्मिक कथा पुराणहरुमा समेत बेला बखत खसहरु बारे उल्लेखहरु गरिएको धेरै ठाउँमा भेट्न सकिन्छ भने खसहरुको शक्तिशालीराज्य र सिंजा राजधानी बारेका धेरै ऐतिहासिक उल्लेखहरु प्रकाशमा आईसकेका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x