Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअमलाको आयुर्वेदिक तथा धार्मिक महत्व

अमलाको आयुर्वेदिक तथा धार्मिक महत्व


काठमाडौं । हाम्रो देश प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण राष्ट्र हो । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वन जंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब सात सय प्रजातिका जडीबुटीजन्य वनस्पति नेपाल र नेपालीको लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको तर्फबाट उपहार हो । गुणस्तर जीवनको लागि जडीबुटीको अद्वितीय योगदान छ । मानवको स्वास्थ्य ठीक हुनको लागि शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा तन्दुरुस्त हुन आवश्यक छ ।

स्वस्थ नागरिक र स्वस्थ समाजद्वारा नै देशको विकास सम्भव छ । अहिलेको सन्दर्भमा विश्वभर फैलिएको कोभिड–१९ को माहामारीबाट सुरक्षित रहन पनि जडीबुटी एवं आयुर्वेदिक औषधिको महत्वपूर्ण स्थान छ । आयुर्वेदबाट निर्देशित स्वास्थ जीवनशैली अपनाई आफ्नो स्वस्थ रहौँ र समाजलाई पनि स्वस्थ राख्नुपर्दछ । नेपालीको औसत आयु वृद्धिसँगै गुणस्तरीय स्वस्थ जीवन जिउनको लागि गाउँ तथा सहरको टोल–टोलमा आरोग्य कार्यक्रम चलाउन आवश्यक छ । आफ्नो घर र करेसाबारी, भान्सामा नै उपलब्ध हुने औषधिजन्य जडीबुटीहरू, उदाहरणको रूपमा गुर्जाे, बोझो, अमला, पान, सुपारी, हर्राे, बर्राे, तेजपात आदि अधिकतम प्रयोग गर्नु आवश्यक छ ।

अपार सम्भावना बोकेको महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन् । वर्षेनी अर्बौं धनराशिको विभिन्न गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेको छ । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीहरूको नगद आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा बिक्रीवितरणबाट अर्बौं धनराशि वर्षेनी भित्रिने गरेको छ । यार्सागुम्बालगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्रीवितरणबाट दार्चुला, जुम्ला तथा डोल्पाजस्ता जिल्लाहरूमा करोडाँै रुपैयाँ वर्षेनी जिल्ला भित्रिने गर्दछ । यसैगरी मध्यपहाडका विभिन्न जिल्लाहरूबाट पनि लाखौँ, करोडौँ मूल्यबराबरको जडीबुटी तथा गैरकाष्ठ वन पैदावार विदेश निकासी भएर गइरहेको पाइन्छ । यसै सिलसिलामा आजभोलि जुनसुकै पत्रिकामा पनि कोरोना माहामारी, विपद् र राजनीतिक विकृति आदि आलेख देखिन्छ । अतः यस लेखमा बेग्लै खालको बहुउपयोगी जडीबुटी तथा गैरकाष्ठ वन पैदावार ‘अमला’ सम्बन्धी चर्चा गर्ने जमर्काे गरिएको छ ।

मानिसलाई स्वस्थ्य राख्ने प्रमुख आधार नै खाना हो । गुणस्तरीय जीवनको लागि तागत वा शक्ति दिने खानेकुराले महत्व राख्छ । गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, शखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, साथै विभिन्न फलफूलको आवश्यकता पर्दछ । शरीरको तामक्रम र सन्तुलन बनाइराख्न, मांशपेशी बलियो बनाउन, शरीरको मुख्य अंगहरू (मिर्गौला, मुटु, फोक्सो, मष्तिष्क) लाई निरोगी राख्न एवं विभिन्न समस्याहरू निराकरण गर्न सन्तुलित भोजन नै हुन् । स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनको लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी’, रगत राम्रो बनाउने तत्व, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्दछ । हाम्रो जीवनमा स्वास्थ शरीर राख्नलाई खाद्यपछि फलफूलको आवश्यकता पर्दछ । त्यो फलफूलमध्ये हाम्रै गाउँघरमा पाइने अमला पनि एक हो ।

अमलाको वानस्पतिक परिवार ‘इयुुफोरवियसी’, अंग्रेजी नाम गुसवेरी, वैज्ञानिक नाम फाइलेन्स इम्बलिका र स्थानीय नाम अमला हो । यसको बोट १० देखि १५ मिटर अग्लो हुने पतझर रुख प्रजाति हो । हिउँदको समयमा सबै पात भुँइमा खसेर सुकेको जस्तै देखिए पनि वसन्त ऋतुको आगमनसँगै प्रत्येक वर्ष पातहरू निस्किएर पुनः हराभरा भई तीनदेखि चार वर्षको उमेरदेखि अमला फल्ने गर्दछ । यसका पातहरू मसिना र लहरै मिलेका हुन्छन् । फूलहरू साना वास्नादार र हरियो पहेँलो रङ्का हुन्छन् । पाकेका फलहरू केही चम्किला, गुदीदार र हल्का पहेँला हुन्छन् । अमला सामान्यतया जेठदेखि श्रावणसम्म फुल्दछ । भाद्रदेखि मंसिरसम्म फलिसक्छ । मागसम्म टिप्न लायक हुन्छ ।

हिन्दु धर्ममा यसलाई पवित्र बिरुवा, फल तथा जडीबुटीको रूपमा लिइन्छ । यसको फल पूजापाठजस्ता शुभकार्यमा प्रयोग गरिन्छ । जस्तैः कात्तिक शुक्ल पक्षको नवमी तिथि विशेष दिन अमला, कुष्माण्ड र धात्री नवमीको रूपमा चिनिन्छ । सो दिन अमलाको वृक्षको पूजा गर्ने गरिन्छ । भगवान् विष्णु कात्तिक शुक्ल नवमीबाट कात्तिक पूर्णिमा तिथिसम्म अमलाको रुखमा निवास गर्नुहुने धार्मिक मान्यता रहेको छ । सो दिन अमलाको फेदमा बसेर वनभोज वा प्रसाद बनाएर खाने चलन छ । यो तिथिको दिन अमलाको रुखमुनि बसेर ‘ॐ धात्रेय नमः’ मन्त्र जपेर अमलाको जरामा दुधको धाराको तर्पण दिए पितृहरू श्वोर्गलोक पुग्छन् भन्ने मान्यता छ । यी माथिका कुराहरूबाट मानव जीवनमा अमलाको धार्मिक तथा आयुर्वेदिक मान्यता धेरै छ । दक्षिण–पूर्व एसियामा उद्गमस्थल भएको अमला नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका तथा दक्षिण–चीन आदि देशहरूमा समेत फैलिएको पाइन्छ । करिब छ सय ५० प्रजाति भएको फाइलेन्थस जिनसका नेपालमा ११ प्रजाति भेटिन्छन् ।

अमलामा भाले तथा पोथी दुई प्रकारका फूूलहरू फुल्ने गर्दछ । दुवै भाले तथा पोथी फूलहरू एउटै बोटमा पाइन्छन् । अमला प्राकृतिक अवस्थामा नेपालको पूर्वदेखि पश्चिमसम्म एक सय ५० देखि १४ सय मिटरसम्मको उचाइमा पाइन्छ । नेपालमा यो पूर्वभन्दा पश्चिम क्षेत्रमा बढी पाइन्छ । विगत केही वर्षदेखि किसानहरूले विभिन्न किसिमको खालि, पर्ति जग्गा र घर आँगन तथा बगैँचामा समेत यसको खेती गरेको पाइन्छ । अमलाको उपयोग धेरै छ । पूूजापाठबाहेक अमला अन्य कार्यमा पनि प्रयोग गरिन्छ । अमलाको जरा, बोक्रा, फल र फूलहरू विभिन्न रूपमा विभिन्न कामको लागि प्रयोग हुने गर्दछ । व्यापारिक प्रयोजनमा फल नै सबैभन्दा बढी प्रयोग हुने गर्दछ । अमलाको फलबाट भिटामिन सी प्राप्त हुनेहुँदा यो त्रिफला र च्यवनप्रासलगायतका विभिन्न आयुर्वेदिक औषधि बनाउन प्रयोग गरिन्छ । अमलाबाट भिटामिन ‘ए’ पनि प्राप्त हुने कुरा पत्ता लागेको छ । यसको फलबाट आयुर्वेदिक औषधिबाहेक अचार, तितौरा तथा जाम बनाइन्छ । हाल अमलाको आधुनिक प्रयोग स्वास्थवद्र्धक÷यौनवद्र्धक तथा सौन्दर्यप्रदायक सामग्री जस्तैः च्यवनप्रास, कपालमा लगाउने तेल, कपाल रंगाउने रङ, सेम्फु, दन्तमञ्जन, मसी र रङलगायत विभिन्न विभिन्न सौन्दर्य प्रदायक क्रिमहरू बनाउने गरिन्छ । अन्य रासायनिक तत्वमा माथि भनेजस्तै भिटामिन ‘सी’ प्रमुख स्रोतको रूपमा रहेको हुन्छ । यसमा हुने रासायनिक तत्वमा ट्यानिन, पोलिफेनोल, अल्कोलाइड, पाइलानेम ग्लिमनिन, फाइलानेम बलिसिन ‘ए’ आदि पाइन्छ । यो बहुउपयोगी अमृतसमान बोट तथा फल हो ।

अमला उष्ण र उपोष्ण हावापानीमा हुने बिरुवा हो । वार्षिक छदेखि आठ मिलिलिटर पानी पर्ने ठाउँमा अमलाको राम्रो खेती हुन्छ । अमला साना छँदा जाडोमा तुसारोबाट जोगाउनुपर्दछ । ठूलो बिरुवाहरू ३५ देखि ४५ डिग्री सेल्सियस तापक्रममा राम्रोसँग हुर्कन सक्छ । साथै यो प्रतिकूल वातावरणमा समेत हुर्कन सक्ने प्रतिरोधी बिरुवा हो । यो सुख्खा तथा उच्च क्षारीय माटो भएको क्षेत्रमा राम्रो हुन्छ । अमला प्राचीन समयमा जंगल तथा खेतबारीवरिपरि पाइने तथा त्यहाँबाट संकलन गरी स्थानीय प्रयोग र व्यापारिक प्रयोग हुने क्षेत्रमा खपत तथा बिक्री हुने गर्दथ्यो ।

हाल आएर यसको प्रयोगको क्षेत्र विस्तार भई विभिन्न क्षेत्रमा यसको माग अत्यधिक बढेपछि नेपालका कृषकहरू खेती विस्तारतिर अग्रसर भएको देखिन्छ । अव्यवस्थित तथा अवैज्ञानिक संकलनका कारण यो प्रजाति क्रमशः घट्दै गइराख्नुको साथै औद्योगिक प्रयोगमा यसको माग बढ्दै गइरहेको कारणले पनि यसको खेती विस्तारतर्फ सम्बन्धित सबैको ध्यान बढिरहेको पाइन्छ । साधारणतया यस्तो खेती हाल आएर उपयुक्त हावापानी भएका सामुदायिक वन, राष्ट्रिय वन, कबुलियती वन, निजी जग्गा आदिका साथै काम नलाग्ने खाली पर्ती जग्गाहरूमा बढाउनुपर्ने देखिन्छ । यसको बिरुवा बीउ र कलमीबाट उत्पादन गर्न सकिन्छ । मलखादमा राम्ररी पाकेको गाईवस्तुको मल नाइट्रोजन, फस्फोरस, पोटास, बिरुवाको संख्या हेरी जानकार व्यक्तिको निगरानीमा प्रयोग गर्नु राम्रो हुन्छ । यो फल उन्नत जातको बिरुवा रोपी मल तथा उचित स्वाहार भएमा तीनदेखि पाँच वर्षमा फल दिन सुरु गर्दछ । दश वर्ष पुगेको बिरुवाले सरदर ५० देखि ६० किलोग्रामसम्म फल उत्पादन गर्दछ । यसरी लगाइएका अमलाका बोटहरूबाट प्रतिहेक्टर दुई हजार किलोग्रामसम्म फल उत्पादन हुने गर्दछ । काँचै खाने, तितौरा, अचार, जाम बनाउने, शक्तिवर्द्धक आयुर्वेदिक टाँनिक औषधि बनाउने आदि पनि गरिन्छ ।

अतः अमला धार्मिक महत्व बोकेको अमृतमय बहुउपयोगी फल तथा बिरुवा हो । नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा अमलाखेती हाम्रो देशमा सम्भावना धेरै छ । अमलाखेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट तीनै तहको सरकारले व्यावसायिक रूपमा विकास गराउन सकेमा वैदेशिक रोजगारीमा विदेश पलायन भई कोरोना महामारीको चपेटामा भएका युवाशक्तिलाई देश तथा, गाउँ तथा घरमै रोजगारीको सिर्जना गरी नेपाल आयुर्वेदिक औषधिमा आत्मानिर्भर भई देश आर्थिक चलायमान हुने थियो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x