नेपालको जाति, भाषा र संस्कृति -बाहुन, क्षेत्री खस आर्य–१५
काठमाडौं । अतिप्राचीन खसजातिको पूर्वज ककेसियनहरुको विस्तार हजारौँ वर्षअघि विश्वका अनेकौँ ठाउँहरुमा भइसकेको थियो भने पूर्वी पहाडतर्फ लाग्दै आएका हिन्दूकुश पर्वत शृंखलादेखि नेपालसम्मका खसहरु भने एउटै हाँगो वा पुर्खाका हुन् भन्ने कुरामा पनि दुविधा देखिन्न । एउटा कुरा प्रष्ट छ भने नेपालका खसहरु केवल खसजातिका मात्र नभई तिनमा आर्यलगायत भारतीय उपमहाद्वीपका अनेकौँ आदिवासी जातिको समेत रक्तमिश्रण भइसकेको कुरामा धेरै नृवंशशास्त्रीहरु सहमत देखिन्छन् ।
विशेषतः पश्चिम तथा मध्यएसियाबाट पूर्वी पहाडी भू–भाग प्रवेश गर्दै आएका खसजाति नै नेपाली खसहरुका आदि पूर्वज हुन् । यस कुरालाई प्रष्ट गर्न पश्चिम एसियाका विभिन्न ठाउँहरुमा खस जातिको उपस्थितिलगायत कस (खस) जातिको इतिहास, राज्य, राज्य विस्तार आदिको अध्ययन पर्याप्त छन् । कस (खस) राजा अगम द्वितीयले पश्चिम इरानदेखि लिएर फुरात नदी उपत्यकाको मध्यभागसम्मको ठूलो क्षेत्रफलमा राज्य गरेका थिए ।
कुनैबेला हित्ती आर्यहरुले लुटेर लगेको बेबिलोनिया (हाल इराक,) का प्रमुख देवता मार्दुकको मूर्तिलाई अगम द्वितीय भन्ने खस राजाले फिर्ता लिएर आएका थिए । यस्तै खस राजा उलम्बुरियश भन्नेले उत्तर मात्र होइन दक्षिण बेबिलोनियाका क्षेत्रहरुसमेत आफ्नो अधिकारमा लिएका थिए । यिनले असिरिया (हाल सिरिया)का असुर जातिहरुसँग राम्रो सम्बन्ध बढाएका थिए । (हेर्नुहोस् खस साम्राज्यको इतिहास, प्रा.डा. सूर्यमणि अधिकारी)
नेपालका खसहरु मुख्यतया बाल्हिक प्रदेश वा देशका वंशज हुन् भने यसैगरी बल्हिक वा वाललिख जातिलाई नेपालीमा बल्क जाति भनेर सम्बोधन गरिएको छ भने अन्यत्र बल्क, बाल्हिक, बाख्तरी, बाख्त्री आदि भनेर समेत सम्बोधन गरिएको पाइन्छ । नेपालमा पनि बल्क खसहरुको उपस्थिति प्रष्ट भइसकेको छ । भारतको नाट्यशास्त्र भन्ने पुरानो पुस्तकमा भरतमुनि ऋषिको उल्लेख गरिएको भरत नाट्यशास्त्रका रुपमा प्रसिद्ध नाट्यशास्त्रअनुसार यी भरत ऋषि काठमाडौंको टेकुमा आश्रम बनाई बसेका थिए । बाल्हिक भाषा बोल्ने खस कुराको उल्लेख सो नाट्यशास्त्रमा गरिएको र ऋषि भरत नाट्यशास्त्रको प्रशिक्षण गराउँथे भन्ने कुरा समेत उल्लिखित छन् ।
नेपालका पाल ठकुरीहरु बाल्हिक खस जातिका हुन् र नेपालको बुटवललगायत क्षेत्रहरुलाई बाल्हिक खसहरुको क्षेत्र भनेर धेरै विद्वान्हरु मान्दछन् । केही समय पहिलेसम्म नवलपरासीलाई पाट्टली माझखण्ड भनिने गरिन्थ्यो भने त्यतै ठाउँतिर बाल्हिक ऋषिको आश्रम रहेको थियो । बाल्हिक ऋषिलाई नै जनजिब्रोले वाल्मीकि ऋषि भन्नथालेका हुन् भनेर समेत केहीले मानेका छन् । यसैगरी नेपालको हाल एक जिल्ला प्युठानको नाम पठानबाटै अपभ्रंश भई बनेको हो भन्ने पनि धेरै विद्वान्को मान्यता रहँदै आएको छ । ती खसहरुकै एक शाखा बाल्हिक पहाडी पठान खसहरुपछि पूर्वतर्फ आएपश्चात् नेपाली खसहरुमा विलीन हुनपुगे पनि तिनका अवशेषहरु नेपालका पाल्पा, बारा, पर्सासम्म भेटिएका छन् ।
नेपालका बाहुन क्षेत्रीले हिन्दूधर्म र संस्कृतिलाई आत्मसात् गरी मान्दै आए पनि धेरै चलनहरु अलग्गै किसिमबाट विकसित भएजस्तो देखिन्छ । जस्तै गौरापर्व, पूर्वका ब्राह्मण क्षेत्री या भनौ खसान जडान क्षेत्र छाडी सदियौँअघि पूर्वी नेपालका भू–भागहरुमा आएका बाहुन क्षेत्रीहरुले गौरा पर्व नमाने पनि वा भनौ बिर्सी सके पनि सुदूरपश्चिम नेपालका पहाडी भू–भागहरुमा गौरापर्वलाई धूमधामका साथ मनाइने गरिन्छ । भाद्र कृष्ण पञ्चमीदेखि अष्टमीका दिनसम्म सुदूरपश्चिम नेपालका खस महिलाहरुले यो पर्वलाई मनाउने गर्दछन् । गौरा भनेकी पार्वती हुन् ।
सम्भवतः गौरा पर्वबाट नै विकसित भई नेपाली बाहुन क्षेत्रीलगायत खस आर्य समुदायका महिलाहरुले तिज पर्व मनाउन थालेका हुन् गौरा पर्वलाई पार्वतीले शिव पति पाऊँ भनी शिवको पार्वतीको सम्झनामा मनाउने गरिएको हो भने तिजलाई शिव जस्तै सुन्दर, दिव्य मनमोहक पति पाऊँ भनी खस आर्य नेपाली महिलाहरुले मनाउँदै आएका हुन् । गौरापर्व विशेषतः डोटी, डडेल्धुरा, हुम्ला, जुम्ला, मुगु, बैतडी, दार्चुला, बझाङ, बाजुरा, अछाम, कालिकोटजस्ता सुदूरपश्चिम नेपालका जिल्लाहरुमा मनाउने गरिन्छ ।
गौरापर्व मनाउँदा पाँचथरिका वनस्पतिजन्य वनस्पतिहरु जस्तै कुश, मास, धानको काँचोबाला, तीतेपाती र अपमार्ग भनिने जडीबुटीबाट गौराको मूर्ति अर्थात् देवी पार्वतीको मूर्ति बनाइन्छ । पार्वतीलाई चढाउन भनी प्रसादका रुपमा बिरुडा तयार पारिन्छ । व्रतालु महिलाले चोखो भई गरुडा (गहुँ, मकै, कुराउ, मस्याङ गहत, र गुराँस) भिजाएर राख्ने गर्छन् । सोही प्रसादका रुपमा खाने गरिन्छ ।
गौरापर्व मनाउँदा पुरुषका साथै महिलाहरु समूहगत गोलो घेरा बनाई देउडा नाच नाचिने गरिनुका साथै देउडा गान समेत गाउने गरिन्छ ।
अन्तमा देवीलाई पाँच वनस्पतिबाट बनेको प्रसाद बाँडी देवीको मूर्तिलाई देउतीघर भित्र्याउने भन्दै विदाइ गरिन्छ । विदाइ गर्दा देवीलाई खटमा बसाई विदाइ गरिन्छ । यस बेला खसहरुका पारम्परिक नृत्यहरु जस्तै ढालनाच गागत नृत्यलगायत छलिया र हुड्काजस्ता नृत्यहरु समेत प्रदर्शन गर्दै नाचिन्छ । गौरा पूजन भएको चारदेखि १२ दिनभित्रमा जलाशयमा विसर्जन गरिसक्नुपर्ने चलन गौरा पर्वमा रहेको छ ।
यसैगरी केवल खस बाहुन क्षेत्रीलगायतका जातिहरुले मात्र मनाउँदै आएका पर्वमा ‘विसु’ पर्व पनि रहेको छ । विसु पर्व सुदूरपश्चिमतिरका बाहुन क्षेत्री खसहरुले धुमधामका साथ मनाउने गर्छन् । खसहरुका मौलिक चाडमा पर्ने यो विशुपर्वमा सिस्नुपानी हानाहान गरी जिस्किँदै मनाइने गरिन्छ । विक्रम सम्वत्को वैशाख १ गते आउन १० दिनजति अघिदेखि नै विसुको पुतली सफा कपडाको बनाई नौ/दश दिनसम्म प्रत्येक साँझ र बिहानी नचाउने गरिन्छ । विशुको अन्तिम दिन अर्थात् वैशाख १ गतेका दिनमा पुतलीलाई डोलीमा राखी जलाशयमा लगेर सेलाउने गरिन्छ । यसरी सेलाउँदा वर्ष दिनभरि रोगव्याधि, विकार परित्याग हुन्छ भन्ने जनविश्वास त्यस भेगका खसहरुमा रहँदै आएको पाइन्छ ।
२) देउडा नृत्य : सुदूरपश्चिममा प्रचलित पूर्वीया खसहरुका पूर्वजहरुले गर्ने गरेका देउडा नृत्य नेपालमा निकै प्रचलित र लोकप्रिय रहेको हामी पाउँछौँ । यसमा समूहगत गोलो बनाई स्त्री पुरुष जम्मैले सुदूरपश्चिमेली भाकामा गीत गाउँदै डेढ पाइला अघि र डेढ पाइला पछि गर्दै गोलो घुम्दै नृत्य गर्ने गरिन्छ ।
३) भडा नृत्य : विशेषगरी दमाइजातिका दलित समुदायले विभिन्न शुभकार्यहरुमा यस नृत्यलाई प्रदर्शन गर्ने गर्छन् । तिनमा दमाइ, ढोली, औजी जस्ता थर भएका जातिहरुले नृत्य गर्दै वीरयोद्धाको वर्णनगाथा गाउँदै गद्यात्मक शैलीमा यस नृत्यलाई प्रस्तुत गरिन्छ ।
४) भुवा नृत्य : ढाल, तलवार, खड्ग, आदि लिई युद्धकला प्रदर्शन गर्दै गरिने यस नृत्यमा ऐतिहािसक वीरगाथाहरु गाइने गरिन्छ । पुरुषहरुद्वारा मात्र गरिने यस नृत्यमा दमाहा र झ्याली बाजा विशेष रुपमा बजाइने गरिन्छ ।
५) भैचम्पा नृत्य : ढोलक, मिजुरा, सहनाइजस्ता बाजाहरु बजाउँदै र स्त्रीहरुले पीडा पोख्दै गाएर गरिने यस नृत्यलाई स्त्रीहरुले गोलो घेरा बनाई देउडा झैँ घुम्दै नाचेर गाउने गरिन्छ ।
६) रनपुतला गीत : यस गीतलाई हरेक वर्ष वैशाख १ गतेका दिनमा भाका मिलाएर सुदूरपश्चिमेली शैलीमा गाउने गरिन्छ । विवाहको बिशु सेलाउँदा झाग गाउने भनेर सुदूरपश्चिमी भाकामा गीत पनि गाउने गरिन्छ भने खस महिलाहरुले भिजाएको चामलले पुतलाको पूजा समेत गर्ने गर्छन् ।
यसैगरी खस वर्गको अझै जीवित रहेका मौलिक र चाख लाग्दा नृत्यहरु सुदूरपश्चिम नेपालका पहाडी भू–भागहरुमा देख्न सकिन्छ । पूर्व लागेका खस आर्य वर्गले ती मौलिक परम्परागत नृत्यहरु बिर्सी सके पनि पश्चिम नेपालमा अझै जीवन्त रुपमा देख्न सकिन्छ । केही पछिका कालखण्डहरुमा केही थपघट हुन गए पनि ती नृत्यहरु पुरानै मौलिक परम्परागत नृत्यहरु हुन् ।
१)छलिया नृत्य : हातमा ढाल र तरवार लिएर गरिने यस नृत्यमा गीत नगाई मुखका हाउभाउ अनेक किसिमको पार्दै संगीतको तालमा नृत्य प्रदर्शन गरिन्छ ।
७) भर्सो नृत्य : विशेषतः खस समुदायका पूर्वजजनको सुदूरपश्चिमेली खस नृत्यको रुपमा चिनिने भर्सो नृत्यमा ढाल, खड्ग तरवार, खुँडा खुकुरी लिई नृत्य गर्दै युद्धकलाशैलीमा यस नृत्यलाई प्रदर्शन गर्ने गरिन्छ । भर्सो नृत्य गर्दै गाइने यस गीतलाई पौष शुक्ल पूर्णिमाका दिनदेखि द्वितीयासम्म गाइने गरिन्छ ।
८) हरपनीया गीत : भाद्र महिनामा गौरा पर्वका बेलामा सुदूरपश्चिमका खस जातिहरुले यस गीतलाई गाउने गर्छन् । वीर रसयुक्त कथाहरुलाई आधार बनाएर वीरगाथा वर्णनको शैलीमा पश्चिमेली बाहुन क्षेत्रीलगायत अन्य खस समुदायहरुले हरपनिया गीतलाई परम्परागत मौलिक बाजा तथा वाद्यवादनहरु प्रयोग गरी गौरा पर्वका दिनमा रातभर गाइने गरिन्छ । यस प्रकार खस आर्यहरुका अनेकौँ परम्परागत शैली र संस्कारहरुलाई सुदूरपश्चिममा अझै जीवन्त राखिएको देख्न सकिन्छ भने केही संस्कृतिहरु विस्मृत भइसकेका समेत छन् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया