Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकाठमाडौँमा नवउत्थान सम्मेलन

काठमाडौँमा नवउत्थान सम्मेलन


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौँमा कोभिडपश्चात्को नवउत्थान सम्मेलनको आयोजना गर्ने भएको छ । कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझ बढी गतिशील तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरूसहित छलफल गर्ने उद्देश्यले महासंघले आगामी बुधबार उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।

कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिनेछ । सम्मेलनको मुख्य थिम बदलिँदो परिस्थितिमा तीव्र र दिगो आर्थिक वृद्धिको बहस रहेको महासंघले जनाएको छ । सम्मेलन, अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के–के हुन सक्छन्, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान मात्र नभई व्यवसायमा थप ऊर्जा भर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुनेछ । सम्मेलनको उद्घाटन अर्थमन्त्री जनार्दन शर्माले गर्नेछन् । सम्मेलनको उद्घाटनसत्रलाई अर्थमन्त्री शर्मा, महासंघका अध्यक्ष शेखर गोल्छा, आईएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संवोधन गर्नेछन् ।

महासंघका अनुसार उद्घाटनपछि चारवटा सत्र चल्नेछन् । यस्तै समापन कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले सम्मेलनको निष्कर्ष प्रस्तुत गर्नेछन् । सम्मेलन अगाडि महासंघका सम्बन्धित समितिले यी विषयमा गहन छलफल गरी प्रतिवेदन तयार पारेका थिए । उक्त प्रतिवेदनमा सम्मेलनका क्रममा आएका सुझाव समेत समावेश गरी समापनसत्रमा योजना आयोग र अर्थ मन्त्रालयलाई बुझाइनेछ । साथै सम्बन्धित मन्त्रालय र निकायहरूमा पनि सम्मेलनबाट आएका सुझावहरू बुझाइने कार्यक्रम छ ।

सम्मेलनमा पेस गरिने दस्ताबेज महासंघका समिति सभापतिहरू क्रमशः ज्योत्सना श्रेष्ठ (पर्यटन समिति), डीबी बस्नेत (घरेलु तथा साना उद्योग समिति), मनिषलाल प्रधान (निर्यात प्रवद्र्धन समिति), शाहिल अग्रवाल (बैकिङ समिति) र आकाश अधिकारी (चलचित्र तथा मनोरञ्जन फोरम) को अग्रसरतामा यसअघि नै तयार गरिसकेको बताइएको छ । सम्मेलनबाट क्षेत्रगत रूपमा आएका सुुझावहरूलाई समेटी तत्काल कार्यान्वयनमा लैजान सरकारका सम्बन्धित अधिकारीहरूसमक्ष पेस गरिने कार्यक्रम छ । कार्यक्रममा सरकारी अधिकारीहरू, वित्तीय क्षेत्रका पदाधिकारीहरू, महासंघका पदाधिकारीहरू, पूर्वअध्यक्षहरू, कार्यकारिणी समितिका सदस्यहरू, परिषद्का पदाधिकारीहरू, समिति तथा फोरमका सभापतिहरू, समिति फोरमका पदाधिकारी, सदस्य एवं सल्लाहकारहरू, उद्यमी व्यवसायीहरूको सहभागिता रहने महासंघले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x