परोपकार नै धर्म हो
काठमाडौं । डिसेम्बर ५ लाई अन्तर्राष्ट्रिय स्वयम् सेवा दिवसको रूपमा हेर्ने चलन छ । संस्कृत शब्द स्वयम्को अर्थ हुन्छ आफैँ अर्थात् आफैँले गर्ने सेवा स्वयम् सेवा, पर सेवा अर्काको सेवा, समाज सेवा, राष्ट्र सेवा जे भने पनि आफू खटेर गरिने अरुको सेवा हो । पूर्वीय दर्शनमा परोपकार पुण्याय पापाय परपीडनम् भनिएको छ । सेवा नै धर्म हो, उपकार नै ईश्वर सेवा हो । परोपकार भनौँ सेवा नै धर्म हो, दिवसको सार्थकता यसैमा छ । पूर्वीय दर्शनमा जति परोपकारका आदर्शहरू सायदै अन्यत्र होलान्, त्यसैले त वेदका विभाजनकर्ता, महाभारतदेखि अठार पुराणका रचयिता वेद व्यासले भन्नुभएको छ, ‘अष्टादश पुराणेषु व्यासस्य वचनं द्धय । परोपकार पुण्याय पापाय परपीडनम्’ अर्थात् सबै पुराणको सार भन्नु परोपकार नै हो, त्यही पुण्य हो र अरुलाई पीडा दिनु नै पाप हो ।
ईश्वरको शब्दमा अहं सर्वेषु भूतेषु अर्थात् म सबै प्राणीको अन्तर हृदयमा बस्छु । मैले बनाएको मन्दिर हो यो, म आफ्नै मन्दिरमा बस्छु, हे मानव ‘तिम्रो शरीर मेरो मन्दिर हो, तिमीले बनाएको सुनका गजुरसहितको मन्दिरमा मलाई बस्न बाध्य छैन, कारण त्यही मन्दिरबाहिर बस्ने मेरै रूपका दीन, दुःखी, असहाय, अपाङ्ग, पीडितलाई तिमी लत्याउँछौ, प्राणीको गला रेट्छौँ’ । यही बुझेर होला महाकवि देवकोटाले भने, ‘हाडहरूका सुन्दर खम्बा माँस पिण्डका दिवार, नसा नदीका तरल तरँग मन्दिर आफै अपार’ ।
सबै प्राणीप्रति हाम्रो दया भाव हुनुपर्छ, अपाङ्ग, असहायप्रति झन् बढी । हरेक वर्ष डिसेम्बर ३ लाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका रूपमा हेर्ने गरिएको छ । आधुनिक समयको अन्तरालमा धेरै मानिस अपाङ्ग छन् । सन् १९९२ देखि हरेक वर्ष यस दिनलाई दिवसका रूपमा मानिन थालिएको हो । अघिल्लो वर्ष दिवसको नारा कोभिड १९ पछिको उत्कृष्ट पुनरागमनको सुनिश्चितता, अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता भन्ने रहेको थियो हाल सन् २०२१ को ३०औँ दिवस मनाइरहँदा पनि नाराले सार्थकता पाएको भने देखिन्न ।
कोरोना कालमा यहाँ ४० प्रतिशतले आफ्नो रोजगारी गुमाए । नेपालमा नीति धेरै छन् तर परिवर्तन पनि भइरहन्छन् । अपाङ्ग अधिकारसम्बन्धी ऐन २०७४, नियमावली २०७७ पनि छ । तर तिनलाई दैनिक जीवनमा सहजता भएको छैन । सीपमूलक तालिम, अपाङ्गमैत्री भौतिक संरचना, यातायात, शौचालय, विद्यालय चाहेका छन् तिनले । ऐनको परिभाषामा आफ्नो सम्पत्ति नभएका, स्याहार सुसार गर्ने नभएका, परिवार सदस्य, संरक्षक नभएका, आफैँ रोजगारी सिर्जना गर्न नसक्ने, जीविकोपार्जन गर्न नसक्ने, शारिरिक, मानसिक, बौद्धिक अशक्त, कार्यगत सीमितता भएका, अन्य व्यक्तिसरह सजिलै जीविका चलाउन असमर्थ व्यक्ति भन्ने परिभाषा गरिएको छ ।
उनीहरू साहस चाहन्छन्, धनकुटाकी झमक कुमारी घिमिरे विकलाङ्ग भएर पनि चर्चित बनेकी छन् । उनको कृति ‘जीवन काँडा फूल’ले विसं २०६८ मा मदन पुरस्कार नै पायो । २७ वर्षअघि ताप्लेजुङमा जन्मेका रमेश प्रसाई रोल मोडल बने । जन्मदै २ हात नभएका ३७ वर्षीय फिलिपिनो अमेरिकन कक्स ते क्वाण्डोको बलाक बेल्ट पैले अपाङ्गता भएको लाइसेन्स पाइलट बनिन् । जन्मदा हातखुट्टा नभएका २७ वर्षीय अष्ट्रेलियन नागरिक निक भ्वइचिच आज संसारमा प्रसिद्ध छन् । हाम्रो अपाङ्ग संरक्षण कल्याण नियमावली २०५१ मा अपाङ्गलाई काममा प्राथमिकता दिने भनिएअनुसार स्थानीय निकायमा गएका यस्ता सरकारी कर्मचारीलाई जनप्रतिनिधिबाटै राम्रो व्यवहार नगरिएको गुनासो थियो । जनगणना २०६८ अनुसार एक दशमलव ९४ प्रतिशत जनता अपाङ्ग रहेको तथ्याङ्क छ ।
धेरै कारणले व्यक्ति अपाङ्ग हुन सक्छ, कोही जन्मजात, गर्भमा धेरै औषधि सेवनमा परेका आमाहरूको गर्भका कारण, क्रोमोजम, वंशानुगत, प्राकृतिक प्रकोप, संक्रमण, गर्भावस्थामा आमाको खान पान, हेरचाहमा कमी, दुर्घटना आदि । सन् २०११ को यूएनओको प्रतिवेदनअनुसार विश्वमा पछिल्लो समयमा १५ प्रतिशत मानिसहरू अपाङ्ग छन् । यस्तो संख्या विकसितभन्दा विकासोन्मुख देशहरूमा कढी देखिएका छन् । यति धेरै संख्यामा रहेका मानिसहरूलाई छायाँमा राखेर आजको संसारले विकासको अवधारणा पूरा गर्न सक्दैन न लोक कल्याणकारी राज्यको सपना पनि ।
आज संसारलाई कोरोनाले डल्लो पारेको छ । विज्ञानको चमत्कार हुँदा पनि डेढ वर्षमा ५० लाख मानिसको इहलिला समाप्त भयो । हाम्रा २ छिमेकीबाट निस्केको कोरोनाको मुस्लोले हजारौँ हाम्रै नेपालीलाई निलिसक्यो । अहिले हामी लगभग बेसहारा भइसकेका छौँ । ओम्रिकन भाइरस कोरोनाभन्दा ५ गुणा बढी शक्तिशाली भएको र यो पनि भारतमा समेत देखिएको भनिएको छ र यहाँ पनि सावधानीका उर्दीहरू जारी हुन थालिसकेका छन् । राजनीतिक कार्यक्रमका भिडमा कसैले केही नभन्ने, आर्थिक कार्यमा उठ्न नदिइने हाम्रो नियति भएको छ । उपकारको आदर्श भन्नु नै हर प्राणीप्रति दया हो । ईश्वरप्रतिको यादविना दयाको अर्थ रहन्न । मुखमा राम बगलीमा छुरा भनेझैँ, आदर्श बोक्नेहरूले नै पीडाको घाउमा मलम लगाउन नसक्दा नेपालीहरू स्वदेश विदेश दुवैतिर छट्पटिएका छन् । कहिले भूकम्प, कहिले चट्याङ, कहिले हुरी बतास, कहिले आगलागी र बाढीपीडित, कहिले सशस्त्र द्वन्द्व त कहिले झाडावान्ता, कहिले कोरोना के–के हो के–के नेपालीमाथि परेको संकट भनौँ पीडा ! जब–जब संकट आउँछ, यसैमा दाउ हान्नेहरूको भिड पनि कमी छैन देशमा । अभिभावकको भूमिका समेत नदेखिएको अवस्थामा आदर्शका कुराले रोग, भोक, शोक त टर्दैन तथापि मनको बह कहँदा, सुन्दा, पढ्दा केही हलुको सम्म हुन्छ ।
विश्वयुद्धमा धेरै घाइते भए । कतै पक्ष, विपक्षको गन्ध नलिई घाइतेको उपचारमा संलग्न फ्लोरेन्स नाइटेङ्गलको नाम नसुन्ने सायदै कोही होलान् । मलम लगाऊ आर्तहरूको चह-याइरहेको घाउ । यही त हो मानवीयता भनौँ समाजको सेवा । देउताको नाम देवता हो, जोे आफ्नो स्वार्थका लागि मात्र बाँच्छ, ऊ जिउँदै मरेतुल्य हुन्छ । सद्गुण र सदाचार बजारमा किन्ने विषय होइनन्, मानव सर्वस्व हो यो, भनौँ उसको सञ्चित धन ! त्यसैले त हाम्रा अग्रजहरूले भने दया हो, पृथ्वीको भव जलधिको मुख्य तरणी । कोरोना उपचारमा कमिसन, ठेक्का पट्टा, आफू आफन्त मोटाउने अरूप्रति निर्दयी हुने अवस्था, उठेको करबाट राहतप्रतिको बेवास्ता, घरभित्रै थुनिएर, निसासिएर मर भनेको अवस्थाले हामीले अभिभावक नपाएको महसुस हुँदै छ अहिले, विगतका दिनहरूमा पनि यस्तै चर्को अवस्थाबाट दिनहरू गुज्रेका हुन् हाम्रा !
हाम्रो देशमा संविधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा हेरेको हो । तर बाँच्न पाउने हक भने व्यवहारतः सुरक्षित छैन । बेरोजगारी समस्या विकराल छ । समावेशी विकास, दिगो विकास सरकारी नारा कागजमा सीमित छ । कोही बलात्कृत भएर मर्छन् यहाँ, कोही मानव निर्मित साधनबाट दुर्घटना भएर, कोही एसिड छरिएर भने कोही अनायासै आएको संक्रमणबाट ! अशक्त, असहाय, दीन, दुःखी, गरिब, विपन्न, वृद्ध–वृद्धाको हालत त झन् खराब छ । आर्थिक रूपले अशक्त, विपन्न, असहायको कथा र व्यथा आफ्नै छ । अपाङ्ग, एकल, बालबालिका, किशोर, किशोरीको दुर्दशा हरिविजोक छ । अन्तर्राष्ट्रिय संघसंस्था, समूह सरकारसँग देशले गरेको प्रतिबद्धता, सन्धि, महासन्धि कति छन् कागजमा, कति छन् पुस्तकालयहरूमा । सरकारी निकाय मात्र होइन गैरसरकारी निकायहरूले नेपाली मुद्रा मात्र होइन हरिया डलर खर्चेका छन्, धेरै यी र यस्तै विषयमा ! वर्षैपिच्छेका योजना र कार्यक्रममा पनि यी विषय परी नै रहन्छन् ।
लैंगिक, जातीय छुवाछुतको अन्त्य हुनुपर्ने हो अर्थात् सामाजिक विभेदको अन्त्य हुनुपर्ने हो । युवा परिचालनबाट मानवीय सेवा, विपत् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता व्यावहारिक कार्यक्रम सञ्चालन हुनुपर्ने हो । हिंसापीडित महिलाहरूको उद्धार र राहत, मनोसामाजिक परामर्श र कानुनी सरसल्लाह, पुनर्स्थापना केन्द्रहरूबाट उचित लाभ प्राप्ति हेतुलक्षित कार्यक्रम सञ्चालन गरिनुपर्ने हो । महिलाविरुद्ध हुने हिंसा अन्त्य हुनुपर्ने हो । बालविवाह, तिलक, दाइजोप्रथा, छाउपडी एवं बोक्सीजस्ता कुरीतिको अन्त्य हुनुपर्ने हो । सामूहिक उन्नयनमा सरकार पछि नहट्नु पर्ने हो । बालश्रमको अन्त्य हुनुपर्ने हो । सबैको श्रमको महत्व र मूल्यांकन हुनुपर्ने हो । बचतको भावनाबाट लगानीको वातावरण तय गर्नुपर्ने हो । सडक बालबालिकाको उद्धार, विद्यालयमा छात्रवृत्ति, पोशाक, खाजा, यातायातको व्यवस्था गर्नुपर्ने हो । मानसिक रोगी, टुहुरा, असहाय, बालबालिका, वृद्ध, अपाङ्गता भएका व्यक्तिहरूको हेरचाह र सुरक्षा अझ बढी जरुरी हुनुपर्ने हो । समग्रमा भन्नुपर्दा सबैको आत्मिक उन्नतिबाट मुलुक समृद्ध हुनुपर्ने हो । लोक कल्याणकारी राज्यको यही परिकल्पना हो ।
पूर्वीय धर्म र दर्शनले जुन सभामा वृद्धहरूको उपस्थिति हुँदैन । त्यो असलमा सभा हुनै सक्तैन भनेको छ । त्यस्तोे परिवारलाई राज्यले, समाजले सम्मान दिनुपर्ने हुन्छ । परित्यक्त, हिंसापीडित, शारीरिक र मानसिक रूपले अशक्तहरूको अझ विशेष ख्याल गरिनुपर्ने हुन्छ । विपत् जोखिम, भूकम्प, बाढी, पहिरो, हावाहुरी, चिसो, तातोको ख्याल गरिनुपर्ने हुन्छ । समयमा औषधिमूलो, अस्पताल सेवा घरैमा चिकित्सकका सल्लाहको आवश्यकता पर्ने हुन्छ । यसका लागि ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक समूह गठन र सञ्चालनजस्ता कार्यक्रमले सार्थकता पाउन सक्छन् ।
सबै ज्येष्ठ नागरिकले सुरक्षित र सम्मानजनक अवस्थामा आफ्नो जीवनयापन गरेको महसुस हुने वातावरण तय गरिनुपर्छ । यो राज्यको दायित्व हो । हामीकहाँ अशक्तहरूको संख्या पनि कम छैन । झण्डै दुई प्रतिशत जनता अपाङ्ग छन् । अपाङ्गमध्ये पनि शरीरको अपाङ्गता बढी छ । झण्डै सत्तरी प्रतिशत शारीरिक अपाङ्गका छन् । तीमध्ये संविधानले यस्ता व्यक्तिहरूको पनि संरक्षणको परिकल्पना त गरेको छ । तिनको सेवा सुविधाको पहुँचको स्थापना गर्न खोजेको छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई पनि राज्यले स्वीकारेको छ । सरकारले समुदायमा आधारित समावेशीकरण गरेको भनेको छ । निजामती सेवामा आरक्षणको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा भत्ता, व्यावसायिक तथा सीपमूलक तालिमका प्रावधानहरूलाई प्रयोगमा ल्याएको भनेको छ । तथापि पेसागत भौतिक संरचनाहरूलाई अपाङ्गमैत्री बनाउन सकेको छैन । कोटेश्वर, कलंकी सडक हेर्दा पनि यसको बारेमा स्पष्ट हुन्छ । दुर्गम क्षेत्रमा यसको दायरा बढाउन सकेको छैन । अपाङ्गहरूप्रति समाजको सकारात्मक दृष्टिकोण स्थापित गराउन सकिरहेको छैन । हरेक प्रकारका अपाङ्गता भएका व्यक्तिहरू सक्षम, स्वावलम्बी र आत्मनिर्भर बनाउने राज्यको सपना अधुरो छ ।
उपकारमा नै अमृतको बास हुन्छ । उपनिषद्को सार पनि अमृतत्वेन गम्यात् नै हो । उपकारी व्यक्ति तपस्वी हुन्छ । कुभाषण, भोगको इच्छा, कामाशक्ति, गुणमा दोष दृष्टि, दोषमा गुण दृष्टि, तृष्णा, लोभ, चुक्ली, निन्दा, हिंसा, क्रोध, शोक, चिन्ता, कर्तव्यको विस्मृति, डाह, इष्र्या, सन्ताप, ज्यादा बोल्नु सत्पुरुषको भनौँ जितेन्द्रीय व्यक्तिको लक्षण होइन । मदका यी दोषलाई त्याग गर्नाले व्यक्ति समाजभित्रै तपस्वी बस्न सक्छ । जीवले जगत् बुझ्नुपर्ने हुन्छ । जीव र जगत् दुवै परमात्माको असल अभिव्यक्ति हो । सुन्दर अभिव्यक्ति हो । चेष्टाबाट रहित हुँदा ईश्वरत्व प्राप्ति हुन्छ । कायेन, मनसा, वाचा अर्थात् मन, वचन र कर्मले परोपकारी हुनुपर्ने हुन्छ । नदी जसरी सलल एकनासले बगेको हुन्छ । ज्ञान र वैराग्यरूपी वालुवामा भक्तिरूपी गंगाको प्रवाह भएझैँ जीवनलाई प्रवाह गर्न सकेमा ईश्वर खोज्न टाढा जानु पर्दैन । दश दिशा घुमेर ईश्वर भेटिन्न र हाम्रा महाकवि भन्छन्– ‘ईश्वर बस्तछ गहिराइमा खोजी हिँड्छौं कुन पुर ? वेत्ता वा विद्धान् त्यही हो जसले भगवत् सेवा गर्छ । जीव र जगत् के हो, आफू को हुँ आफ्नो स्रोत के हो ? गन्तव्य कहाँ हो ? बाटो कुन हो ? आफ्नो बाटो आफैँले निर्माण गर्नु जरुरी छ । सत्सङ नै एउटा बाटो निर्माणको थालनी हो । निःस्वार्थ कार्य बाटो निर्माणको थालनी हो । कर्म गर फलको आश नगर भन्ने गीताको सन्देश हो ।
ज्ञानको उदात्त भावले दिव्यचक्षु खुल्छ । चर्म चक्षुले यथार्थ देख्दैन । चर्मचक्षु दिव्यचक्षु होइन । ‘असतो मा सत् गमय, तमसो मा ज्योर्तिगमय, मृत्यो मां अमृतम् गमय’ भनेको त्यही हो । अर्थात् असत्यलाई सत्यतिर, अन्धकारलाई उज्यालोतिर, मृत्युलाई अमरतातिर लग भनेको हो । आत्मज्ञानी पुरुषले ईश्वरसँग साक्षात्कार गर्न सक्छ । सच्चिदानन्द स्वरूप, पूर्ण ब्रह्म परमात्मा परमेश्वर आफैँभित्र हुनुहुन्छ । चित्स्वरूपबाट हामी चलायमान हुन सक्छौँ । ईश्वरको अस्तित्व जीवबाट मेटिँदा ऊ मुढ बन्न पुग्छ । नश्वर शरीर तुरुन्तै ढल्छ । सत् चित् र आनन्द स्वरूपले ईश्वर मानव शरीरमा लुकेर बसेको हुन्छ । तपमा रहने व्यक्ति सत्पुरुष हो । त्यसलाई धार्मिक भनिन्छ । मानव देह नै धर्मको अभिव्यक्ति हो, पुण्यको अभिव्यक्ति हो । धर्म, पुण्य सञ्चितिविना मानव देह प्राप्त नै हुँदैन । सत्ज्ञानको फल तत्कालै प्राप्त हुन्छ । विज्ञानझैँ तुरुन्तै त्यसको असर पनि मिल्छ, अर्थात् परिणाममुखी हुन्छ । रेडक्रस, परोपकार, अपाङ्ग जे भने पनि दिवसहरूको सार्थकता यही हो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया