Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटेलिकमले वडासम्म टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने

टेलिकमले वडासम्म टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने


काठमाडौं । नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरुको वडासम्म नै टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने भएको छ । स्थानीय तहको वडाभित्र रहेको सबै सरकारी कार्यालयहरुमा टेलिफोन र ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्न टेलिकमले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा मन्त्रालयको तर्फबाट सहसचिव डा. गोपीकृष्ण खनाल र कम्पनीको तर्फबाट प्रबन्धनिर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार टेलिकमले वडा तहसम्म नै टेलिफोन तथा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेछ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्यान्ड सेवा उपलब्ध गराउने सम्बन्धमा माग संकलन तथा कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र टेलिकमसँग आवश्यक सहजीकरण तथा समन्वय गर्नेछ । त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणमा रहेको ग्रामीण दूरसञ्चार कोष प्रयोग गरी टेलिकममार्फत सञ्चालित परियोजना कार्यान्वयनमा मन्त्रालयले टेलिकम र स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्नेछ । साथै मन्त्रालयले सेवा विस्तारको लागि स्थानीय तहमार्फत आवश्यक पर्ने राइट अफ वे उपलब्ध गराउन सहजीकरण गरिदिनेछ ।

सम्झौताअनुसार नेपाल टेलिकमले सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, सामुदायिक विद्यालयहरु र अन्य सरकारी कार्यालयहरुमा टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन मन्त्रालयको समन्वयमा योजना तर्जुमा तथा कार्यान्वयन गर्नेछ । स्थानीय तहको वेबसाइट तथा अनलाइन सेवाको लागि प्रयोग हुने वेब बेस्ड एप्लिकेसनको लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने छ । यसका लागि कम्पनीले विभिन्न प्याकेजको व्यवस्था गर्नेछ भने ग्रामीण सूचना केन्द्रहरुको स्थापना, हार्डवेयर तथा सफ्टवेयरको व्यवस्था र डिजिटल नेपालको अभियानलाई संस्थागत गर्न र विभिन्न सेवा विस्तारको लागि पूर्वाधार विकास एवं विस्तार गर्न आवश्यक सहकार्य गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x