एफवानसफ्ट आईसीटी अवार्डमा १२ विधाका सर्वोत्कृष्ट विजेता छनौट
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आईसीटी अवार्डको २०२१’ को ग्रान्ड फिनाले शुक्रबार सम्पन्न भएको छ । राजधानीको द सोल्टी होटेल काठमाडौंमा अवार्डको फिनाले आयोजना गरिएको थियो ।
लिभिङ विथ आईसीटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आईसीटी अवार्ड २०२१ प्रदान गरिएको थियो । छ्रैटौं संस्करणको रुपमा आयोजना भएको आईसीटी अवार्डको विगत पाँच महिनादेखि छनौट प्रक्रिया जारी रहेको थियो । आयोजकका अनुसार यस वर्षको अवार्डमा विभिन्न ११ विधामा चार सय बढीको अनलाइन नोमिनेसन प्राप्त भएको थियो । एफवान सफ्ट आईसीटी अवार्डअन्तर्गत पायोनियर आईसीटी अवार्ड आईसीटी विज्ञ मनोहर कुमार भट्टराई, एनसेल वुमन आईसीटी अवार्ड नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान, आन्टप्रेनर आईसीटी अवार्ड योमरी कम्पनीका सस्थापक दिपेश प्रधान र नेपाली डायस्पोरा आईसीटी अवार्ड ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेललाई प्रदान गरिएको थियो ।
आईसीटी अवार्डमा शिक्षा र गभर्नेन्स क्षेत्रमा पनि अवार्ड प्रदान गरिएको छ । डिजिटल गभर्नेन्स आईसीटी अवार्ड यस वर्ष भूमि व्यवस्थापन तथा अभिलेख विभागले प्राप्त गरेको छ । विभिन्न ३० बढी सरकारी संस्थाहरुको प्रतिस्पर्धामा विभागले अवार्ड प्राप्त गरेको हो । यसैगरी डिजिटल सर्भिसेस आईसीटी अवार्ड नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले प्राप्त गरेको थियो । डिजिटल एजुकेसन आईसीटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर क्रमशः कालिका मानवज्ञान बुटवल र रातोबंगला स्कुल पाटनले प्राप्त गरेका छन् ।
अवार्डमा महत्वपूर्ण र प्रतिस्पर्धात्मक रुपमा पब्लिक भोटिङ समेत सञ्चालन भएका विधाहरुमध्ये ह्वावे स्टार्टअप आईसीटी अवार्ड खेती भेन्चरले प्राप्त गरेको छ । यसैगरी प्रडक्ट आईसीटी अवार्ड मिखा प्रडक्टले र राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड पुलचोक इन्जिनियरिङका विद्यार्थीहरुले तयार पारेको मुसुरले प्राप्त गरेको छ । यी तीन विधाका उत्कृष्ट १०/१० गरी ३० मध्ये पब्लिक च्वाइस आईसीटी अवार्ड बगभीले प्राप्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्वमन्त्री पार्वत गुरुङ, सचिव डा. वैकुण्ठ अर्याल, सचिव सुरेश आचार्य, राष्ट्रिय योजना आयोगका सदस्यहरु डा. पुष्प रमण वाग्ले र डा. राम कुमार फुयालले विजेतालाई अवार्ड प्रदान गरेका थिए । अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती र नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा विजेताहरुले अवार्डसँगै विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन । कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सरकारी सस्था, बैंक तथा कर्पोरेट, आईटी, शिक्षा क्षेत्रसँगै उद्यमी र स्टार्टअपहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष राजन लम्सालले आईसीटी अवार्ड सबैको सहकार्यमा नेपाली स्टार्टअप, इन्नोभेसन तथा डिजिटल इकोसिस्टमको विकासको लक्ष्यका साथ अघि बढिरहेको महत्वपूर्ण अभियान रहेको बताए । अवार्ड विजेताले महत्वपूर्ण अवार्डसँगै स्टार्टअप तथा इन्नोभेसनका तीन विजेतालाई राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्मको सहुलियतपूर्ण ऋण सुविधा, एनसेलले वुमन आइकनलाई तीन लाख रकम पुरस्कार, ह्वावेले पाँच स्टार्टअपलाई तीन लाखबराबरको ह्वावे क्लाउड सेवा, जिनस सोलुसनले विजेतालाई निःशुल्क कन्सल्टेन्ट र दुई विद्यालयलाई एक वर्षको जुम सुविधा, नेपाल टेलिकमले सबै विजेतालाई आकर्षक डेटा प्याकेज, डिशहोमले इन्टरनेट सुविधा, इसेवा तथा अन्य सहयोगी संस्थाहरुले थप पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रममा ज्ञानेन्द्र बहादुर कार्कीले आईसीटी अवार्डले नयाँ सोच र प्रविधिको विकासमा सहयोग पु-याउने बताए । सञ्चार तथा सूचना प्रविधि सचिव डा. वैकुण्ठ अर्यालले आईसीटी अवार्डले डिजिटल नेपाल र डिजिटल रुपान्तरणको लागि विभिन्न ढंगले काम गरिरहेकोले सरकारलाई थप जिम्मेवार हुने सन्देश दिएको बताए । अवार्डले भोलिका दिनमा इन्नोभेसनमा काम गर्न नयाँ पुस्तालाई उत्प्रेरित गर्ने अर्यालको भनाइ छ । नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले आईसीटी अवार्ड पुरस्कार वितरण गर्ने थलो मात्रै नभएर सार्वजनिक निजी साझेदारीको राम्रो मोडल भएको बताए । शिक्षा, विज्ञान तथा प्रविधि सचिव सुरेश आचार्यले अबको भविष्य आईसीटीले नै ड्राइभ गर्ने हुँदा स्टार्टअप, इन्नोभेसनसँगै डिजिटल इकोसिस्टम बलियो बनाउन सरकार र निजी क्षेत्रको सहकार्यमा अझ धेरैै काम
गर्नुपर्ने बताए ।
यस वर्षको आईसीटी अवार्डको सिलसिलामा स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट, मेन्टरिङ सेसन, पूर्वविजेता तथा अवार्ड प्रतिस्पर्धीको स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेसन तथा स्पिड डेटिङ सेसनहरु सञ्चालन भएका थिए । आईसीटी अवार्डका जुरी कोअर्डिनेटर हेमापाल श्रेष्ठले चार महिनाको गहन अध्ययन र विभिन्न सात चरणको छनोटपश्चात् विजेता छनोट गरिएको दिए । अवार्ड छनौटको लागि १२ जुरी सदस्य र १५ सल्लाहकार समिति रहेको थियो । जुरी संयोजक सुशील पोख्रेलले आईसीटी अवार्ड एक पुरस्कार वितरण कार्यक्रममात्र नभएर यो डिजिटल इकोसिस्टम र इकोनोमिकको बलियो आधार तयार पार्ने इनिसिएटिभ्स भएको बताए । एफवान सफ्टले मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रममा ३५ भन्दा बढी संस्थाहरूको सहकार्य रहेको छ । आईसीटी अवार्ड २०२१ को मुख्य प्रायोजन एफवान सफ्ट, सहप्रायोजन नेपाल टेलिकम र जेनेस सोलुसनले गरेका छन् ।
त्यस्तै पावर्ड पार्टनरमा ह्वावे र डिशहोम फाइबरनेट, क्याटोगोरी स्पोन्सरमा एनसेल, बैंकिङ पार्टनर राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । अवार्ड कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि केन्द्र, नाष्ट, उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको छ । यसैगरी प्रेसिडेन्सियल बिजनेस स्कुल, रिसेक्युरिटी, अप्लाई जब, इ–सेवा मेन्टर ल्याब, एमिनेन्स वेज, डायनामिक टेक्नोसफ्ट, टेक्सास इन्टरनेशनल, नेपाल बैंक लिमिटेड, फ्युज मसिन्स, बारकोड नेपाल, नेपाल आन्ट्रप्रेनर्स हब, हाम्रो पात्रो र प्लान्ट डि नेपाललगायतका संस्थाहरुको सहकार्य रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया