जस्तापाताका भरमा जाडो छल्दै मनाङका तालवासी
मनाङ । चिसो बढेसँगै माथिल्लो मनाङका बासिन्दा जिल्लाबाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत सहरमा पुगिसकेका छन् । बाढीले क्षति पु-याएका चामे गाउँपालिका र नासो गाउँपालिकाका मानिस भने जाडोयाममा जिल्लामा नै बसोबास गर्ने गर्दछन् । झनै यस पटक बाढीका कारण घरबारविहीन भएका यहाँका मानिस राहतमा आएका जस्तापाता तथा प्रदेश सरकार र गाउँपालिकाले उपलब्ध गराएको राहत रकमले बगर पन्छाएर बसेका छन् । उनीहरू जस्तापाताको टहरामा दिन काटिरहेका छन् । उनीहरू अहिलेको यो चिसोमा पनि मर्स्याङ्दीको किनारमा बगर पन्छाउँदै कष्टकार जीवन बिताएका छन् ।
मनाङको तल्लो क्षेत्र नासो गाउँपालिका–१ सिरानतालमा सात घर थियो । गत जेठ ३१ को रातिदेखि परेको अवरिल वर्षाले मर्स्याङ्दीमा बाढी आउँदा सबै बगायो । स्थानीयवासी राजन गुरुङका अनुसार अहिले कुन ठाउँमा कुन घर थियो भनेर अड्कल गर्न पनि सकिँदैन । जसोतसो मान्छे जोगिए पनि घरबारी सबै बगायो । घर भएको ठाउँ पूरै बगर बनेको छ । पहिलेको ठाउँमा अब अर्को घर बनाउन पनि मिल्दैन ।
भीरपाखाको ओडार र छेलमा बसेर रात कटाएका स्थानीयवासी अहिले कोही तालबजारको छिमेकीकोमा छन् । कोही बेँसीसहर आफन्तकोमा छन् । सिरानतालकै दुधजंग गुरुङको परिवार तालबजारस्थित कविन्द्र गुरुङको घरमा एउटा कोठा भाडामा लिएर बसेको छ । बाढीले डुबाएको कविन्द्रको घरका कोठाबाट बालुवा झिकेर पत्नी र छोरीसहित तीन जनाको परिवार एउटा कोठामा बसेको छ । तालडाडामा पालमुनि बस्दै आएको परिवार चिसोले सताउन थालेपछि तीन साताअघि मात्रै कविन्द्रको घरमा आएका हुन् ।
‘दाताले दिएको पालमुनि बसियो । चिसोले सकिएन । तपतप चिसो चुहिएपछि डेरा खोजेर बस्यौँ’, उनले भने । उनका अनुसार हिउँदअगाडि जस्ताको अस्थायी टहरा बनाउने योजना छ । यसका लागि गण्डकी प्रदेश सरकारले दुई लाख रुपैयाँ दिएको छ ।
‘हामी घरबारविहीन भएको सात महिना भयो, प्रदेश सरकारले चेक दिएको छ । अब घर टहरा बनाउनुपर्ला’, उनले भने, ‘चिसो छल्न आफन्तको घरमा कोठा लियौँ । दुई लाख रुपैयाँले घर बन्दैन । टिन जस्तापाताले बार्ने र टिनैको छानो हाल्ने हो । टिनले पनि के जाडो छेकिएला र खै ?’
तालबजारकै खिमबहादुर गुरुङको घरमा कोठा लिएर बसेका भीमबहादुर गुरुङले पनि दुई लाख रुपैयाँको चेक बुझे । पत्नी, दुई छोरी र एक छोरा अहिले कोठामा बसेका छन् । मस्र्याङ्दीले घर सबै पुरिएपछि उनी तालडाँडामा विस्थापित भएका थिए । ‘तालडाँडामै टेन्ट लगाएर बसियो । घर र खाद्यान्न सबै बाढीले डुबायो । दाताले दिएको राहत पनि सकियो’, उनले भने, ‘राहतको पैसाले सानोतिनो टहरा बनाउनुपर्ला । घर बनाउन पछि केन्द्र सरकारले दिने भनेको छ ।’ नासो–१ का अध्यक्ष झलकबहादुर गुरुङका अनुसार पूर्ण क्षतिको सूचीमा परेको तालगाउँका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री राम्जी बरालले धारापानीमा आएर दुई/दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । ‘घर बनाउनका लागि पैसापछि आउँछ भन्नुभएको छ’, उनले भने, ‘केन्द्र सरकारले दिने हो कि, प्रदेशले दिने हो, त्यो त उहाँले भन्नुभएन ।’
अध्यक्ष चन्द्र घलेले गाउँपालिकाभित्र पूर्ण क्षति पुगेका लाभग्राहीको संख्या ४४ रहेकामा ३९ जनाले दुई लाख रुपैयाँका दरले राहत पाएको बताए । पाँच जनाको भने केही कागजात अपुग भएको भन्दै नपाएको उनले बताए । उनका अनुसार क्षति भएको ठाउँमा टालटुल गर्न, अस्थायी टहरा बनाउन भन्दै उक्त रकम दिएको हो । ‘घरबारविहीन भएको सात महिना भयो । जनता भोकै छना कि, नाङ्गै छन् कि भनेर वास्ता नगर्ने भनेर गुनासो गरेँ । नियम, प्रक्रियाले गर्दा ढिलो भयो भन्ने कुरा मन्त्रीबाट आयो’, उनले भने । उनका अनुसार केन्द्र सरकारले पाँच लाख रुपैयाँ दिने भन्ने कुरा छ । तर, कसरी दिने भनेर प्रस्ट छैन । ‘केन्द्रले ६० प्रतिशत, प्रदेशले ३० र स्थानीय तहले १० प्रतिशत रकम पुनर्निर्माणका लागि दिने भन्ने थियो’, उनले भने, ‘दुई लाख रुपैयाँ के भनेर दिएको हो, प्रस्ट छैन । प्रदेशले फेरि दिन्छ वा दिँदैन, त्यो पनि प्रस्ट छैन ।’
प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार प्रदेश सरकारबाट ७४ लाभग्राहीका लागि एक करोड ४८ लाख रुपैयाँ बजेट आएको थियो । प्रदेश विपत् व्यवस्थापन नियमावलीअनुसार एक लाख र हिमाली जिल्लाको हकमा सरकारले विशेष प्रभावित क्षेत्र घोषणा गरेकाले थप एक लाख गरी दुई लाख रुपैयाँ आएको बताए । उनका अनुसार यो रकम निजी आवास पुनर्निर्माणका लागि प्रदेश सरकारको विशेष राहत हो । संघीय र स्थानीय सरकारको रकम आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले जनाकारी दिए । ‘बाढी पहिरोपीडितको पुनस्र्थापना तथा घर पुनर्निर्माणको लागि हो । प्रदेश सरकारबाट अर्को रकम आउँछ वा आउँदैन, यसै भन्न सकिँदैन’, उनले भने । मन्त्री बरालले भने विशेष प्याकेजका रूपमा बाढीपीडितलाई उक्त रकम प्रदान गरिएको बताए ।
नासो गाउँपालिका–१ का अध्यक्ष झलकबहादुर गुरुङका अनुसार तालगाउँको सबै घर डुबानमा परेका छन् । सिरानतालको सात घरसहित करिब ६० घर डुबानमा परेको उनले बताए । नासो गाउँपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत गोविन्दबहादुर रानाभाटका अनुसार गाउँपालिकाभित्रका ८२ घरधुरीमा बाढी पहिरोेले क्षति पु-याएको छ । यसमा पूर्ण क्षति भएका ४४ घर छन् ।
आंशिक क्षति तर उच्च जोखिमका १५ घर छन् । आंशिक क्षति न्यून जोखिमका २३ घर छन् । यी घर मर्मत गरेर बस्न सकिन्छ । उनका अनुसार वडा नं १ को तालमा मात्रै ५८ घरमा क्षति पुगेकामा २३ घरमा पूर्ण क्षति छ । १५ घर आंशिक क्षति तर उच्च जोखिममा छन् । १३ घर आंशिक क्षति छन् । आठ घरमा सामान्य क्षति छ । तालका १५ घर परिवार अरुकोमा आश्रय लिएर बसेका छन् । छ परिवार अन्यत्रै सरेका छ । नासो–३ धारापानीका १४ परिवार आफन्तकोमा आश्रय लिएका छन् । पूर्ण क्षति नभए पनि आफ्नो घरमै बस्न नसकेका, लामो समयसम्म अन्यत्रै बस्न बाध्य भएका र आफ्नो घरमा बस्दा पनि मर्मत गरी बस्नुपर्नेलाई राहतमा नसमेटेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- प्रहरी विधेयक मन्त्रिपरिषदमा पेस
- रास्वपा सभापति लामिछाने अझै १५ दिन हिरासतमा
- मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई दुई लाख
- भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी स्वदेश फिर्ता
- राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
- कुलमान विरुद्धको पेशी अर्को बर्ष मात्र !
- धरहरा चढ्न शुल्क लाग्ने
- बाल अधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौंमा सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया