Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपरिवर्तनको सही प्रतिनिधित्व हुन नसक्नु आजको मूल प्रश्न

परिवर्तनको सही प्रतिनिधित्व हुन नसक्नु आजको मूल प्रश्न


काठमाडौँ । नेपालमा भएका अहिलेसम्मका तीनवटा ठूल्ठूला ऐतिहासिक राजनीतिक आन्दोलनपछि पनि तिनले नेपाली समाजको आम चाहनाको सार्थक प्रतिनिधित्व गर्न सकेनन् । २००७ सालको आन्दोलनले एक सय चार वर्षे राणा शासनको अन्त्य गरे पनि राणा शासनको स्थानमा राजालाई पुनस्र्थापना ग-यो ।

फलतः त्यसले जनताको आकांक्षा र चाहनालाई सही किसिमले प्रतिनिधित्व गर्न सक्तैनथ्यो नै र गरेन पनि । जनताले जे–जे सीमित अधिकार र अलिक खुकुलो वातावरण पाएको अनुभूति त्यतिबेला भएको थियो त्यो पनि २०१७ सालको प्रतिगामी शाही काण्डले समाप्त पारिदियो । पुनस्र्थापित राजतन्त्रले झण्डै तीन दशकसम्म आफ्नो खाँडो जगायो ।

परिवर्तनको खोजी गर्नेहरू जेलनेल, भूमिगत र प्रवासबाट संघर्ष गर्न बाध्य पारिए । अनेक विसङ्गत सुसङ्गत संघर्षपछि २०४६ सालमा उत्कर्षका पुगेको राजाको नेतृत्वको पञ्चायत व्यवस्था राजा र आन्दोलनकारी शक्तिका बीच सम्झौतामा नै समाप्त भयो । त्यसले २००७ सालपछिकै जस्तो केही खुकुलो वातावरण अवश्य दियो । हुन पनि त्यसलाई प्रजातन्त्रको पुनस्र्थापना नै भनिएको थियो । राजा संवैधानिक र जनता सार्वभौम भनेर संविधान लेखिए पनि वास्तविक सत्ताको बाग्डोर राजाकै हातमा रहेको थियो । त्यो पुनस्र्थापित प्रजातन्त्रले पनि जनताको अकांक्षा र अभिालाषाको ठोस र सार्थक रूपमा प्रतिनिधित्व गर्न सकेन ।

समय बित्दै जाँदा राजतन्त्रले जनताले पाएका सीमित अधिकारहरू पनि हत्याउने सुरसार कस्यो र नयाँ किसिमले २०६१ साल माघ १९ मा पुनः ०१७ साल दोहो-याइयो । त्यसविरुद्धको प्रतिक्रियास्वरूप शान्तिपूर्ण आन्दोलन गरिरहेका सात राजनीति दल र संसदीय व्यवस्थाका विरुद्ध सशस्त्र संघर्ष गरिरहेको माओवादीका बीच आन्दोलनलाई राजतन्त्रका विरुद्ध सोझ्याउने सहमतिका साथ शान्तिपूर्ण संयुक्त जन आन्दोलन गर्ने निर्णयले नेपाली जनआन्दोलन विशाल रूप र गति लियो । फलस्वरूप राजतन्त्रको अन्त्य त भयो । तर त्यो पनि सम्झौतामा नै भएको हो ।

यसरी जन अधिकार र नागरिक स्वतन्त्रताका लागि पटक–पटक उठेका शान्तिपूर्ण र सशस्त्र आन्दोलन सम्झौतामा टुंगिएर तिनले पूर्णता नपाएका कारणले देश र जनताले जहिले पनि घुम्दै फिर्दै रुम्जाटारु भनेजस्तै एउटा अनन्त गोल चक्करको स्थितिबाट गुज्रिनु परिरहेको छ । यसले गर्दा परिवर्तनको उत्साह र ऊर्जालाई सही निकास दिने उच्चाई पटक्कै प्राप्त गर्न सकेको छैन । फलतः एउटा अभिजात वर्गका हातबाट अर्काे अभिजात वर्ग वा तिनकै आसेपासेका हातमा सत्ता हस्तान्तरण हुने गर्दै आएको छ ।

पहिले पनि यस वास्तविताको ठोस विश्लेषण र समीक्षा गर्दै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा कम्युनिस्ट आन्दोलनका शीर्ष नेता कमरेड पुष्पलालले राजनीतिक परिवर्तन नेपाली जनताका लागि तावाबाट उम्केर भुंग्रोमाु परेको जस्तो मात्र हुनेगरेको औँल्याउनुभएको थियो । हामीले ०७ सालदेखि ०६३ सालसम्मको परिवर्तनयताको स्थितिलाई हेर्दा र केलाउँदा पनि वास्तवमा मूलतः यही अनूभूति जनताले गर्दै आएको र भइरहेको छ ।

संविधान निर्माणको हिजोको हाम्रो सकसले पनि एक वा अर्काे किसिमले यही यथार्थलाई प्रतिबिम्बित गर्दथ्यो र गरिरहेको थियो । सतही रूपमा उपरी ढाँचामा निकै ठूलो परिवर्तन देखिए पनि राजनीतिक, आर्थिक, समाजिक र सांस्कृतिक रूपान्तरणमा आम जनताको अग्रगामी र सक्रिय सहभागिता सुनिश्चित हुने पद्धति र परिपाटी बस्ने उपयुक्त वातावरण बन्ने स्थिति अझै पनि देखिन सकेको छैन । त्यसैले नेपाली राजनीतिक परिवर्तनले कुनै गुणात्मक फड्को मार्नसक्ने आधार निर्माण हुन नसकेको वस्तुगत यथार्थ नै अहिले पनि निरन्तर प्रकट भइरहेको छ ।

यद्यपि विगतका आन्दोलनपछिको स्थितिभन्दा भिन्न जनआन्दोलनकारी शक्तिकै मुख्य पात्र मानिएका शक्तिहरू विगत एक दशकभन्दा बढी समयदेखि सत्तामा हालीमुहाली चलाइरहेका छन् । उनीहरूले परिवर्तनको सामथ्र्य र सीमा के–कति हो भन्ने कुरा पनि नबुझेका छैनन् । त्यसले देश जनतालाई कत्तिको शक्तिशाली बनाउने क्षमता राख्दछ भन्ने पनि नजानेका छैनन् । तर उनीहरूमा रहेको जनआन्दोनलकारी शक्तिको ऊर्जा समाप्त प्रायः भएको छ ।

त्यसो हुनुमा नेपाली समाजको मूल आधार यथास्थितिमा रहेको र सत्तामा पुगेका परिवर्तन पक्षधर मानिएका शक्तिहरू त्यसै यथास्थितिको आधारमा राजनीतिक आकलन गर्दै जनतलाई सार्थक अधिकार प्रदान गर्ने राजनीतिक इच्छाशक्ति गुमाएको स्थिति पुगेका छन । परिणामतः उनीहरू अभिजात वर्गकै बाटोमा घस्रिने र आफ्नो वर्चश्व कामय राख्ने हिसाबले चलिरहेका छन् ।

यसरी परिवर्तनको सत्व गुमाएको स्थितिमा पुगेका राजनीतिक दल र शक्तिहरूले जनता र देशको चिर आकांक्षा र चाहनालाई साकार र मूर्तरूप दिने कुरा केवल कोरा परिपकल्पना मात्र ठहरिन पुग्नेछ र पुगिरहेको छ । यस्तो भ्रम र मृगतृष्णामा अलमलिनुको कुनै अर्थ पनि छैन ।

पाएका उपलब्धिहरूको रक्षा गर्दै थप उपलब्धिका निमित्त निर्णायक संघर्षको मूल प्रवाहमा हेलिन तयार हुनुपर्ने आवश्यकता रहेको कारण पनि यही नै हो । यसले क्रान्ति अधुरो रहेकै कुराको पुष्टि गर्दछ । यो वस्तुगत यथार्थ हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x