Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफर्निचर तथा फर्निसिङ व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत

फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत


काठमाडौँ । नेपाल फर्निचर तथा फर्निसिङ महासंघमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार राजधानीमा सम्पन्न महासंघको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले सुजिल श्रेष्ठको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमितिका चयन गरेको हो ।

सभाले सुजिल श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल, प्रथम उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा युवराज पौडेल, तृतीय उपाध्यक्षमा गोकुल श्रेष्ठ, महासचिवमा ओम बहादुर बस्नेत, कोषाध्यक्षमा बद्री प्रसाद हुमागाईं र सचिवमा राजकुमार दाहाल र सहकोषाध्यक्षमा अप्सरा थापा निर्विरोध चयन भएका छन् ।

महासंघको साधारण सदस्यमा हरि कुमार शर्मा, अशोक कुमार कुँवर, खगेन्द्र खरेल, प्रेम बहादुर थापा, ज्ञान बहादुर नेपाली, लोकनाथ रेग्मी, शिव प्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् । एसोसिएटतर्फको सदस्यमा अजय कुमार घिराइया र मनिष अग्रवाल चयन भएका छन भने आजीवन सदस्यको तर्फबाट ओम प्रकाश लोहिया चयन भएको महासंघले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले फर्निचर तथा फर्निसिङ् व्यवसायीका समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री यादवले केही वर्षभित्र काठ आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सरकार क्रियाशील रहेको उल्लेख गरे । तीन वर्षमा वनपैदावारमा मुलुकलाई आत्मनिर्भर बनाउने र पाँच वर्षपछि निर्यात गर्ने लक्ष्यका साथ काम अगाडि बढेको उनको दाबी छ ।

त्यस्तै महासंघका अध्यक्ष राम प्रसाद न्यौपानेले फर्निचर तथा फर्निसिङ् व्यवसायमा प्रयोग हुने मुख्य कच्चा पदार्थ काठ सहज रुपमा उपलब्ध नहुँदा व्यवसाय र उद्योग विस्तारमा बाधा उत्पन्न भएको बताए । उनले यस व्यवसायमा दक्ष कामदारको अभाव, वार्षिक सात अर्ब बढी रुपैयाँको काठ आयात गर्नुपर्ने बाध्यता, सरकारी कार्यालयहरुमा आयातित सामग्रीहरुलाई प्राथमिकता दिइने र सरकारी कार्यालयहरुले आह्वान गर्ने ठूला टेण्डरहरुमा यहाँका व्यवसायीहरुले प्रतिस्पर्धा गर्न नसक्ने प्रावधान राखेर टेण्डर आह्वान गर्नेलगायतका समस्या रहेको बताए ।

साथै उनले उद्योगी व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पार्ने गरी नेपाल राष्ट्र बैंकले जारी गरेको एलसी मार्जिनसम्बन्धी व्यवस्थामा काठका कच्चा पदार्थ एवम् तयारी फर्निचर आयात सम्बन्धमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरे । देशभर १२ हजारको संख्यामा फर्निचर व्यवसायी छन् । यो व्यवसायले दुई लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

फर्निचर व्यवसायमा करिब ३० अर्ब रुपैयाँको लगानी छ भने वार्षिक कारोबार ४० अर्ब रुपैयाँभन्दा माथि छ । जसमा कुल कारोबारको ६० प्रतिशत वस्तु विदेशबाट आयात हुँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x