Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगज्येष्ठ नागरिक दिवसको सान्दर्भिकता

ज्येष्ठ नागरिक दिवसको सान्दर्भिकता


काठमाडौँ । आइतबार पहिलो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस नेपालमा मनाइयो । यसमा नेपाल सरकार, गैरसरकारी संस्थाहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइयो ।

यस सालको उक्त दिवसको नारा भने ‘सम्य नागरिकको पहिचान, ज्येष्ठ नागरिकको सम्मान भन्ने राष्ट्रिय नारा रहेको थियो । यसको निर्णय विसं २०७८ साल ज्येष्ठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक पुस ११ गतेको दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको घोषणा गरेअनुसार यस वर्षदेखि औपचारिक रूपमै यो दिवस मनाउन थालिएको हो ।

मूलतः ज्येष्ठ नागरिक हक हित र अधिकारका लागि विसं २०६८ सालमा नेपालमा ज्येष्ठ नागरिक महासंघको स्थापना भएको थियो । सो दिन ज्येष्ठ नागरिकले परिवार, समाज र राष्ट्रलाई दिइएको योगदान, उहाँहरूको अनुभव र क्षमताको कदर तथा सम्मान गर्दै उहाँहरूको सहज जीवनयापनका लागि प्रतिबद्धता जनाउने दिन हो । मूलतः ६० वर्ष नाघेका अग्रजहरूलाई ज्येष्ठ नागरिकको रूपमा व्यवहार गर्नुपर्ने राज्यको अवधारणा हो । फलतः ज्येष्ठ नागरिक ऐन, २०६३ अनुसार ६० वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ ।

यसको साथसाथै ज्येष्ठ नागरिकहरू आफ्नो जीवन कालभरिका अनेकन उतारचढाव, सफलता–असफलता र संघर्षपूर्ण भोगाइबाट आर्जन गरिएका ज्ञान, सीप र अनुभवका पुञ्जको रूपमा स्वीकारनु पर्छ । उहाँहरूको जीवनबाट वर्तमान युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्दछ । अतः ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवार समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ । त्यसैगरी विकसित देशहरूमा ६५ वर्षमाथिका व्यक्तिलाई ज्येष्ठ नागरिकका रूपमा लिइन्छ भने हाम्रो देशलगायत विकासशील राष्ट्रहरूमा भने ६० वर्षमाथिकालाई ज्येष्ठ नागरिक मानिन्छ ।

यसरी अवलोकन गर्ने हो भने विकसित देशको औसत आयु नै बढी छ । जस्तो जापानमा औसत आयु ८५ वर्ष छ । तर नेपालमा पुरुषको औसत आयु ७० वर्ष र महिलाको ७१ वर्ष रहेको छ । फलतः पूर्वीय दर्शनमा पितृ देवो भवः, मातृ देवो भवः भनेर अग्रजहरूलाई सम्मान गर्ने संस्कार छ । यसको साथै संयुक्त परिवारमा बस्ने चलन छ । यसको अलवा छोराबुहारी, नातिनातिनासँगै बस्ने संस्कारले गर्दा समाजमा ज्येष्ठ नागरिकको सम्मान झन् बढ्न गएको छ ।

संसारका धेरै मुलुकले ज्येष्ठ नागरिकलाई उचित सम्मान दिएका छन् । जसले गर्दा वृद्ध अवस्थामा सुविधा दिएर घुम्न पठाउने, रमाइलो वातावरण बनाउने र स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा लिने गरेका छन् । तर, हाम्रो देशमा भने वृद्ध अवस्थामा पनि आफ्ना अधिकारका लागि लड्नुपर्ने अवस्था रहेको छ । यसरी नेपालको संविधानको धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी हक प्रत्याभूत गरिएको छ ।

यसरी पहिलो पटक नेपालको संविधानको मौलिक हकमा ज्येष्ठ नागरिकको हकलाई उल्लेख गर्दा ज्येष्ठ नागरिकका मानवअधिकार संरक्षणमा राज्यको सकारात्मक धारणा रहेको मान्न सकिन्छ । तर राज्यको विशेष संरक्षण तथा सामाजिक सुरक्षा भन्ने विषयमा स्पष्टता देखिँदैन । यसको साथसाथै यी उल्लेख भएका र ऐनले दिएका अधिकार र सुविधाका लागि पनि आन्दोलन गर्नुपरेको छ । यसर्थ विश्वमा ज्येष्ठ नागरिकको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेकोछ ।

अबका तीन दशकमा ज्येष्ठ नागरिकको संख्या दोब्बरभन्दा बढी हुने अनुमान गरिएको छ । यो विकसित राष्ट्रमा ज्येष्ठ नागरिकको संख्या बढिसकेको छ भने अन्य देशमा पनि विकासको स्तर बढेसँगै ज्येष्ठ नागरिकको संख्या बढिरहेका छ । यसरी संयुक्त राष्ट्रसंघका अनुसार अहिले अति कम विकसित मुलुकमा तीन करोड ७० लाख ज्येष्ठ नागरिक रहेकोमा आगामी तीन दशकमा १२ करोड पुग्नेछ । यसरी देशमा ६० वर्ष काटेका नागरिकलाई ज्येष्ठ नागरिकको परिभाषामा समेटिएको छ । यो परिभाषाअनुसार हाल देशको कुल जनसंख्याको नौ प्रतिशत अर्थात् करिब २५ लाख ज्येष्ठ नागरिकहरू रहेका छन् । यस अर्थमा देशको जनसंख्या वृद्धिदर एक दशमलव ३५ प्रतिशत रहेको अवस्थामा ६० वर्ष उमेरभन्दा माथिको जनसंख्या वृद्धिदर भने यसको दोब्बरभन्दा बढी छ ।

यसरी आगामी दशकभित्रै यो ३५ लाखभन्दा बढी हुने प्रक्षेपण छ । यसर्थ मुलुकको कुरा गर्ने हो भने संविधानको धारा ४१ मा मौलिक हकका रूपमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्थामा गरिएको छ । यसको कार्यान्वयनका लागि ऐन, कानुन निर्माण भएका छन् ।

ज्येष्ठ नागरिकका लागि राज्यले मासिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै स्वास्थ्य उपचार, यातायातजस्ता क्षेत्रमा विशेष सुविधा र आरक्षणको व्यवस्था समेत गरेको छ । खासगरीकन हाम्रो संयुक्त घर–परिवार प्रणालीमा चलेको हाम्रो समाजमा एउटै घरमा परिवारका धेरै सदस्य हुन्छन्। जहाँ ज्येष्ठ नागरिकहरूलाई उच्चसम्मान गरिन्छ । जसले गर्दा ज्येष्ठ नागरिककै सरसल्लाहबमोजिम घर परिवार चल्दछ । उनीहरू नै परिवारको पुज्य हुन्छन् ।

समग्रमा भन्नुपर्दा ज्येष्ठ नागरिक परिवार, समाज र राज्यका लागि बोझ नभई सम्पत्ति हुन् । यसरी ज्येष्ठ नागरिक राष्ट्रका सांस्कृतिक धरोहर र अमूल्य निधि भएकाले विगतमा देश विकासमा उहाँहरूको योगदानलाई सम्मान गर्नुपर्छ । यसरी ज्येष्ठ नागरिक सीप, क्षमता र अनुभवका धनी भएकाले यो क्षमतालाई सामाजिक विकासमा उपयोग गर्नुपर्छ । यसै क्रममा जेष्ठ नागरिकका लागि राज्य जिम्मेवार हुनु पर्ने कर्तव्य छँदै छ ।

तर आफ्ना जेष्ठ नागरिक आमा बाबुप्रति छोराछोरी पनि त्यतिकै जिम्मेवार हुनुपर्ने देखिएको छ । हाम्रो समाजमा छोराछोरी विदेश हुने बाबुआमा बृद्धाश्रममा हुने संस्कारलाई निरुत्साहित गर्नु अहिलेको आवश्यकता हो । मानिस एउटा निश्चित उमेर पार गरिसकेपछि शारीरिक रूपमा कमजोर हुन्छ । उसका अङ्गप्रत्यङ्गको क्रियाशीलतामा शिथिलता आउन थाल्दछ । यस्तो प्रक्रियालाई हामी वृद्धवृद्धाको अवस्था भनेर बुझ्छौँ, जुन प्राकृतिक नियम पनि हो ।

यो मानिस मात्र नभएर अन्य प्राणीमा पनि यो नियम लागू हुन्छ । हाम्रो समाजमा वृद्धवृद्धा भन्नेबित्तिकै बोझ र घृणाको नजरले हेर्ने गरिन्छ । उनीहरूको अवस्थादेखि छिछि र दुरदुर गर्ने कुसंस्कारले हाम्रो समाजमा जरा गाडेर बसेको छ । यसरी नै जनप्रतिनिधि र कर्मचारी जेष्ठ नागरिकप्रति जिम्मेवार हुन सकेका छैनन् । उनीहरूले समयमै सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउन सक्दैनन् र जेष्ठ नागरिकको गुनासा सम्बोधन गर्न इच्छुक छैनन् न जेष्ठ नागरिकको गुनासो सुन्छन्, न त जेष्ठ नागरिक प्रोत्साहन कार्यक्रम ल्याउन सकेका छन् । अपितु बुढ्यौली जीवनलाई क्रियाशील र प्रभावकारी बनाउने जिम्मेवारी घरपरिवार, समाज र राष्ट्रको हो ।

यसको कार्यान्वयनका लागि ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३, सामाजिक सुरक्षा ऐन, २०७५ र ज्येष्ठ नागरिकसम्बन्धी नियमावली, २०६५ छन् । यसर्थ ज्येष्ठ नागरिकसम्बन्धी ऐनले सामाजिक सुरक्षा गर्ने, उनीहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्दै उनीहरूप्रति गर्ने श्रद्धालाई समेटेको छ । तर उक्त ऐन र नियमावलीले ज्येष्ठ नागरिकलाई धेरै सम्मान गरेको छ । तर, व्यवहारमा भने ज्येष्ठ नागरिक हक तथा अधिकारहरू पाउन नसकेको गुनासो एकातिर छ भने अर्कोतिर नेपाल सरकारले भने पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको दाबी गरेको छ । अतः सरकारको तर्फबाट विसं २०५१ सालमा मासिक एक सय रुपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक चार हजार रुपैयाँ पु-याइएको छ ।

त्यस्तै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकका लागि दुईवटा सिट आरक्षण गरिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था छ । त्यस्तैगरी सार्वजनिक स्थानमा ज्येष्ठ नागरिकले राजस्व तिर्दा मठमन्दिरमा लाइन बस्न नपर्ने व्यवस्था कार्यान्वयन हुँदै गएको र सरकारी अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्दा औषधोपचारमा सहुलियत प्रदान गर्ने कार्य कार्यान्वयनमा आएको छ । यद्यपि ज्येष्ठ नागरिकहरूको भनाइ के रहेको छ भने यी जुन सरकारले दिएको सुविधाहरू कार्यान्वनमा जोड दिएका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x