Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआर्थिक समृद्धिको आधार व्यावसायिक कृषिको व्यापार

आर्थिक समृद्धिको आधार व्यावसायिक कृषिको व्यापार


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक समृद्धिको आधार नै व्यावसायिक कृषिको व्यापार नै भएको बताएका छन् । गोरखा चेम्बर अफ कमर्स गोरखाद्वारा आयोजना गरिएको कृषि तथा व्यापार प्रवर्द्धन मेलाको उद्घाटन गर्दै उनले व्यावसायिक कृषिको विस्तारमा जोड दिएका हुन् ।

मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३० प्रतिशतभन्दा बढी योगदान हुनाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । कृषिमा परम्परागत पद्धतिले उत्पादकत्व नबढ्ने भएकाले व्यावसायिक कृषिको प्रवर्द्धन हुनु अति आवश्यक रहेको र यसलाई निजी क्षेत्रले उद्योगको रुपमा अघि बढाउनुपर्ने उनले बताए ।

साथै उनले अर्गानिक वस्तुहरुको उत्पादनमा प्राथमिकता दिई कृषि पर्यटनलाई प्रवर्द्धन गर्न आग्रह गरे । कृषिलाई अभियानको रुपमा सञ्चालन गर्न जिल्ला चेम्बरसँग नेपाल चेम्बर सहकार्य गर्न तयार रहेको पनि उनले बताए । यस्तै उनले अहिले बजारमा मौद्रिक तरलताको अभावले व्यवसायीहरुलाई कठिनाइ भइरहेको बताए ।

बैंकले बेसरेटमा लिने सेवा शुल्कको दर पनि वृद्धि गरेकोले व्यवसायीहरुलाई झन मर्का पर्न गएकोले सरकारले यसतर्फ ठोस कदम चाल्न पनि आग्रह गरे । कार्यक्रममा गोरखा चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठले गोरखा प्राकृतिक विविधता भएको क्षेत्र भएकोले कृषि उत्पादनको लागि सम्भाव्य क्षेत्र भएको बताए ।

स्थानीय कृषि उत्पादनको बजारीकरण हुनसकेमा व्यावसायिक उत्पादनको लागि स्थानीय किसान आकृष्ट हुने भएकोले मेला आयोजना गरिएको उनको भनाइ थियो । मेला आइतबारबाट सुरु भई २७ गतेसम्म आयोजना हुने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x