Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली युवालाई फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह

नेपाली युवालाई फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न फ्रान्ससँग आग्रह गरेका छन् । मन्त्री श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले गरेको शिष्टाचार भेटमा मन्त्री श्रेष्ठले फ्रान्समा नेपाली श्रमिक लैजाने पहल गर्न आग्रह गरेका हुन् ।

भेटमा उनले युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरु कार्यरत रहेको उल्लेख गरेका थिए । भेटमा उनीहरुबीच नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारेमा समेत छलफल भएको थियो । श्रेष्ठले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्बन्धलाई अझ विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताए । यस्तै मन्त्री श्रेष्ठले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा राजदूत बुर्बाओले नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनसक्ने बताए । साथै कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकहरुका लागि रोजगारी सिर्जना हुने बताए । राजदूत बुर्बाओले फ्रान्समा रोजगारीका लागि जान भाषा तथा व्यावसायिक तालिमको राम्रो प्रबन्ध हुनुपर्ने बताए ।

साथै उनले फ्रान्समा फ्रान्सेली नागरिक सरह नै विदेशी कामदारले पनि पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुविधा उपभोग गर्न पाउने बताए । सन् १९४९ अप्रिल २० मा नेपालको फ्रान्ससँग कूटनीतिक सम्बन्ध कायम भएको थियो । नेपालले कूटनीतिक सम्बन्ध राखेको फ्रान्स चौथो देश हो । दक्षिण एसियामा फ्रान्सको पुरानो कूटनीतिक सम्बन्ध कायम भएको मुलुक हुनु नेपालको लागि खुसीको कुरा भएको मन्त्री श्रेष्ठले बताए ।

वैदेशिक रोजगारीलाई उपलब्धिमूलक बनाउन आकर्षक तलब सुविधासहितका रोजगारीका नयाँ गन्तव्य मुलुकको पहिचान गर्न मन्त्री श्रेष्ठले विभिन्न मुलुकसँग छलफल गर्दै आएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x